+

हामीले आफैं किनेर खाने गरेका यी औषधिहरू कुन कति सुरक्षित ?

२०८२ माघ  २९ गते १७:२२ २०८२ माघ २९ गते १७:२२

तर सत्य के हो भने धेरैजसो ज्वरो/रुघा भाइरसले भएका हुन्छन् । यसमा एन्टिबायोटिकले काम गर्दैन। हाम्रोमा भाइरल रुघा लाग्दा एजिथोरोमाइसिन खाने गरेका घटनाहरू कैयन् छन् ।

Shares
हामीले आफैं किनेर खाने गरेका यी औषधिहरू कुन कति सुरक्षित ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालमा धेरैले स्वास्थ्य समस्या देखिनेबित्तिकै नजिकको औषधि पसलबाट औषधि किनेर खान्छन्, जसले दीर्घकालमा स्वास्थ्य प्रणालीमा संकट ल्याउन सक्छ।

स्वास्थ्य कुनै समस्या देखिनेबित्तिकै हामी अस्पताल गइहाल्दैनौं । हामीमध्ये अधिकांशको ‘पहिलो अस्पताल ‘भनेको नजिकैको औषधि पसल हो । कुनै समस्या भयो हामी नजिकको फार्मेसी जान्छौ र लक्षणका आधारमा औषधि किनेर खान्छौं।

ज्वरो आउँदा, रूघाखोकी लाग्दा, टाउको दुख्दा, पेट दुख्दा वा ढुस्स हुँदा शरीरको कुनै भागमा दुखाइ हुँदा होस वा यस्ता सबैजसो समस्या हुँदा हामी आफ्नै सुरुले औषधि किनेर खाइरहेका हुन्छौं । यसो गर्नु तत्काल सजिलो जस्तो लाग्छ, तर दीर्घकालमा शरीर, समाज र स्वास्थ्य प्रणालीलाई गम्भीर संकटमा पार्न सक्छ ।

धेरै पटक खरिदकर्ताले फार्मासिस्ट वा स्वास्थ्यकर्मीबाट सही जानकारी लिने अवसर गुमाउँछन् । कतिपय औषधि पसलमा योग्य जनशक्ति नहुने, गाउँघरमा दर्ताबिना सञ्चालन हुने जस्ता समस्या पनि देखिन्छन् । हामीले सँधै सम्झनुपर्छ, औषधि उपचार हो । तर सही रोग, सही मात्रा, सही समय र सही अवधिमा प्रयोग नगरे औषधि रोगको कारण वा विष पनि बन्न सक्छ।

१. ‘सिटामोल त सुरक्षित हो’ भन्ने भ्रम

नेपालमा सबैभन्दा बढी प्रयोग हुने औषधि हो-पारासिटामोल (सिटामोल) । औषधि पसलमा ‘ज्वरोको औषधि दिनुस्’ भन्यो कि सहजै पाइन्छ । पारासिटामोलले मस्तिष्कमा ज्वरो र दुखाइ बढाउने रसायन (प्रोस्टाग्ल्यान्डिन) को उत्पादन घटाएर ज्वरो र दुखाइ कम गर्छ । चिकित्सकले ‘ज्वरो आएमा मात्र खानु’ भनेर लेखे पनि धेरैले किनिहालेपछि नियमित खाइरहने गर्छन् ।

स्वास्थ्य बीमामार्फत अथवा स्वास्थ्य संस्थाबाट निःशुल्क प्राप्त गरेका औषधिहरू आवश्यक नहुँदा पनि मनलाग्दी खाएको भेटिन्छ । सधैँ ज्वरो आउने एउटै कारण हुँदैन र त्यही औषधिले मात्रै ज्वरो काम नगर्न सक्छ । हामीले एउटा औषधि घरका सदस्य तथा गाउँमा बाँडेर पनि खाएका हुन्छौँ ।

वयस्कका लागि सामान्य मात्रा ५००–१००० मि.ग्रा. ६ देखि घण्टाको फरकमा खान सिफारिस गरिन्छ । अधिकतम: दिनमा ४ ग्रामभन्दा बढी खानुहुँदैन तर ज्वरो नभए पनि दिनभरि खाने, एकैचोटि दुई-तीन चक्की खाने, रुघा, थकान, टाउको दुखाइ सबैमा खाने गरेको भेटिन्छ ।

यसरी मनलाग्दी खाँदा कलेजोमा गम्भीर क्षति हुन सक्छ । मदिरासँगै खाँदा खतरा धेरै गुणा बढ्छ । अधिक मात्रा खाँदा कलेजो फेल भएर मृत्युसमेत हुन सक्छ । त्यसैले आवश्यक नभएसम्म मनलाग्दी यस्ता औषधिहरू नखाऊँ।

२. सामान्य दुखाइमा ‘निम्स’, ‘फ्लेक्सन’ माग्ने बानी

सामान्य दुखाइ हुँदा पनि ‘निम्स दिनुस्’, ‘फ्लेक्सन दिनुस्’, ‘आइबुप्रोफिन दिनुस्’ भन्ने चलन सामान्य छ । तर: निमिस्लाइड, आइबुप्रोफिन+पारासिटामोल जस्ता औषधि समूह ‘ख’ वा सेड्युल ‘एच’ मा पर्छन्, जसका लागि चिकित्सकको निदानपत्र आवश्यक हुन्छ । यी औषधि जथाभावी प्रयोग गर्दा: कलेजो र मिर्गौला बिग्रिन सक्छ, पेटमा अल्सर हुन सक्छ।

सामान्य दुखाइमा हामीलाई यस्ता औषधिको जरुरी छैन । तातो, चिसो पानीले नुहाउने, झोलिलो कुराहरू खाने, हल्का व्यायाम गर्ने, आराम गर्ने, पौष्टिक आहार खानाले आफैँ सन्चो हुन्छ । खेतबारीमा काम गर्दा अथवा सामान्य यात्रा गर्दा हुने टाउको दुखाइ तथा शारीरिक दुखाइमा समेत यस्ता औषधिको दुरुपयोग भएको भेटिन्छ । कालान्तरमा यसले स्वास्थ्य लाभ भन्दा पनि स्वास्थ्यमा थप जटिलताहरू ल्याउन सक्ने हुँदा यस्ता कुराहरूबाट टाढा रहौँ ।

३. सामान्य रुघाखोकीमा एन्टिकोल्ड र एन्टिबायोटिकको अन्धाधुन्ध प्रयोग

साइनेक्स, डि-कोल्ड जस्ता औषधि नेपालमा अत्यन्तै लोकप्रिय छन् । यी औषधिमा तीनवटा तत्त्व मिसिएको हुन्छ, क्लोरफेनिरामाइन, फेनिलेफ्राइन र पारासिटामोल । यसमा क्लोरफेनिरामाइनले एलर्जी घटाउँछ, तर निद्रा लगाउँछ । फेनिलेफ्राइनले नाक खोल्छ, तर रक्तचाप बढ्न सक्छ । पारासिटामोलले ज्वरो र दुखाइ कम गर्छ । यी औषधि लक्षण कम गर्नका लागि मात्र हुन्, रोग निको पार्ने होइनन् ।

सामान्य फ्लु र भाइरल रुघा आफैँ ३ देखि ५ दिनमा ठिक हुन्छ । हल्का ज्वरोमा हातखुट्टा तथा निधारमा चिसो पानीपट्टी गर्ने, झोलिलो कुराहरू खाने, विभिन्न योगासनहरू गर्ने, अलोलम बिलोलम गर्ने, घरमै पाइने जडीबुटीहरूको झोल खाने गर्दा केही दिनमा आफैँ ठिक हुन्छ ।

तर अझ खतरनाक कुरा: सामान्य रुघा भाइरसले हुने रोग भए पनि ‘एजिथ्रोमाइसिन’, ‘एमोक्सिसिलिन’ जस्ता एन्टिबायोटिकको समेत मनलाग्दी प्रयोग गरेको सुनिन्छन् । यसको परिणाम: प्रतिजैविक प्रतिरोध हो । अर्थात भविष्यमा गम्भीर संक्रमणमा औषधिले काम नगर्ने अवस्था आउँछ । यस्ता कुराहरूबाट तत्काल बचौं र रोकौँ । सामान्य रुघाखोकीमा घरेलु झोल, तातोपानीको बाफ, आराम र समय नै पर्याप्त हुन्छ ।

४. ‘ग्यास्ट्रिक भयो’ भन्दै महिनौँसम्म खाने प्यान्टोप्राजोल

नेपालमा ‘ग्यास्ट्रिक भयो’ भन्ने शब्द जति सजिलै प्रयोग हुन्छ, त्यति नै सजिलै एसिलाक, पेनसोड, पेनटोप जस्ता औषधि प्रयोग हुने गर्छन् । पेट पोल्यो, ढाड दुख्यो, ढुस्स भयो, रक्सी धेरै खाइयो, खाना ढिलो भयो, यी सबै समस्याको एउटै समाधानझैं यी औषधि लिइन्छन् । यी औषधि के हुन् र कसरी काम गर्छन् ? पेनटोपको मुख्य तत्त्व हो- प्यान्टोप्राजोल ।

यसले पेटमा बन्ने एसिडको मात्रा घटाउँछ । यसैगरी एसिलाकको मुख्य तत्त्व हो– ‘रेनिटिडिन’, यसले ‘एच२ रिसिप्टर’ लाई रोकी एसिड उत्पादन कम गर्छ । यी औषधि पेटको अल्सर, अत्यधिक एसिड उत्पादन, चिकित्सकीय रूपमा पुष्टि भएका ग्यास्ट्रिक जस्ता अवस्थामा छोटो समयका लागि प्रयोग गरिने औषधि हुन् ।

तर आफूखुसी किनेर महिनौँ-महिना दैनिक खाने, रक्सी खाएपछि ‘बचाउन’ खाने, बिहान खाली पेट बानीकै रूपमा खाने चलन बढ्दो छ। लामो समय जथाभावी प्रयोग गर्दा भिटामिन बी१२ को कमी, कमजोरी, म्याग्नेसियम घट्ने, झमझम हुने, मांसपेशी दुख्ने, मुटु गडबड हुने र पेटमा संक्रमणको जोखिम बढ्ने हुन सक्छ ।

एक पटक एकजना आफन्तलाई भेट्न उनले बिहानै दूध राखेको चिया दिए । मैले खाने गरेको छैन भनें । ‘ग्यास्टिक हुन्छ भनेर होला चिन्ता लिनुपर्दैन मेरो घरमै औषधि छ’ भन्दै पेनटोप लिएर आए । औषधिको चरम दुरुपयोग र यो प्रकारको मानसिकता देखेर म अचम्मित भए । औषधि भनेको खाना खाए जस्तो होइन भन्ने कुरा पहिला हामीले बुझ्न जरुरी छ ।

सबैभन्दा खतरनाक कुरा के भने यी औषधिले पेटको वास्तविक समस्या लुकाइदिन्छन् । पेटको क्यान्सर, गम्भीर अल्सर जस्ता रोग ढिलो पत्ता लाग्न सक्छन् । हरेक पेट दुखाइ ग्यास्ट्रिक होइन । हरेक ग्यास्ट्रिकको समाधान चक्की मात्र पनि होइन । सन्तुलित आहार, सन्तुलित जीवनशैली सबैभन्दा अमूल्य औषधि हुन् । यसमा विशेष ध्यान पुर्‍याउने गरौँ।

यात्राका क्रममा वा छोटो समयका लागि हुने एसिडिटी रोक्न तत्काल राहत दिन सक्ने एलुमिनियम हाइड्रोक्साइड, म्याग्नेसियम हाइड्रोक्साइड र क्याल्सियम कार्बोनेट जस्ता औषधिहरू प्रयोग गर्नु उपयुक्त हुन्छ ।

५. यात्रामा बान्ता रोक्ने औषधि : गलत समय, गलत तरिका

नेपालका घुमाउरा बाटा, लामो दूरी र पहाडी यात्राका कारण धेरैलाई यात्रा गर्दा वाकवाकी लाग्ने, टाउको दुख्ने, रिंगटा लाग्ने, बान्ता हुने जस्ता समस्या देखिन्छ । यसका लागि एभोमिन, डिभोमिन जस्ता औषधि प्रयोग गरिन्छ । यी औषधिको मुख्य तत्त्व हो प्रोमेथाजिन । यसले वाकवाकी कम गर्छ, एलर्जी घटाउँछ, मस्तिष्कलाई शान्त पारेर निद्रा लगाउँछ । धेरै यात्रुहरू भोको पेटमा औषधि खान्छन्, गाडी चढिसकेपछि मात्र खान्छन्, ‘अब बान्ता आउँदैछ’ भनेर हतारमा खान्छन् ।

