+
+
Shares
चित्रकला :

नेपाली नोटदेखि पौभासम्म : चित्रकलामा समर्पित चार पुस्ताको चाखलाग्दो कथा

महान् कलाकारहरूको यस्तो परिवारमा जन्मिन पाएकोमा प्रिया गर्व गर्छिन् । जसलाई कलामा मग्न हुनुबाहेक अन्य कुनै कुराको चासो छैन ।

सापेक्ष सापेक्ष
२०८२ असार २८ गते १०:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • शाक्य परिवारले करिब १०० वर्षदेखि चित्रकलामा निरन्तरता दिँदै आएको छ ।
  • आनन्दमुनि शाक्यले प्राकृतिक शैलीमा पौभा चित्रकलामा योगदान पुर्‍याए र राजा त्रिभुवनकालीन नोट डिजाइन गरेका थिए भने उनका छोरा सिद्धिमुनि र नाति सुरेन्द्रमानले पनि चित्रकलामा निरन्तरता दिएका छन्।
  • चौथो पुस्ताका प्रिया शाक्यले परिवारको कलाको व्यावसायिक पक्ष सम्हाल्दै नयाँ शैलीमा काम गरिरहेकी छन् र परिवारको चित्रकलालाई पूजा र साधनाको रूपमा मानिन्छ।

‘चित्रकला कुनै पेसा होइन । यो जीवनको धर्म, साधना र पूजा हो’

ठ्याक्कै यो भनाइले यस शाक्य परिवारलाई चरितार्थ गर्छ । आनन्दमुनि शाक्य (१९६०-२०००), सिद्धिमुनि शाक्य (१९८९-२०५८), सुरेन्द्रमान शाक्य (२०२३) र प्रिया शाक्य (२०५१) ।

यो चार पुस्तासँग एउटा साझा कुरा छ-चित्रकला । यो शाक्य परिवारले चित्र बनाउन थालेको करिब १०० वर्ष भइसकेको छ । त्यसबीचमा दुई पुस्ता स्वर्गे भइसकेका छन् भने दुई पुस्ता (बुबा-छोरी)ले निरन्तर काम गरिरहेका छन् । उनीहरूको यस विरासतलाई सम्मान गर्ने गरी अहिले दरबारमार्गस्थित ग्यालरी १०८ मा ‘कलाको वंश’ नामक प्रदर्शनी चलिरहेको छ । जहाँ स्व.आनन्दमुनि शाक्यदेखि प्रिया शाक्यका कामहरू राखिएका छन् ।

यस परिवारको कला यात्रालई हेर्दा जोकोहीलाई पनि श्रद्धा जाग्छ । किनकि, उनीहरूसँग राजा त्रिभुवनदेखि बेलायतको संग्रहलायसम्मको कुरा जोडिन्छ । उनीहरूको रगतमा कला बग्छ । श्वासप्रश्वासमा रङ र ब्रश मिसिन्छ । उनीहरूले चित्रकलालाई पूजा गरेजस्तै अटल श्रद्धा, निरन्तर अभ्यास र गहिरो आत्मसमर्पणका साथ आत्मसात् गरेका छन् ।

आनन्दमुनि शाक्य

सन् १९६० मा काठमाडौंको इतुम बहाल नजिकै आनन्दमुनि शाक्य जन्मेका थिए । जन्मजात नै उनी असाधारण क्षमताका थिए । उनको कलात्मक प्रतिभा भने तिब्बतको ल्हासासम्म फैलिएको थियो । त्यहाँ उनी १७-१८ वर्षको हुँदा पुगेका थिए । त्यसअघि काठमाडौंमै हुँदा उनले कलाकार पूर्णमान चित्रकारबाट तालिम लिएका थिए । शाक्यले कुनै पनि वस्तु हेरेपछि दुरुस्तै उतार्न सक्थे । त्यही शिल्पका कारण चैत्यमुनि शाक्य नाम गरेका व्यापारीसँगै उनी ल्हासा पुगेका थिए ।

