+
+
Shares

यी ५ बानी, जसले तपाईंलाई बर्बाद पार्न सक्छ

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २४ गते १२:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जीवनमा सफलता र खुसी प्राप्त गर्न हरेक व्यक्तिले आफ्नो बानीहरूमा ध्यान दिनु आवश्यक छ।
  • गुनासो गर्ने, अरूसँग तुलना गर्ने, दोष लगाउने, ढिलोसम्म सुत्ने र काम बीचमै छोड्ने बानीहरू हानिकारक हुन्।
  • यी बानीहरूबाट टाढा रहनु र सकारात्मक बानीहरू अपनाउनु जीवनमा ठूलो परिवर्तन ल्याउन सक्छ।

जीवनमा सफलता र खुसी प्राप्त गर्न हरेक व्यक्तिले आफ्ना बानीहरूमा ध्यान दिनु जरुरी छ । साना देखिने बानीहरूले पनि हाम्रो जीवनको दिशा र गुणस्तरमा ठूलो प्रभाव पार्छ। कतिपय बानीहरू यस्ता हुन्छन्, जसले हामीलाई बिस्तारै असफलता र दु:खतिर धकेल्छन् ।

यदि तपाईँ आफ्नो जीवनलाई सकारात्मक दिशामा लैजान चाहनुहुन्छ भने, यहाँ उल्लेख गरिएका पाँच हानिकारक बानीहरूबाट टाढा रहनु जरुरी छ । यी बानीहरू पहिचान गरी सुधार्दा तपाईँको जीवनमा ठूलो परिवर्तन आउन सक्छ ।

१. गुनासो गर्ने बानी

जीवनमा कहिल्यै पनि गुनासो गर्न हुँदैन । धेरै व्यक्ति रुन्छन्, गुनासो गर्छन्, ‘मसँग यो किन भयो, मैले त कसैको केही बिगारेको थिइन, तैपनि भगवानले मलाई किन यस्तो गर्नुभयो ?’ भन्छन् । तर, जीवनमा सफलता चाहने हो भने गुनासो गर्नु हुँदैन ।

भगवान रामले केही अपराध नगर्दा पनि उनले १४ वर्षका लागि वनवास जानुपर्‍यो । तर, रामले ‘मैले बिनागल्ती वनवास जानुपर्‍यो भनेर कहिल्यै गुनासो गरेनन् । उनले त्यसलाई स्वीकार गरे । जीवनमा जे जस्तो परिस्थिति आयो, त्यसलाई स्वीकार्दै त्यसको समाना गरे ।

मानिसहरू सधैँ गुनासो त्यो कुरामा गर्छन्, जुन उनीहरू गर्न सक्छन् । जुन कुरामा आफ्नो वश छैन, त्यसमा गुनासो गर्दैनन् । कसैले गुरुत्वाकर्षणको बारेमा गुनासो गरेको सुन्नुभएको छ ? ‘म भर्‍याङबाट लडेँ, यदि पृथ्वीमा गुरुत्वाकर्ष बल हुँदैन थियो भने म लड्ने थिइनँ भनेर कसैले गुनासो गर्दैनन् । गुरुत्वाकर्षण नभएको भए उडिरहेको विमान खस्दैनथ्यो’ भनेर पनि कसैले गुनासो गर्दैनन् । किनभने यो कुरामा गुनासो गरेर केही हुँदैन भन्ने मान्छेलाई थाहा छ।

मान्छेहरू यति धेरै चलाख छन् कि उनीहरू गुरुत्वाकर्षण बललाई आफ्नो फाइदाका लागि प्रयोग गर्छन् । गुरुत्वाकर्षणकै कारण हामी पृथ्वीमा उभिन सकिरहेका छौँ, नत्र हामी हावामा उडिरहेका हुन्थ्यौँ । गुरुत्वाकर्षणकै कारण चन्द्रमा पृथ्वीको वरिपरि घुम्छ र प्राकृतिक उज्यालो दिन्छ । गुरुत्वाकर्षणकै कारण हामीले खाएको खाना मुख हुँदै पाचन प्रणालीमा पुग्छ ।

