आज हामी एक्काइसौं शताब्दीको तेस्रो दशकमा बाँचिरहेका छौं । प्रविधिको विकास चरम सीमामा पुगेको छ जसले गर्दा विश्व नै एउटा गाउँ भएको छ; विश्वग्राम नै हरेक व्यक्तिको हत्केलामा अटाएको छ । यसले चाहिने–नचाहिने हरेक कुरामा सबैको सहज पहुँच सम्भव तुल्याइदिएको छ ।
यस्तो सहजताले सबैजसो व्यक्तिको मानसिक शान्ति अत्यन्तै ह्रासोन्मुख अवस्थामा पुगिरहेको छ; आपसी सद्भाव नामेट भइरहेको छ । यस्तो परिस्थितिबाट विशेष गरी आजको युवा पुस्ता अत्यधिक दबाब, तनाव र भ्रममा रुमलिन थालेको देखिन्छ । फलस्वरूप, लगभग २,५०० वर्षअघि भगवान बुद्धले दिनुभएको पवित्र उपदेश र सिकाउनुभएको ‘समथ एवं विपश्यना ध्यान’ आजको युगमा अझ बढी प्रासंगिक बनेका छन् ।
नेपाल भगवान बुद्धको पवित्र जन्मस्थल लुम्बिनी रहेको पावन भूमि हो । भगवान बुद्ध त्यस्ता महान व्यक्ति हुनुहुन्छ जसले सम्पूर्ण प्राणीको हित र कल्याणका लागि सबै प्रकारका राजकीय सुखसुविधा त्याग्नुभयो; छ वर्षसम्म कठिन तपस्या गरेर सम्यक् सम्बोधि प्राप्त गरी विश्वसमाजलाई शान्ति, सद्भाव, मैत्री र करुणाका साथै दु:खमय सांसारिक भवसागरबाट कसरी मुक्त हुन सकिन्छ भनी उपदेश दिनुभयो । त्यसैले नेपालका युवाहरूले भगवान बुद्धको पवित्र उपदेशलाई आत्मसात् गरी व्यक्तिगत र राष्ट्रिय समृद्धिमा ठूलो योगदान पुर्याउन सक्छन् भन्ने मलाई लाग्छ । आज हामी यिनै विषयहरूलाई अलिकति भए पनि बुझ्ने प्रयास गर्नेछौं ।
समथ एवं विपश्यना ध्यान : सैद्धान्तिक पक्ष
समथ ध्यानको अर्थ हो— मनको एकाग्रता । समथ शब्दको अर्थ हुन्छ— शान्ति वा स्थिरता । समथ ध्यान भनेको मनलाई एक विन्दुमा केन्द्रित गर्ने अभ्यास हो । यसमा हामी आफ्नो ध्यान श्वास–प्रश्वासमा वा कुनै विशेष वस्तु अथवा विषयमा केन्द्रित गर्छौं । ध्यानको पहिलो चरण यही हो, जसले मनलाई शान्त र स्थिर बनाउँछ ।
जब हामी दैनिक जीवनलाई ख्याल गर्छौं, हाम्रो मन निरन्तर विभिन्न विचारमा भौंतारिरहेको हुन्छ । कहिले विगतको तनाव त कहिले भविष्यको चिन्ता र डर ! अनि कहिले अनावश्यक कल्पनाहरू ! समथ ध्यानले यो चञ्चल मनलाई नियन्त्रणमा ल्याउँछ । यसले हाम्रो एकाग्रता बढाउँछ; तनाव कम गर्छ; र भित्री शान्ति प्रदान गर्छ । मनको चञ्चल स्वभावका विषयमा भगवान बुद्धले ‘धम्मपद’ मा भन्नुभएको छ—
फन्दनं चपलं चित्तं दुरक्खं दुन्निवारयं ।
उजुं करोति मेधावी उसुकारो वतेजनं ।।
अर्थात्, मन चलायमान हुन्छ; चञ्चल हुन्छ; रक्षा गर्न कठिन हुन्छ र नियन्त्रण गर्न गाह्रो हुन्छ । यस्तो मनलाई मेधावी वा बुद्धिमान व्यक्तिले मात्र त्यसरी नै सीधा गरेर राख्न सक्छ जसरी वाण बनाउने व्यक्तिले वाणलाई ।
वैज्ञानिक अनुसन्धानहरूले पनि के देखाएका छन् भने, नियमित समथ ध्यान गर्नेहरूको मस्तिष्कमा सकारात्मक परिवर्तन आउँछ; रक्तचाप सामान्य हुन्छ; मानसिक स्वास्थ्यमा सुधार आउँछ; र मीठो निद्रा लाग्न थाल्छ । विद्यार्थीहरूका लागि यो ध्यान विशेष फाइदाजनक छ किनभने यसले सिक्ने क्षमता र स्मरणशक्ति बढाउँछ ।