त्यहाँ छारमकाजी नामक धार्मिक व्यक्तिले उनलाई प्राकृतिक शैलीका चित्रहरू बनाउन लगाए । शाक्यले काम बाँकी छाड्ने कुरै थिएन । उनको काम देखेर छारमकाजी निकै प्रसन्न भए । अनि शाक्यलाई पैसा, गलैँचा र कपडा दिए ।

चित्रबाहेक शाक्य संगीत, काष्ठकलामा उत्तिकै पारङ्गत थिए । १०/११ वर्षको उमेरमा नै उनले हार्मोनियम बजाउने गर्थे । सानैदेखि ताल र सूरमा उनको राम्रो पकड थियो । मूर्तिमा भने उनले बन्दुक, ड्रागन र गरुडजस्ता विभिन्न वस्तुहरू बनाएका थिए ।

भगवती र पद्मपानी लोकेश्वर ।

कलिलो उमेरै ल्हासा गएता पनि उनी त्यहाँ धेरै बसेनन् । २० वर्षकै उमेरमा फर्किए । र, लगत्तै बिहे गरे । जीवनकालभर उनका नौ सन्तान भएका थिए । तर दुःखको कुरा दुई जना मात्र जीवित रहे । ती मध्येका एक सिद्दीमुनि शाक्य हुन् ।

आज आनन्दमुनि शाक्यलाई पौभा चित्रकार भनेर बढी चिनिन्छ । प्राकृतिक शैलीमा पौभा बनाउने उनले देवताहरूलाई मानवीकरण गर्थे । अनि उनीहरूको दिव्य सार कायमै राख्थे । विशेषत: दिपङ्कर बुद्धको लुम्बिनी यात्रा र त्रिआयामिक शैलीमा बनाइएका पौभाहरू उनका विशेष कलाहरू हुन् ।

आज उनले बनाएको लोकेश्वर हनुमानढोका संग्रहालयमा राखिएको छ । जुन अमूल्य चित्रमध्येको एकमा पर्छ । यसका साथै उनका केही कामहरू चोरी भए भने केही व्यापारीहरूले किनेर लगे । तर यति हुँदाहुँदै पनि बनाइनसकेका उनका केही कामहरू भने परिवारले संरक्षण गरेर राखेको छ ।

आनन्दमुनि शाक्यले डिजाइन गरेका नेपाली नोट ।

अर्को, नेपालको नगद पैसाको डिजाइनका लागि पनि उनी चिनिन्छन् । उनले राजा त्रिभुवनको पालाको १, ५ , १० र १०० रुपैयाँको नोटको डिजाइन गरेका थिए । दुर्भाग्यवश उनले आफूले डिजाइन गरेका नोटहरू बजारमा चलेको देख्न पाएनन् । किनकि हैजाका कारण वि.सं. २००० मा उनको मृत्यु भयो ।

सिद्धिमुनि शाक्य

सिद्धिमुनि शाक्य १९८९ श्रावण शुक्ल अष्टमीका दिन जन्मेका थिए । उनको जन्मपछि घरमा एक प्रकारले उमङ्ग छाएको थियो । समाजमा बुवा (आनन्दमुनि शाक्य) को ओज भए पनि घरमा आर्थिक पाटो कमजोर नै थियो ।

त्यसलाई व्यवस्थापन गर्न आनन्दमुनि शाक्यले रातोदिन काम गर्थे । बुबाको कामलाई सिद्धिमुनि हेरिरहन्थे । तर दु:खको कुरा उनी ११ वर्षको हुँदा आनन्दमुनि शाक्य परलोक भए । त्यसपछि घरमा कठिनाईँ आयो । आमा ज्ञानमाया शाक्यले जसोतसो उनलाई हुर्काइन् ।

बुबा बितेकै सालबाट उनले पनि कलाको काम सुरु गरे । सुरुका दिनमा उनी नेवारी समुदायका मानिसहरूका लागि चित्र बनाउँथे । जुन चित्र पूजाका लागि अनिवार्य हुन्थ्यो।

अलि पछि पञ्चायत विकास समितिमा काम पाएर पोखरा गए । त्यहाँ उनको काम नक्सा बनाउने थियो । पोखरामा उनले जम्माजम्मी पाँच वर्ष काम गरे ।

