+
+
Shares
चित्रकला :

लाइफ अफ मिस्ट्री : चित्रकार शिवकुमार शर्मा, जसको एउटै चित्रको मूल्य ९ करोड

उनले फरक-फरक ढाँचाका रुखका चित्रहरू बनाएका छन् । स्वैरकाल्पनिकदेखि अमूर्तसम्म, वास्तविकदेखि आध्यात्मिकसम्म ।

सापेक्ष सापेक्ष
२०८२ साउन ३ गते १०:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • शिव कुमार शर्मा, पेशाले शिक्षक र रुचिले चित्रकार, भारतको दार्जीलिङमा जन्मेका हुन् र नेपालमा १९९२/९३ मा फर्किए।
  • उनको चित्र \'लाइफ इज मिस्ट्री\' सन् २०२३ मा अमेरिकाको पर्लेसन आर्ट ग्यालरीमा प्रदर्शित भयो र हाल लीलामीमा राखिएको छ।

कलाकार कुनै डिग्रीले बनिँदैन, लगाव र निरन्तर अभ्यासले बनिन्छ । यो कुरालाई सत्यमा परिणत गर्ने व्यक्तित्व हुन्-शिव कुमार शर्मा । उनी पेशाले शिक्षक हुन् । तर रुचिले चित्रकार ।

शिक्षक उनको पहिचान हो । तर, उनलाई यो परिचयमा कुनै गुनासो छैन किनकि उनी देखाउनकै लागि भनेर चित्र बनाउँदैनन् । चित्रकलाको बजारसँग पनि मतलब राख्दैनन्। उनलाई बनाउन पाए पुग्छ ।

चित्रकलाप्रति उनको अगाध लगाव छ । विद्यालयको कामले खासै समय दिन पाउँदैनन् । तर, केही गरी फुर्सद मिल्नसाथ उनी रङ, ब्रश र क्यानभाससामु बसिहाल्छन् ।

फेरि चित्रकलामा उनको कुनै औपचारिक पढाइ छैन । भलै सम्बन्धित क्षेत्रकै विज्ञबाट प्रशिक्षित छन् । तर लगाव, रुचि र रहर नभएको भए उनको चित्र जीवनका यत्रा घुम्तीहरूमा कतै छुट्थ्यो । तर, उनले चित्रकलालाई आफूसँगसँगै राखिरहे । मनमा बँचाइरहे ।

000

शिव कुमारको जन्म ५ जनवरी १९६८ मा भारतको दार्जिलिङस्थित पुल बजारमा भएको थियो । उनका बुबा नन्द प्रसाद शिवाकोटी दोलखाबाट दार्जीलिङ पुगेका थिए भने आमा देवमाया गौतम सिक्किमकी थिइन् ।

आर्थिक अभावले घेरिएको बाल्यकालमा उनले आफ्नी आमाको ‘दाहिने हात’ बनेर परिवारलाई सहयोग गर्नुपरेको थियो । किनकि बुबाको देहान्त उनी सानै हुँदा भयो । परिवारलाई कसैले त हेर्न पर्थ्यो ।

उनीहरू बसेको पुल बजारमा बाढीको प्रकोप बढेपछि परिवार दार्जिलिङको मुख्य सहरमा सर्यो । त्यहाँ सर्नु पनि उनका लागि राम्रै भयो । परिवारमा जति समस्या भए पनि उनकी आमा ‘छोरो’ले पढोस् भन्ने चाहन्थिन् । त्यहीअनुरुप उनको कक्षा ४ सम्मको शिक्षा होली एन्जल्स स्कुलमा भयो ।

त्यसपछि उनले सेन्ट प्रोबर्ट्स हाई स्कुलमा कक्षा ५ मा योग्यताका आधारमा भर्ना पाए । यो स्कुलमा सन्दुक रुइतले पनि अध्ययन गरेका थिए । त्यहाँ परीक्षा दिन जानेबेला भय‌ङ्कर पानी परेको उनलाई सम्झना छ । जिद्दी स्वभावका उनी डट्पेन समेत नलिई परीक्षा दिन गएका थिए । उत्तीर्ण पनि भए ।

उनको त्यस्तै आत्मनिर्भरता देखेर त्यस कलेजका पादरीले उनलाई गान्धी यूथ ग्रुपमा समावेश गराए । उक्त ग्रुपमा ‘जान्ने’ विद्यार्थीहरू मात्र हुन्थे । उनीहरूलाई विद्यालयमा खानाको समेत व्यवस्था हुन्थ्यो । यही ग्रुपले उनको जीवनमा महत्वपूर्ण परिवर्तन ल्यायो । किनकि उनले चित्रकला तथा संगीत सिक्ने अवसर पाए ।

