
News Summary
Generated by OK AI. Editorially reviewed.- रसुवाको गोसाइँकुण्ड गाउँपालिका-५, स्याफ्रुबेसीमा भारी वर्षाका कारण बाढी आएको र तीन-चार बजेतिर घर थर्किएको घरधनीले बताए।
- बाढीले ६ चिनियाँ नागरिक, ३ नेपाल प्रहरीसहित कम्तीमा १८ जना बेपत्ता भएका छन्।
- चीनले बाढीको सूचना दिए पनि तयारी नपुग्दा ठूलो क्षति भएको र जलवायु कूटनीति र सीमापार पूर्वचेतावनी प्रणाली आवश्यक रहेको विज्ञहरूले बताएका छन्।
२४ असार, काठमाडौं । रसुवाको गोसाइँकुण्ड गाउँपालिका-५, स्याफ्रुबेसीका बुद्ध लामा मंगलबार बिहानपख मस्त निद्रामा थिए । एक्कासी घरै थर्किने गरी गड्याङगुडुङको आवाज आयो ।
भूकम्प आएको ठानेर उनी जर्याकजुरुक उठे । बाहिर निस्किएर हेर्दा त खोलामा ठूलो बाढी आएको रहेछ । बाढीले ठूला-ठूला ढुंगा बगाएकाले घर थर्किएको रहेछ ।
लामाले मंगलबार बिहानको त्रासदी सुनाए, ‘तीन-चार बजेतिर घर थर्किएको महसुस भयो, मलाई त भूकम्प आयो जस्तो लाग्यो, तर बाहिर निस्किँदा भोटेकोशी असाध्यै ठूलो भएको देखें । त्यसपछि हल्लाखल्ला भयो, सबै आत्तियौं ।’
त्यसपछि घरमा रहेको पैसा र महत्वपूर्ण सामान निकालेर परिवारसहित सुरक्षित स्थानतिर लागें । उनको घर खोलाभन्दा अलि माथि भएकाले अरुको तुलनामा सुरक्षित ठानेका छन् । तर बाढीले अकल्पिनीय क्षति पुर्याएपछि डर कायमै छ ।
रसुवाको बाढीले त्रास मात्र बढाएन, ६ चिनियाँ नागरिक, ३ नेपाल प्रहरीसहित कम्तीमा १८ जना बेपत्ता भए । बेपत्ता हुने नेपालीहरूमा अधिकांश श्रमिक छन् । यो समाचार तयार पार्दासम्म मृतकको संख्या खुलेको छैन ।
मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरका अनुसार रसुवा क्षेत्रमा भारी वर्षा हुने मौसमी प्रणाली थिएन । तर मंगलबार बिहान चीनको तिब्बत क्षेत्रबाट बग्ने भोटेकोशी नदीमा लेदोसहितको बाढी आएको थियो । बाढी बस्तीमा नपसे पनि पुल, सडक, जलविद्युत आयोजना र सुख्खा बन्दरगाहमा क्षति पुगेको छ ।
मितेरी पुल बगाएकाले नेपाल-चीनको सडक सम्पर्कविच्छेद भएको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार रसुवा भन्सार कार्यालयको सेडघरमा रहेका मालबाहक कन्टेनर र विद्युतीय गाडीहरूसमेत बगाएको छ । स्याफ्रुबेसी-रसुवागढी सडकखण्डमा पनि क्षति पुगेर आवागमन अवरुद्ध भएको छ ।
नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली खोज, उद्धार तथा राहत वितरणमा सक्रिय छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वनिर्धारित कार्यक्रमहरू स्थगित गरेका छन् । उनी चिनियाँ दूतावासका कर्मचारी, सुरक्षा निकायका प्रमुख, केही मन्त्रीसहित रसुवाको बाढी प्रभावित क्षेत्रमा गएका छन् ।
चीनले दिएको थियो बाढीको सूचना
जिल्ला प्रशासन कार्यालय रसुवाले १० असारमा सूचना जारी गर्दै बाढीको जोखिम भएकाले तटीय क्षेत्रमा पूर्वतयारी अपनाउन भनेको थियो । सो सूचनामा चीनले बाढीको जोखिम रहेकाले आवश्यक पूर्वतयारी र सावधानी अपनाउन भनेको बेहोरा उल्लेख छ ।
