+
+
Shares
रसुवा बाढी :

स्थानीयवासी भन्छन् : भूकम्प आयो भनेर उठेको बाढी रहेछ

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २४ गते १०:१३

२४ असार, काठमाडौं । रसुवा जिल्लाको गोसाईंकुण्ड गाउँपालिका-५, स्याफ्रुबेसीमा मंगलबार बिहान तिब्बतको ल्हेन्दे खोलाबाट आएको बाढीले स्थानीयवासीलाई त्रसित बनाएको छ ।

स्याफ्रुबेसीका स्थानीय बुद्ध लामासँगको कुराकानीमा उनले राति भूकम्पको झट्का महसुस भएको ठानेर उठ्दा भोटेकोशी खोलामा आएको बाढीले घरहरू थर्किरहेको अनुभव सुनाए ।

लामाले भने, ‘राति साढे तीन, चार बजेतिर घर थर्किएको महसुस भयो । मलाई त भूकम्प आयो जस्तो लाग्यो, तर बाहिर निस्किँदा भोटेकोशी असाध्यै ठूलो भएको देखें । त्यसपछि हल्लाखल्ल भयो । सबै आत्तियौं ।’

उनले बिहान चार बजेतिर बाढीको खबर थाहा पाएको र त्यसपछि गाउँमा हल्लाखल्ला मच्चिएको बताए । कतिपय त घरमा भएको पैसा र महत्वपूर्ण सामान निकाल्ने अवस्थामा पुगेको पनि उनले सुनाए । ‘अहिले हामी सबै जना बाहिर छौं । खोला यति ठूलो थियो कि खोलाको लय नै बिग्रिएको छ । खोला बिग्रियो, पहिरो पनि गइरहेको छ’, उनले थपे ।

लामाकाअनुसार भोटेकोशी खोलाले आफ्नो बाटो परिवर्तन गरेको छ, जसले गर्दा खोलाको आसपासका क्षेत्रमा जोखिम बढेको छ । खोलाले ढुंगाहरू बगाएर ल्याएपछि घरहरू थर्किरहेका छन् ।

अहिले पनि साना कम्पनहरू महसुस भइरहेको छ । स्थानीय बस्तीमा अहिलेसम्म ठूलो मानवीय क्षति नभए पनि खेतीपातीमा केही असर परेको र खोलाको बाटो परिवर्तनले जोखिम बढाएको उनको भनाइ छ । ‘यहाँ जनसंख्या पनि धेरै छ । केही स्थानीयवासीले घरको सामान बोकेर सुरक्षित स्थानतिर लागेका छन् । मेरै घरचाहिँ खोलाबाट अलि माथि भएकाले त्यस्तो नहोला, तर यहीँ थर्केको महसुस गरेको छु भनेपछि सोच्नु तलतिर खोला छेउ बस्नेलाई के होला ?’, उनले भने, ‘खोला किनारका संरचना अहिले पनि जोखिममै छन् ।’

गोसाईंकुण्ड गाउँपालिकाले पनि जोखिम अझै रहेकोले सुरक्षित स्थानमा रहन स्थानीयलाई आग्रह गरेको छ । ‘दिउँसोसम्म भर हुँदैन । हामीले स्थानीयलाई सतर्क रहन भनेका छौँ । बाढी पहिरोले राहत उद्धारमा कठिन नै भइरहेको छ’, गाउँपालिका अध्यक्ष कैशुङ नुर्पु तामाङले अनलाइनखबरलाई बताए ।

स्थानीय बुद्ध लामाकाअनुसार पनि सबैसँग समन्वय भएर सतर्क रहेको जानकारी दिए । यद्यपि, उनमा आफूहरु बिकट भेगमा हुनुको पीडा छ । कारण, त्यहाँ आवश्यक सरकारी संयन्त्र पर्याप्त छैन । ‘धन्न केही भएन । केही क्षति भएको भए त यहाँ प्रहरी पनि सानो पोस्ट छ, त्यसले के गर्नसक्थ्यो र ? बिजोग हुनेरहेछ’, भाटेकोशी किनारमा रहेका उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?