News Summary
Generated by OK AI. Editorially reviewed.- करङ भाँचिनुका मुख्य कारणमा दुर्घटना, ओस्टियोपोरोसिस, ट्युमर, क्यान्सर र संक्रमण पर्दछन् जसले छातीको हड्डी कमजोर पार्छन् ।
- करङ भाँचिएपछि सास फेर्न गाह्रो हुनु, छाती दुख्नु, हाँस्दा वा खोक्दा पीडा हुनु र छातीमा आवाज आउनु लक्षणहरू हुन् ।
- उपचारमा आराम, औषधि, ब्रेस लगाउने, फिजियोथेरापी र गम्भीर अवस्थामा शल्यक्रिया आवश्यक पर्छ र ८०–९० प्रतिशत बिरामी पूर्णरूपमा निको हुन्छन्।
हामी सास फेर्छौं, हाँस्छौँ, उफ्रिन्छौँ, कहिलेकाहीँ त बेस्सरी खोक्छौँ पनि । यी सबै काम सहजै भइरहँदा, छातीभित्रका करङहरूले कति मेहनत गरिरहेका छन् भन्नेमा हाम्रो ध्यानै जाँदैन ।
जब एकदिन ती करङमध्ये एउटा भाँचिन्छ, अनि बल्ल थाहा हुन्छ-छातीको हड्डी पनि भाँचिदो रहेछ । करङ भाँच्चिएपछि हाँस्न, हिँड्न, सास फेर्न निकै सास्ती हुन्छ।
हाम्रो छातीभित्र १२ जोडी हड्डीको संरचना करङ हो, जसले फोक्सो, मुटुजस्ता महत्वपूर्ण अंगहरूलाई सुरक्षा प्रदान गर्छ ।
तर यही करङ कहिले लडेर, कहिले बेस्सरी झट्का लाग्दा, त कहिले खोकी वा सामान्य चोटपटककै कारणले भाँचिएमा सुरु हुन्छ पीडाको कथा । सास लिन कठिन हुने, यताउता छाती चलाउँदा दुख्ने र हाँस्दा वा खोक्दा असह्य पीडा महसुस हुन्छ ।
करङ किन र कसरी भाँचिन्छ ? लक्षण कस्ता हुन्छन् ? यो समस्या कति गम्भीर हो ? यदि भाँचियो भने, उपचारपछि पहिलेकै अवस्थामा फर्किन सकिन्छ ?
पहिला बुझौं, करङबारे
करङको हड्डीले शरीरलाई संरचनात्मक आधार प्रदान गर्छ । मेरुदण्डले टाउको, काँध, छाती र कम्मरलाई जोडेर शरीरको समग्र सन्तुलन कायम राख्छ । करङ छातीको वरिपरि हुने १२ जोडी (२४ वटा) लामो, वक्राकार हड्डीहरूको संरचाना हो । जसले हाम्रो मुटु, फोक्सो र अन्य महत्वपूर्ण अंगहरूलाई सुरक्षा प्रदान गर्छ ।
यिनले हामीलाई सास फेर्न, हिँडडुल गर्न, अगाडि झुक्न तथा सामान्य शरीरका गतिविधिमा सहायता गर्छन् । करङको हड्डी भाँचिनु भनेको सानो कुरा होइन । कहिलेकाहीँ गम्भीर जटिलता र जीवन जोखिममा समेत पर्नसक्छ ।
करङको हड्डी कसरी भाँचिन्छ ?
करङ भाँचिनुका धेरै कारणहरू हुन सक्छन् । सबैभन्दा सामान्य कारणहरूमा दुर्घटना, जस्तै सवारी साधनको ठक्कर, उचाइबाट खस्दा वा खेलकुदको समयमा चोट लाग्नसक्छ। यस्ता घटनाहरूले मेरुदण्डमा ठूलो दबाब पर्दा हड्डी भाँचिन सक्छ ।
त्यस्तै, ‘ओस्टियोपोरोसिस’ जस्ता रोगहरूले हड्डी कमजोर बनाउँदा पनि सामान्य चोटले करङको हड्डी भाँचिन सक्छ । ‘ओस्टियोपोरोसिस’ भनेको हड्डी कमजोर हुने रोग हो। यसले हड्डी पातलो र खोक्रो बनाउँछ। जसले हल्का चोट लाग्दा पनि हड्डी भाँचिन सक्छ।
यो रोग विशेषगरी वृद्धावस्थामा र महिलाहरूमा बढी देखिन्छ, किनभने उनीहरूको हड्डीको घनत्व कम हुन्छ । जसकाकारण व्यक्तिमा धेरै खोकीले पनि हड्डी च्यातिन सक्छ । यस्तोमा हड्डी मक्किएका बिरामीमा सामान्य चोटले पनि करङ भाँचिन सक्छ ।
लामो समयसम्म गलत तरिकाले बस्ने, भारी सामान उठाउने, वा शारीरिक व्यायामको कमीले पनि मेरुदण्डमा समस्या उत्पन्न हुन सक्छ, जसले भाँचिने जोखिम बढाउँछ । अन्य कारणहरूमा ट्युमर, क्यान्सर वा मेरुदण्डको संक्रमणले पनि हड्डी कमजोर बनाएर भाँचिने सम्भावना बढाउँछ ।
करङ भाचिएपछि देखिने लक्षण
– सास फेर्दा वा बोल्दा छातीमा चर्को दुखाइ ।
– छाती चलाउँदा वा हाँस्दा असह्य पीडा ।
– छातीमा सुन्निएको जस्तो अनुभव वा आवाज आउनु ।
– गहिरो सास लिन गाह्रो हुनु ।
– कहिलेकाहीँ छातीभित्र रगत जमेको वा हावा भरिएको अवस्था हुनसक्छ ।
भाँचिएपछि के हुन्छ ?
करङको हड्डी भाँचिएमा सामान्यदेखि गम्भीर अवस्थासम्म निम्तिन सक्छ । यदि भाँचिएको हड्डीले मेरुदण्डी स्नायुलाई असर नगरेको छ भने यो कम गम्भीर मानिन्छ ।
यस्तो अवस्थामा बिरामीले ढाडमा दुखाइ, सुन्निने र गतिशीलतामा कठिनाइ अनुभव गर्छ । यो दुखाइ सामान्यतया केही समयको उपचार र आरामले कम हुन सक्छ । तर, यदि भाँचिएको हड्डीले मेरुदण्डी स्नायुलाई दबाब दिएको छ वा स्नायुमा क्षति पुर्याएको छ भने यो गम्भीर अवस्था हुन्छ ।
यस्तो अवस्थामा बिरामीले हातखुट्टा चलाउन नसक्ने, झनझनाउने वा पूर्णरूपमा पक्षघातको सामना गर्नुपर्ने हुन सक्छ । गम्भीर अवस्थामा मेरुदण्डको स्नायुको क्षतिले स्थायी अशक्तता, जस्तै प्यारालाइसिस, निम्त्याउन सक्छ ।
यस्तो अवस्थामा बिरामीको जीवनशैलीमा ठूलो परिवर्तन आउँछ र उसलाई लामो समयसम्म विशेष हेरचाहको आवश्यकता पर्न सक्छ ।
अस्पताल कहिले जाने ?
करङको हड्डी भाँचिएको शंका लागेमा तुरुन्तै अस्पताल लैजानुपर्छ । विशेषगरी, यदि व्यक्तिलाई चोट लागेपछि तीव्र दुखाइ, हातखुट्टा नचल्ने, झनझनाउने वा शारीरिक कमजोरीको अनुभव हुन्छ भने यो गम्भीर लक्षण हो ।
सामान्य खोकिजस्तो देखिए पनि सास फेर्दा असामान्य दुखाइ भइसकेमा, छातीमा गहिरो चोट लागेपछि दुखाइ, श्वासप्रश्वासमा समस्या वा रगत आउने भएमा तुरुन्त अस्पताल जानुपर्छ ।
यदि ३ वा बढी करङहरू भाँचिएका छन् भने तुरुन्त आपत्कालीन उपचार आवश्यक हुन्छ । यस्ता लक्षणहरू देखिएमा बिरामीलाई सकेसम्म कम हल्लाएर, स्थिर राखेर अस्पताल पुर्याउनुपर्छ ।
ढाडको चोटमा बिरामीलाई गलत तरिकाले हल्लाउँदा स्नायुमा थप क्षति पुग्न सक्छ । यदि दुखाइ सामान्य छ र बिरामीले सामान्य गतिविधि गर्न सक्छ भने पनि डाक्टरसँग परामर्श लिनु आवश्यक हुन्छ, किनभने सानो भाँचिएको हड्डीले पनि पछि जटिलता निम्त्याउन सक्छ ।
उपचार कसरी हुन्छ ?