कार्यालयमा उनलाई हाकिमहरूले दक्ष कलाकार भन्दै प्रशंसा गर्थे । तर पोखरामा एक जना पौभा बनाउने बच्चा भेटिएपछि उनलाई त्यहाँ बसिरहन मन भएन । अनि नक्सालको जनबहालमा १०८ लोकेश्वर बनाउन जागिरबाट राजीनामा दिए । सुरुमा उनको राजीनामा स्वीकृत भएन । दयावीर सिंह कंसाकारले कार्यालयमा अनुरोध गरेपछि बल्ल राजीनामा स्वीकृत भएको थियो ।

चक्र संभर मण्डल ।

त्यसपछि भने उनले आफ्नै शैलीमा पौभाहरू बनाउन थाले । आफ्नो चित्रकारितामा उनी यति लागिपरेका थिए कि, एकपटक उनले रङ (पग्लेको सुन)का लागि आफ्नो चित्र नै साटेका थिए ।

उनी पनि बुबा आनन्दमुनिजस्तै अन्य शिल्पमा पनि दक्ष थिए । उनी हार्मोनियम तथा गुँला बाजा बजाउन सिपालु थिए ।

उनको विवाह २०१९ सालमा भएको थियो । उनका एक छोरा (सुरेन्द्रमान शाक्य) र तीन छोरी गरी चार सन्तान थिए । तीमध्ये एक जनाको सानैमा मृत्यु भएको थियो ।

चित्र बनाउन प्रयोग गरिने क्यानभाससँग उनको सम्बन्ध पनि रोचक छ । उनका बुबा आनन्दमुनि शाक्य क्यानभासको साट्टा कागज अथवा अन्य सामग्री प्रयोग गर्थे । त्यसमा चित्र बनाउन गाह्रो हुने भएकाले सिद्धिमुनिले नयाँ जुक्ती अपनाउन लागे । र, त्यही सिलसिलामा २०२६ सालतिर घरेलु विधिमार्फत उनले क्यानभास बनाउन सफल भए । त्यस कर्मले उनलाई एउटा पुरस्कार पनि दिलाएको थियो ।

त्यसबाहेक राष्ट्रिय कला प्रदर्शनीमा परम्परागत तथा आधुनिक विधामा क्रमश: २०२४, २०२५ मा उनले पुरस्कार पाए । यससँगै २०२७ मा इन्द्रराज्यलक्ष्मी पुरस्कार पनि पाए ।

चित्रकारितालाई पुण्य, तपस्या र साधना मान्ने उनले १०८ लोकेश्वर पूरा गर्न ९ वर्ष खर्चेका थिए । यसबाहेक उनको महत्वपूर्ण कामहरूमा मेघ सम्भर, सयौं बढी रेखाचित्र र ६/७ वटा मण्डला पर्छन् ।

यसरी चित्रकारिताबाट लिन भएका उनको निधन वि.सं. २०५८ सालमा भयो ।

सुरेन्द्रमान शाक्य

उनी वि.सं. २०२३ मा जन्मेका हुन् । उनको बाल्यकाल पनि बुबा सिद्धिमुनि शाक्यको काम हेर्दै विकास भएको थियो ।

भनौं, चित्रकारितासँग उनको सम्बन्ध बाल्यअवस्था देखि नै थियो । उनले ७ वर्षको उमेरदेखि नै स-साना काम गर्न थालिसकेका थिए । जुन बुबालाई मन पर्दैनथ्यो । दु:खको काम भएकाले बुबाले नरुचाएका थिए । तर, उनले चित्र यति राम्रो बनाउँथे-बुबाले नगर् भन्न सकेनन् ।

१५/१६ वर्षको उमेरसम्म पुग्दा त उनको काम र बुबाको काम छुट्याउन गाह्रो भइसकेको थियो ।

उनी त्यो समयमा क्षेत्रपाटीको एक विद्यालयमा पढ्थे । कलाको काममा बुबालाई सहयोग गर्नुपर्ने भएकाले उनले एसएलसी पूरा गर्न पाएनन् । उनी आफ्नो बुबालाई गुरु मान्छन् । खासमा शाक्य परिवारले आफ्नो अघिल्लो पुस्तालाई गुरु मान्दै आइरहेको छ । र, सुरेन्द्रमान यसकारण पनि भाग्यमानी रहे कि उनले बुबासँग लामो समय काम गर्न पाए ।

