
News Summary
Generated by OK AI. Editorially reviewed.- कार्ल मार्क्सको १८६७ मा प्रकाशित 'पूँजी' आर्थिक दर्शनले समाज, शक्ति सम्बन्ध र उत्पादन प्रणालीलाई पुनर्बोध गराएको छ।
- आचार्य रजनीशको १९८१ मा प्रकाशित 'सम्भोगदेखि समाधिसम्म' ले यौन विषयमा भ्रम र दमनलाई चिरेर आत्मिक क्रान्ति ल्याएको छ।
- ओशोले धर्म, राजनीति र पूँजीवादका विषयमा क्रान्तिकारी विचार राख्दै मानिसको पूर्ण स्वतन्त्रताको पक्षमा उभिएका छन्।
आधुनिक विश्वमा वैचारिक उथलपुथल ल्याउने कृतिमा कार्ल मार्क्सको ‘पूँजी’ र आचार्य रजनीश (ओशो) को ‘सम्भोगदेखि समाधिसम्म’ अग्रपङ्क्तिमा छन् । यी कृतिले जति समाजमा बहस, विरोध र समर्थन अन्यले पाएका छैनन् । यी कृतिका सन्दर्भमा समाज नै समर्थन र विरोधमा विभाजित हुँदै आएको छ ।
अर्थ–राजनीतिक, सामाजिक, दार्शनिक कार्ल मार्क्सले १८६७ मा प्रकाशित ‘पूँजी’ आर्थिक दर्शनको क्रान्तिकारी कृति थियो, यसले आर्थिक आयामबाट समाज, शक्ति सम्बन्ध र उत्पादन प्रणालीलाई पुनर्बोध गर्न पुग्यो । यसलाई राजनैतिक समाजबाट उग्र विरोध र अन्ध समर्थन गरियो । साम्यवादी समाज निर्माण गर्न र द्वन्द्वात्मक भौतिकवाद मार्फत सामाजिक परिवर्तन गर्न यस कृतिले निकै ठूलो योगदान पुर्यायो । यसैको जगमा क्रान्तिकारी साहित्य, मार्क्सेली साहित्य, प्रगतिवादी साहित्यको समेत जन्म भएको छ ।
मार्क्सले विकास र एङ्गेल्सले व्याख्या गरेको अवधारणाले पुस्तौं पुस्तालाई आर्थिक, सामाजिक संरचना परिवर्तन गर्ने पृष्ठभूमि तयार गरेको छ । दर्शन दिएर मात्र होइन, मुख्य कुरा समाज बदल्नुमा दर्शनको सफलता देख्ने कार्ल मार्क्सका दर्शन समाजमा परिवर्तन गर्ने कारक बन्न सक्यो ।
चन्द्रमोहन जैन (जो पछि आचार्य रजनीश र त्यसपछि ओशो बने) को सन् १९८१ मा प्रकाशित ‘सम्भोगदेखि समाधिसम्म’ ले समाजमा वैचारिक उथलपुथल नै ल्याइदियो । उदार सोच, नयाँ अनुभव र आत्मचेतनाका कारण उनको कृतिले आत्मिक क्रान्ति ल्याइदियो । यो लेखिएको कृति होइन, बोलिएको कृति थियो, जसलाई पछि ओशोका अनुयायीहरूले लिपिबद्ध गरेका थिए । यौनका विषयमा समाजमा रहेको भ्रमहरूलाई यसले चिरेको छ । यो कृति यौनका विषयमा नभई यौनका विषयमा गरिएका अतिक्रमण, दमन र भ्रमका विषयमा गहन प्रकाश पार्दछ ।
दुई हजार वर्ष अघिको आचार्य वात्स्यायनको कामसूत्र धर्म, अर्थको नियमनबाट सुख प्राप्ति गर्ने विधानलाई आचार्य रजनीशले नयाँ कलेवरमा व्याख्या गरेका छन् । भौतिक सुख र आत्मिक खुशीको संयोजन सम्भोगदेखि समाधिसम्म हो । कामसूत्रले कामको आनन्द र नियम आदरमा जुन विश्लेषण गरिएको थियो, ओशोले सामयिक व्याख्या गरेर त्यही स्वाधीनता र चरम आनन्दको व्यावहारिक अभीष्ट देखाएका छन् ।
साधना, सम्भोग र सुखलाई आत्मिक स्पर्शसाथ व्याख्या गर्ने हिम्मत युगान्तकारी थियो । ओशोका विचार–व्याख्याहरू जीवन्त खुशीको खोजी गर्छन्, जसका लागि शरीर र आत्माको योग चाहिन्छ । शरीर आत्माको सम्मिलनमा चरम खुशी पाउन सकिन्छ, मानिस बुद्धि र विवेकका नाममा त्यसैलाई भुलिरहेको छ भन्ने निष्कर्ष ओशोको छ । भौतिक र आत्मिक पक्ष आपस्तमा सम्मिलनमा नपुगेसम्म दुवै अपूरो रहन्छन्, अर्थात् जीवन अपूर्ण हुन्छ ।
ओशो पूर्ण स्वतन्त्रताका पक्षमा छन् । उनको ‘सम्भोगदेखि समाधिसम्म’ पुस्तक र यौन, पैसा र शक्तिका विषयका अभिव्यक्तिले मानिसको पूर्ण स्वतन्त्रताको व्याख्या गर्दछ । धर्म, परम्परा र गलत रितिथितिले मानिसलाई भय, त्रास र भ्रममा पारेर स्वतन्त्रतालाई साँघुर्याउँदै आएको छ । धर्मगुरुहरू, राजनीतिज्ञ र समाजका बुद्धिजीवी भनिएकाहरू यसैको आधारमा आफ्नो प्रभुत्व र अहङ्कार कायम गरिरहेका छन् ।
