+

निपाह भाइरस नियन्त्रणका लागि ‘वान हेल्थ’ रणनीति

२०८२ माघ  २७ गते १६:३२ २०८२ माघ २७ गते १६:३२

चमेरोका वासस्थान नजिक गरिने कुखुरापालन, सुँगुरपालन र पशुपालनले यस्ता पशुजन्य रोगहरू सर्ने जोखिमलाई अझ बढाउन सक्छ ।

निपाह भाइरस नियन्त्रणका लागि ‘वान हेल्थ’ रणनीति

News Summary

Generated by OK AI. Editorially reviewed.
  • निपाह भाइरस जनावरबाट मानिसमा सर्ने घातक प्यारामिक्जोभाइरस हो जसले मस्तिष्क सुन्निने र श्वासप्रश्वास समस्या निम्त्याउछ ।
  • सन् १९९९ मा मलेसियामा पहिलो पटक निपाह भाइरस प्रकोप देखिएको थियो र त्यसपछि बंगलादेश र भारतमा पनि प्रकोपहरू देखिएका छन्।

निपाह भाइरस जनावरबाट मानिसमा सर्ने एक घातक ‘प्यारामिक्जोभाइरस’ हो । विश्व स्वास्थ्य संगठनले यसलाई आगामी दिनमा ठूलो प्रकोप निम्त्याउन सक्ने १० गम्भीर रोगहरूको सूचीमा राखेको छ । यस भाइरसले मानिस र जनावर दुवैमा मस्तिष्क सुन्निने समस्या उत्पन्न गराउने र श्वासप्रश्वास सम्बन्धी जटिल रोगहरू निम्त्याउछ, जसले प्रायः मृत्युसम्म पुर्‍याउन सक्छ ।

यस भाइरसको एउटा मुख्य विशेषता भनेको यसले धेरै प्रकारका जीवहरूलाई सङ्क्रमित गर्ने क्षमता राख्दछ । यो भाइरस चमेरो जस्ता प्राकृतिक स्रोतबाट सिधै मानिसमा सर्न सक्छ । सुँगुर जस्ता जनावरमार्फत पनि सङ्क्रमण फैलिने गर्दछ । यसको उच्च मृत्युदर र सङ्क्रमण हुने विभिन्न माध्यमहरूका कारण यसलाई जनस्वास्थ्यको क्षेत्रमा निकै जोखिमपूर्ण रोगका रूपमा हेरिएको छ ।

हालसम्म निपाह भाइरसविरुद्ध कुनै प्रभावकारी एन्टिभाइरल उपचार उपलब्ध छैन । बिरामीको अवस्था र लक्षणहरू व्यवस्थापन गर्नका लागि केवल सहायक उपचार मात्रै हुन्छ।

निपाह भाइरसको प्रकोप र भौगोलिक वितरण

निपाह भाइरस जनावरबाट मन्छे मा सर्ने (जुनेटिक) रोग हो । जुनेटिक रोगका प्रकोपहरू प्रायः अप्रत्याशित, आकस्मिक र विरलै हुने घटना हुन्, जसले विनाशकारी प्रभाव पार्न सक्छन् । निपाह भाइरस, सार्स-कोभ-२, इबोला भाइरस र अन्य पशुजन्य भाइरसहरूको मुख्य संवाहक चमेरो हो । तर यी भाइरसहरू आफ्नो आश्रयदातामा कसरी फैलिन्छन् भन्ने कुराको पारिस्थितिक कारक र गतिशीलताका बारेमा धेरै कम जानकारी मात्रै उपलब्ध छ ।

सन् १९९९ मा मलेसियाको एक गाउँमा सुँगुरपालक कृषकहरूमा देखिएको प्रकोपको समयमा पहिलो पटक निपाह भाइरस पहिचान गरिएको थियो । सेप्टेम्बर १९९८ देखि मे १९९९ को बीचमा, मलेसियामा तीव्र ‘इन्सेफलाइटिस’का २६५ बिरामीहरू फेला परेका थिए, जसमध्ये १०५ जनाको मृत्यु भएको थियो ।

सुरुमा यस प्रकोपलाई जापानी इन्सेफलाइटिस मानिएको थियो । फलस्वरूप, सुँगुरहरूलाई जापानी इन्सेफलाइटिसविरुद्ध खोप लगाउने र लामखुट्टे नियन्त्रणका लागि कीटनाशक औषधि छर्कने जस्ता प्रारम्भिक उपायहरू अपनाइए । तर यी प्रभावकारी हुन सकेनन् ।

फेब्रुअरी १९९९ सम्ममा यो प्रकोप मलेसियाको सिकिमत, सुङ्गाई निपाह गाउँ र बुकिट पेलान्दोक क्षेत्रमा फैलियो, जसले १८० जनामा संक्रमण ८९ मृत्युसहित संक्रमणको दोस्रो लहर ल्यायो । मार्च १९९९ मा, युनिभर्सिटी अफ मलेसियाका भाइरोलोजिस्टहरूले सुङ्गाई निपाह गाउँका एक बिरामीको मस्तिष्क मेरुदण्डको तरल पदार्थबाट निपाह भाइरस आइसोलेट गर्न सफल भए ।

सन् १९९९ पछि मलेसियामा निपाह भाइरसको नयाँ प्रकोप देखिएको छैन । यद्यपि, सन् २००१ मा यो भाइरस बंगलादेश र भारतमा पहिचान गरियो । त्यसयता बंगलादेशमा लगभग हरेक वर्ष र पूर्वी भारतमा बेलाबेलामा यसका प्रकोपहरु देखिँदै आएका छन् ।

सन् २००१ मा भारतको सिलिगुढीमा भएको प्रकोपका क्रममा ६६ जना संक्रमित भएका थिए, जहाँ मृत्युदर ७४ प्रतिशत रहेको थियो। संक्रमितमध्ये लगभग ७५ प्रतिशत अस्पतालका कर्मचारी वा बिरामीसँग निकट सम्पर्कमा रहेका व्यक्तिहरू थिए । यसले यो भाइरस मानिसबाट मानिसमा सर्ने कुरालाई पुष्टि गर्‍यो ।

नेपाल, जसको दक्षिण, पूर्व र पश्चिममा भारतसँग खुला सीमा जोडिएको छ । यस्तो खुला सिमानाका कारण मानिसबाट मानिसमा हुने संक्रमणमार्फत नेपालमा निपाह भाइरसको अभूतपूर्व प्रकोप फैलिन सक्ने सम्भावना रहन्छ । यसका साथै, नेपालको पहाडी क्षेत्रमा रहेका फलफूल खाने चमेरोका केही समूहहरूले उच्च हिमाली भेगबाट तल्लो क्षेत्रसम्म मौसमी बसाइँसराइ गर्ने अनुमान गरिएको छ । यसले नेपालमा जुनोटिक भाइरस फैलाउने उच्च जोखिम निम्त्याउछ । दक्षिण एसियाली र दक्षिण-पूर्वी एसियाली देशहरूमा संक्रामक रोगहरूको द्रुत फैलावटमा योगदान पुर्‍याउने अर्को महत्त्वपूर्ण कारक बढ्दो जनसंख्या हो ।

चमेरोका वासस्थान नजिक गरिने कुखुरापालन, सुँगुरपालन र पशुपालनले यस्ता पशुजन्य रोगहरू सर्ने जोखिमलाई अझ बढाउन सक्छ । चमेरोले सामान्यतया न्यानो तापक्रम रुचाउँछन्, यद्यपि केही प्रजातिहरू ‘टोरपोर’ र शीतनिद्राहरू चिसो वातावरणमा पनि बाँच्न सक्छन् ।

यसैले, नेपालको हिमाली क्षेत्रमा केही चमेरोहरू जाडोबाट बच्नका लागि मानव-निर्मित संरचनाहरूमा बस्ने गर्दछन् । चमेरो र मानव समुदायको यस्तो सह-अस्तित्वका कारण नेपालमा चमेरोबाट सर्ने भाइरल प्रकोपको जोखिम सुषुप्त अवस्थामा रहेको छ । तर यो स्वास्थ्य खतरा बनेको कुराको प्रमाण भने हालसम्म भेटिएको छैन ।

संक्रमणका लक्षण र रोगको प्रकृति

निपाह भाइरसले मुख्यतया श्वासप्रश्वास र केन्द्रीय स्नायु प्रणालीलाई असर गर्छ । भाइरसको सम्पर्कमा आएको ३ देखि १४ दिनभित्र लक्षणहरू देखिन थाल्छन् । सुरुमा बिरामीलाई उच्च ज्वरो आउने, कमजोरी महसुस हुने र टाउको दुख्ने हुन्छ, जुन चाँडै नै मानसिक भ्रममा परिणत हुन्छ । यो मानसिक भ्रम केही दिनमै गम्भीर बनेर बिरामी बेहोस हुन सक्छन् । कतिपय अवस्थामा सुरुवाती लक्षणका रूपमा कडा खालको निमोनिया र श्वासप्रश्वासमा कठिनाइ पनि देखिन्छ ।

गम्भीर बिरामीहरूमा २४ देखि ४८ घण्टाभित्रै मस्तिष्क सुन्निने र छारेरोग जस्तै काम्ने समस्या देखिन सक्छ । विशेषगरी श्वासप्रश्वासमा समस्या भएका बिरामीहरूबाट यो भाइरस अरूमा सर्ने सम्भावना निकै उच्च रहन्छ। भाइरसको संक्रमण लक्षणविहीन हुन सक्छ, तर यसले मस्तिष्क सुन्निने र तीव्र श्वासप्रश्वास सम्बन्धी रोग पनि निम्त्याउन सक्छ ।

