
२४ असार, काठमाडौं । रसुवाको भोटेकोशी नदी ( तिब्बततर्फ ल्हेन्दे खोला भनिने ) मा मंगलबार बिहान आएको भीषण बाढीले धनजनको ठूलो क्षति भयो । नेपाल-चीन जोड्ने सीमा-नाकाको पुल बगायो । १८ जना बेपत्ता भए ।
यही क्रममा अर्को अत्याशलाग्दो घटना जोडियो- नुवाकोटस्थित त्रिशूली नदीमा दुईजना फसे । त्रिशूली बजार नजिक नदीको बीच भागमा रुखमा चढेर ज्यान जोगाइरहेका ती दुईजना श्रीमान्-श्रीमती थिए । उनीहरूलाई उद्धार गर्न निकै कठिन पर्यो ।
सरकारले पठाएको हेलिकप्टर पहिलो पटक उद्धार गर्न नसकी त्यसै फर्कियो । करिब तीन घण्टापछि नेपाली सेनाको अर्को हेलिकप्टर गएर उनीहरूको उद्धार गरेको थियो ।
उद्धार गरिएकामा नुवाकोटको विदुर नगरपालिका-९, १२ नम्बर खोल्सामा बस्ने ६७ वर्षीय पाल्देन तामाङ र उनकी श्रीमती ६२ वर्षीया मंगली तामाङ हुन् ।
तीन घण्टा रुखमा झुन्डिँदा उनीहरूका हातखुट्टा गलिसकेका थिए । ज्यान नै माया मार्ने अवस्थामा पुगिसकेका थिए । सेनाको हेलिकप्टरले उद्धारको दोस्रो प्रयास गर्दासम्म उनीहरू रुखबाट झरिसकेका थिए । उद्धार गर्दाको भिडियो हेर्दा उनीहरू भुइँमा देखिन्छन् । यद्यपि, लामो समयपछि उद्धार टोलीले उनीहरुलाई बाहिर ल्याउन सफल हुन्छन् ।
उद्धारका लागि नेपाली सेनाको एमआई १७ र एक्वेरल हेलिकोप्टर खटिएको थियो । स्थानीयका अनुसार उनीहरू आफ्नो नियमित काम (दाउरा टिप्न) का लागि एकाबिहानै खोला किनार गएका थिए । तर एकाएक अकल्पनीय घटना बेहोर्नुपर्दा ती दम्पतीको मानसिक अवस्था बिछिप्त बनिसकेको थियो । भाग्यवश, घटनास्थल त्रिशूली बसपार्कनजिकै थियो । र, स्थानीयले पाल्देन दम्पतीलाई देखेर उद्धारको पहल गर्न पाए ।
६६ वर्षका दम्पतीलाई उद्धार लगत्तै नजिकैको त्रिशूली अस्पतालमा लगियो । अस्पताल पुर्याउँदा उनीहरू सम्हालिनसक्ने अवस्थामा थिएनन् । शारीरिक चोट केही नभए पनि मानसिक रूपमा बिछिप्त रहेको अस्पताल प्रमुख डा. राजेन्द्र लामाले बताए ।
‘सुरुमा ल्याउँदा त एकदमै चिच्याउने, आत्तिने गर्नुहुन्थ्यो । हामीलाई सम्झाई-बुझाई गर्नै ५ घण्टाजस्तो लाग्यो,’ उनले भने । डाक्टर लामाका अनुसार बाढीमा फसेका ती दम्पतीलाई बिहान ८:२५ मा भर्ना गरिएको थियो । घटनास्थलबाट दुई किलोमिटर मात्र पर भएकोले त्रिशूली अस्पतालमै उनीहरूको उपचार भयो ।