करङको हड्डी भाँचिएको अवस्थाको उपचार हड्डी भाँचिएको प्रकार र गम्भीरतामा निर्भर हुन्छ । सामान्य अवस्थामा बिरामीलाई आराम गर्न, दुखाइ कम गर्ने औषधि सेवन गर्न र विशेष प्रकारको ब्रेस वा कोर्सेट लगाउन सुझाव दिइन्छ ।
यो ब्रेसले भाँचिएको करङलाई स्थिर राख्छ र हड्डीलाई निको हुन समय दिन्छ । फिजियोथेरापी पनि सामान्य अवस्थाको उपचारमा महत्त्वपूर्ण हुन्छ, किनभने यसले मांसपेशीको बल र गतिशीलता पुनर्स्थापना गर्न मद्दत गर्छ ।
गम्भीर अवस्थामा, शल्यक्रिया आवश्यक पर्न सक्छ । शल्यक्रियामा चिकित्सकले भाँचिएको हड्डीलाई स्थिर बनाउन स्क्रू, प्लेट वा रडहरू प्रयोग गर्छन् । यदि मेरुदण्ड स्नायुमा दबाब परेको छ भने, डिकम्प्रेशन सर्जरी गरेर स्नायुको दबाब हटाइन्छ । शल्यक्रियापछि बिरामीलाई लामो समयसम्म फिजियोथेरापीको आवश्यकता पर्न सक्छ ।
पहिलेकै स्थितिमा आउने सम्भावना कति ?
पूर्णरूपमा पहिलेकै अवस्थामा फर्कने सम्भावना धेरै कुरामा निर्भर हुन्छ । यदि भाँचिएको हड्डी सामान्य छ, स्नायुमा कुनै क्षति भएको छैन भने उचित उपचार र हेरचाह पाउँदा बिरामी पहिलेकै अवस्थामा फर्कन सक्छन् ।
सामान्य रूपमा ८०–९० प्रतिशत बिरामी पूर्णरूपमा निको हुन्छन् । यो अवस्थामा निको हुन ६ देखि १२ हप्ता लाग्न सक्छ । तर ३ वा बढी करङ भाँचिएमा, बुढ्यौली उमेर, श्वासको पुरानो समस्या वा गम्भीर चोटपटक भएको खण्डमा लामो समयसम्म सास फेर्न गाह्रो हुन सक्छ ।
यदि स्नायुमा क्षति भएको छ भने पूर्णस्वस्थ हुने सम्भावना कम हुन सक्छ । मेरुदण्डी स्नायुको क्षति स्थायी हुन सक्छ, जसले बिरामीलाई पक्षाघात वा अन्य अशक्तताको सामना गर्नुपर्ने हुन सक्छ ।
यद्यपि, आधुनिक चिकित्सा र प्रविधिहरूले बिरामीको जीवनस्तर सुधार्न धेरै हदसम्म मद्दत गर्न सक्छ । नियमित व्यायाम, स्वस्थ खानपान र चिकित्सकको सल्लाह पालना गर्नाले रिकभरी प्रक्रियालाई तीव्र बनाउन सकिन्छ ।
उपचार कहिले जटिल हुन्छ ?
समयमै अस्पताल नपुगेमा फोक्सोमा संक्रमण वा निमोनिया हुनु, रगत जम्नु वा श्वासप्रश्वासमा अवरोध हुने हुनसक्छ । वृद्ध वा फोक्सो कमजोर भएकाहरूमा मृत्युको जोखिम पनि रहन्छ ।
करङको हड्डी जोगाउन के गर्ने ?
करङको हड्डी भाँचिनबाट जोगिनका लागि केही सावधानीहरू अपनाउन सकिन्छ । नियमित व्यायामले हड्डी र मांसपेशीलाई बलियो बनाउँछ, जसले चोटको जोखिम कम गर्छ । क्याल्सियम र भिटामिन डीयुक्त खानाले हड्डीको घनत्व बढाउँछ ।
सवारी साधन चलाउँदा सिट बेल्टको प्रयोग, खेलकुदमा सुरक्षात्मक उपकरणहरूको प्रयोग र भारी सामान उठाउँदा सही तरिका अपनाउनाले करङमा चोट लाग्ने सम्भावना कम हुन्छ ।
वृद्धवृद्धाहरूले ओस्टियोपोरोसिसको जाँच र उपचार समयमै गर्नुपर्छ ।
प्रतिक्रिया 4