विपश्यनाको परिभाषा गर्दै संस्कृतमा भनिएको छ— ‘विशेष रूपेण पश्यति इति विपश्यना’ । अर्थात्, विशेष रूपले हेर्नु, देख्नु वा थाहा पाउन सक्नुु, यथार्थ बोध हुनु र आत्मनिरीक्षण गर्नु नै विपश्यना हो । ध्यानको दोस्रो र उच्च चरण हो यो । समथ ध्यानले शान्त बनाएको साधकको मनलाई विपश्यना ध्यानले यथार्थको गहिरो बोध गराउँदै लैजान्छ । यो चरणमा साधकले आफ्नो शरीर, मन, भावना र विचारको निष्पक्ष अवलोकन गर्न सक्छ ।
विपश्यना ध्यानको सबैभन्दा महत्त्वपूर्ण पक्ष हो— आफूलाई राम्रोसँग चिन्नु । हाम्रा धेरै समस्या हाम्रै मनका सृष्टि हुन् भन्ने वास्तविकता साधकले आत्मसात् गर्न थाल्छ । क्रोध, ईर्ष्या, लोभ, घमन्ड जस्ता नकारात्मक भावनाहरूको जरा बुझ्न थालिन्छ र यति बुझेपछि ती भावनाहरूबाट मुक्त हुन सकिन्छ ।
भगवान बुद्धले भन्नुभएको थियो— ‘अप्प दीपो भव ।’ अर्थात्, आफ्नो बत्ती आफैं बन । विपश्यनाले हामीलाई बाहिरी प्रकाश खोज्नुभन्दा पहिले आफ्नो भित्री प्रकाश जगाउन नै सिकाउँछ । अनि यसबाट अवसाद, चिन्ता, विकार र अन्य मानसिक समस्या समाधान गर्न मद्दत मिल्छ ।
व्यक्तिगत परिवर्तनबाट सामाजिक परिवर्तन
भित्री शान्तिको महत्त्व : ध्यानको नियमित अभ्यासले हामीमा भित्री शान्ति ल्याइदिन्छ । यस्तो शान्ति समस्याबाट भाग्ने वा टाढा बस्ने शान्ति होइन, बरु समस्याका बीचमा पनि स्थिर रहने क्षमता हो । जब कुनै व्यक्ति भित्रबाट शान्त हुन्छ, उसको आचरण, बोलचाल र व्यवहारमा पनि शान्ति झल्किन्छ । सोच्नुहोस्, यदि हाम्रो समाजका प्रत्येक व्यक्ति, विशेष गरी युवाहरू, ध्यानी र शान्त भए भने हाम्रो समाज कस्तो होला ! घरायसी झगडा घट्छ; सामाजिक द्वन्द्व कम हुन्छ; अपराध घट्छ; र मानिसहरूबीच सद्भाव बढ्छ ।
सद्भाव वृद्धि : सद्भाव भनेको केवल झगडा नगर्नु मात्र होइन, एकअर्काप्रति करुणा, समझदारी र सहयोगको भावना हो । ध्यानले हामीमा यही गुण विकास गर्छ । जब हामी विपश्यनाद्वारा आफ्नो दु:खको कारण बुझ्छौं, अरूको दु:ख पनि बोध गर्न सक्छौं । विपश्यनाले हामीमा यसरी समानुभूति र मैत्रीभाव जगाउँछ ।
हाम्रो समाजमा, नेपाली समाजमा विभिन्न जात–जाति, भाषा–भाषी र धर्म–संस्कृति मान्ने मानिसहरू छन् । कहिलेकाहीं यी विविधताले द्वन्द्व पनि निम्त्याउन सक्छन् । तर यदि हामी ध्यान अभ्यासी हुन सक्यौं भने यी विविधता सम्पदा हुन् भनी बुझ्न सक्छौं, न कि समस्याका रूपमा लिन्छौं । हामी सबै मानिस हौं; सबैलाई सुख चाहिन्छ; दु:ख कसैले पनि चाहँदैन भन्ने बोध हामीमा आउँछ ।
परिवार र समुदायमा प्रभाव : ध्यानको अभ्यास गर्ने व्यक्तिले आफ्नो परिवारमा सकारात्मक वातावरण उत्पन्न गर्छ । उसको धैर्य बढ्छ; क्रोध कम हुन्छ; र समझदारी बढ्छ । यसले पारिवारिक सम्बन्ध मजबुत बनाउँछ । खुसीयालीपूर्ण र शान्त परिवारबाट नै स्वस्थ समाज बन्छ ।
