+
+
Shares

सिनेमाको वर्णमालामा ‘बेला टार’

बेला टार आफ्ना सिनेमामा मान्छे हुनुलाई देखाउँछन्, उनीहरूका काँचा भावाना र अवस्थालाई केलाउँछन् ।

प्रवीण प्रवीण
२०८२ पुष २६ गते १२:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हंगेरियन फिल्म निर्देशक बेला टारको ७० वर्षको उमेरमा निधन भएको छ, जसले सिनेमा क्षेत्रमा विशिष्ट शैली र भाषा छोडेका छन्।
  • उनको अन्तिम फिल्म 'द टुरिन हर्स' फ्रेडरिक नित्सेको जीवन घटनामा आधारित छ, जसले विनाश र अस्तित्वको कथा चित्रण गर्छ।
  • बेला टारले आफ्नो करियरमा तीन महान् फिल्महरू बनाएका छन्, जसले मान्छेको अस्तित्व र समयको सूक्ष्म अन्वेषण गरेका छन्।

अनौठो आदत छ मेरो । केही हुन्छ । केही कमसल, केही वजनहीन, केही अनौंठा घटनाहरू घट्छन् । एकदम झिना कुरामा अल्झिरहेजस्तो लाग्छ आफूलाई । सानो कुरा भएको हुन्छ, जसलाई सजिलै बेवास्ता गर्नु नै मान्छे हुनुको प्रमाण हो । तर म त्यसो गर्न सक्दिनँ । स-साना कुराको अर्थ खोज्न थाल्छु ।

हिजो एउटा सपना देखेँ । जति सम्झिन्छु, एकदम सारहीन, एकदम सादा लाग्छ मलाई त्यो सपना । एउटा विशाल बगरजस्तो ठाउँ । एउटा लगामहीन घोडा लगातार दौडिरहेको छ बालुवामाथि । त्यस घोडाको रङ्ग सम्झिन सक्दिनँ अहिले । मेरो सपनाभित्र त्यो दौडी मात्र रह्यो । लङ सटमा खिचिएको सिनेमाको दृश्यजस्तो, दौडिरह्यो । त्यो सपनाको कुनै सुरुवात थिएन । बस् एक लामो दौड, एउटा घोडा, त्यसका टापबाट उडेको धुलो र बगर मात्र । सपनाको अन्त्यसम्म पनि म पुग्न सकिनँ । आलार्म बज्यो, सपना भत्कियो, ओछ्यानमै निदाएको यथार्थ ओछ्यानमै ब्यूँझियो ।

ब्यूँझिएपछि, मैले त्यो सपनालाई सम्झिएँ, कुनै पजलजस्तो लाग्यो । त्यस सपनालाई म यत्तिकै बेवास्ता गरेर आफ्नो वास्तविकतासँग अभ्यस्त हुन सक्थेँ । तर त्यो सपना यति नि:सार थियो कि मैले त्यसलाई नसोचिरहन सकिनँ । कस्तो बेतुकको सपना ! सोचहरूले त्यसको अर्थ खोज्न थाले ।

फ्राइएड भन्थे, ‘हाम्रा सपनाहरू वास्तविक जीवनका अपूरा इच्छाहरू बाहेक अरू केही होइनन्, जुन प्रायः चेतन मनद्वारा दबाइएका हुन्छन् र ती इच्छाहरू प्रायः अनौठो तरिकाले सपनामा प्रकट हुन्छन् ।’

मैले आफूले पढेका, बुझेका कुराहरूलाई त्यो सपनासँग तौलिएँ । अर्थहीनतामा अर्थ खोज्नु निरर्थक लागिरह्यो । तर त्यो सपनाको दृश्यलाई म आफ्नो सोचबाट हटाउन सकिरहेको थिइनँ । म आफ्ना सोचहरूमै रुम्मलिरहेँ ।

मान्छेको दिमागमा एउटा हिप्पोक्याम्पस भनिने सानो संरचना छ, जसको आकार ठ्याक्कै समुन्द्री-घोडा नामको माछोजस्तै हुन्छ । यो मान्छेका यादहरू बोकेको भाडो जस्तो हो । यसले मान्छेले दिनभरि देखेका अनुहार, ठाउँ र घटनाहरूलाई भण्डारण गर्ने काम गर्छ र निदाएको बेला तिनै यादका टुक्राहरूलाई निकालेर सपनाको कथा बुन्न थाल्छ । यसले प्राय: ठ्याक्कै त्यही कुरा देखाउनुको सट्टा पुराना र नयाँ सम्झनाहरूलाई घोलेर नयाँ र अनौठा दृश्यहरूलाई सपनाको रूपमा निर्माण गर्छ ।

म घोडासँगका आफ्ना यादहरूमा फर्किएँ । पछिल्लो हप्ता अकिरा कुरुसवाको किताब ‘समथिङ लाइक एन अटोबायोग्राफी’ पढिरहँदा मैले उनका केही फिल्महरू पनि दोहोर्‍याएर हेरिरहको थिएँ । ‘उनकै ‘र्यान’, ‘थ्रोन अफ ब्लड’, ‘सेभेन सामुराई’ या अरू कुनै फिल्मको घोडा मेरो सपनामा आएको हुनुपर्छ’, सोचहरूलाई थप्थपाउन एउटा सात्वना दिएँ ।

अर्को सम्झना, केही दिनअघि मात्र मैले युट्युबमा विष्णुको हयग्रिव अवतारबारे एउटा भिडियो हेरेको थिएँ । भगवती पुराणका अनुसार भगवान विष्णुले हयग्रिव नामको राक्षसलाई मार्नका निमित्त हयग्रिव (घोडा)को रूप लिएका थिए । दैत्य हयग्रिवले माता भगवतीबाट यदि उसको मृत्यु हुन्छ भने ऊ समान र उसकै रूप भएको हयग्रिवको हातबाट मात्र होस् भन्ने वरदान पाएको थियो । भगवान हयग्रिवले दैत्य हयग्रिवलाई मारेर देवताको रक्षा गरेका थिए ।

मलाई लाग्यो, मेरो चेतनामा बसेको हयग्रिव अवतार नै मेरो सपनामा आएको घोडा हो । जतिजति म आफ्नो निरर्थक सपनालाई अर्थको जालोमा बुन्दै जान्छु, मस्तिष्कमा त्यो सपनाको घोडा ठ्याक्कै कस्तो थियो भन्ने कुरा धुमिल हुँदै जान्छ । र त्यसको स्वरुपले मेरो सोचभित्रको घोडासँग आफ्नो स्वरुप साट्छ । एउटा निरस सपनाको अर्थ खोज्न म आफ्नो यथार्थलाई झनै बोझिलो बनाउँदै जान्छु र साट्न थाल्छु आफ्ना सपनालाई सम्झनाहरूसँग ।

सन् २०११ मा ‘द टुरिन हर्स’ बनाएपछि बेला टारले फिचर फिल्मबाट अवकाश लिए । त्यसपछि उनले जम्मा दुईवटा छोटा डकुमेन्ट्री सिनेमा बनाए र फिल्ममेकिङ पढाएर बसे ।

कहिलेकाहीँ अनौठो कुराहरू मनमा खेलाइरहँदा, सामान्य कुरा घट्छ र मनमनै त्यसले एउटा संयोगलाई जन्मदिन्छ । सपना देखेको भोलिपल्टको बेलुका म इन्स्टाग्राम स्क्रोल गरिरहेको थिएँ । एउटा समाचार देखेँ– ‘हंगेरियन डाइरेक्टर बेला टारको ७० वर्षको उमेरमा निधन’ । ७० वर्ष धेरै लामो आयु हो र त्यो आयुभित्र उनका सुन्दर सिनेमाहरू समेटिसकेका छन् । एउटा अर्थपूर्ण जीवन, बुढेसकालमा मृत्यु ! त्यो खबर मेरा लागि त्यति दु:खलाग्दो थिएन । तर त्यसले मलाई एउटा शून्यतामा धकेलिदियो । लाग्यो, उनी मरेर संसारमा एउटा सानो स्थान खाली भयो । तर त्यसलाई भर्नका निम्ति उनले सिनेमा मेकिङको इतिहासमा एउटा पृथक भाषा छाडिसकेका छन् ।