अस्पताल भर्ना गर्दा श्रीमान्भन्दा श्रीमती धेरै आत्तिएकी थिइन् । श्रीमती चिच्याउने, बर्बराउने, कराउने, आत्तिने गरिन् । ‘मलाई बाढीले लग्छ, बगाउँछ…’ भन्दै कराइरहिन् । लामाका अनुसार उनी त्रसित थिइन् ।
डाक्टरलाई ती दम्पतीलाई सम्झाउनै झन्डै पाँच घण्टा लाग्यो । लामाले भने, ‘अहिले एकदम ठिकठाक भएर डिस्चार्ज भइसक्नुभयो ।’
विदुर गाउँपालिकाकी उपाध्यक्ष प्रभा बोगटीले पनि अहिले डिस्चार्ज गरेर घर पुर्र्याइएका ती दम्पती सामान्य अवस्थामा रहेको बताइन् । उनका अनुसार छोराको जिम्मामा उनीहरूलाई छोडिएको छ । स्थानीय सरकारले पनि सम्पर्क गरिरहेको छ ।
‘आमाचाहिँ बेलाबेला आत्तिने, डराउनेबाहेक अहिले सामान्य अवस्था छ । ब्लड प्रेसर धेरै भएकाले पनि त्यस्तो भएको होला । अहिले छोराको जिम्मामा छाडेका छौँ । अवस्था ठिक छ,’ उनले भनिन् ।
उपाध्यक्ष बोगटीकाअनुसार उक्त खोलाको एउटा किनारबाट धेरै पानी बग्ने र अर्को किनारमा थोरै पानी हुन्थ्यो । ती दुई किनारबीचमा थोरै टापुजस्तो छ । त्यहाँ काठ-दाउराहरू पनि हुन्छ । खोलाले पनि ल्याएर छोडेको हुन्छ । ती दम्पती पानी थोरै बगेको किनारबाट दाउरा टिप्न बीचमा गएका थिए । त्यहीबेला एकाएक बाढीले छोप्यो । पारि तर्न सकेनन् । बीचमा पानी भरिएपछि श्रीमानले श्रीमतीलाई समेत तानेर रुखमा चढाएर ज्यान बचाए ।
‘हामीले थाहा पाउँदा ६ बजिसकेको थियो होला । उद्धार गर्न झन्डै तीन घण्टा लाग्यो । पहिलो प्रयासमा हेलिकप्टरले सकेन । पटकपटकको प्रयासबाट निकैपछि उद्धार भयो,’ बोगटीले भनिन्, ‘हामीले हेर्दाहेर्दै टापुजस्तो भागमा पानी केही घटेपछि उहाँहरू रुखबाट तल झर्नुभयो । त्यसपछि मात्र उद्धार भयो ।’
दाउरा संकलन गर्न जानु उनीहरुको दैनिकीजस्तै भएको पनि बोगटीले सुनाइन् । त्यही खोला नजिककै १२ नम्बर खोल्सामा बस्ने भएकाले उनीहरु त्यहीँ खोलामा दाउरा संकलनको लागि आउने गर्छन् । मंगलबार पनि दाउरा टिप्ने उद्देश्यले नै उनीहरू खोलामा गएका थिए, जसले बाढीको चेपुवामा फसायो ।
पटकपटकको प्रयासपछि उद्धार गरिएका ती दम्पतीले सबैलाई धन्यवाद भन्दै हात जोडेको पनि बोगटीले सुनाए । ‘हामीलाई त कल्पनै थिएन बाँचिन्छ भन्ने । धन्न बचाउनुभयो । अब त मरिएला भन्ने लागिसकेको थियो । रुखबाट ज्यान माया मारेरै झरेका थियौँ । धन्न बाँच्यौँ,’ श्रीमान् पाल्देन तामाङलाई उद्धृत गर्दै बोगटीले भनिन् ।
श्रीमान्ले यसो भन्दै गर्दा श्रीमतीको भने होस थिएन । उनी बेहोस हुने, आत्तिने गरिरहेकी थिइन् ।
प्रतिक्रिया 4