कलाको बीजारोपण

उनका गुरु सोनाम शेर्पाले कक्षा ६ देखि नै उनलाई चित्रकला सिकाउन थालेका थिए । सोनाम शेर्पा मुम्बईको प्रसिद्ध जे.जे. आर्ट कलेजबाट पासआउट एक उत्कृष्ट ल्यान्डस्केप र पोट्रेट आर्टिस्ट थिए । उनले सधैं शिव कुमारलाई ‘ब्रस नछोड्नू’ भनी प्रोत्साहन दिइरहन्थे।

उनैको रेखदेखमा शिव कुमारको कलाको जग बलियो बन्दै गइरहेको थियो । यस्तैमा उनी कक्षा ८ मा हुँदा दार्जीलिङ नगरपालिकामा पहिलो पटक विद्यालयस्तरको कला प्रदर्शनी भएको थियो । त्यहाँ उनका पानी रङका तीनवटा चित्रकला ५० रुपैयाँका दरले बिक्री भएको थियो । कलामार्फत डेढ सय रुपैयाँ कमाएको त्यो उनको पहिलो अनुभव दियो । यो रकम त्यतिबेलाको परिप्रेक्ष्यमा उनका लागि निकै महत्वपूर्ण थियो।

यसबाहेक उनले नै बनाएका ५ वटा चित्रकला क्यानेडियन कम्पनीका एक प्रतिनिधिले खरिद गरेका थिए । जुन चित्र उत्तरी क्यानाडामा पुगेको थियो । सन् १९८६ तिर उनको विद्यालयमा लन्डन ट्रिनिटी कलेज अफ म्युजिकका मानिसहरू आएका थिए । उनीहरूलाई विद्यालयका फादरले भनेका कारण उनले तीनवटा पानी रङका पेन्टिङ उपहार दिएका थिए ।

शिक्षक जीवन

सन् १९८५ मा उनले कलकत्ता बोर्ड अन्तर्गत सेन्ट प्रोबर्ट्स हाई स्कुलबाट माध्यमिक परीक्षा उत्तीर्ण गरे । सोही वर्ष उनले सेन्ट जोसेफ कलेजमा कक्षा ११ मा भर्ना भए। कलेज पढ्दादेखि नै उनले घरमा ट्युसन पढाउन थालिसकेका थिए । केही समयपछि त ग्रीन लन्च स्कुलमा आधा दिन आर्ट टिचरका रूपमा र नेशनल ओपन स्कुलमा हिन्दी र राजनीतिक विज्ञान पढाएका थिए ।

उनी सन् १९९२/९३ को आसपासमा नेपाल फर्किए आए । नेपाल आगमनको मुख्य कारण दिलु राईसँगको उनको भगौरे बिहे थियो । उनीहरू दोलखाको नाम्दु गाविसमा बसे । त्यो ठाउँ उनको पुर्ख्यौली थलो थियो ।

सुरुमा उनले त्यहाँ बैतेश्वर माध्यमिक विद्यालयमा नेपाली र अंग्रेजी शिक्षकका रूपमा काम गरे । पछि आफ्नै स्कुल पनि खोले । त्यस ठाउँमा बसिरहन उनलाई मन भएन । त्यसपछि सन् १९९६ मा थप अध्ययन गर्न काठमाडौं आए ।

काठमाडौं आएपछि उनी इन्द्रधनुष हाई स्कुलमा जोडिए । त्यहाँ उनले अंग्रेजी, इतिहास र भूगोल शिक्षकका रूपमा काम सुरु गरेका थिए । उक्त विद्यालयमा उनले २० वर्षसम्म पढाए । यस अवधिसम्म उनी अतिरिक्त क्रियापलापका कोअर्डिनेटर, चित्रकला शिक्षक र सामाजिक शिक्षा पढाउने शिक्षकका रूपमा समेत रहेका थिए।

शैक्षिक उत्कृष्टता

शिक्षण पेसाका साथसाथै शिव कुमारले आफ्नो शैक्षिक यात्रालाई पनि निरन्तरता दिइरहेका थिए । काठमाडौं आउनसाथ त्रिभुवन विश्वविद्यालयको नेपाली केन्द्रीय विभागबाट उनले नेपालीमा स्नातकोत्तर पूरा गरे । त्यसपछि मानवशास्त्रमा पनि अर्को डिग्री हासिल गरे । त्यसक्रममा उनले काठमाडौं उपत्यकाका दृष्टिविहीन बालबालिकाको अवस्थाको अनुसन्धान गरेका थिए ।

प्रदर्शनीमा अमेरिकामा जाने अवसर पनि थियो । तर जीवनकै अप्रत्यासित अविस्मरणीय मोडमा दुर्भाग्यवश उनी बिरामी हुन पुगे । जनैखटिराले उनी बिरामी परे ।

यीबाहेक उनले अन्य डिग्रीहरूमा राजनीतिक विज्ञान, विशेष अंग्रेजी (ब्याचलर तह) र बी.एड. समेत समावेश छन् । त्यस्तै उनले सन् २०१५ मा काठमाडौं विश्वविद्यालयबाट शिक्षा सङ्कायमा एमफिल पनि पूरा गरे । त्यसमा उनको अनुसन्धान दनुवार समुदायमा केन्द्रित थियो । उनको एमफिल शोधपत्र मार्च २०२३ मा पुस्तकका रूपमा पनि प्रकाशित भएको छ ।

शिक्षणबाहेक उनी पाठ्यपुस्तक लेखनमा पनि संलग्न छन् । उनले करिब १४-१५ वर्षसम्म विभिन्न प्रकाशन गृहका लागि सामाजिक अध्ययन र अंग्रेजी विषयका कक्षा १ देखि १० सम्मका पाठ्यपुस्तक तथा गाइडबुकहरू लेखेका छन् । त्यसबाहेक केही पत्रिकाहरूमा उनका फुटकर लेखरचना प्रकाशन भएका छन् ।

कलामा पुनर्जन्म

दार्जीलिङबाट नेपाल आएको केही वर्षसम्म उनको चित्रकारिता रोकिएको थियो । तर दोलखाबाट काठमाडौँ सरेपछि भने उनले फेरि चित्र बनाउन थाले । विद्यालयमा कला शिक्षक भएपछि त झन फाइदा नै भयो ।

त्यसयता उनको कला जीवनमा ‘ब्रेक’ लागेन । गति सुस्त भएपनि पूर्ण बिराम लागेन । बरु झनै फक्रिँदै, झाँकिदै गयो । खाँरिदै गयो ।

उनीसँग निकट रहेका अर्का चित्रकार लक्ष्मण श्रेष्ठ भन्छन्, ‘उनमा कुनै पनि क्षणको रङलाई समात्ने खुबी छ । जुन उनका चित्रहरूमा पनि देखिन्छ । लामो समयदेखि चित्रकारितामा चुपचाप लागिरहेका कारण त्यो गुण विकास भएको हुन सक्छ’

चित्रकार श्रेष्ठले भने जस्तै शिव कुमारको चित्रमा रङको उज्ज्वलता प्रबल देखिन्छ । विशेषत: चित्रकारिताको सुरुआती दिनहरूमा उनी ल्यान्डस्केप आर्ट बनाउँथे । बाल्यकालमा पर्यावरणसँग नजिक थिए । त्यो अनुभव र अवलोकनको परिमाण उनका चित्रहरू हुन् ।

आज भने उनको कलामा ‘वृक्ष’ अर्थात् रुख एक प्रमुख र दोहोरिरहने विषयवस्तु हो । उनका गुरु सोनाम शेर्पाले सिकाउँदा नै चित्रमा एउटा रुख समावेश गर्दा सन्तुलन आउने सल्लाह दिएका थिए । ‘हिमाल, पहाड जस्ता दृश्यको चित्र बनाउँदा छेउतिर रुख राख्दा सन्तुलन हुन्छ भनेर गुरुले भन्नुहुन्थ्यो’ उनी सुनाउँछन्, ‘आखिरमा त्यो हो पनि ।’

यसका साथै सन् १९८५ मा सर एडमन्ड हिलारीको सम्मानमा दार्जीलिङमा स्टेज सजाउने क्रममा रुखको महत्वलाई झनै गहिरोसँग बुझेको उनी सुनाउँछन् । उनीहरू पढेको विद्यालयमा भएको कार्यक्रममा स्टेजका लागि उनीहरूले रुख/हिमालको पपेट बनाएका थिए ।

पहिलेदेखि नै उनका चित्रकलामा रुख कहिले प्रत्यक्ष त कहिले अप्रत्यक्ष रूपमा आउँथे । सन् २००० देखि भने उनले एकल वृक्ष चित्रकलामा विशेष ध्यान दिन थाले । ‘मानवजातिका लागि रूख बचाऔँ’ उनले आफ्नो चित्रसँगै नारा नै राखे । ‘वनजंगल रुखहरूकै कारण बन्छ । रुखहरू पशु प्राणीहरूका घर हुन् । रुखहरू छन् र त हामी छौं । रुखहरूले अक्सिजन दिने, पारिस्थितिक सन्तुलन कायम राख्ने गर्छ’ उनी भन्छन् ।

