+
+
Shares

वर्षायाममा दुईपाङ्ग्रे सवारी चलाउँदा ध्यान दिनैपर्ने ८ कुरा

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २५ गते १७:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वर्षायाममा सवारी चालकहरूले विस्तारै चलाउने, टायरमा हावा जाँच गर्ने र पानीले भरिएका खाल्डाखुल्डीबाट जोगिनु आवश्यक छ।
  • ब्रेक, हेडलाइट र अन्य प्रणालीको समयमै परीक्षण गरी, समयमै यात्रा सुरु गर्न र भिज्नबाट जोगिन सुझाव दिइन्छ।
  • अत्यावश्यक नभए बाइक नचलाउने र पछाडि बस्ने यात्रुको सुरक्षामा ध्यान दिनु महत्त्वपूर्ण छ।

वर्षायाम सुरु भइसकेको छ । कति बेला घाम लाग्छ, कतिबेला पानी पर्छ भन्ने निश्चित नहुने यतिबेलाको अनिश्चित मौसमले सवारी चालकहरूलाई असहज बनाइरहेको हुन्छ । विशेषतः बाइक र स्कुटर चढ्ने व्यक्तिहरूका लागि त यो मौसम चुनौतीपूर्ण हुन्छ । चिप्लो सडक, पानीले ढाकिएका खाल्डाखुल्डी र हिलो बाटो दुर्घटनाको जोखिम बढाउँछ ।

यस्तोमा हरेक दुई पाङ्ग्रे सवारी प्रयोगकर्ताले सचेत र जिम्मेवार भएर बाइक चलाउनुपर्छ । केही सजगता अपनाउन सकियो भने वर्षायाममा पनि सुरक्षित र सहज यात्राको अनुभव लिन सकिन्छ ।

के गर्ने त ?

१. विस्तारै चलाउने

वर्षातको बेला सबैभन्दा बढी अपनाउनु पर्ने महत्वपूर्ण सावधानी भनेको सवारीको गति नियन्त्रण गर्नु हो । पानी परिरहेको समयमा विस्तारै दायाँबायाँ हेर्दै ब्रेकलाई याद गर्दै चलाउनुपर्छ । निरन्तर वर्षाले अवरुद्ध सडक भएको स्थानमा चिप्लिन सक्ने जोखिम हुन्छ ।

पानी परिरहँदा छिटो घर वा अफिस पुग्ने हतारमा तीव्र गतिमा सवारी चलाउँदा टायरमा ग्रिप कम भई ब्रेक लगाउँदा बाइक हुत्तिन सक्छ । चिप्लो सडक ब्रेक लगाउँदा अचानक हुत्तिएर लडेपछि चोट लाग्ने मात्र होइन, अन्य सवारीसँग ठक्कर खाएर ठूलो दुर्घटना पनि हुनसक्छ । त्यसैले तीव्र गतिमा बाइक नहाँक्ने, जति ढिलो भए पनि सुरक्षित रूपमा यात्रा सम्पन्न गर्ने सोच राख्नु जरूरी हुन्छ ।

२.टायरमा हावा जाँच गर्ने

यदि सवारीको टायरमा हावा कम भएमा वा पूरानो हुँदै गएको छ भने भिँजेको वा हिलो सडकमा टायर काबुमा नरहन सक्छ । यसले सन्तुलन बिगार्ने जोखिम हुन्छ । ग्रिप नहुने टायरले बाइकलाई चिप्लिन थप सजिलो बनाउँछ ।

त्यसैले, टायरमा उपयुक्त हावाको मात्रा राख्नुपर्छ । टायरमा रहेको ट्रेडको गहिराइ हेर्नु र हरेक यात्रा अघि एकपटक टायर परीक्षण गर्नु राम्रो अभ्यास हो । आवश्यक परे परिवर्तन गर्नुपर्छ ।

