आजको तीव्र गतिमा अघि बढिरहेको संसारमा अधीर र परिणाममुखी हाम्रो मनले हरेक प्रयासको तुरुन्त प्रतिफल खोज्छ। तर के ध्यान पनि त्यही नियममा बाँधिएको छ?
ध्यानको अभ्यास, वास्तवमा बाह्य उपलब्धि जस्तो मापन गर्न सकिने प्रक्रिया होइन। यो आन्तरिक रूपान्तरणको यात्रा हो- जहाँ परिवर्तनहरू प्रायः शान्त, सूक्ष्म र क्रमिक रूपमा समयसँगै मात्र स्पष्ट हुने खालका हुन्छन्।
यही कारणले गर्दा अधिकांश ध्यानका अभ्यासकर्ता प्रारम्भिक चरणमा नै आफ्नै प्रगतिप्रति सन्देह गर्न थाल्छन्। उनीहरूलाई लाग्न सक्छ कि यदि तुरुन्तै शान्ति, आनन्द वा कुनै विशेष अनुभव प्राप्त भएन भने आफ्नो अभ्यास प्रभावकारी छैन।
यहाँ एक स्पष्टता आवश्यक छ। ध्यानले बाह्य शक्ति वा उपलब्धि प्रदान गर्दैन भन्ने मेरो आशय कदापि होइन। निश्चय नै, ध्यानको गहिरो अभ्यासबाट विभिन्न प्रकारका सिद्धिहरू (अलौकिक क्षमताहरू) प्राप्त हुन सक्छन्- जसको उल्लेख परमहंस योगानन्द योगीको आत्मकथा पुस्तकमा पनि पाइन्छ।
ध्यानका यी पक्षहरू महत्त्वहीन छन् भन्ने पनि होइन; बरु तिनीहरू आफ्नै स्थानमा महत्वपूर्ण छन् र ती अलग र विस्तृत रूपमा चर्चायोग्य विषय हुन्। तर यस लेखमा मेरो केन्द्रबिन्दु त्यतातर्फ होइन।
यहाँ म विशेष रूपमा त्यस्ता सामान्य मानिसका अनुभव र यात्रालाई सम्बोधन गरिरहेको छु, जो आफ्नो दैनिक जिम्मेवारीहरू इमानदारीपूर्वक पूरा गर्दै, जीवनको साधारण प्रवाहभित्रै नियमित रूपमा ध्यान अभ्यास गर्न प्रयासरत छन्।
परमहंस योगानन्दले ध्यानलाई एउटा सरल तर गहिरो उदाहरण मार्फत बुझाउन खोज्नुभएको छ। जब हामी माटोमा एउटा बीउ रोप्छौं, त्यो प्रत्येक दिन कति बढ्यो भनेर हरेक दिन खनेर हेर्दैनौं। यदि त्यसो गरियो भने बीउको प्राकृतिक विकास नै अवरुद्ध हुन्छ।
त्यसको सट्टा हामी त्यसलाई पानी दिन्छौं, घाम दिन्छौं र धैर्यसाथ प्रतीक्षा गर्छौं। बीउको वृद्धि आफैं हुन्छ शान्त रूपमा, देखिनेभन्दा धेरै गहिरो तहमा।
यही सिद्धान्त ध्यानमा पनि लागू हुन्छ। जब हामी हरेक दिन “के यो काम गरिरहेको छ?” भनेर सोच्न थाल्छौं, हामी अनावश्यक रूपमा आफ्नो ध्यान प्रक्रियामा हस्तक्षेप गरिरहेका हुन्छौं। यस्तो सोचले सन्देह, मानसिक अशान्ति र बेचैनी जन्माउँछ, जसले ध्यानको गहिराइलाई सीमित बनाउँछ। यसले मनलाई वर्तमान क्षणबाट हटाएर अपेक्षाको चक्रमा फसाउँछ।
यस समस्याको जड हाम्रो अहंकारमा छ जसले नियन्त्रण, मापन र परिणाम तुरुन्त चाहन्छ। आधुनिक जीवनशैलीले पनि यस प्रवृत्तिलाई थप बल दिएको छ, जहाँ सफलतालाई तुरुन्तै देखिने परिणामसँग जोडेर हेरिन्छ। तर ध्यानको मार्ग अहंकारलाई सशक्त बनाउने होइन, बरु त्यसलाई पार गर्ने प्रक्रिया हो। त्यसैले ध्यानको प्रगति अहंकारको मापदण्डबाट नाप्ने प्रयास आफैंमा विरोधाभासपूर्ण हुन्छ।
वास्तवमा, ध्यानको प्रभाव हाम्रो जीवनका सूक्ष्म पक्षहरूमा देखिन थाल्छ— के हामी पहिलेभन्दा शान्त भएका छौं? के चुनौतीहरूको सामना गर्दा हाम्रो प्रतिक्रियामा परिवर्तन आएको छ? के हामी जीवनलाई अलि बढी स्वीकारोक्ति र स्पष्टताका साथ हेर्न थालेका छौं? के हामी साना कुराहरूमा कम विचलित हुन्छौं? यस्ता परिवर्तनहरू साना देखिए तापनि यी ध्यानको गहिरो साधनाको प्रमाण हुन्।
यस सन्दर्भमा, ध्यानलाई केवल एउटा “काम” वा “प्रोजेक्ट” जस्तो होइन, बरु आफ्नै भित्री स्वरूपसँग जोडिने र अझ गहिरो रूपमा दिव्य चेतनासँग सम्बन्ध बनाउने प्रक्रियाको रूपमा बुझ्नुपर्छ वा ध्यानलाई अर्को दृष्टिकोणबाट पनि बुझ्न सकिन्छ यो “स्मरण” होः आफ्नो वास्तविक स्वरूपलाई सम्झने प्रक्रिया। ध्यान भनेको आफू को हौं भन्ने सत्यलाई पुनः अनुभव गर्नु हो।
त्यसैले सकारात्मक र प्रेमपूर्ण भावना सहित ध्यान गर्नु आवश्यक हुन्छ। हरेक पटक आफू ध्यानमा बस्दा म प्रगति गर्दैछु भन्ने सकारात्मक विश्वास राख्नु महत्त्वपूर्ण छ। ध्यानको अभ्यासमा मात्र होइन, दैनिक जीवनमा पनि ईश्वरको उपस्थितिलाई अनुभव गर्ने अपेक्षा राख्न सकिन्छ।
योगानन्दका अनुसार, ईश्वरलाई आठ विभिन्न रूपहरूमा अनुभव गर्न सकिन्छः प्रकाश, ध्वनि, शान्ति, स्थिरता, प्रेम, आनन्द, ज्ञान र शक्ति। स्वामी क्रियानन्दले यी शिक्षाहरूलाई आफ्नो पुस्तक The Essence of Self-Realization मा उल्लेख गर्नुभएको छ। उहाँका अनुसार, ध्यानको अभ्यासमा यी गुणहरूमध्ये कुनै एकलाई केन्द्रबिन्दु बनाउनु उपयोगी हुन सक्छ। यदि त्यसमा कुनै आन्तरिक प्रतिक्रिया अनुभूत हुन्छ भने, त्यस अनुभूतिलाई मनको सीमित दायराभन्दा बाहिर विस्तार गर्दै अनन्ततर्फ फैलिन दिनुपर्छ।
ध्यानको क्रममा जब मानिसले ईश्वरलाई प्रकाशको रूपमा अनुभव गर्छ, त्यसले मनलाई शान्त बनाउँदै शुद्धता र स्पष्टता दिन्छ। ध्वनिको रूपमा विशेषतः ॐकारले चेतनालाई उच्च स्तरमा उठाउँछ र बाह्य अवरोधहरूबाट मुक्त गराउँछ। शान्ति र स्थिरताले मनलाई गहिरो विश्राम मात्र होइन, जीवनका चुनौतीको सामना गर्ने शक्ति पनि दिन्छ।
प्रेम यहाँ व्यक्तिगत भावनाभन्दा परको निस्वार्थ र अनन्त अनुभव हो जसलाई केवल आत्माले महसुस गर्न सक्छ। आनन्द यस्तो अवस्था हो, जुन बाह्य सुखभन्दा धेरै गहिरो र स्थायी हुन्छ। ज्ञान बौद्धिक जानकारी होइन, अन्तर्ज्ञान हो; भित्रबाट आउने प्रत्यक्ष अनुभूति। र शक्ति त्यो आधार हो, जसले सम्पूर्ण सृष्टिलाई सञ्चालन गर्छ।
यी सबै अनुभवहरू ध्यानको निरन्तर र अविच्छिन्न अभ्यासबाट क्रमशः प्रकट हुँदै जान्छन्। आवश्यक कुरा केवल यति होः धैर्य, निरन्तरता र विश्वासका साथ ध्यानमा लागिरहनु।
आजको समाज, जहाँ हरेक कुराको परिणाम छिटो र मापनयोग्य हुनुपर्छ भन्ने धारणा बलियो हुँदै गएको छ, त्यहाँ ध्यानको अभ्यासले हामीलाई फरक दृष्टिकोण सिकाउँछः प्रक्रियामा विश्वास राख्ने, मौन प्रगतिलाई स्वीकार गर्ने र गहिरो परिवर्तनलाई समय दिन सक्ने। यो अभ्यासले केवल अन्तर्मनको शान्ति मात्र होइन; हाम्रो व्यवहार, सम्बन्ध र निर्णयमा पनि सकारात्मक प्रभाव पार्न सक्छ।
अन्ततः शायद “के मेरो ध्यानले काम गरिरहेको छ?” भन्दा बढी महत्त्वपूर्ण प्रश्न यो हुन सक्छ— “के म धैर्यका साथ यसको प्रक्रियामा विश्वास गर्न तयार छु?” कहिलेकाहीं, सबैभन्दा गहिरो प्रगति त्यही हुन्छ, जुन हामीले तुरुन्त देख्न सक्दैनौं।
प्रतिक्रिया 4