
१८ वैशाख, तेहरान । इरानले इरानमाथि नयाँ प्रतिबन्ध लगाउने अमेरिकी निर्णयलाई ‘आर्थिक आतङ्कवाद’ को संज्ञा दिएको छ ।
संयुक्त अरब इमिरेट्स (युएई) मा रहेका चार र टर्कीमा रहेको एक गरी इरानी तेल बिक्री गर्ने सात कम्पनीमाथि विहीबार संयुक्त राज्य अमेरिकाले प्रतिबन्ध लगाउने घोषणा गरेको छ ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भने, ‘जबसम्म इरानले आफ्नो अस्थिर गतिविधिका लागि तेल र पेट्रोकेमिकल राजस्व जुटाउने प्रयास गर्छ र आफ्ना आतङ्कवादी गतिविधि र छद्म रूपलाई अगाडि बढाउँछ, तबसम्म संयुक्त राज्य अमेरिकाले इरान र प्रतिबन्ध छलीमा संलग्न उसका सबै साझेदारहरूलाई जवाफदेही बनाउन कदम चाल्नेछ।’
इरान र अमेरिकाबीच शनिबार रोममा हुने चौथो चरणको वार्ताअघि तेहरानले आफ्नो आणविक कार्यक्रममाथिको प्रतिबन्धको बदलामा अन्य राजनीतिक तथा आर्थिक प्रतिबन्धबाट राहत मागिरहेको छ ।
इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माईल बाकाईले एक वक्तव्य जारी गर्दै विकासशील देशहरूबीचको मैत्रीपूर्ण र कानुनी सम्बन्धमा आर्थिक आतङ्कवादको माध्यमबाट खलल पुर्याउने अमेरिकी प्रयासको एक हिस्साका रूपमा प्रतिबन्ध लगाइएको बताएका छन् ।
अमेरिकी निर्णयकर्ताहरूको विरोधाभासी दृष्टिकोण र कूटनीतिको मार्गलाई अगाडि बढाउन सद्भाव र गम्भीरताको कमीको स्पष्ट प्रमाण भएको उनले बताए ।
गत जनवरीमा राष्ट्रपतिमा फर्किएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो पहिलो कार्यकालमा इरानमाथि ‘अधिकतम दबाब’ दिने अभियानलाई पुनः सुरु गरेका छन् ।
गत मार्चमा उनले इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीलाई पत्र पठाएर वार्ताका लागि आग्रह गर्दै इरानले अस्वीकार गरेमा सम्भावित सैन्य कारबाहीको चेतावनी दिएका थिए ।
आफ्नो पहिलो कार्यकालमा ट्रम्पले सन् २०१५ मा इरान र विश्व शक्तिराष्ट्रबीच भएको आणविक सम्झौताबाट अमेरिकालाई फिर्ता भएको घोषणा गर्दै कडा प्रतिबन्धहरू पुनः लागू गरेका थिए । एएफपी
प्रतिक्रिया 4