प्रकृति संरक्षणको त्यो बोधले पनि उनलाई आफ्नो चित्रकलाको मुख्य विषयवस्तु ‘रुख’ बनाउन सहयोग मिलेको छ । आज उनले फरक-फरक ढाँचाका रुखका चित्रहरू बनाएका छन् । स्वैरकाल्पनिकदेखि अमूर्तसम्म, वास्तविकदेखि आध्यात्मिकसम्म । यसो गर्नुको कारण भने उनी हरेक वृक्ष चित्रकलामा आफ्नो जीवनशैली र दर्शन प्रतिबिम्बत गरेको सुनाउँछन् । त्यसकारण उनका हरेक रुख एक फरक अनुभव हुन् । जसले फरक पलको प्रतिनिधित्व गरिरहेको हुन्छ ।

उनी कलामा प्रयोगात्मक कार्यमा विश्वास गर्छन् । त्यसका लागि उनी स्वयं पनि बिना पूर्वनिर्धारित योजना क्यानभासमा रङहरूसँग खेल्छन् । आकृतिहरूलाई आफैं बन्न दिन्छन् । कहिलेकाहीँ विश्वका समसामयिक घटनाहरूले पनि उनलाई चित्रकला बनाउन प्रेरणा दिएको छ । तर, यस्तो हुनु दुर्लभ छ ।

चित्रकलाबाहेक उनी एकपटक वाइल्डलाइफ फोटोग्राफीमा पनि लागेका थिए । सन् २००७ देखि तीन वर्ष उनी यस क्षेत्रमा सक्रिय रूपमा लागेका थिए । पछि भने अध्ययन र पेशाका कारण रोकिए ।

कलामा सफलता

विद्यालयमा आयोजना हुने प्रदर्शनीहरूमा उनका चित्रकला हुने नै भए । त्योभन्दा पनि नेपालका प्रमुख कला प्रदर्शनीमा उनका कामहरू समावेश भएका छन् । चाहे त्यो प्यागोडा समूह होस् या एलफ्रेस्को प्रदर्शनी । जोशी आर्ट ग्यालरी होस् या नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, उनका कलाले स्थान पाएका छन् ।

जुन एउटा छुट्टै पेशामा पूर्णकालीन रूपमा आबद्ध व्यक्तिका लागि गाह्रो काम हो । तर उनी यस मानेमा भाग्यमानी छन् । चित्रकार श्रेष्ठ भन्छन्, ‘उनका कामहरू हरेकजसो प्रदर्शनीमा विक्री भइरहन्छ । त्यो आफैंमा दुर्लभ हो । जो कसैकोमा त्यस्तो हुँदैन’

त्यस्तैमा सन् २०११ मा नेपाल आर्ट काउन्सिलमा भएको एक प्रदर्शनीमा उनको ‘लाइफ इज मिस्ट्री’ शीर्षकको चित्रकला प्रदर्शनी भएको थियो । एक जनाले त्यो चित्र ११ हजार रुपैयाँमा किनेका थिए । करिब दशकपछि त्यो चित्रले नसोचेको एउटा मोड ल्याइदियो ।

पुलबजारदेखि फिलाडेल्फियासम्म

उनको कला यात्रामा सबैभन्दा अप्रत्याशित र महत्वपूर्ण मोड सन् २०२३ मा आयो । त्यो मोडको कारण ‘लाइफ इज मिस्ट्री’ चित्र थियो ।

अमेरिकाका क्युरेटर र कला सङ्कलक डा. डेभिड नलिनकहाँ कसो-कसो उनको त्यही चित्र पुगेछ । उनले चित्रको पछाडि रहेको नाम र ठेगानाका आधारमा उनलाई खोज्न लगाएछन् । यसरी सम्पर्क गर्दैजाँदा शिव कुमारसम्म डा.नलिनको समूह जोडिए ।

त्यसको मुख्य उद्देश्य अमेरिकाको फिलाडेल्फियामा अवस्थित ड्रेक्सल युनिभर्सिटी अन्तर्गत पर्ने पर्लेसन आर्ट ग्यालरीमा हुनेवाला कला प्रदर्शनी थियो । सन् २०२३ जनवरीदेखि मार्चसम्म आयोजना भएको उक्त कला प्रदर्शनीमा उनीसहित नेपालका अन्य ११ कलाकारहरूको चित्र छनोट गरिएको थियो ।

