बैंककको यो विशाल स्तूपको फेदीमा नाङ्गो खुट्टा हिंडिरहेकी छु। तातो पत्थरले पैतालालाई स्पर्श गर्दा एउटा अनौठो ऊर्जा शरीरमा सञ्चार भएको महसुस हुन्छ। वरिपरि घण्टीको मधुर आवाज छ, हावामा धूपको मन्द सुवास घोलिएको छ र मेरो अनुहारमा कुनै हतार छैन।
ध्यान शिविरको चार दिन सिध्याएर म यहाँ स्तूपको शरणमा आएकी हुँ, तर यो घुमाइ केवल बाहिरी होइन, यो त एउटा गहिरो भित्री यात्रा पनि हो। थाइल्याण्डसँग मेरो नाता आत्मीय भइसक्यो। ध्यान गराउन सात पटक र घुमघामका लागि दुई पटक गरी यो मेरो नवौं पटकको थाइल्याण्ड यात्रा हो।
म यहाँ एक्लै छैन, मेरो साथमा मेरो बुबा हुनुहुन्छ, जसको आँखामा जीवनको अनुभव र ध्यानको गहिराइ छ। अनि हामी दुवैलाई आफ्नो वात्सल्यले साथ दिने मेरी आमा हुनुहुन्छ। हामी यहाँ कुनै साधारण पर्यटक बनेर होइन, ओशोको त्यो क्रान्तिकारी सन्देश र ध्यानको प्यास मेटाउन आएका हौं। एउटै परिवारका सदस्यहरू यसरी एउटै आध्यात्मिक बाटोमा हिंड्नु, ओशोको ‘मौनको सङ्गीत’ सँगै सुन्न पाउनु आफैंमा एउटा दिव्य सौभाग्य हो।
बैंककमा घुम्ने ठाउँ त अनगिन्ती छन्, चमकधमकपूर्ण मल, व्यस्त बजार र रङ्गीन रात्रि जीवन। जसले जे रोज्छ, उसले यहाँ त्यही पाउँछ। तर मेरो रोजाइ भने हरेक पटक यस्तै स्तूपहरूमा आएर अडिन्छ। किनकि ध्यान शिविरको त्यो मौनतापछि मन अझै शान्ति र स्थिरता नै खोजिरहेको हुन्छ।
स्तूपको पूरा फन्को लगाएर अन्ततः म एउटा शान्त कुनामा बस्न पुग्छु। अगाडि बुद्धको ठूलो तस्वीर छ, कुनै आदेश छैन, कुनै प्रश्न छैन, बस् एउटा शान्त र जीवन्त उपस्थिति छ। त्यो तस्वीरतिर हेर्दा म आफैंतिर फर्किरहेको महसुस गर्छु। यहाँ कसैले सोध्दैन, ‘कुन देशबाट आएको? कुन विचार बोकेको? कुन पहिचान अँगालेको?’ यहाँ त केवल मौनले एउटै कुरा सोध्छ, ‘यस क्षणमा तिमी छौ कि छैनौ?’
थाइल्याण्ड सम्पन्न छ किनकि यहाँका मान्छेहरूले आफ्नो काममा ध्यान दिएका छन्। हामी नेपाली भने कामभन्दा बढी गफ र आलोचनामा अल्झिएका देखिन्छौं। बुद्धको त्यो शान्त तस्वीरतिर हेर्दा लाग्छ, उनले कुनै भाषण दिएर संसार जितेका होइनन्, आफ्नो भित्री मौनताले जितेका हुन्। जसरी शान्त तालमा तरंगहरू बग्छन्।

धेरै पटकको यो आउजाउमा हाम्रा धेरै थाई, बर्मेलीहरू नेपाली साथी बनेका छन्। मित्रताको एउटा यस्तो सुन्दर माला उनिएको छ, जहाँ शब्दभन्दा बढी भावको प्रधानता छ। उनीहरूलाई हाम्रो रुचि कण्ठै छ।
हाम्रो रोजाइमा सधैं शाकाहारी भोजन र शान्त मन्दिरहरू हुन्छन् भन्ने उनीहरूलाई राम्ररी थाहा छ। त्यसैले त ‘कहाँ जाने? के खाने?’ भनेर हामीले सोच्नै पर्दैन, उनीहरूले नै हाम्रा लागि सबै कुरा पहिल्यै सोचेका हुन्छन्। उनीहरूको यो निःस्वार्थ सेवा देख्दा लाग्छ, जब मान्छेको अहंकार बाहिरै जुत्तासँगै छुट्छ, तब मात्र ऊ साँचो अर्थमा ‘मान्छे’ बन्छ।
ती थाई साथीहरूलाई हेर्दा म कहिलेकाहीं गहिरो सोचमा डुब्छु। उनीहरूलाई आफ्नो देशको कुनै चिन्ता छैन, किनकि उनीहरूको देश आफैंमा सम्पन्न छ, स्थिर छ र पद्धतिमा चलेको छ। तर मेरो मन भने सात समुद्र पारि आफ्नै नेपालतिर दौडिन्छ। केही दिनको लागि यहाँ आउँदा पनि नेपाल किन याद आउँछ? किनभने हामी जहाँ गए पनि आफ्नो ‘जरा’ को धुलो आफ्नो जुत्ताको तलुवामा टाँसेरै हिंड्दा रहेछौं।
म आँखा चिम्लिएर बुद्धको मूर्तिअगाडि ध्यानमा बसेकी छु। तर मेरो मन भने यो शान्ति छोडेर सिधै नेपालको कोलाहलमा पुग्छ। म आफैंसँग सोध्छु, ‘म त यहाँ शान्त हुन आएको, तर मेरो मन किन यति छिट्टै बेचैन दृश्यतिर फर्कियो?’ धेरैले सोध्नुहुन्छ ध्यान गर्दा किन धेरै कुरा सम्झिन थालिन्छ? किन मौन खोज्दा मन झन् चलायमान र चञ्चल हुन्छ?