३.पानीले भरिएको खाडल याद गर्ने

निकासको राम्रो व्यवस्थापन नहुँदा नेपालका धेरै ठाउँका सडकमा सामान्य पानी पर्दा पनि सडक डुबानमा पर्छ । खाल्डाखुल्डीमा पानीले ढाकिएको अवस्थामा बाइक चलाउँदा खतरनाक बन्न सक्छ । यस्तो खाल्डो कति गहिरो छ भन्ने देखिन्न र बाइकको सन्तुलन पनि बिग्रन सक्छ ।

इन्जिनमा पानी पस्दा बीच बाटोमै बन्द हुने सम्भावना हुन्छ । त्यस्तो अवस्थामा इन्जिन बिग्रिनुका साथै यात्रु जोखिममा पर्न सक्छन् । त्यसैले, पानीले भरिएको ठाउँमा सवारी नगर्नु वा निकै सावधानीपूर्वक हेरेर मात्र अघि बढ्नु उपयुक्त हुन्छ ।

४.ब्रेक परीक्षण गर्ने

पानी पर्ने समयमा बाइक वा स्कुटरको ब्रेक, हेडलाइट, चेन, क्लच र अन्य विद्युतीय प्रणालीको पूरै परीक्षण गराउनुपर्छ । पानी परेपछि ब्रेकमा असर पर्न सक्छ । कहिले काम नगर्न सक्छ त कहिले जाम हुन सक्छ । बत्तीले राम्रो काम नगरेमा बाटोको दृश्य राम्ररी नदेखिएर दुर्घटनाको सम्भावना हुन्छ ।

यसैले, बेलाबेलामा ब्रेकको अवस्था जाँच गर्नुपर्छ, चेनमा लुब्रिकेन्ट लगाउने र हेडलाइट तथा इन्डिकेटरहरू सही रूपमा काम गरिरहेका छन् कि छैनन् हेर्नु जरुरी हुन्छ ।

५.समयमै यात्रा सुरु गर्ने

वर्षातमा अक्सर ट्राफिक जाम, ढिलो यात्रा र अनपेक्षित अवरोधहरू हुने गर्छन् । त्यसैले, घर वा अफिस जानु छ भने केही समय अगाडि निस्किनु राम्रो हुन्छ । हतारको कारण सवारी तीव्र गतिमा चलाउनु परेमा जोखिम दोब्बर हुन्छ ।

६.भिज्नबाट जोगिने

वर्षा कहिले र कति बेला पर्छ भनेर अनुमान गर्न कठिन हुन्छ । त्यसैले सधैं झोलामा छाता वा कम्तीमा पनि राम्रो गुणस्तरको रेनकोट राख्नुपर्छ । खासगरी स्कुटर वा बाइक चढ्दा टाउकोदेखि खुट्टासम्म भिज्न नदिने रेनकोट प्रयोग गर्नाले शरीर भिज्नबाट जोगिन्छ ।

भिजेपछि चिसो लाग्न सक्ने, रुघाखोकी वा ज्वरो आउने सम्भावना हुन्छ । चिसोले हातखुट्टा सुनिन सक्ने अवस्था आउँछ जसले सवारी नियन्त्रण गुमाउने जोखिम पनि बढाउँछ ।

७.भारी वर्षामा सकेसम्म नचलाउने

कहिलेकाहीँ पानी यति धेरै पर्छ कि, बाइक चलाउने अवस्था नै हुँदैन । त्यस्तो अवस्थामा अत्यावश्यक नभएसम्म दुईपाङ्ग्रे सवारी नचलाउनु नै सुरक्षित उपाय हो ।

८.पछाडी बस्ने यात्रीको सुरक्षामा पनि ध्यान दिने

यदि तपाईं स्कुटर/बाइकमा अरूलाई पनि बोकिरहनु भएको छ भने पछाडिको व्यक्तिको सुरक्षामा पनि ध्यान दिनुपर्छ । उनीहरूका लागि पनि रेनकोटको व्यवस्था गर्नुहोस् । हिँड्नुअघि सन्तुलन मिलेको छ कि छैन भन्ने सुनिश्चित गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?