यसरी खाँदा औषधिले राम्रोसँग काम गर्दैन, झन् अलमल र कमजोरी बढ्न सक्छ, त्यसैले यात्रा गर्नुभन्दा अघिल्लो रात र यात्रा सुरु हुनुभन्दा १-२ घण्टा अघि खानु उपयुक्त हुन्छ । र लामो यात्रा छ भने हरेक ८ घण्टामा फेरि खानुपर्छ । औषधि खाएको छ भन्दैमा सबैलाई यसले काम गर्छ भन्ने छैन । त्यसैले भोको पेटभन्दा खाना खाएर यात्रा गर्ने । बान्ता आएछ भने पनि फेरि खाने गर्नुपर्छ।

मुखबाट खाएको औषधि सोसिएर शरीरमा काम गर्न समय लाग्छ भन्ने कुरा बुझ्न जरुरी छ । मलाई त धेरै नै बान्ता हुन्छ भनेर डबल डोज खानेबानी गर्नुहुँदैन ।

यी औषधिले अत्यधिक निद्रा लगाउँछ, मुख सुक्ने र टाउको दुखाइ जस्ता असरहरू देखिन सक्छन् । मदिरासँग सँगै खाँदा सास फेर्न गाह्रो हुने, बेहोस हुने तथा गम्भीर अवस्थामा ज्यानसमेत जोखिममा हुनसक्छ । बालबालिका, वृद्ध, गर्भवती महिला र अन्य औषधि खानेहरूले डाक्टरको सल्लाह बिना प्रयोग गर्नुहुँदैन । त्यसैले यात्रा गर्दा हल्का खाना खाने, अगाडिको सिट रोज्ने, सिधा टाढा हेर्ने बानी बसाल्ने र मनोवैज्ञानिक रूपमा तयारी हुन जरुरी छ। यस्ता उपायले पनि धेरै हदसम्म समस्या कम गर्न सकिन्छ।

बान्ता हुन्छ भनेर खाना नखाई भोको पेटमा यात्रा गर्ने, पिसाब धेरै लाग्छ भनेर पानी नपिउने यस्ता प्रकारका यात्राका क्रममा गरिने बानीले स्वास्थ्यमा जटिल समस्या ल्याउन सक्छ । त्यसैले हल्का पर्याप्त भोजन खाने, समयसमयमा पानी पिउने र यात्रालाई सहज रुपमा लिएर मनोवैज्ञानिक रुपमा पनि तयार भएर यात्रा गर्नुपर्छ।

६. महिनावारीको समयमा दुखाइ : औषधि पहिलो विकल्प होइन

महिलाहरूमा महिनावारीको समयमा पेट दुख्नु सामान्य जैविक प्रक्रिया हो । कसैमा बढी कसैमा कम अथवा कसैमा दुखाइ नहुन सक्छ । तर ‘महिनावारी भयो, पेट दुख्यो’ भन्नेबित्तिकै मेफपास, मुस्पान जस्ता औषधि खोज्ने चलन छ । कतिपयले हरेक महिनामा, नियमित रूपमा यस्ता औषधि प्रयोग गरिरहेका छन्।

मेफपास (मेनिनमिक एसिड) दुखाइ कम गर्ने औषधि हो । मुस्पान (हायोसिन ब्यूटाइलब्रोमाइड)- पेटको मांसपेशी खुकुलो पारेर ऐंठन कम गर्ने औषधि हो।

यी दुवै औषधि समूह ‘ख’ मा पर्ने भएकाले चिकित्सकको सल्लाह आवश्यक हुन्छ । तर मेडिकलमा गएर मनलाग्दी आफैँ किनेर खाने गरेको भेटिन्छ ।

समस्या कहाँ छ ?

सामान्य दुखाइमै औषधि खानु, मात्रा नजानेर दिनमा धेरै पटक खानु, लामो समयसम्म निरन्तर प्रयोग गर्नु ।

यसका जोखिम के हुन्छ ?

पेट दुख्ने, अम्ल बढ्ने, मिर्गौलामा असर, रक्तस्रावको जोखिम, गर्भवती अवस्थामा खतरनाक असर हुनसक्छ ।

केहीदिन पहिले एउटा विद्यालयमा प्रशिक्षणको क्रममा जाँदा कक्षा ८ मा पढ्ने एक विद्यार्थीले आफूलाई महिनावारीको समयमा अत्यधिक पेट दुख्ने र हरेक दुई घण्टामा सिटामोल खाने गरेको बताइन् । यस्ता अभ्यास र जोखिम देशैभरि कैयौं होलान् । ८–८ घण्टाको फरकमा खानुपर्ने औषधि हरेक दुई घण्टामा खाँदा स्वास्थ्यमा कस्तो अवस्था ल्याउला ? धन्न कलेजो बचेछ ।

त्यसैले औषधि प्रयोगगर्दा संयमता अपनाउने गरौं । महिनावारिको सामान्य दुखाइमा सधैं औषधि आवश्यक हुँदैन । हल्का व्यायाम, तातो सेकाइ, मनतातो झोलिलो खाना, पर्याप्त आराम र सन्तुलित जीवनशैलीले धेरैजसो समस्या आफैँ कम हुन्छ । औषधि अन्तिम विकल्प हुनुपर्छ, पहिलो होइन ।

७. पखाला, जुका र पेटका संक्रमण : जाँचबिनाको औषधि झन् जोखिम

नेपालमा पखाला लाग्नेबित्तिकै ‘मेट्रोनिडाजोल दिनुस्’, ‘जुकाको औषधि दिनुस्’ भन्दै औषधि किन्ने चलन सामान्य छ । वास्तविकता के हो भने पखाला: भाइरस, ब्याक्टेरिया, परजीवी, खानपिनको गडबडी, अन्य रोग धेरै कारणले हुन सक्छ । हरेक पखालामा एउटै औषधि उपयुक्त हुँदैन । जथाभावी प्रयोग गर्दा: वाकवाकी, मुखमा धातुको स्वाद, स्नायुतन्त्रमा असर, कलेजोमा असर, गर्भावस्थामा खतरा, औषधिले काम नगर्ने अवस्था हुन सक्छ ।

मेट्रोनिडाजोल, विशेष प्रकारका ब्याक्टेरिया/ प्रोटोजुवा संक्रमणमा मात्र काम गर्छ ।

एल्भेन्डाजोल, जुकाको पुष्टि भएमा मात्र खानु उपयुक्त हुन्छ । नेपाल सरकारले रोकथामका लागि बालबालिका तथा किशोर किशोरीहरूलाई वर्षमा एक दुई पटक एल्भेन्डाजोल खुवाउन सिफारिस गरेको छ।

पखाला हुँदा पहिलो उपचार, जीवनजल, सफा पानी, परीक्षण आवश्यक भए अस्पताल जानु र परीक्षणपछि मात्र औषधि खानु उपयुक्त हुन्छ।

८. आँखा, कानमा हाल्ने औषधि र छालामा लगाउने मलम

आँखा रातो भयो, कान दुख्यो, छाला चिलायो- यी समस्या आउँदा धेरैजसो बिरामी परीक्षण नगरी औषधि पसलमा गएर सिधै आइड्रप वा मल्हम माग्छन् । धेरै ड्रपमा एन्टिबायोटिक (जस्तै सिप्रोफ्लोक्सासिन, कोलोरेमफेनिकोल) हुन्छ, आँखाको ड्रप कानमा, कानको ड्रप आँखामा हाल्ने गल्ती पनि गरिन्छ । संक्रमणको प्रकार नबुझी औषधि प्रयोग गर्नु आजको मुख्य समस्या हो । यस्तो कार्यले गर्दा संक्रमण झन् बिगार्छ, आँखाको दृष्टि कमजोर हुन सक्छ, कानको पर्दामा क्षति हुन सक्छ र एन्टिबायोटिक प्रतिरोध बढ्छ ।