त्यही शून्यताबाट एउटा आकाशवाणी निस्कियो– ‘सन् १८८९ जनवरी ३, टुरिनमा फ्रेडरिक नित्से भिया कार्लो अल्बर्टोको ६ नम्बर ढोकाबाट बाहिर निस्किन्छन्- सायद यत्तिकै पैदल हिँड्नका लागि, सायद आफ्नो चिठ्ठी लिन पोस्ट अफिसतिर लम्किँदै ।

उनीभन्दा धेरै टाढा होइन, या वास्तवमा उनको यथार्थभन्दा पनि निकै टाढा, एक टाँगा चालक आफ्नो हिँड्न नमानिरहेको घोडालाई हप्काइरहेको छ । धेरै प्रयास गर्दा पनि घोडा हिँड्न मान्दैन, जसकारण टाँगा चालकले धैर्यता गुमाउँछ र घोडालाई कोर्रा हान्न थाल्छ।

नित्से त्यो भीडको नजिक पुग्छन् र रिसले चुर भएको त्यस टाँगा चालकको क्रूरतालाई रोक्छन् । कसिलो शरीर र बाक्लो जुँगा भएका नित्से अचानक टाँगातर्फ उफ्रिन्छन् र घोडालाई अंगालो हालेर रुन थाल्छन् । उनका छिमेकीले उनलाई घर लैजान्छन्, जहाँ उनी दुई दिनसम्म एउटा सोफामा शान्त र मौन सुतिरहन्छन् । अन्ततः उनले आफ्ना अन्तिम शब्दहरू बर्बराउँछन्, ‘आमा, म मूर्ख भएँ’ र त्यसपछिका १० वर्षसम्म आफ्नी आमा र दिदीबहिनीहरूको हेरचाहमा सौम्य तर विक्षिप्त अवस्थामा बाँचिरहन्छन्।

त्यो आवाजसँगै मेरो मस्तिष्कमा हावाहुरीका बीच एउटा टाँगा तानिरहेको घोडाको आकृति झुल्किन्छ । लाग्छ, त्यो घोडा नै हो मेरो सपनाको घोडा । नित्सेले अँगालो हालेर रोएको घोडा, बेला टारको ‘द टुरिन हर्स’ । संयोगको खोल ओडाएर कति सजिलै म आफ्नो सपनाको घोडासँग बेला टारको मृत्युलाई जोडिदिन्छु ।

गत जनवरी ६ मा आफ्ना अँध्यारा, उदास, विनाशकारी र विशिष्ट शैलीका कथा बोकेका फिल्महरूका लागि प्रख्यात हंगेरियन फिल्म निर्देशक बेला टारको ७० वर्षको उमेरमा निधन भयो । आफ्नो करियरमा उनले जम्मा ९ वटा फिचर सिनेमाहरू निर्देशन गरे, जसमध्ये सन् २०११ को ‘द टुरिन हर्स’ उनको अन्तिम फिल्म थियो । यसलाई उनले आफ्ना पछिल्ला तीन फिल्महरूजस्तै आफ्नी पत्नी तथा फिल्म-इडिटर एग्नेस ह्रानिट्ज्कीसँग संयुक्त निर्देशन गरेका हुन् ।

जम्मा ३० वटा लङ टेकमा खिचिएको फिल्म ‘द टुरिन हर्स’को प्रोलग कालो पर्दामा न्यारेटरको आवाजबाट सुरु हुन्छ, जसले नित्सेको पागलपनको कथा भन्छ, जुन यो सिनेमाको ब्याकस्टोरी पनि हो । र यो फिल्म त्यही घोडाको कथा हो, जसलाई अँगालेर नित्से रोएका थिए । फिल्मको कन्सेप्ट एकदम सरल छ । सुरुमै फिल्ममा एउटा प्रश्न आउँछ– उक्त घटनापछि त्यो घोडालाई के भयो ? यो फिल्म स्वयं फ्रेडरिक नित्सेको बारेमा भने होइन, तर नित्सेसँगको त्यस घटनाको प्रभाव भने फिल्मभरि एउटा छायाँ जसरी मडारिरहन्छ ।