महामारी नियन्त्रणमा वन हेल्थको भूमिका

बढ्दो सहरीकरण र वन विनाशका कारण चमेरोहरू मानव बस्ती नजिकका फलफूलका बगैँचाहरूमा निर्भर हुन थालेका छन् । यसले मानिस र घरपालुवा जनावरमा ‘स्पिलओभर’ को जोखिम बढाएको छ । जाडो महिनामा पहाडी भेगका चमेरोहरू चिसोबाट बच्न तल्लो न्यानो क्षेत्र वा मानव-निर्मित संरचनामा सर्ने गर्दछन् ।

यो आवतजावतले भाइरसलाई नयाँ क्षेत्रमा फैलाउन सक्छ । पछिल्ला अध्ययनहरूले जलवायु परिवर्तनका कारण चमेरोका बासस्थानहरू उत्तरी अक्षांश र उच्च उचाइतर्फ सर्दै गएको देखाएका छन्, जसले पहिले जोखिम नभएका क्षेत्रहरूमा पनि नयाँ स्वास्थ्य चुनौतीहरू थप्न सक्छ । कृषि भूमिको विस्तार, सघन उत्पादन प्रणाली, वन विनाश र औद्योगिकीकरणले गर्दा विश्वव्यापी तापमान वृद्धि र वातावरणीय ह्रास सिर्जना भएको छ ।

मानव-सिर्जित यस्ता विपत्तिहरूको नकारात्मक प्रभाव न्यूनीकरण गर्न एक समग्र र वहु-विषयक दृष्टिकोणमा आधारित ‘वन हेल्थ’ आवश्यक छ । वन हेल्थ मानव-पशु-पारिस्थितिक प्रणाली बीचको सम्बन्धमा समग्र र बहु-विषयक दृष्टिकोणलाई प्रोत्साहन गर्ने एक अन्तर्राष्ट्रिय अभियान हो ।

वन हेल्थ कुनै नयाँ विचार वा सिद्धान्त होइन, बरू यो विशेष गरी सीमित स्रोत-साधन भएका देशहरूमा मानव-पशु स्वास्थ्य जोखिमहरूलाई सम्बोधन गर्न दिगो रूपमा मिलेर काम गर्ने संस्कृतिको विकास गर्नुपर्ने आवश्यकताको पहिचान मात्र हो। यसको भिजन दिगो र पारिस्थितिक रूपमा मैत्रीपूर्ण विकास गतिविधिहरूका लागि दूरगामी हुन सक्छ ।

नेपालमा चमेरोको इकोलोजी र तिनमा रहेका भाइरसहरूबारे व्यवस्थित र दीर्घकालीन अनुसन्धानको अझै कमी छ । नेपालमा अहिलेसम्म निपाह भाइरसको आधिकारिक पुष्टि नभए पनि छिमेकी देशहरू (भारत र बंगलादेश) मा भइरहने प्रकोपले नेपाललाई उच्च सतर्कता अपनाउनु आवश्यक छ । निपाह भाइरस जनावरबाट मानिसमा सर्ने र त्यसपछि मानिसहरूबीच फैलिने रोग भएकोले, यसलाई ‘वान हेल्थ’ को दृष्टिकोणबाट हेर्नु अत्यन्त आवश्यक छ ।

‘वान हेल्थ’ एउटा यस्तो नविन अवधारणा हो जसले मानव, जनावर र वातावरणको स्वास्थ्य एक-अर्कामा अन्तरनिर्भर हुन्छ भन्ने कुरामा जोड दिन्छ ।

वान हेल्थ रणनीतिलाई सफल बनाउन यसलाई चार मुख्य श्रेणीमा विभाजन गरिएको छ:

१. एकीकृत निगरानी

एकीकृत निगरानी प्रणालीले कुनै पनि नयाँ भाइरस वन्यजन्तु वा पशुहरूमा देखिने‍बित्तिकै पहिचान गर्न मद्दत गर्दछ, जसले गर्दा भाइरस मानिसमा सर्नुअघि नै रोकथामका उपायहरू अपनाउन सकिन्छ । पश्चिम अफ्रिकामा फैलिएको इबोला प्रकोपले के देखाएको थियो भने, यदि निगरानी प्रणाली फितलो भयो भने भाइरस हप्तौँसम्म पत्ता लाग्दैन र हजारौँको ज्यान जान सक्छ। प्रभावकारी निगरानीका लागि स्थानीय समुदाय, परम्परागत उपचारक र वन्यजन्तु विज्ञहरूलाई पनि यस प्रणालीमा समावेश गर्नु आवश्यक छ ।