मनसुन सक्रिय भएको र चीनले समेत सावधानी अपनाउन भनेकाले भोटेकोशी नदी, त्रिशूली नदी, लाङटाङ खोला, चिलिमे खोला र अन्य नदी/खोला आसपासका क्षेत्रमा बाढी-पहिरोजन्य विपद्को जोखिम रहेकाले सतर्कता अपनाउन अनुरोध गर्दै सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले सूचना जारी गरेका थिए ।
साथै, नेपाल सरकारको समाचार एजेन्सी राष्ट्रिय समाचार समिति (रासस)ले असार १९ गते प्रकाशित गरेको एक समाचारमा बाढीको जोखिम भएकाले टिमुरे भन्सारमा रहेका गाडीहरू हटाउन भनिएको उल्लेख थियो ।
ती पूर्वसूचनाका बाबजुद तयारी नपुग्दा रसुवाले ठूलो क्षति भोगेको छ । दुःखको कुरा, बाढीको त्रासदीको समय रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेल र प्रहरी प्रमुख डीएसपी हेम शाही जिल्लामा थिएनन् । बाढीले क्षति पुर्याएको सूचनापछि उनीहरू धुलिखेलबाट काठमाडौं हुँदै हेलिकप्टरबाट जिल्ला फर्किएका थिए ।
मनसुनको बेला प्राकृतिक विपद आउन सक्छ भन्ने जान्दाजान्दै जिल्लाको नेतृत्व सम्हाल्नेहरू नै बाहिर हुनु लापरबाही भएको गृहमन्त्रालयका एक पूर्वसचिवले बताए ।
‘यस वर्ष मनसुनमा धेरै पानी पर्छ भन्ने जानकारी थियो, चीनले पनि बाढीको सूचना दिएको थियो, त्यति हुँदाहुँदै पनि सीडीओ र डीएसपीले जिल्ला छाड्नु लापरबाही हो,’ ती पूर्वसचिवले भने, ‘कम्तीमा मनसुन अवधिभर जिल्ला छोड्नु हुँदैन र आकस्मिक बाहेक बिदा पनि लिनु हुँदैन ।’
यसअघि असार पहिलो साता पनि चीनले नै सिन्धुपाल्चोक प्रशासनलाई बाढीको जोखिमको सूचना दिएको थियो । सो सूचनाको आधारमा सिन्धुपाल्चोक र उसको छिमेकी काभ्रे जिल्ला प्रशासनले छुट्टाछुट्टै सूचना जारी गरी जिल्लावासीलाई र सुरक्षाकर्मीलाई अलर्ट राखेका थिए । तर बाढीले क्षति भने पुर्याएन । काभ्रेस्थित रोशी खोलाको बाढीमा फसेका ५ जनालाई भने सशस्त्र प्रहरीले उद्धार गरेको थियो ।
जलवायु कूटनीति र सीमापार पूर्वचेतावनी प्रणालीमा जोड
विज्ञका अनुसार नेपाल, चीन, भारत र बंगलादेश साझा नदी प्रणाली र उस्तै खालको मौसमी प्रभावले जोडिएका छन् । भोटेकोशी, कोशी र गण्डकीजस्ता ठूला नदीहरू तिब्बत मुहान भएर नेपालबाट भारत र बंगलादेशका तल्लो तटीय क्षेत्रमा हुँदै बंगालको खाडीमा मिसिने भएकाले यी नदीहरूमा आउने बाढीले चारवटै देश प्रभावित हुन्छन् ।
त्यसैले जोखिम न्यूनीकरणका लागि जलवायु कूटनीतिमार्फत अन्तरदेशीय सूचना प्रणालीको विकास अपरिहार्य रहेको विपद विज्ञ डा. धर्मराज उप्रेती बताउँछन् । ‘जलवायु कूटनीति र ट्रान्स बाउन्ड्री अर्ली वार्निङ सिस्टम (सीमापार पूर्वचेतावनी प्रणाली) अति आवश्यक भइसकेको छ,’ उनी भन्छन् ।
जोखिमबाट जोगिनका लागि उच्च हिमाली क्षेत्रमा मौसम राडार जडान गर्नुपर्ने, नदीको मुहान क्षेत्रमै बाढी मापन उपकरण राख्नुपर्ने र अन्तरदेशीय सूचना आदान प्रदान नियमित हुनुपर्ने उनको भनाइ छ ।
उनी भोटेकोशी-त्रिशूली र भोटेकोशी-तातोपानी दुवै नदी किनारमा बाढी पहिरोबाट जनधनको ठूलो क्षति हुँदै आएकाले नदी किनार छोडेर मात्रै संरचना बनाउनुपर्ने नीति व्यवहारमै उतार्नुपर्नेमा जोड दिन्छन् ।
‘नदी क्षेत्रलाई छोडेर मात्र बस्ती विकास गर्ने, संरचना बनाउने भन्ने कुरा कागजमा मात्र सीमित भएको छ, त्यो व्यवहारमै लैजानुपर्छ,’ उनी भन्छन् ।
प्रतिक्रिया 4