१३० मिनेटको फिल्ममा त्यसपछि कहीं पनि निन्त्सेबारे थप चर्चा हुँदैन । यो फिल्म एउटा घोडा, एउटा हात लुलो भएको टाँगावाला किसान र उनकी छोरीको जीवनका ६ दिनहरूमा केन्द्रित छ । र ती दिनहरू एकैखाले छन्, एउटा अन्त्यको पर्खाइमा छन् । फिल्मले उनीहरूको घर वरपरको दिनचर्यालाई पछ्याउँछ । बाहिर कयौं दिनदेखि लगातार भयानक हुरी चलिरहेको छ ।

फिल्ममा एकदम कम संवाद छन् । एक उत्तेजक, एकानासे ब्याकग्राउन्ड म्युजिकसहितका दृश्यहरू संवादहीन शून्यतामा बिलाउँदै गएजस्तो लाग्छ । एकनासे दैनिकी बोकेका लामा दृश्यहरूले गरिबीको कठोर यथार्थलाई कोट्याउँछन् र फिल्म हेरिरहँदा यस्तो लाग्छ हामी त्यहीं छौँ, ती पात्रहरूसँगै– उनीहरूको घरमा लुगा फेरिरहेका छौँ, केही खान नमानिरहेको घोडासँग तबेलामा सम्झौता गर्ने प्रयास गरिरहेका छौँ, हावाहुरीलाई चिर्दै इनारबाट पानी ल्याइरहेका छौँ, उसिनेका आलु खाइरहेका छौँ ।

एउटा प्रलयको, एउटा अन्त्यको सुरुवातको बिम्ब बनेर उभिएका ती पट्यारलाग्दा दिनहरू र त्यो अभावसँगैको वैरागी अभ्यस्तता हामी उनीहरूसँगै सहन बाध्य हुन्छौँ । उनीहरूको जीवनमा कुनै उल्लेखनीय घटना घट्दैन र केहीले पनि त्यो दिक्कलाग्दो एकरूपतालाई चिर्दैन । उनीहरू केवल बाँच्छन्, परिश्रम गर्छन् र कष्ट भोग्छन् । बस् उनीहरूको अस्तित्व छ । तर उनीहरूको अस्तित्वमाथि जबरजस्ती एउटा कठोर यथार्थ लादिएको छ । भाग्यको खेललाई उनीहरू प्रतिकार गर्न सक्दैनन् । उनीहरूले आफ्नो इच्छा अनुरुप जीवन चलाउन पाउँदैनन् ।

फिल्ममा विनाशतिर दौडिरहेको एउटा संसारको प्रतीकको रुपमा एउटा बिमार घोडा उभिएको छ । फिल्मले त्यस घोडाले खान र हिँड्न नमान्दाको परिणामस्वरुप त्यो घोडासँग जोडिएका दुई पात्रहरूको क्रमिक पतनलाई दर्शाउँछ ।

बेला टार परम्परागत ढंगले कथा भन्न खोज्दैनन्, बरु मान्छेका कच्चा र आधारभूत अवस्थाको एक सूक्ष्म अन्वेषण गर्छन् । उनी अस्तित्वमाथि प्रश्न गर्छन्, स्थानसँग लगाव राख्छन् र समयलाई फरक नजरले हेर्छन् । घरले पनि कथा बोकेको छ, घोडाले पनि, हुरीले पनि, इनारले पनि, झ्यालले पनि । उनका फिल्मको मुख्य पात्र समय पनि हो । केही अस्तित्वमा हुनु आफैंमा एउटा कथा हो । समयलाई उनी प्राकृततिक हिसाबले बग्न दिन्छन्, जीवनको वेगमा विश्वास राख्छन् । त्यसैले उनी लामा सटहरू खिच्छन्, उनका सिनेमाहरूको गति एकदमै सुस्त हुन्छ ।

उनी स्थानलाई पनि आफ्नो पात्र मान्छन् । ‘द टुरिन हर्स’को कथा जुनै समय, जुनै स्थानको पनि हुनसक्छ । हरेकचोटि यो फिल्म हेरिरहँदा म बौलाइरहेको चैते हावाहुरीको बीच अस्तित्व जोगाउन खोजिरहेको आफ्नै गाउँ सम्झिन्छु । हरेक मान्छेको सांसारकिता एउटै छ । टार मान्छेका जीवनको, मान्छेका दिनचर्या र इहलौकिकताको लयलाई समात्छन् । आफ्ना अन्य सिनेमामा जस्तै उनले यो फिल्ममा पनि मान्छेका अस्तित्वगत निरसता र अभ्यस्तताको अगाडि एउटा ऐना राखिदिएका छन्, जसमा प्रतिबिम्बित यथार्थको छायाँ असंगती र निरर्थकताले भरिएको छ ।