उनले भनेका थिए– ‘धर्मले यौनलाई विषाक्त पार्छ । यसले यौनलाई गलत हो, खराब हो, पाप हो र तपाईंलाई नर्क पुर्याउँछ भन्छ । यस्ता मानिसहरू तपाईंलाई पक्षमा पार्न चाहन्छन् । त्यसैले यौनका विरुद्धमा छन् । तपाईंहरूलाई वशमा पार्न डराउने, तर्साउने मेरो कुनै विचार छैन । म तपाईंलाई पूर्ण स्वतन्त्र बनाउन चाहन्छु ।’ यी गलत रितिथिति, भ्रम र त्रासले गर्दा हाम्रो समग्र समाजलाई नै अनगिन्ती वियोगान्त कथा जस्तो बनाएको छ । जस अनुसार जीवनमा आनन्द लिनु गलत हो ।
ओशोका अर्थमा दुनियाँलाई अस्वस्थ र निषेधित गरेर मानिसहरूको शक्तिको मार्ग अवरुद्ध गर्नुहुँदैन । मानिस आफ्नो शक्तिलाई या त दबाउँछ वा परिवर्तन गर्दछ । शक्तिलाई परिवर्तन गरेर रूपान्तरण र मुक्ति खोज्नु सम्भोगदेखि समाधिसम्मको वैचारिक ऊर्जा हो । ओशोका अनुसार सिर्जनाको शुरुआत उत्तेजनाबाट हुन्छ । जागरुकता र स्वीकृतिले सम्भोगले शक्ति र मुक्ति दिन्छ ।
यस अर्थमा ओशोले आफ्नो कृति (अभिव्यक्ति) मार्फत समाजमा यौन तथा साधनाका विषयमा सोच्ने, बोल्ने, गर्ने विचारमा आमूल परिवर्तन ल्याइदिए । त्यति मात्र होइन उनको विचारका अनुयायीहरूले यसलाई वास्तविक प्रयोग गर्न रजनिशपुरम नामको आध्यात्मिक बस्ती (स्पिरिच्युएल सिटी) र कैयन् साधना शिविरहरू निर्माण गरे । विश्वका कुना–कुनामा ओशो आश्रमहरूमा मानिसहरू मोक्ष र आनन्दको आत्मिक खोजमा छन् ।
धर्म, राजनीति र सम्पत्तिका विषयमा पनि ओशोका विचार परिवर्तनकारी छन् । उनी भन्छन्, धर्म र राजनीति सँगसँगै जान सक्दैनन् । किनकि धार्मिक हुन मानिसले महत्वाकांक्षा त्याग्न सक्नुपर्छ । राजनीतिज्ञले कहाँ त्यसो गर्न सक्छ र ? पूँजीवादका सन्दर्भमा पनि उनको विचार निकै तार्किक र क्रान्तिकारी छ ।
उनका अनुसार पूँजीवादको कारण वैयक्तिक सम्पत्ति हो, वैयक्तिक सम्पत्तिमाथि स्वामित्वको कारण चाहिं पुरुषले आफ्नी पत्नीलाई एकाधिकार यौन अधिकारमा राख्ने चाहना हो । आफ्नी पत्नीलाई यौन अधीनस्थतामा राख्ने सोचका साथ पूँजी र यसप्रतिको स्वामित्व प्रभावशाली भएर आएको हो । त्यसैले पारिवारिक संगठन रहेसम्म समाज पूँजीवादी रहिनैरहन्छ ।
पूँजीवादको विरोध गर्नु सम्पत्ति सिर्जना र स्वामित्वमाथिको विरोध हो जुन व्यवस्थित समाजमा असम्भव छ । पूँजीवादलाई फ्रेडरिक हायक र मिल्टन फ्रायडम्यानले भन्दा पनि छुट्टै तर व्यावहारिक तर्कसाथ उनको व्यख्या छ । अन्ततः उनकै विचारका कारण उनलाई आइकोनिक पर्सन र उनका विचारहरू डिस्परिटभ आइडियाका रूपमा संसारभरि फैलिएको छ । उनको विचार र व्यक्तित्वको जति चर्चा उनको समयमा केले पायो र ? संस्थापित संरचना र परम्पराप्रति ओशोको विचारले जति तहल्का अन्य कृतिले मच्चाउन सकेकै छैन ।
यसर्थ ‘पूँजी’ (दास क्यापिटल) र ‘सम्भोगदेखि समाधिसम्म’ (फ्रम सेक्स टु सुपरसन्ससेस) युगान्तकारी कृति थिए र चन्द्रमोहन जैन (ओशो) र कार्ल मार्क्स युगान्तकारी स्रष्टा । मार्क्सले भौतिक समाजको अध्ययन मिहीन रूपमा जसरी गरेका थिए, ओशोले सामाजिक चिन्तन र व्यवहारलाई मथिङ्गलमा अद्भुत प्रज्ञाले मथे । यस्ता स्रष्टा र सिर्जना समाजले सितिमिति पाउँदैन, शताब्दीमा एकाध मात्र समाजले पाउँछ र तिनलाई उछिन्न कैयन् शताब्दी लाग्न सक्छ ।
प्रतिक्रिया 4