+
+
Shares

शिरुवा मेला : चौरमा लाग्ने चमत्कारी छायाँ, मनमा उम्लने सम्झनाहरू

डा. बालकृष्ण साह डा. बालकृष्ण साह
२०८२ वैशाख ५ गते ११:५९

वार्षिक पात्रो फेरिएसँगै वैशाखको चर्को घामका बीच आउँछ, शिरुवा मेला । यो कुनै मामुली मेला होइन । खासमा त तराईको आत्मा हो यो । यस्तो मेला, जहाँ प्रकृतिको काखमा सिङ्गो समाज एक–आपसमा रमाउँदै आत्मीयता बाँढ्छ ।

गाउँमा शिरुवा भनेको शिरमा शितलता र आशिर्वाद जल लिएर मनाउने महान चाड हो। यही सुरूवाती चाडको उत्सवमा  गाउँको बीचमा होइन, गाउँको छेउमा खेतसँगै जोडिएको चौरमा लाग्छ शिरूवा मेला । त्यही चौर, जुन वर्षभरी जोत्न र रोप्न प्रयोग हुन्छ । त्यो केही दिनका लागि पूजास्थल र मेलास्थल बन्न पुग्छ ।

हरेक ग्राम थान वा चौरको बीचमा मूलत राजाजी थान, सलहेस थान । मेलाको केन्द्र यीनै हुन् । थानमा माटोले बनाइएका रंगीचंगी घोडा, छोटो लट्ठी, ढुंगाको खुट्टा भएको अद्भूत आकृति । यी सबै पूजाका प्रतीक मात्र होइनन् सांस्कृतिक विरासत पनि हुन् ।

शिरुवा मेलाको विशेषता के भने, यो केवल किनमेल वा झुला चढ्ने ठाउँ होइन । यो त आस्था र आनन्दको संगम हो । शितला र आशिर्वाद अनि सदभाव साटासाट गर्ने माहोल पनि हो।  यहाँ थानमा पूजा गरिन्छ, माटोको घोडा चढाइन्छ, सलहेस बाबाको स्मरण गरिन्छ । अनि मेलामा भित्रिन्छ रमाइलो, हाँसो र मेलमिलाप । यो वर्ष दिनको थकान बिसाउने अवसर पनि हो ।

मलाई अझै याद छ, वैशाख १ गते हाम्रो गाउँको सानो मेला । त्यहाँ खासै भीडभाड हुँदैनथ्यो । तर ३ गते सिघपुर, ५ गते जब्दी, ८ गते इनरुवा पुग्दा मेला क्रमश: झन् भव्य र आकर्षक हुँदै गएको भान हुन्थ्यो । ती मेलाहरुमा यस्तो भीड लाग्थ्यो कि, खेतका गड्यौलासम्म छोपिने जस्तो लाग्थ्यो । मानौं, सम्पूर्ण गाउँलेजनको उपस्थितिले ती चौरहरू कुनै अध्यात्मिक महोत्सवस्थल बनेको हो ।

घरमा नयाँ लुगा अनिवार्य हुन्थ्यो । बरु दशैंमा किँनिदैन । खासगरी केटीहरू र महिलाहरूको शृंगार मेलामै तयार हुन्थ्यो । चुरा, टिकली, बिन्दी, कम्मरपेटी अनि सस्तो गहना । पुरुषहरू चाहिँ खानेकुरामा मस्त । जिलेबी, मटरी, समोसा, चियो पेय र कहिले काहीँ खसीको मासु पनि । बालबालिका त सधै हर्षित । मेलाको एक चक्कर घुम्दा कम्तिमा एक खेलौना ल्याउने पक्का ।

मेलाको अर्को रमाइलो पक्ष, घरमा चेलीबेटीको आगमन । घर–घरमा पाहुना, मासु, मिठाइ र झन रमाइलो । माइती आएका चेलीहरू आफ्ना नानी-बाबु, श्रीमान् लिएर आउने । अनि गहिरो आत्मीयता बाँढ्ने । घरको वातावरण र गाउँको माहौल नै गुल्जार हुने ।

तर, आज ।

आज त्यो चौर उस्तै छ तर मेला फेरिएको छ । भीड छ, तर पुरानो मिठास छैन । बाटो त्यही हो, धुलोले छोपिएको । कहिल्यै दौडिएर नथाक्ने त्यो मेला आज गर्मीको बहानामा नपुगेरै पनि दिन बित्छ । लुगा त छन् तर पुरानो जस्तो उत्साह छैन । श्रृंगार त छ तर आँखामा त्यो चमक छैन ।

हामीले समय बदल्यौं वा समयले हामीलाई ?

संस्कारलाई व्यस्त जीवनशैलीले दबाइरहेको छ । जिम्मेवारी, शारीरिक थकान र आधुनिकताको हावाले गर्दा त्यो चौरमा उड्ने धुलोसँगै हाम्रो लुकेको उत्साह पनि बगिरहेको छ । खानेकुरा स्वादिलो छैन भन्न थालेका छौं । भीडको सट्टा शान्तिको खोजी गर्दैछौं ।

तर जब आँखामा ती दिनहरू झलझल्ली आउँछन्, थानमा हात जोडेको दृश्य, माटोको घोडा उँठाउँदै  बाबा आमाले पूजेको झल्को, नयाँ लुगा लगाएर मेलामा हिँडेका सथाीहरू, मेलाबाट फर्किँदा बोकिएका खेलौना र मिठाई । यी सबै सम्झदा लाग्छ, त्यो सिरुवा त केवल मेला थिएन । बरु हाम्रो पहिचान, आत्मियता र सजीव संस्कार थियो ।

त्यसैले फेरि एकपटक त्यो थानमा हात जोडी बालापनका ती मिठा सम्झनाहरूलाई सम्झें । शिरुवा मेला आज पनि लाग्छ, त्यो चौरमा अझै पनि । गहिरो रुपमा हाम्रो मनभित्र पनि ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?