यसको उत्तर कति सरल तर गहिरो छ। ध्यान भनेको स्विच थिच्ने बित्तिकै अँध्यारो हुने कोठा जस्तो होइन। यो त एउटा प्रक्रिया हो। जसरी धमिलो पोखरीलाई सफा गर्नुअघि त्यसको पिंध चलाउँदा तल जमेको लेदो ह्वारह्वार्ती माथि आउँछ। वर्षौंदेखि दबाएर राखेका स्मृति, अधुरा प्रश्न र भावनाहरू सतहमा आइरहेका हुन्छन्।
त्यसैले ध्यानमा सम्झनु असफलता होइन त्यो त शुद्धीकरणको सुरुआत पनि हुन्छ। मन चलेको छ भन्दैमा ध्यान बिग्रिएको भन्न पनि मिल्दैन। बरु मन चलेको छ भन्ने थाहा पाउनु नै चेतनाको पहिलो संकेत हो। शायद यसै कारण मौन खोज्दा मन पहिला झन् धेरै बोल्न थाल्छ।
म आँखा चिम्लिरहेकी छु, तर मन अब अलिकति फरक ढंगले चलायमान छ। अब यो भागिरहेको छैन, देखिंदैछ। त्यही देखाइको बीचमा, अचानक नेपालको एउटा विरोधाभासपूर्ण चित्र आँखामा नाच्न थाल्छ।
एकातिर मौसम फेरिंदैछ, अर्कातिर काठमाडौंदेखि तराईसम्म चुनावको त्यो राप छ। यो केवल गर्मी बढेको मात्र होइन, यो त राजनीतिको त्यो राप हो जसले हरेक नेपालीको मनलाई तातो बनाइरहेको छ।
सत्ताको लुकामारी, आश्वासनका पोकाहरू र विचारधाराको टकरावले देश एउटा अन्योलको साथ भुमरीमा छ। मान्छेहरू परिवर्तनको कुरा त गर्छन्, तर त्यो परिवर्तन सधैं ‘अर्काले गरिदेओस्’ भन्ने आशामा।
काठमाडौंका ती धुलाम्य सडक, मान्छेहरूको अनुहारमा देखिने त्यो छटपटी, बेचैनी सबै चित्र बनेर मेरा अगाडि आइपुग्छन्। हाम्रो देशको असली समस्या राजनीतिक अस्थिरता मात्र होइन, हाम्रो सामूहिक ‘अधीरता’ र ‘अशान्त मन’ पनि हो।
हामी बाहिर त व्यवस्था बदल्न सडकमा उत्रिन्छौं, तर आफूभित्रको आक्रोश र अहंकारको व्यवस्थापन गर्न कहिल्यै प्रयत्न गर्दैनौं कहिल्यै सोच्दैनौं। ओशोले भन्नुभए झैं, ‘भ्रमित मनले गर्ने प्रेमले झन् बढी अशान्ति निम्त्याउँछ।’

त्यसैले देशलाई प्रेम गर्न पनि त पहिले आफूभित्रको यो युद्ध शान्त गर्नुपर्ने हुन्छ। जब म भित्रै अशान्त छु भने मैले दिने प्रेमले कसरी शान्ति ल्याउला र? विचारहरू बढ्दै जान्छन्, श्वासको गति अलि छिटो भए जस्तो। म आफैंलाई फेरि सोध्छु, ‘जबर्जस्ती आँखा चिम्लेर बस्ने?’ होइन। म विस्तारै आँखा खोल्छु। र, महसुस गर्छु, आँखा खोल्नु भनेको ध्यानबाट भाग्नु होइन। यो त वर्तमानमा फर्कने एउटा सजिलो ढोका हो। र अर्को कुरा हामी जहाँ छौं, त्यहींबाट ध्यान शुरु हुन्छ। विचारलाई रोक्नुपर्दैन, बस त्यसलाई ट्राफिक प्रहरीले जस्तै परबाट नियाल्नु मात्र काफी छ।