प्रदर्शनीमा अमेरिकामा जाने अवसर पनि थियो । तर जीवनकै अप्रत्यासित अविस्मरणीय मोडमा दुर्भाग्यवश उनी बिरामी हुन पुगे । जनैखटिराले उनी बिरामी परे । उनलाई अमेरिका जान मन थियो । तर जान सकेनन् । यद्यपि सोच्दै नसोचेको घटना उनको जीवनमा घट्यो ।

‘मलाई एकै पटक खुसी र दु: ख लागिरहेको थियो । किनकि प्रदर्शनका लागि मेरो चित्र अमेरिका पुगेको थियो । तर मैले त्यो चित्र कसैलाई बेचिसकेको थिएँ’ उनी सुनाउँछन्।

चित्रैबाट भए पनि पुलबजार (जहाँ उनी जन्मे) देखि फिलाडेल्फियासम्म उनले यात्रा गरे । हाल उक्त चित्र एउटा लीलामीमा राखिएको छ । जसको मूल्य ९ करोड रुपैयाँ बढी राखिएको छ । यदि बिक्री भएको खण्डमा शिव कुमारले कुल मूल्यको १० प्रतिशत पाउने छन् । तर यो कुरा निश्चित भने छैन ।

लगाब, समय र प्रतिफल

ललितकलामा औपचारिक डिग्री नभएका शिव कुमारको कलालाई विदेशी दर्शकहरूले खुबै मन पराए । उक्त कलाका लागि उनलाई खोज्न जरुरी थिएन । उनकै चित्र राख्न आवश्यक थिएन । तर, विदेशीमा भएको त्यो कलाचेतले उनलाई चिन्यो । त्यो चेतप्रति उनी लालायित हुन्छन् ।

उनी भन्छन् कि, अझै पनि नेपालीमा कलाचेतना खुलिसकेको छैन । हिमाल पहाड मात्र कला हो भन्ने बुझाइ धेरै रहेको उनको छ । त्यस्तै उनी विश्वास गर्छन् कि कलाकार हुन विश्वविद्यालयको डिग्री चाहिँदैन, बरु आत्म-अध्ययन र कलाप्रतिको गहिरो लगाव नै महत्वपूर्ण हुन्छ ।

अहिले पनि उनी जेभिएर एकेडेमी र रिभेरा इन्टरनेशनल एकेडेमी गरी दुई वटा स्थानमा पढाउने गर्छन् । काठमाडौंमा मात्रै उनको शिक्षण अनुभव ३२ वर्ष पुगेको छ । तर जेजसरी हुन्छ, उनले यत्रो अवधिमा कलाका लागि समय निकाले । लागिरहे ।

त्यो लगाबले नै उनको काम राम्रो बनेकोमा शंका छैन । त्यसका लागि नेपालका स्थापित कलाकारहरूले उनको कामको प्रशंसा गर्नु र कलाकै लागि चिनिने विश्वविद्यालयले कला प्रदर्शनीमा उनको काम संलग्न गर्नुभन्दा अरू के प्रमाण चाहिन्छ !

तर उनी स्वयं शिक्षण पेसा भएकाले कला क्षेत्रमा सार्वजनिक रूपमा सक्रिय हुन समय अभाव भएको स्वीकार्छन् । र अन्य नामुद कलाकार जस्तो नहुनुमा उनकै दु:खेसो छैन । अहिलेसम्म चित्र बनाउन पाइएको छ, यसमा नै उनी खुसी छन् ।

‘कला भनेको आत्म-सन्तुष्टि र समाजलाई विरासतको रूपमा केही दिनु हो, न कि पैसा कमाउनु । कलाले नाम दिन्छ, दाम आफ्नै ठाउँमा छ’ उनी भन्छन् ।

000

अब उनलाई एउटै रहर छ – एकल कला प्रदर्शनी गर्ने । यसका लागि उनी वर्षौंदेखि तयारीमा छन् । समय अभावले गर्न सकिरहेका छन् ।

उनको त्यो चाहना भविष्यमा पूरा होला/नहोला तर उनी नेपाली चित्रकारितामा लुकेर बसेका हिरा हुन् । चित्रकारितामा आउन चाहने जोकोहीका लागि उनी एक प्रेरणादायी उदाहरण हुन् । आफ्नो रुचिमा यसरी पनि आजीवन लाग्न सकिन्छ भन्ने सम्भावनाको जीवन्त प्रतीक हुन् ।

सप्ताहान्त
लेखक
सापेक्ष

सापेक्ष अनलाइनखबरमा कला, मनोरञ्जन विधामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?