ध्यान अभ्यासी युवाहरूले समुदायमा पनि सकारात्मकता विस्तार गर्न सक्छन् । तिनीहरूले कुनै पनि विवाद शान्तचित्तले समाधान गर्न सक्छन्; सामाजिक कार्यमा सक्रिय रूपमा भाग लिन सक्छन्; र समुदायको विकासमा योगदान पुर्याउन सक्छन् ।
देशको समृद्धिमा युवाको योगदान
ध्यान अभ्यासी युवा — उत्पादनशील युवा : ध्यान अभ्यासी युवा अधिक एकाग्र, अधिक सृजनशील र अधिक उत्पादनशील हुन्छ । जब मन शान्त हुन्छ, तब मात्र नयाँनयाँ विचारहरू आउँछन्; समस्याको समाधान खोज्न सकिन्छ; र लक्ष्यप्रति केन्द्रित हुन सकिन्छ ।
आज नेपालमा हजारौं युवा बेरोजगारी, आर्थिक कठिनाइ र भ्रमको अवस्थामा छन् । धेरैले विदेश पलायन गरिरहेका छन् । तर यदि हाम्रा युवाहरू ध्यान अभ्यासी हुन सके भने तिनीहरूले स्वदेशमै रहेर पनि अवसर सिर्जना गर्न सक्छन् ।
नवीन सोच र उद्यमशीलता : ध्यानले मनलाई खुला बनाउँछ । खुला मनले नयाँनयाँ सम्भावनाहरू देख्न सक्छ । नेपालमा कृषि, पर्यटन, प्रविधि, शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रमा अपार सम्भावना छन् । तर यी सम्भावनालाई धरातलीय यथार्थमा साकार पार्न नवीन सोच र साहस चाहिन्छ ।
उदाहरणका लागि, हिमाल, नदी, जडीबुटी, संस्कृति सबै हाम्रा सम्पदा हुन् । ध्यानी र सृजनशील युवाहरूले यी सम्पदाहरूलाई अर्थोपार्जनको माध्यमका रूपमा लिन सक्छन् । साना–साना सामाजिक उद्यमहरू खोल्न सक्छन्, जसले रोजगारी पनि सिर्जना गर्छन् र समाजमा सकारात्मक परिवर्तन पनि ल्याउँछन् ।
सामाजिक र राजनीतिक सहभागिता : देशको समृद्धिका लागि केवल आर्थिक विकास मात्र पर्याप्त हुँदैन, सामाजिक न्याय, सुशासन र राजनीतिक स्थिरता पनि आवश्यक हुन्छ । ध्यान अभ्यासी युवाहरूले यी क्षेत्रमा पनि महत्त्वपूर्ण भूमिका खेल्न सक्छन् ।
ध्यान अभ्यासी युवाहरूमा नैतिक मूल्यमान्यता बलियो हुँदै जान्छ । तिनीहरू भ्रष्टाचारविरुद्ध लड्न सक्छन्; पारदर्शिताका लागि आवाज उठाउन सक्छन्; र जवाफदेहीको माग गर्न सक्छन् । तिनीहरू राजनीतिमा संलग्न भएर पनि सेवाको भावनाले काम गर्न सक्छन्, शक्ति र पैसाको लोभमा होइन ।
शिक्षा र स्वास्थ्यमा योगदान : ध्यान अभ्यासी युवाहरूले शिक्षा र स्वास्थ्य क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउन सक्छन् । तिनीहरूले गाउँघरमा गएर गुणस्तरीय शिक्षा प्रदान गर्न सक्छन् । विद्यालय, महाविद्यालय र विश्वविद्यालयहरूमा ध्यानको कार्यक्रम सञ्चालन गर्न सक्छन् । स्वास्थ्य शिविर लगाएर मानिसहरूमा स्वस्थ जीवनशैलीका बारेमा जागरुकता फैलाउन सक्छन् ।
प्रविधिको सदुपयोग : आजको युग प्रविधिको युग हो । तर प्रविधि आजका युवाहरूका लागि एउटा अभिशाप पनि बन्न सक्छ, सही प्रयोग नगरिएमा । सामाजिक सञ्जाल, अनलाइन गेम्स र अन्य डिजिटल प्रविधिले युवाहरूलाई दुर्व्यसनी बनाइरहेका छन् ।