गुनासो गर्नु स्वास्थ्यका लागि पनि हानिकारक हुन्छ । विज्ञानका अनुसार यसले हाम्रो स्मरण क्षमतामा असर गर्छ । गुनासो गर्दा शरीरमा कार्टिसोल हर्मोन बढ्छ र स्वास्थ्यमा नकारात्मक असर पर्छ । गुनासो गर्ने बानीले चीजहरू जति खराब छन्, त्योभन्दा धेरै खराब देखिन सक्छ । त्यसैले जीवनमा गुनासो गर्ने भन्दा पनि आभारी हुन सिक्नुपर्छ । आफूसँग जे छ, त्यसको सम्मान गर्नुपर्छ र जे छैन, त्यसका लागि गुनासो गर्नुहुँदैन ।

२. आफ्नो तुलना अरूसँग गर्ने बानी

आफ्नो तुलना अरूसँग गर्ने बानीले गर्दा मान्छेहरू धेरै दु:खी हुन्छन् । त्यसैले जीवनमा कहिल्यै पनि आफ्नो तुलना अरूसँग गर्नुहुँदैन । तुलना गर्ने नै हो भने आफैँसँग गर्नुपर्छ, म पहिले भन्दा अहिले राम्रो भएको छु कि छैन ? भनेर ।

आफूलाई अरूसँग तुलना गर्नु भनेको आफ्नो खुसीलाई बर्बाद गर्नु हो । जीवनमा धेरै मेहनत गरेर एउटा होन्डाको कार किन्नुभयो र खुसी हुनुभयो, तर तपाईँको साथीले मर्सिडिज किन्यो, ‘मेरो भन्दा उसको कार राम्रो छ’ भनेर तुलना गर्नुभयो भने त्यो होन्डा किन्दाको खुसी पनि दु:खमा परिणत हुन्छ ।

तुलना गर्ने बानीले तपाईँको ध्यान गलत व्यक्तिमा पर्छ । ध्यान सधैँ आफूमा हुनुपर्छ, आफूलाई कसरी राम्रो बनाउने भनेर । तर, जब तुलना गरिन्छ, ध्यान अर्को व्यक्तिमा जान्छ र आफूसँग भएको कुरामा खुसी भइँदैन ।

तुलना गर्दा अर्को व्यक्तिले हासिल गरेको सफलता मात्र देखिन्छ, उसले त्यो सफलता पाउनका लागि गरेको मेहनत देखिँदैन । एउटा फूलले कहिल्यै आफ्नो अगाडि फुलेको अर्को फूलसँग तुलना गर्दैन, उ आफू फुल्छ ।

बाराक ओबामा ४७ वर्षको उमेरमा राष्ट्रपति भए भने जो बाइडेन ७९ वर्षमा राष्ट्रपति भए । ओबामा राष्ट्रपति हुँदा उनको टिममा बाइडेन उपराष्ट्रपति थिए । बाइडनले ‘ओबामा यति सानो उमेरमा राष्ट्रपति भए, म उभन्दा धेरै जेठो मान्छे, किन राष्ट्रपति भइनँ ?’ भनेर सोच्न सक्थे, तर सोचेनन् । सही समय पर्खिरहे, मेहनत गर्दै रहे, त्यसैले ७९ वर्षको उमेरमा राष्ट्रपति भए ।

सूर्य बिहान उदाउँछ र चन्द्रमा बेलुका, यी दुवै आफ्नो समयमा उदाउँछन् । त्यसैले हरेक व्यक्तिको समय आउँछ । त्यसैले ‘मेरो पनि समय आउँछ’ भनेर मेहनत गरिरहनुपर्छ। नराम्रो बानी छोडेर राम्रो बानी अपनाउन जेम्स क्लियरको ‘एटोमिक ह्याबिट्स’ पढ्न सकिन्छ ।