त्यही कारणले पनि आफ्नो परिवारको कलात्मक इतिहासबारे उनलाई विस्तृत ज्ञान छ । बुबाको व्यक्तित्वको, सोचको प्रभाव छ । विशेष गरी विजेश्वरी मन्दिरमा २०४८, २०६० र २०७३ सालमा चार योगिनीहरू (विद्याधरी, खड्‌गायोगिनी, बज्रयोगिनी र बज्रबाराही) को कलेवर फेर्ने उनको कामलाई निकै महत्त्वपूर्ण मानिन्छ । अनि विश्वरूपको चित्र पूर्ण गर्न उनलाई ९ वर्ष लागेको थियो । त्यसको कारण धेरै नै मसिनो विवरण हुनु हो ।

अवलोकितेश्वर ।

बाल्यावस्थामा उनले बुबालाई रङ सफा गर्न र रातको समयमा बत्ति बालेर सहयोग गर्थे । कालान्तरमा पौभा एक जनाले मात्र बनाउनुपर्छ भन्ने मान्यता पनि उनले तोडे । फलस्वरूप बुबासँग सहकार्य गरेर बनाएका उनका थुप्रै सिर्जना छन् । बुबासँगै बनाएको वसुन्धरा र चिन्तामणि लोकेश्वरको पौभा रोबर्ट बिरले संकलनका लागि बेलायत लगेका छन् ।

पुस्ता नै कलामा समर्पित भए पनि उनी आफूलाई कलाकार नभई साधक भन्न रुचाउँछन् । उनका लागि के शनिबार, के आइतबार । उनी बारको मतलब गर्दैनन् । विदा मान्दैनन् ।

बिहान ३:४५ बजे उठेर स्नान गर्नु, जप्नु, पूजा गर्नु अनि चित्र बनाउन बस्नु उनको दैनिकी हो । ५९ वर्षमा हिँडिरहेका उनले केही गरी दिनमा चित्र बनाएनन् भने छटपटी मान्छन् । र, रातमा भए पनि केही बनाउँछन् ।

यो लगनशीलता पुनर्जन्म पाएकाले आएको उनको भनाइ छ । १२ वर्षको उमेरमा उनी खैरेनी बजारमा गएका थिए । चुलबुले स्वभाव, उनी खोलामा पानी खान गए । जाँदाजाँदै उनी चिप्लिएर खोलामा खसे । केही ढिला भएको उनलाई जे पनि हुन सक्थ्यो । उनलाई त्यहाँ नजिक रहेका मान्छेहरूले बचाए ।

विश्व रुप र बुद्धजीवनी

उक्त घटनाबाट बचेपछि धर्मधातु बागीन्द्र बज्राचार्य गुरुलाई उनले खड्ग योगिनीको चित्र बनाएर दिए । त्यसयता सकेसम्म उनले दिनमा चित्र बनाउन छाडेका छैनन् ।

आजकल उनको दैनिकी पहिला जस्तो छैन । ढल्कँदो उमेरका कारण पनि होला उनलाई स्वास्थ्यले साथ दिइरहेको छैन ।

तर पनि प्राय: उनी घरमै चित्र बनाइरहेका हुन्छन् । बजारसँग उनलाई कुनै मतलब छैन । चित्र बनाउन पाए पुग्यो । उनको २०४८ सालमा बिहे भएको थियो । उनका दुई छोरी र एक छोरा छन् ।

जेठी छोरी प्रिया शाक्य यस परिवारको चौथौ पुस्ताका कलाकार हुन् ।

प्रिया शाक्य

३१ मा हिँडिरहेकी प्रिया दुई बच्चाकी आमा हुन् । बच्चाहरू सानै छन् । त्यसले गर्दा आजकल उनले चित्रकलामा पूरा समय दिन पाएकी छैनन् । उनको कला यात्रा सुरु भएको १५ वर्ष भइसकेको छ ।