ध्यान अभ्यासी युवाहरूले प्रविधिको सदुपयोग गर्न सक्छन् । तिनीहरूले दूरदराजका बालबालिकाका लागि अनलाइन शिक्षा प्रदान गर्न सक्छन्; ई–कमर्सद्वारा नेपाली उत्पादनहरू विश्वभर पुर्याउन सक्छन्; र डिजिटल स्वास्थ्य सेवाहरू विकास गर्न सक्छन् ।
व्यावहारिक कार्ययोजना
दैनिक जीवनमा ध्यान अभ्यास : अब प्रश्न उठ्छ— यो ध्यान अभ्यास कसरी सुरु गर्ने त ? धेरै सजिलो छ । तपाईंलाई कुनै विशेष स्थान वा सामग्रीको आवश्यकता पर्दैन ।
बिहानको अभ्यास : हरेक बिहान १० मिनेटदेखि १ घण्टासम्म समय छुट्ट्याउनुहोस् । शान्त स्थानमा आरामदायक अवस्थामा बस्नुहोस् । आफ्ना आँखा हल्का बन्द गर्नुहोस् र श्वास–प्रश्वासमा ध्यान केन्द्रित गर्नुहोस् । सास भित्र तान्दा र बाहिर फ्याल्दा ध्यान दिनुहोस् । एक चोटि सास भित्र–बाहिर गरेको चरणलाई १ मानी चित्त एकाग्र गर्दै २१ पटकसम्म सासलाई गन्ने प्रयास गर्नुहोस् । २१ नपुग्दै मन भौंतारिएमा फेरि १ देखि प्रारम्भ गर्नुहोस् । यसरी निरन्तर प्रत्येक दिन ध्यान गर्नाले चित्त एकाग्र हुँदै जान्छ र मनमा शान्ति मिल्छ ।
सधैँ चनाखो रहने कोसिस गर्नुहोस् : काम गर्दा, खाना खाँदा, हिँड्दा पनि सचेत रहनुहोस् । जुन काम गरिरहनुभएको छ, त्यसमा पूर्ण ध्यान दिनुहोस् । यो पनि ध्यान हो ।
साँझको चिन्तन : साँझ सुत्नुअघि दिनभरका गतिविधिहरूको चिन्तन गर्नुहोस् । के राम्रो भयो, के सुधार गर्न सकिन्छ भन्ने कुरा सोच्नुहोस् । राम्रो गरिएको छ भने आफन्त, बा–आमा लगायत सम्पूर्ण प्राणीका लागि प्रार्थना गर्नुहोस्; केही गलत गरिएको छ भने प्रायश्चित्त गरेर सुत्नुहोस् । यसो गर्दा चित्त शुद्ध हुन्छ र शान्ति मिल्छ ।
सामुदायिक स्तरमा पहल
ध्यान समूह : आफ्ना साथीहरू, छरछिमेकीहरूसँग मिलेर ध्यान समूह बनाउनुहोस् । हप्तामा एक पटक भेला भएर सामूहिक ध्यान गर्नुहोस् । हप्तामा एक पटक पनि सम्भव नभएमा महिनामा एक पटक जसरी पनि बस्ने कोसिस गर्नुहोस् । यसले तपाईंको अभ्यास नियमित बनाउँछ र अरूलाई पनि प्रेरित गर्छ ।
विद्यालय, महाविद्यालय र विश्वविद्यालयहरूमा समथ एवं विपश्यना ध्यानको कार्यक्रम सञ्चालन गर्नुहोस् । बालबालिकालाई सानैदेखि यो अभ्यास गराउनु अत्यन्तै लाभदायक हुन्छ ।
सामाजिक अभियान : सामाजिक सञ्जालमा सकारात्मक सन्देश फैलाउनुहोस् । ध्यानका लाभहरूका बारे जानकारी दिनुहोस् । अरूलाई प्रेरित गर्नुहोस् ।
युवा नेतृत्व विकास
युवाहरूले नेतृत्व विकास कार्यक्रमहरूमा भाग लिनुपर्छ । तर यो नेतृत्व पद वा शक्तिका लागि होइन, सेवाका लागि हुनुपर्छ । ध्यान अभ्यासी नेतृत्व विनम्र, जवाफदेह र दूरदर्शी हुनुपर्छ ।
