+
+
Shares

रसुवाको बाढीबारे के भन्छन् मौसमविद् ?

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २४ गते २१:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवामा आएको बाढीले नेपाल–चीन सीमा क्षेत्रमा क्षति पुर्‍याएको र १८ जना बेपत्ता भएको प्रारम्भिक जानकारी आएको छ।
  • प्रवक्ता सुरेश सुनारले बाढीले मितेरी पुल, हाइड्रोपावर र सडकमा क्षति पुगेको बताए।
  • मौसम विभागले ठूलो वर्षा नभएको र चीनमा ठूलो पानी परेको हुनसक्ने अनुमान गरेको छ।

२४ असार, काठमाडौं । रसुवामा आएको बाढीले व्यापक क्षति पुगेको प्रारम्भिक जानकारी आएको अधिकारीहरुले बताएका छन् । तथ्यांक संकलनको काम भइरहेकाले क्षतिको एकिन विवरण सार्वजनिक भने भइसकेको छैन ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता सुरेश सुनारले १८ जना मानिसहरु बेपत्ता भएको प्रारम्भिक जानकारी आएको बताए । ‘उनीहरुको खोज तथा उद्धारका लागि तीनवटै सुरक्षा निकायका टोली परिचालित भएका छन्,’ प्रवक्ता सुनारले भने, ‘रसुवागढीमा नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको, टिमुरे सुक्खा बन्दरगाह र केही हाइड्रोपावरमा पनि क्षति पुगेको प्रारम्भिक रिपोर्ट आएको छ ।’ उनले क्षतिको पूर्णविवरण संकलनको काम भइरहेको बताए ।

रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार आज बिहान करिब ३ बजेतिर लेदोसहितको बाढी आउँदा क्षति पुगेको हो । सुक्खा बन्दरगाहमा रहेका गाडीहरु बगेका थिए । ती गाडीका चालक–सहचालकहरु पनि बाढीको चपेटामा परेका थिए ।

सामाजिक सन्जालमा सार्वजनिक भिडियोहरुमा पनि गाडीहरु बाढीमा बगिरहेको, बाढीमा फसेकाहरु रुखमा चढेर जोगिने प्रयास गरिरहेको र नेपाली सेनाको हेलिकप्टरले उद्धार गरिरहेको देखिन्छ ।

रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले बाढी र पहिरोले ९/१० ठाउँमा बाटो अवरुद्ध हुँदा उद्धार र राहत कार्यमा कठिनाइ भएको बताएका छन् । प्रहरीले पासाङल्हामु राजमार्ग अन्तर्गत स्याफ्रुबेशी–रसुवागढी सडकखण्ड पहिरोले पूर्णरुपमा अवरुद्ध भएको जनाएको छ ।

मौसम कस्तो थियो ?

रसुवामा बाढीले पुर्‍याएको क्षति नेपाली भूभागमा परेको पानीका कारण नभएको अधिकारीहरुले बताएका छन् । विपद प्राधिकरण र जल तथा मौसम विज्ञान विभागका अधिकारीहरुले छिमेकी चीनमा ठूलो वर्षा भएको हुनसक्ने वा बाँध फुटेर बाढीको रुप लिएको हुनसक्ने प्रारम्भिक अनुमान गरेका छन् ।

विपद प्राधिकरणका प्रवक्ता सुरेश सुनारले नेपालमा भारी वर्षा भएको जानकारी नभएकाले छिमेकी चीनको असर नेपालमा परेको हुनसक्ने बताए ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका बरिष्ठ मौसमविद प्रतिभा मानन्धरले नेपालमा त्यति ठूलो बाढी आउने गरी पानी नपरेको बताइन् ।

विभागका अनुसार रसुवाको धुन्चेमा म्यानुल स्टेसन छ । त्यहाँ  सोमबार बिहानको रेकर्डमा ३९.४ मिलिमिटर वर्षा मापन भएको छ ।

‘रसुवा र त्यसका छिमेकी जिल्लाहरुमा हल्कादेखि मध्यम वर्षा मात्र भएको छ,’ वरिष्ठ मौसमविद मानन्धरले भनिन्, ‘त्यति पानीले यति ठूलो बाढी आउँदैन ।’

बाढी पूर्वानुमान महाशाखाका कर्मचारीहरुले पनि चीनतर्फ ठूलो पानी परेको वा ड्याम फुटेर बाढी आएको हुनसक्ने अनुमान गरेका छन् ।

स्याफ्रुबेसीको बाढी मापन उपकरण बग्यो

जल तथा मौसम विज्ञान विभागका कर्मचारीका अनुसार बाढीले स्याफ्रुबेसीमा जडान गरेको बाढी मापन उपकरण बाढीले बगाएको छ ।

बाढी पूर्वानुमान महाशाखाका असिस्टेन्ट हाइड्रोलोजिस्ट दिपेन्द्र रिजालका अनुसार स्याफ्रुबेसीमा आज बिहान ३ बजेर ४० मिनेटमा पानीको सतह ५.३७ मिटर पुगेको थियो । त्यसपछि बाढी मापन नभएकाले उपकरण नै बगेको उनले बताए ।

‘स्याफ्रुबेसीमा बाढीको वार्निङ लेभल ५.७ मिटर हो तर ५.३७ मिटर पुगेपछि थप तथ्यांक प्राप्त भएन, यसको मतलव हाम्रो बाढी मापन गर्ने उपकरण नै बगायो,’ रिजालले भने ।

यसैगरी बेत्रावती नदीमा आज बिहान ५ बजे पानीको सतह १.६ मिटर मात्र थियो । तर ५ बजेर ५० मिनेट जाँदा पानीको सतह ह्वात्तै बढेर ४.१८ मिटर पुगेको देखिएको छ । ‘यसले के बुझ्न सकिन्छ भने माथिल्लो क्षेत्रमा केहीबेर थुनिएर बाँध फुटेर बाढी ह्वात्तै बढेको हुनसक्छ,’ रिजालले भने ।

उनका अनुसार बिहान ८ बजेर १० मिनेटमा भने बाढीको सतह केही घटेर ३.६ मिटर पुगेको थियो ।

बेत्रावतीमा बाढीको सतह ह्वात्तै बढेको पाइएपछि बाढी पूर्वानुमान महाशाखाले जोखिम क्षेत्रका बासिन्दालाई एसएमएस पठाएर सतर्क हुन भनेको थियो ।

जल तथा मौसम विज्ञान विभागले टिमुरेमा जडान गरेको बाढी मापन केन्द्र भने हाल बन्द अवस्थामा छ । ‘टिमुरेको उपकरण दुई–तीन महिनादेखि चलिरहेको थिएन, त्यसैले त्यहाँको बाढीबारे जानकारी भएन,’ जल तथा मौसम विज्ञान विभाग स्रोतले भन्यो ।

रसुवा बाढी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?