आफ्ना सिनेमामा बेला टारले एउटा भाषाको निर्माण गरेका छन् । उनका डायस्टोपियन फिल्महरू विनाशको संकेत बोकेर उभिन्छन्, संसारका उदासीनताको मजाक गर्छन् र उनका दृश्यहरू दर्शनका टिप्पणीकर्ताको रूपमा उभिन्छन् । बेला टार आफ्ना सिनेमामा मान्छे हुनुलाई देखाउँछन्, उनीहरूका काँचा भावाना र अवस्थालाई केलाउँछन् । त्यसैले पनि उनले अधिकांश आफ्ना फिल्ममा नन-याक्टरहरूसँग काम गरेका छन् । उनी आफ्नो क्यामेराद्वारा ड्रामा होइन, मान्छेले भोगेको, बाँचेको जीवनको सूक्ष्मतालाई देखाउन चाहन्छन् ।

बेला टारको क्यामेरा जम्मा दुईवटा रङमा सामाहित छ– ब्ल्याक एण्ड वाइट । सिनेमाटोग्रफी एकदम यथार्थपरक र प्राकृतिक छ तर त्यस प्रकृतिले विध्वंसको रुप ओडेको छ । दृश्यहरू डरलाग्दा पेन्टिङहरूजस्ता छन् । आरनबाट आएको एकोहोरो आवाजजस्तो, पृष्ठभूमिमा बजिरहेको संगीतको लयमा बगिरहेका ती दृश्यहरू पिटर ब्रुगेलका पेटिङहरू जस्तै लाग्छन्– त्रासले भरिएका, अस्तव्यस्त, ऐँठनजस्तो । उनका फिल्ममा दृश्यहरूको लयात्मक गतिले सधैं मलाई कसैको घरमा कोही नभएको बेला चियाएर हेर्दा उम्रेको मसिनो डरजस्तो आभास दिन्छ ।

नोबेल पुरस्कार विजेता लेखक लास्लो क्राज्नाहोर्काइले लेखेको नीत्सेको त्यस घटनामा आधारित एउटा छोटो कथा थियो, जहाँ उनले प्रश्न गरेका थिए— त्यसपछि त्यो घोडालाई के हुन्छ ? ‘द टुरिन हर्स’ त्यही विषयमा आधारित फिल्म हो । त्यो प्रश्नको एउटा काल्पनिक जवाफ । फिल्मले विनाशको सङ्घारमा उभिएको एउटा यस्तो संसारको निर्माण गर्छ, जहाँ जीवनको एकरूपता र कठोरता केवल परिस्थिति मात्र नभई कथामा महत्त्वपूर्ण भूमिका खेल्ने पात्रहरू पनि बनिदिन्छन् ।

फिल्ममा विनाशतिर दौडिरहेको एउटा संसारको प्रतीकको रुपमा एउटा बिमार घोडा उभिएको छ । फिल्मले त्यस घोडाले खान र हिँड्न नमान्दाको परिणामस्वरुप त्यो घोडासँग जोडिएका दुई पात्रहरूको क्रमिक पतनलाई दर्शाउँछ । साथै, यसले आधुनिक जीवनको तर्कहीनतालाई पनि प्रतिविम्बित गरेको छ, जहाँ आशा र निराशा एउटा हुरीको अनन्त भूमरीमा रुम्मलिरहेका छन् ।

मेरा निम्ति बेला टारले आफ्नो जीवनकालमा तीनवटा महान् सिनेमाहरू बनाएका छन्– ‘सेतानट्याङ्गो’, ‘वेर्कमाइस्टर हार्मोनिज’ र ‘द टुरिन हर्स’ ।

‘सेतानट्याङ्गो’ विश्व सिनेमा जगतमै एउटा उत्कृष्ट उपन्यासको एउटा उत्कृष्ट अड्याब्टेसन हो– ३३३ पृष्ठ भएको क्राज्नाहोर्काइको सोही नामको उपन्यासमा आधारित भएर बेला टारले साढे सात घण्टा लामो एउटा महाकाव्यजस्तो सिनेमा बनाएका छन्, जसले उपन्यासको प्रत्येक अध्यायलाई कुनै पनि काँटछाँट बिना नै पूर्णरुपमा दृश्यहरूमा रुपान्तरण गरेको छ । यस फिल्मका घटनाहरू एउटा सोभियत-नियन्त्रित उजाड गाउँको वरपर घुम्छन्, जहाँका मान्छेहरू सामूहिकरूपमा खेती-किसानी गर्छन् । तर त्यो सामूहिक प्रणाली भत्किन्छ र अधिकांश किसानहरू समुदायको गाईवस्तु विक्रीबाट आएको आफ्नो भागको पैसा लिएर भाग्ने योजना बनाउँछन् । तर त्यही समुदायको एकजना मान्छे, जसलाई धेरैले पहिला नै मरिसकेको ठानेका थिए, ऊ गाउँ फर्किन्छ । त्यसपछि गाउँको स्थिति नै जटिल मोडमा पुग्छ ।

टारको ‘वेर्कमाइस्टर हार्मोनिज’ पनि क्राज्नाहोर्काइकै दोस्रो उपन्यास ‘द मेलान्कोली अफ रेजिस्टेन्स’मा आधरित छ । यस फिल्मले एउटा सानो शहरको स्वरैकाल्पनिक र अतियथार्थवादी घटनाहरूको रहस्यमयी श्रृंखलाको चित्रण गर्छ । फिल्मको मुड नै अवसादको हावाले भरिएको छ, उपनिवेशले गाँजिएको छ । कोइलाको अभावले गर्दा शहर चिसो छ । वातावरणमा पनि ताप र प्रकाशको ठूलो कमी छ । हिउँद सकिनै लाग्दा, एकदिन एउटा रहस्यमयी सर्कस शहरको चोकमा आइपुग्छ, जसले गर्दा त्यहाँका मान्छेहरूबीच विचित्रका हल्लाहरू फैलिन थाल्छन् ।

र ‘द टुरिन हर्स’- नीत्सेको कथाको उल्टोपट्टी उभिएको एब्सर्ड मोड हो । एउटा नीरस ठट्टाजस्तो, विनाशको विवरणमा उम्रिएको चरणबद्ध असृष्टिजस्तो । अस्तित्वमा हुनुको निरर्थकता, जसरी फिल्मभरि झरेका रुखका पातहरूलाई हुरीले नचाइरहेछ र अन्धकारले सबथोक निल्दै जाँदैछ । बिलाउँदै गरेको अस्तित्वको एउटा घोषणा जस्तो ।

यी तीनै वटा फिल्ममा टारले एउटा फरक भाषाको निर्माण गरेका छन्– अराजकतामा गिजोलिएका मान्छेका संवेदना, लामा दृश्यहरूमा कुँदिएको नि:सार समय, विनाशका अन्तिम दिनहरूलाई समेटिरहेको वातावरण र तर्कसंगत रूपमा सिनेमाको आडमा उभिएको शून्यवाद।

सन् २०११ मा ‘द टुरिन हर्स’ बनाएपछि बेला टारले फिचर फिल्मबाट अवकाश लिए । त्यसपछि उनले जम्मा दुईवटा छोटा डकुमेन्ट्री सिनेमा बनाए र फिल्ममेकिङ पढाएर बसे । आफ्नो रिटायर्मेन्टबारे उनी भन्थे– ‘फिल्ममार्फत् बिस्तारै तपाईं एउटा भाषाको निर्माण गर्नुहुन्छ । र तपाईं के भन्न चाहनुहुन्छ भन्ने कुराले त्यस भाषालाई निधारित गर्छ । ‘टुरिन हर्स’ बनाएपछि मलाई लाग्यो, अब मैले भन्न बाँकी के नै रह्यो र ? यो मेरो जिन्दगीको एउटा सुन्दर अध्याय हो । तर जीवन भने सकिएको छैन, बस् अहिले म फरक बाटो हिँडिरहेको छु ।’

लेखक
प्रवीण

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?