२. सहयोगात्मक अनुसन्धान

यो वान हेल्थ रणनीतिको एउटा आधारस्तम्भ हो । यसले विभिन्न विधाका विज्ञहरूबीचको खाडललाई पुर्दै जनावरबाट मानिसमा सर्ने रोगहरूको प्रकृति बुझ्न र तिनलाई न्यूनीकरण गर्न मद्दत गर्दछ । सहयोगात्मक अनुसन्धानले मानव चिकित्सक, पशु चिकित्सक, वातावरणीय स्वास्थ्य विज्ञ, महामारी विज्ञ र जैव-नीतिशास्त्रीहरूलाई एउटै थलोमा ल्याउँछ । यो सहकार्यले जनावर, मानिस र वातावरणको मिलनबिन्दुमा उत्पन्न हुने स्वास्थ्य खतराहरूलाई पहिचान गर्ने र अनुगमन गर्ने क्षमता बढाउँछ । यस्तो समन्वय नयाँ रोगका कारणहरू पत्ता लगाउन, तिनीहरूको सङ्क्रमण मार्ग बुझ्न र प्रभावकारी रोकथामका उपायहरू तयार पार्न निकै महत्त्वपूर्ण हुन्छ ।

३. नीति र सुशासन

नीति र सुशासन वान हेल्थ रणनीतिको व्यवस्थापकीय मेरुदण्ड हो । यसले जुनोटिक रोगहरूलाई सम्बोधन गर्न विभिन्न सरकारी निकायहरूबीच समन्वय र दिगो आर्थिक लगानी सुनिश्चित गर्दछ । प्रभावकारी सुशासनका लागि स्वास्थ्य, कृषि, वातावरण र वन्यजन्तु विभागहरूबीच राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा तालमेल हुनु आवश्यक छ । एन्टिमाइक्रोबियल प्रतिरोध, बासस्थान विनाश र जलवायु परिवर्तन जस्ता जटिल समस्याहरू कुनै एक क्षेत्र वा देशको सिमानाभित्र मात्र सीमित हुँदैनन् ।

त्यसैले, विभिन्न मन्त्रालय र देशहरूबीच पारदर्शी तथ्याङ्क आदानप्रदान र सामूहिक कार्यका लागि बलियो नीतिगत ढाँचा हुनुपर्छ । स्वास्थ्य खतराहरूले कुनै पनि देशको सिमाना चिन्दैनन् । त्यसैले, राष्ट्रिय स्वार्थभन्दा माथि उठेर गरिएको अन्तर्राष्ट्रिय सहकार्य र एकीकृत सुशासनले मात्र भविष्यमा महामारीहरूलाई प्रभावकारी रूपमा रोक्न र सामना गर्न सकिन्छ ।

४. शिक्षा र जनचेतना

शिक्षा र जनचेतना वान हेल्थ संरचनाका अत्यावश्यक अंगहरू हुन् । यसले विभिन्न विधाका विज्ञहरूबीच साझा बुझाइ कायम गर्ने र जनसहभागितामार्फत रोग नियन्त्रण गर्न मद्दत गर्दछ । वान हेल्थ ले स्वास्थ्यकर्मी, पशु चिकित्सक, पर्यावरणविद् र नीति निर्माताहरूलाई एकीकृत स्वास्थ्य दृष्टिकोणमा शिक्षित गराउँछ । यसले गर्दा विभिन्न क्षेत्रका विज्ञहरूबीच एउटा साझा बुझाइ निर्माण हुन्छ, जसले आपसी सहकार्यलाई अझ प्रभावकारी बनाउँछ । जब सबैले एउटै लक्ष्य र प्रविधिका साथ काम गर्छन्, तब मात्र जुनोटिक रोगहरूको पहिचान र रोकथाम सम्भव हुन्छ ।

जनचेतनाको अभावमा स्वास्थ्य संकटका बेला समुदायबाट प्रतिरोध हुन सक्छ । सन् २०१४-२०१६ को पश्चिम अफ्रिकाको इबोला प्रकोप यसको एउटा ठूलो पाठ हो । त्यहाँ रोग सर्ने प्रक्रियाबारे गलत बुझाइका कारण स्वास्थ्यकर्मीमाथि आक्रमण र बिरामी लुकाउने जस्ता घटनाहरू भएका थिए। तर, जब स्थानीय नेताहरू मार्फत शिक्षा र जनचेतना फैलाइयो, तब मात्र समुदायको सहयोग प्राप्त भयो र प्रकोप नियन्त्रण गर्न सफल भइयो ।

(लेखक सन्तोष पाण्डेले स्वास्थ्य र दिगो विकास विषयमा पीएचडी गरेका छन् )

निपाह भाइरस वान हेल्थ
लेखक
सन्तोष पाण्डे
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय