+

‘बाबा, डाक्टरले जेल जानुपर्दैन नि ?’

२०८२ असार  २८ गते ६:३६ २०८२ असार २८ गते ६:३६

पछिल्लो समय, उपभोक्ता संरक्षण ऐनको दफा देखाउँदै, अदालतले चिकित्सकमाथि ‘सेवा दिन असफल भए’ भन्ने आधारमा क्षतिपूर्तिको फैसला गर्न थालेको छ ।

Shares
‘बाबा, डाक्टरले जेल जानुपर्दैन नि ?’

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चिकित्सकहरूले न्यायको आग्रह गर्दै लापरवाही प्रमाणित भएपछि मात्र सजाय हुनुपर्ने लेखकले बताएका छन्।

अस्पतालको कोठा सधैंझैं व्यस्त थियो । कतै औषधिको गन्ध, कतै रगतको टाटो अनि कतै हतारमा रहेका कुरुवा र स्वास्थ्यकर्मीहरू । कतै सन्तान प्राप्तिको सपना मिसिएको त कतै आफन्त गुमाउनु पर्ने पो हो कि भन्ने त्रास । डा. अरुण बिहानैदेखि अपरेशन थिएटरमै थिए । राम्रोसँग सास फेर्ने फुर्सद पनि थिएन । एकपछि अर्को बिरामी ।

कसैको सिजरियन त कसैको पाठेघरको शल्यक्रिया । बीच–बीचमा सुरक्षित गर्भपतन सेवा अनि समान्य प्रसवमा समस्या आए हेरिदिनु पर्ने । त्यसैले सहकर्मी डाक्टरले गरेको फोन उठाउन सकेनन् । काम सकेपछि मात्र फोन हेरे । साथीहरूको, आफन्तहरूको मिस कल थियो । तर त्यो भन्दा नि म्यासेज थियो । आफ्नै सहकर्मीको जसले केही महिनाअगाडि अप्रेसन गर्दा बिमारीको मृत्यु भएको थियो । त्यो मृत्युले उनमा फेरि अप्रेसन गर्न सक्ने आत्मबल नै थिएन । त्यसैले उनी विदामा थिए ।

सुन्नमा आएको थियो, अदालतमा मुद्दा पनि चलेको छ रे । एकातिर बिमारी बचाउन नसकेको पीडा, अर्कातिर मिडियातिर अपमान, त्यसमाथि मुद्दा । अप्रेसनअगाडि जटिलताबारे भनेकै थियो, हस्ताक्षर गरेर अनुमति दिएकै थियो ।डाक्टरको आँखाले हेर्ने कोही हुँदोरहेनछ । उनै सहकर्मी डाक्टरको म्यासेज रहेछ । ‘फैसला आयो ! एक करोड क्षतिपूर्ति र तीन वर्ष कैद’ उनको मुटु एकछिन रोकिएजस्तो भयो । अप्रेसन गरेर बिरामी बचाउने प्रयासमा लापरबाही ठहरिएको रहेछ । अदालतको फैसला यस्तो आयो, मानौं उनले कसैको हत्या गरे ।

साँझको ड्युटी सकेर घर फर्किँदा उनकी छोरीले सोधी, ‘बाबा, डाक्टर राम्रो हुन्छ नि ? राम्रो मान्छे कहिले जेल जानुपर्दैन नि ?’ उनका आँखामा आँसु आयो । छोरीले बुझेको ’डाक्टर’ जीवन दिने देवता हुन् । तर अदालतले देखेको ’डाक्टर’ मृत्यु दिने दोषी पनि हुँदोरहेछ ।

अचम्म छ । सडकमा टिपरले मान्छे किच्दा पाँच लाख क्षतिपूर्ति बीमाले दिन्छ । चालक केही समय हिरासत बस्छन् । अनि दुर्घटनालाई भवितव्य वा यान्त्रिक दोष ठहर गरिन्छ। अनि अनुसन्धान पछि छुट्छन् ।

प्रहरी हिरासतमा कुटपिटका कारण कसैको मृत्यु भएमा प्रहरीलाई समान्य कारबाही हुन्छ । ज्यान गए, सरकारको तर्फबाट १० लाख राहत बाँडिन्छ । गोली हान्ने प्रहरीलाई समेत कर्तव्य पालनामा ’सावधान’ भनिएको एउटै शब्दले बचाइन्छ । तर एउटी गर्भवती महिलाको अप्रेसन गरिरहेका डाक्टरसँग, जब अत्यधिक रक्तस्राव भएर ज्यान जान्छ भने …। त्यो ‘कर्तव्य पालनाको क्रममा प्रयास’ नभई ‘लापरवाही’ ठहरिन्छ ।

आखिर किन ? कसको जीवनको मूल्य कति ? मान्छे मरेको आधारमा होइन, मारेको आरोपीको पेशाका आधारमा । हाम्रो समाजमा मृत्युको न्याय मृत्युको कारणले होइन, पेशाले तोकिन्छ । गोली चलाउनेलाई कर्तव्य, ब्रेक नलगाउनेलाई दुर्घटना, तर जीवन बचाउने प्रयास गर्ने डाक्टरलाई हत्या ।

लामो पंक्तिको अन्तिम कुनामा उभिएको डाक्टर, हरेक बिरामीका लागि लडिरहेका हुन्छन् । रक्तचाप तल झरिसकेको बिरामी, डिप्रेसनमा बाँचेको जीवन, बच्चा नपाएर छटपटाएकी महिला सबैको सेतो कोटधारीसँग आशा हुन्छ । तर जब आशा मर्ने गर्छ, कानुनको तराजुमा डाक्टर फस्छ ।

पछिल्लो समय, उपभोक्ता संरक्षण ऐनको दफा देखाउँदै, अदालतले चिकित्सकमाथि ‘सेवा दिन असफल भए’ भन्ने आधारमा क्षतिपूर्तिको फैसला गर्न थालेको छ । अदालत भन्छ, सेवाको ग्यारेन्टी थियो, त्यसैले मृत्यु भयो भने क्षति तिर्नुपर्छ । तर के डाक्टरले जीवनको ग्यारेन्टी कहिल्यै दिएका हुन्छन् ?

रक्तचाप उच्च थियो अनि रक्तअल्पता । गर्भको बच्चाको ढुकढुकी कम भयो । सिजरियन गर्नुपर्‍यो । रक्तश्राव शुरु भयो । डाक्टरले सबै प्रयत्न गरे । रगत चढाए, भेन्टिलेटरमा राखे, प्रार्थना गरे । तर जीवन जोगिएन । बच्चाका लागि आमा । र डाक्टरका लागि आत्मविश्वास, परिश्रम र त्यो नाम सबै मरे । पछि अस्पतालमा उजुरी पर्‍यो । जसले स्वास्थ्यका बारेमा बुझेका छैनन्, मेडिकल जटिलता बुझदैनन् । उसले ‘लापरबाही भयो’ भनी तोकिदियो । के लापरबाही भन्नु सजिलो हो ? हरेक असफल प्रयास पछाडि एउटा आत्मग्लानीको कालो रात हुन्छ । तर अब त्यो रातले पुगेन ।

डा. हिरा, एक जना महिला चिकित्सक, जसमाथि एक मृत्युपछि क्षतिपूर्तिको मुद्दा चल्यो । उनी काममा फर्कन सकिनन् । उनको आत्मविश्वास मरेको थियो । उनले एकदिन लेखिन्, ‘हामी मृत्युको ढोकासँग लड्छौं । तर अब त कानुनी ढोकासँग पनि लड्नुपर्ने भयो । अब चिकित्सकीय पेशामा फर्किनन् ।’

कसले जोगाउने हो यो पेशा ? समाजले सेतो कोटलाई देवता मानेको थियो । तर अहिले शिकार बनाएको छ । डाक्टर अब ’डर’ मा काम गर्छन् । सर्जरी गर्नुअगाडि डा. सन्दीप अब दायाँबायाँ हेर्छन् । रुग्णता वा जटिलता खोज्न होइन, उजुरी खोज्न । बिरामीलाई परामर्श गर्दा डा. रजनी अब ‘धेरै बोल्न’ डराउँछिन् । बिरामीले रेकर्ड गर्लान्, भोलि प्रमाण बन्छ कि जस्तो लाग्छ । उपचार गर्दा डा. गोविन्द अब सावधानी भन्दा अघि ‘कानुनी सुरक्षा’ खोज्छन् ।

यी सबै किन ? किनभने कानुनले नियतमाथि होइन, परिणाममाथि सजाय तोक्न थाल्यो । जसले प्रयास गरे, उनैले सजाय पाए । जसले गोली हाने, जसले बस चलाए, जसले गाडीको ब्रेक फेल गरे । बरु उनीहरू जिम्मेवारीबाट उन्मुक्त भए । तर जसले दिनरात खटेर, जीवनको युद्ध लडे । उनीहरू अदालतमा अपराधी प्रमाणित भए । अब सेतो कोट पहिरनु सजिलो छैन । यो अब सारा देशका डाक्टरहरूका लागि प्रश्नचिह्न बनेको छ ।

के डाक्टर जेलका लागि हो ? के हरेक मृत्युपछि चिकित्सक शंकाको घेरामा पर्ने ? के हामी ‘देवता’ को सपना देखाएर ‘अपराधी’ को जीवन दिन खोजिरहेका छौं ? यथार्थ यत्ति हो । चिकित्सकले क्षतिपूर्तिको विरोध गरेका छैनन् । तर उनीहरू न्यायको आग्रह गरिरहेका छन् । लापरबाही प्रमाणित होस्, नियत देखियोस्, अनि मात्रै सजाय होस् ।

कानुन डाक्टर पेशा
डा. बालकृष्ण साह
लेखक
डा. बालकृष्ण साह
प्रसूति तथा स्त्रीरोग विशेषज्ञ

मेडिकल काउन्सिल दर्ता नम्बर : ७३१३ एमबीबीएस, डीजीओ र एमपीएच । मोरङ सहकारी अस्पताल विराटनगरमा कार्यरत डा. साह प्रसूति तथा स्त्रीरोग विशेषज्ञ हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय