
१९ वैशाख, काठमाडौं । काठमाडौंको बालाजु माछापोखरीमा साना किसान र तरकारी व्यापारीहरुलाई व्यवस्थित बनाउने नाममा महानगर प्रहरीहरुले सार्वजनिक यातायात समेत बन्द गराएको भन्दै आलोचना भएको छ ।
महानगर प्रहरीहरु आज बिहानै माछापोखरी सडकमा लस्करै उभिएका छन् । उनीहरु वारिपारिसम्म उभिएर साना किसान र तरकारी व्यापारीहरुलाई रोक्न खोन्दा माछापोखरी हुँदै आउजाउ गर्ने सार्वजनिक सवारी नै प्रभावित भएको स्थानीयको भनाइ छ ।
माछापोखरी क्षेत्रको सडक किनारमा साना किसान, व्यापारीहरुले बिहान करिब ४ बजेदेखि ७ बजेसम्म तरकारी बेच्दै आएका छन् । तरकारी किनबेच गर्नेहरुको भिडभाडले सवारी आवागमनमा बाधा पुग्ने गरेको भन्दै महानगरपालिकाले त्यहाँबाट हट्न भन्दै आएको थियो । तर निर्देशन पालना नभएपछि महानगर प्रहरीहरु आज आफैं सडकमा उत्रिएर तिनलाई रोक्न खोजेका छन् ।
तर सडक किनारमा बसेर तरकारी र खुद्रा सामान बेचेर गुजारा चलाउनेहरुलाई व्यवस्थित बनाउने नाममा सार्वजनिक यातायातका साधन नै बन्द गराएको भन्दै महानगरपालिकाको आलोचना भएको छ ।
पत्रकार राजन कुइँकेलले सामाजिक सन्जालमा लेखेका छन्, ‘नगर प्रहरीले सार्वजनिक यातायात नै रोकेर तमासा देखाएका छन् । केन्द्रदेखि स्थानीयसम्मका सरकार र सत्तालाई पुलिस राज्य कायम गरेर शक्ति र औकात प्रदर्शन जो गर्नुछ ।’
प्रतिक्रिया 4