३. दोष लगाउने बानी

‘म यसको कारण बर्बाद भएँ’ भनेर अरूलाई दोष लगाउन छोड्नैपर्छ । ‘यसले गर्दा म बर्बाद भएँ, यो नभएको भए म सफल हुन्थेँ’ भनेर अरूलाई दोष लगाउनु हुँदैन । दुनियाँमा सबैभन्दा बढी बोलिने झुट हो ‘गल्ती अरूको हो, मेरो होइन’ भन्ने । यदि सडकमा दुईवटा गाडी जुधे र दुर्घटना भयो भने, दुवै गाडीको मालिकले ‘मैले होइन, यसले ठोकेको’ भन्छन्, ‘मैले गल्ती गरेको हो’ भन्दैनन् ।

त्यसैले अरूलाई दोष लगाउनुभन्दा जीवनमा भएका सम्पूर्ण कुराको जिम्मेवारी आफैँले लिनुपर्छ । जब कसैलाई दोष लगाइन्छ, तपाईँको ध्यान गलत व्यक्तिमा जान्छ । किनभने जब ‘मेरो गल्ती छैन’ भनिन्छ, तब सुधार गर्ने सम्भावनाहरू नै सकिन्छ । त्यसैले सफलता मिल्दा क्रेडिट अरूलाई दिनुपर्छ र असफलता मिल्दा त्यसको जिम्मेवारी आफैँले लिनुपर्छ । अरूलाई दोष लगाउने बानी छोडेर आफ्नो जीवनलाई सुधार्न सकिन्छ ।

४. ढिलोसम्म सुत्ने बानी

कुम्भकर्णको डीएनए धेरै व्यक्तिमा गएको छ, त्यसैले धेरैजना बिहान ८–९ बजेसम्म सुत्छन् । तपाईँ जीवनमा कहिल्यै पनि सफल हुनुहुन्न जब सूर्यको प्रकाशले तपाईँलाई उठाउँछ । तर, जब तपाईँ सूर्यलाई उठाउन थाल्नुहुन्छ, तब जीवनमा विजय प्राप्त हुन्छ । जीवनमा अनुशासन धेरै महत्त्वपूर्ण हुन्छ ।

धेरै मान्छे ६ बजेको अलार्म लगाउँछन् र ८ बजे उठ्छन् । ‘आज यस्तै भयो, भोलि छिटो उठ्छु’ भन्छन्, र भोलि पनि त्यही कुरा दोहोर्‍याउँछन् । बिहान १० बजे उठ्ने व्यक्तिले जीवनमा कहिल्यै सफलता हात पार्न सक्दैनन् । यदि जीवनमा सफलता हासिल गर्न चाहनुहुन्छ भने सूर्यभन्दा पहिले उठ्नुपर्छ । छिटो उठ्दा काम गर्नका लागि धेरै समय हुन्छ ।

५. काम सुरु गरेर बीचमै छोड्ने बानी

जीवनमा काम सुरु गरेर भन्दा पनि त्यो कामलाई पूरा गरेर सफलता हासिल गर्न सकिन्छ । धेरै जनाले काम सुरु त गर्छन्, तर त्यसलाई पूरा गर्दैनन् । कोही दर्जीले थानबाट कपडा काटे, तर सिलाएनन् भने त्यो कपडा काम लाग्दैन । कपडा काटेर सिलाएपछि मात्र त्यो काम लाग्छ । त्यसैले कामलाई सुरु त धेरैले गर्छन्, तर त्यसलाई पूर्णता दिँदैनन् । कुनै पनि काम गरेर तुरुन्तै त्यसको प्रतिफल प्राप्त हुँदैन निरन्तरता दिनुपर्छ ।

जस्तो, तपाईँ तौल कम गर्न जिम जान थाल्नुभयो भने १० दिनमा तौल कम हुँदैन, तब मान्छे निराश भएर जिम जान छोड्छन् । एउटा कोठा बन्न मात्र पनि १ महिना लाग्छ भने ताजमहल बन्न २० वर्षसम्म लाग्न सक्छ । जीवनमा अगाडि बढ्न कोसिस र मेहनत जारी राख्नुपर्छ । काम सुरु गरेर जिन्दगी बदलिँदैन, काम पूरा गरेपछि मात्र जिन्दगी बदलिन्छ । त्यसैले कुनै काम सुरु गरेपछि त्यसलाई पूरा गर्छु, बीचमा छोड्दिनँ भनेर संकल्प लिनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?