तपाईंहरू आफ्नो समुदायमा, आफ्नो क्षेत्रमा साना–साना परिवर्तन ल्याउने पहल गर्न सक्नुहुन्छ । यो परिवर्तन सफाइ अभियान हुन सक्छ; वृक्षरोपण हुन सक्छ; साक्षरता कार्यक्रम हुन सक्छ; वा स्वास्थ्य जागरुकता हुन सक्छ । वातावरण संरक्षण सम्बन्धी जानकारीमूलक कार्यक्रम हुन सक्छ । यी कुराहरू समाजका लागि अत्यन्त महत्त्वपूर्ण हुन्छन्; त्यसैले यस्तो परिवर्तनका लागि युवाहरूले नै सुरुआत गर्नुपर्छ ।
उत्प्रेरणाका लागि : विश्वभर धेरै युवाले ध्यान अभ्यासद्वारा आफ्नो जीवन परिवर्तन गरेका छन् र समाजमा सकारात्मक योगदान पुर्याएका छन् ।
विश्वका धेरै ठाउँमा विपश्यना ध्यानकेन्द्रहरू छन् । ती केन्द्रहरूमा प्रशिक्षण लिएर हजारौं युवाले मादक पदार्थको लत छोडेका छन्; उत्पादक जीवन जिइरहेका छन् । तिनीहरूले अहिले अरूलाई पनि मद्दत गरिरहेका छन् ।
नेपालमा पनि विभिन्न ध्यानकेन्द्र र संस्थाले यस दिशामा राम्रो काम गरिरहेका छन् । लुम्बिनीमा अन्तर्राष्ट्रिय ध्यानकेन्द्रहरू, विभिन्न देश र संघसंस्थाले निर्माण गरेका विहार एवं गोन्पा (गुम्बा) हरू छन् जहाँ विश्वभरका मानिसहरू आउँछन् । यो हाम्रा लागि गर्वको विषय हो ।
उपसंहार
हामी भगवान बुद्धले जन्म लिनुभएको देशका नागरिक हौं । भगवान बुद्धले विश्वलाई शान्ति र ज्ञानको बाटो देखाउनुभएको थियो । ती मूल्यहरू आज पनि उत्तिकै प्रासंगिक छन् । समथ र विपश्यना ध्यान केवल धार्मिक क्रियाकलाप मात्र होइन, यो एक विज्ञान हो; जीवन राम्रोसँग जिउने कला हो । र साथै सम्यक् सम्बुद्ध बन्न सक्ने विशेष प्रकारको ध्यान साधना हो ।
जब हामी आफैमा शान्ति पाउँछौं, अरूमा पनि शान्ति फैलाउन सक्छौं । जब हामी आफैलाई बुझ्छौं, अरूलाई पनि बुझ्न सक्छौं र बुझाउन पनि सक्छौं । जब हामी आफैमा परिवर्तन ल्याउँछौं, समाजमा पनि परिवर्तन ल्याउन सक्छौं ।
नेपाल सानो तर सम्भावनाले भरिपूर्ण देश हो । हाम्रा युवाहरू प्रतिभाशाली छन्; मेहनती छन्; र सपना देख्ने क्षमता राख्छन् । तिनीहरूलाई चाहिएको छ त केवल सही दिशा, भित्री शान्ति र दृढ संकल्प मात्र ।
म तपाईंहरू सबैलाई आह्वान गर्दछु— आजैदेखि ध्यानको अभ्यास सुरु गर्नुहोस् । ध्यानका लागि दिनहुँ १० मिनेट मात्र छुट्ट्याउनुहोस् । यसले तपाईंको जीवन परिवर्तन गर्नेछ । र जब तपाईंको जीवन परिवर्तन हुन्छ, अरूको जीवन पनि परिवर्तन गर्न सक्नुहुन्छ ।
आउनुहोस्, हामी सबै मिलेर शान्त, सद्भावपूर्ण र समृद्ध नेपाल निर्माण गरौं । यो काम कठिन छ, तर असम्भव छैन । हरेक महान यात्रा एक पाइलाबाट सुरु हुन्छ । त्यो पहिलो पाइला आजै चालौं ।
भगवान बुद्धले भन्नुभएको थियो, ‘तिम्रो उद्धारकर्ता तिमी आफै हौ । अरू कसैले तिमीलाई उद्धार गर्न सक्दैन । आफ्नो बाटो आफैले बनाउनुपर्छ ।’
तसर्थ, आफ्नो बाटो बनाउनुहोस् । ध्यानी बन्नुहोस्; शान्त बन्नुहोस्; र देशलाई समृद्ध बनाउनमा योगदान पुर्याउनुहोस् ।
(डा. सङबो समथ एवं विपश्यना ध्यान गुरु हुन् । इमेल: acharyakarmasangbo@gmail.com)
प्रतिक्रिया 4