वि.सं. २०६७ मा एसएलसी दिएपछिको खाली समयमा उनले औपचारिक कलाकारिता सुरु गरेकी थिइन् । त्यसअघि पनि नबनाउने त होइन, तर उनमा पूर्ण आत्मविश्वास आइसकेको थिएन ।

र, अघिल्लो पुस्ताझैं उनले पनि घरबाटै कलाकारिता सिकेकी हुन् । उनी महान् कलाकारहरूको यस्तो परिवारमा जन्मिन पाएकोमा गर्व गर्छिन् । जसलाई कलामा मग्न हुनुबाहेक अन्य कुनै कुराको चासो छैन ।

उनी अघिल्ला पुस्ताहरूभन्दा अलि ‘एड्भान्स’ छिन् । पिपल्स क्याम्पसबाट बीबीएस र लोटस एकेडेमिक कलेजबाट एप्लाइड बुद्धिज्ममा स्नातकोत्तर गरेकी छिन् । यसकारण आजकल परिवारको कलाको व्यावसायिक पाटो उनैले सम्हालिरहेकी छिन् । तुलनात्मक रूपमा उनको व्यक्ति सिर्जना कम छ । तर, भविष्यमा थप कामहरू आउने उनी सुनाउँछिन् ।

कला वंश

यो नाम नै कस्तो मिठो छ । कलाको एउटा निरन्तर वंशज भएकाले जारी प्रदर्शनीको नाम ‘कला वंश’ राखिएको ग्यालरी १०८ का संस्थापक सुगत शाक्य सुनाउँछन् । उनका अनुसार यो प्रदर्शनी शाक्य वंशको चार पुस्ताले कलामा गरेको समर्पणको सम्मान हो ।

‘यो उहाँहरूको पूर्णकालीन पेशा हो, पार्ट-टाइम होइन । सुरेन्द्रजी आफैं यसलाई ‘ध्यान’ मान्नुहुन्छ’ उनी भन्छन्, ‘तर आकजल धेरै जना केही वर्षमै काम छाड्छन् । नेपालमा यस्तो पनि छ भनेर जानकारी दिनु पनि प्रदर्शनीको उद्देश्य हो ।’

ग्यालरीमा यो प्रदर्शनीलाई दुई भागमा देखाइएको छ । यसको कारण ग्यालरीको आकार सानो हुनु र नयाँ शैली अपनाउनु रहेको उनी सुनाउँछन् ।

बुबा सुरेन्द्रमान र छोरी प्रियाको संयुक्त रचना चक्र संभर ।

जिजुहजुरबुबाले परिवारमा कलाको बहुआयामिक जग बसाले । जसलाई हजुरबुबा र बुबाले नि निरन्तरता दिए । अहिले त्यस बलियो जगलाई प्रियाले फैलाउने काम गरिरहेकी छिन् ।

विशेषगरी उनीहरूले गरिरहेको चित्रकारिता, पौभा, नेवार समुदायसँग सम्बन्धित छ । यस चित्रकलामा प्रायः बौद्ध देवी-देवता, मण्डला, बुद्धका जीवनका घटनाहरू र विभिन्न आध्यात्मिक प्रतीकहरूलाई चित्रण गरिन्छ ।

मसिनो र विस्तृत काम, प्रतीकात्मक रङहरूको प्रयोग, र परम्परागत विधि हुनाले यसलाई जटिल चित्रकला पनि मान्ने गरिन्छ छ । त्यति हुँदाहुँदै पनि प्रियाले भने जस्तै पौभा बनाउनु ‘भगवानको पूजा’ गर्नुसरह हो।

यो कला वंशले पौभा चित्रकलाको गहिराइ र यसको महत्त्वलाई मज्जैले बुझाएको छ । पौभा (कला) केवल रङ र कुचीको सङ्गम मात्र नभई आस्थाको डोरोले बाँधिएको एउटा अनवरत साधना हो भन्ने देखाएको छ ।

सम्भवत: भविष्यमा पनि यो कलाको मन्दिरमा पुस्तान्तरणको दियो अझै बलिरहनेछ ।

सबै तस्बिरहरू : शाक्य परिवार र ग्यालरी १०८ । 

लेखक
सापेक्ष

सापेक्ष अनलाइनखबरमा कला, मनोरञ्जन विधामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?