आँखा तथा कान जस्ता संवेदनशील अङ्गहरूमा कुनै पनि औषधि प्रयोगगर्दा स्वास्थ्यकर्मीको उपयुक्त परामर्श पछाडि मात्र प्रयोग गरौँ ।

छालामा दाद हुँदा एक औषधिले काम नगर्दा अर्को पसल गएर अर्को औषधि, फेरि अर्को किनेर प्रयोग गर्ने चलन छ । यसरी छ महिना, एक वर्षसम्म आफैँ प्रयास गर्ने प्रवृत्ति पनि देखिन्छ । यसले रोग लुक्छ, निको हुँदैन । सानो समस्या देखिए पनि परीक्षण अनिवार्य गर्नुपर्छ । यस्तोमा प्राय एन्टिबायोटिकहरू प्रयोग हुने हुँदा जथाभावी थरिथरिका एन्टिबायोटिक प्रयोगगर्दा भविष्यमा काम नगरी भोलि चिकित्सकले दिएको औषधिले पनि काम नगर्न सक्छ । छालाको अनिवार्य परीक्षण गरेर मात्रै यस्ता कुरा प्रयोग गर्ने गरौं।

९. दम र सास फेर्न गाह्रो हुने समस्या : इन्हेलरको गलत प्रयोग

नेपालमा दमका बिरामीहरूको संख्या बढ्दो छ । तर चिन्ताको विषय के हो भने, दमको औषधि सही तरिकाले प्रयोग नहुनु नै धेरै जटिलताको मुख्य कारण बनेको छ । सामान्य देखिने अवस्था सास फेर्न गाह्रो भयो भने इन्हेलर किनेर प्रयोग गर्ने, हल्का निको भएपछि फेरि छोड्ने र यो क्रम निरन्तर दोहोर्‍याइरहने समस्या पनि देखिएको छ ।

धेरैजसो बिरामीलाई इन्हेलर कसरी चलाउने, कुन इन्हेलर कति समय प्रयोग गर्ने, कुन आपतकालीन र कुन नियमित हो यी कुरा थाहा हुँदैन । त्यसैले प्रयोगकर्ताहरूले फार्मासिस्ट अथवा जसले औषधि दिँदैछ ऊसँग कसरी प्रयोग गर्ने पर्याप्त परामर्श लिनुपर्छ। इन्हेलरका रूपमा सालब्युटामोल लिँदा केही मिनेटमै त्यसले आफ्नो प्रभाव देखाउँछ।

मुखबाट खाएकोले ३० मिनेटदेखि १ घण्टा लाग्न सक्छ प्रभाव देखाउन । दम बढी भो भनेर ओभरडोज नखाऊँ, यसले हृदयको धड्कनलाई तीव्र गराउन सक्छ, हातखुट्टामा कम्पन ल्याउन सक्छ, टाउको दुखाउन सक्छ ।

१०. भिटामिन र सप्लिमेन्ट : ‘नखाए पनि हुन्छ, धेरै खाए झन् बिग्रिन्छ’

औषधि पसलहरूमा, मल्टिभिटामिन, क्याल्सियम, आयरन, जिंक, ओमेगा-३ यी सबै सबैका लागि चाहिने जस्तो गरी बेचिन्छन् । ‘कमजोरी छ, भिटामिन खाऊ’; ‘पढाइको प्रेसर छ, ट्याब्लेट खाऊ’; ‘बच्चा दुब्लो छ, सिरप देऊ’ यस्ता भ्रमहरूबाट हामी माथि उठ्न जरुरी छ । शरीरम सााँच्चै कमी छ भने भिटामिन औषधि हो, नत्र अनावश्यक बोझ हो।

विशेष गरी भिटामिन ए, डी, ई, के तेलीय पदार्थ अर्थात् बोसोमा घुलनशील हुन्छन् र शरीरमा जम्मा हुन्छन्, सजिलै बाहिर निस्कँदैनन् । त्यसैले बढी खाँदा कलेजो र मिर्गौलामा असर पर्छ र क्याल्सियम बढी भएमा मिर्गौलाको पत्थरी, बच्चामा उल्टी, टाउको दुखाई लगायत अनेक समस्या हुनसक्छन् ।