अगाडि बुद्धको त्यो प्रतिमा छ, कुनै प्रश्न छैन, कुनै उत्तरको हतारो छैन। उनी केवल ‘हुनु’ को अर्थ सिकाइरहेका छन्। म फेरि श्वासलाई श्वासकै रूपमा महसुस गर्छु। मेरो नाङ्गो खुट्टाले धर्ती छोएको त्यो महसुस गर्दै ओशोले भन्नुभएको सम्झन्छु। ध्यान भनेको संसारबाट भागेर गुफामा लुक्नु होइन। ध्यान त आँखा खुला हुँदा पनि, यो कोलाहलको बीचमा उभिएर पनि आफ्नो होसमा रहन सक्नु हो।
विस्तारै आफ्नो पाइला होसपूर्वक चाल्दै अघि बढें। स्तूप वरिपरि मान्छेहरू बोलिरहेका छैनन्। यहाँ शब्द होइन, श्वासले संवाद गरिरहेछ। मान्छेका पाइलाहरू कति होसपूर्वक राखिएका छन्! यहाँ हिंडाइ पनि त एउटा ध्यान नै हो, अवचेतनमा होइन, पूर्ण सजगताका साथ।
स्तूपको फन्को लगाएर अगाडि बढ्दा मभित्र एउटा फरक खालको रिक्तता र पूर्णता दुवै महसुस भइरहेको छ। मेरो साथमा मेरो परिवार छ, थाई साथीहरू छन् र मनमा ओशोको त्यो शून्यताको सन्देश। म अब नेपाल फर्किंदैछु। हो, हाम्रो देशमा अहिले धेरै कुरा भद्रगोल छ—राजनीति अस्थिर छ, अवसरहरू साँघुरिएका छन्, र मान्छेका आकाङ्क्षाहरू निराशामा बदलिंदै छन्। तर, यही भद्रगोलभित्रै त हाम्रा साझा ‘जराहरू’ छन्।

यहींनेर मलाई बोध हुन्छ— हामी सधैं बाहिरको बगैंचा सफा गर्न खोज्छौं, तर आफ्नै मनको आँगनमा उम्रिएका झारपातलाई देख्दैनौं। हामी व्यवस्था त बदल्न चाहन्छौं, तर त्यो व्यवस्था सञ्चालन गर्ने ‘चेतना’ बदल्न बिर्सन्छौं। बुद्धको मौनले मलाई के सिकायो भने, संसारको सबैभन्दा ठूलो क्रान्ति सडकबाट होइन, आफ्नै श्वासको गति र होसको गहिराइबाट शुरु हुन्छ।
जब हामी आफैंभित्रको द्वन्द्वसँग हार स्वीकार गर्छौं, तब मात्र हामी बाहिर ‘जित’ को भ्रम खोज्न थाल्छौं। त्यसैले, विशेषगरी नेतृत्वको आकाङ्क्षा बोकेर चुनावी मैदानमा उत्रिनुहुनेहरूका लागि र सत्ता-शक्तिको दौडमा निस्कनुअघि एउटै सन्देश, जसले आफ्नो मनको भूगोललाई चिन्न सकेको छैन र जो आफैंभित्रको कोलाहल शान्त पार्न सक्दैन, उसले देशको नक्शा सुधार्ने सामर्थ्य राख्दैन।
जसको आफ्नै जहाज तुफानमा हल्लिरहेको छ, उसले अरूलाई कहिल्यै किनारा लगाउन सक्दैन। बाहिरको व्यवस्था बदल्ने हतारो गर्नुभन्दा पहिले आफूभित्रको अहंकार र आक्रोशको व्यवस्थापन गर्नुहोस्; किनकि हामीलाई यस्तो नेता चाहिएको छैन जसले ढुङ्गा हान्न सिकाओस्, हामीलाई त यस्तो नेतृत्व चाहिएको छ जसले आँखा चिम्लेर आफ्नो रिसलाई चिन्न सिकाओस्।
सम्झनुहोस्, एउटा अशान्त मनले समाजलाई दिने उपहार अशान्ति बाहेक अरू केही हुन सक्दैन। ब्युँझिएको एउटा नागरिक, सुतेका हजारौंको भीडभन्दा शक्तिशाली हुन्छ। त्यसैले, मतपत्रमा छाप लगाउनुअघि आफ्नो मनको ऐनामा एकपटक ‘विवेकको छाप’ लगाउन नबिर्सौं।
प्रतिक्रिया 4