सन्तुलित खाना खाने व्यक्तिलाई रुटिन भिटामिन आवश्यक हुँदैन । रगत परीक्षण गरी शरीरमा भिटामिनको मात्रा यकीन गरी आवश्यक परेमात्र खानु राम्रो हुन्छ । भिटामिन लेख्नेहरूले पनि औषधि कम्पनीको प्रलोभनमा परी बिरामीलाई यस्तो कुरा थोपर्नु हुँदैन ।

११. एन्टिबायोटिक : आजको गल्ती, भोलिको महामारी

एन्टिबायोटिकको दुरूपयोग नेपालमा मात्रै होइन, विश्वव्यापी संकट हो । तर नेपालमा यो समस्या अझ गम्भीर छ । हाम्रो बानी कस्तो छ भने, ज्वरो आयो एन्टिबायोटिक, खोकी लाग्यो, एन्टिबायोटिक । अनि फेरि २-३ दिन खाएपछि रोग ठिक हुन्छ खानै छाडिदिने ।

तर सत्य के हो भने धेरैजसो ज्वरो/रुघा भाइरसले भएका हुन्छन् । यसमा एन्टिबायोटिकले काम गर्दैन। हाम्रोमा भाइरल रुघा लाग्दा एजिथोरोमाइसिन खाने गरेका घटनाहरू कैयन् छन् । यो अनावश्यक दुरुपयोग हो ।

सबैभन्दा खतरनाक अभ्यास

चिकित्सकले दिएको औषधि आफै घटाउनु, बाँकी औषधि पछि प्रयोग गर्नु, छिमेकी/परिवारलाई बाँड्नु, बीचैमा खान छोड्नु नराम्रो अभ्यास हो । यसले गर्दा भविष्यमा संक्रमण घातक हुनसक्छ । औषधिले काम गर्न छोड्न सक्छ । जैविक प्रतिरोधको खतरा झन् बढ्छ । औषधि खर्च महँगो हुने र अस्पतालको बसाइ लम्बिन सक्छ ।

सानोतिनो घाउ चोटपटक लाग्दा अथवा सानो सङ्क्रमणमा पनि कडा प्रकारका एन्टिबायोटिक प्रयोग गरेको पाइन्छ । कतिपय अवस्थामा चिकित्सकसँग परामर्श नगरी आफैँ खरिद गरेर खाएको भेटिन्छ । एमोक्सिसिलिन, एजीथ्रोमाइसिन जस्ता औषधि आम मान्छेका जिब्रोमा झुण्डिएका छन् । यो हाम्रो देशको विकराल अवस्था हो । यसमा सबै सजग बनौँ ।

१२. महिनावारी रोक्न अथवा सार्न प्रयोग गरिने औषधि

पूजापाठ रीतिरिवाज तथा विभिन्न कार्यक्रमहरूमा महिनावारी रोक्न अथवा केही दिन पर सार्न महिलाहरूले फेमिट्रोनजस्ता औषधिहरू सजिलै खरिद गरी खाने गर्छन् । लामो समयसम्म यस्ता औषधिहरू प्रयोग गर्नु राम्रो होइन । प्रकृतिले दिएको मासिक धर्ममा गर्व गर्ने समाज हामीले निर्माण गर्नुपर्छ । यस्ता औषधिका असरले वाकवाकी लाग्ने, टाउको दुख्ने, छातीमा दुखाइ हुने अथवा फुलेजस्तो हुने हुन सक्छ ।

शरीरको तौल बढ्नु शरीरमा पानी जम्मा हुनु, मनोविकार अर्थात् मुड बदलिनु लगायत असरहरू पनि देखिन सक्छन् । त्यसैले यस्ता औषधिहरूको जथाभावी प्रयोग नगरौँ । चिकित्सकले दिँदा उपचारीय हेतुले मात्र प्रयोग गरौँ ।

कैयौँ सावधानीहरू बिरामीलाई थाहा हुँदैनन् तर पनि जथाभावी प्रयोग गरेको भेटिन्छ ।

कपट्टी, नरप्लान्ट, डिपो आदि प्रयोग गर्दा कतिपय महिलाहरूले काम गर्दा यौनाङ्गबाट रगतहरू बढी बगेको महसुस बताउने गर्छन् । त्यसलाई रोक्नका लागि नजिकैको मेडिकलमा गएर औषधि खरिद गरी खाने गर्छन् । यस्ता कुरामा पहिले चिकित्सकीय निदान लिन जरुरी छ । यस्ता कुराहरुमा बिरामीले प्राय आफैँ खरिद गरेर ‘ट्रान्सनम’
खाने गरेको भेटिन्छ । जसको मूलतत्त्व हो ट्रानेक्सामिक एसिड हो ।

१३. आपतकालीन गर्भनिरोधक चक्की : आपतकालीन नै रहोस्, दैनिक होइन

आपतकालीन गर्भनिरोधक चक्कीले धेरै महिलालाई आपतकालीन अवस्थामा सुरक्षित बनाएको छ । तर यसलाई नियमित गर्भनिरोधकको विकल्प ‘सजिलो उपाय’ ठान्ने प्रवृत्ति खतरनाक बन्दै गएको छ । पहिलो कुरा सावधानी अपनाउनु हो । अन्य गर्भनिरोधक साधन हुँदाहुँदै पनि यो चक्कीसम्म पुग्ने वातावरण सिर्जना गर्नुहुँदैन । यो औषधि असुरक्षित यौन सम्पर्कपछि ७२ घण्टाभित्र खान सकिन्छ । यो अत्यधिक हर्मोन भएको औषधि हो ।

कसैकसैले हरेक दिन असुरक्षित यौन सम्पर्क गर्ने र लगातार जस्तै खाने गरेका पनि घटना छन् । यस्तो दुरुपयोगले भोलि गएर शरीरमा हर्मोनको असन्तुलन ल्याई जटिल समस्या निम्त्याउन सक्छ । जसले गर्दा महिनावारी अनियमित, अत्यधिक रक्तस्राव, पेट दुखाइ, वाकवाकी भविष्यमा गर्भधारणमा समस्या आदि हुनसक्छ ।

कुनै कारणवश आवश्यक परे कहिलेकाहीँ मात्र प्रयोग गर्नुपर्छ, तर हालका युवा-युवतीहरू अनियन्त्रित रूपमा ‘इकोन दिनुस्’ भनेर मनलाग्दी खरिद र सेवन गर्ने गरेको भेटिन्छ।

यो औषधि असुरक्षित यौन सम्पर्कपछि ७२ घण्टाभित्र मात्र प्रभावकारी हुन्छ । कतिपयले पाँच दिनसम्म निरन्तर सेवन गर्ने, वा डरका कारण प्रत्येक दिन खाउने गरेको पनि देखिन्छ, जबकि एउटै डोजले नै आवश्यक समय अवधिमा काम गर्छ।

यी सबै कुरा हेर्दा औषधि सधैं दुईधारे तरबार जस्तै हुन्छ भन्ने बुझ्न जरुरी छ । सही प्रयोग गरेमा उपचारमा धेरै लाभ पुग्छ, तर दुरुपयोग वा जथाभावी सेवनले स्वास्थ्यमा जटिल समस्या मात्र होइन, कहिलेकाहीँ जीवन नै जोखिममा पार्न सक्छ ।

चिकित्सकको अनिवार्य निदानपत्र आवश्यक पर्ने औषधि समेत हाम्रोमा जथाभावी बिक्री वितरण भएका घटनाहरू हामी बारम्बार सुनिरहन्छौं छौं। यसमा आम नागरिक सचेत हुनुपर्छ । त्यसपछि नियमनकारी निकायहरूको सक्रियता पनि उत्तिकै आवश्यक पर्छ । आज पनि देशैभरि कैयौँ अयोग्य व्यक्तिहरूले फार्मेसी चलाएका छन्, दर्तै नगरी चलाएका छन् । यसमा पनि राज्यको ध्यान जानुपर्छ ।

‍औषधि
डा. दीर्घराज जोशी
लेखक
डा. दीर्घराज जोशी
औषधि रसायन विज्ञ

औषधि रसायन विज्ञानमा विद्यावारिधि गरेका डा. दीर्घराज जोशीले अमेरिकामा केही समयका लागि भाइरस विरुद्धको औषधि आविष्कार कार्यमा समेत काम गरेका थिए । हाल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा उपप्राध्यापकका रुपमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय