+
+
Shares

इरानको कडाइपछि करिब पाँच लाख अफगान नागरिक घर फर्किए

अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) का प्रवक्ताका अनुसार, जुन १ देखि जुलाई ५ सम्म ४ लाख ४९ हजार २१८ अफगान इरानबाट फर्किए । योसँगै २०२४ मा हालसम्म फर्किएकाहरूको संख्या ९ लाख ६ हजार ३२६ पुर्‍याएको छ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २४ गते १८:५१

२४ असार, काठमाडौं । संयुक्त राष्ट्रसंघीय शरणार्थी निकाय (यूएनएचसीआर)का अनुसार इरानले कागजविहीन आप्रवासी र शरणार्थीहरूलाई देश छाड्न जुलाई ६ को समयसीमा तोकेपछि जुनको सुरुदेखिनै करिब ४ लाख ५० हजार अफगान नागरिक इरानबाट स्वदेश फर्किएका छन्।

वर्षौंको द्वन्द्वपछि चरम मानवीय संकटको सामना गरिरहेको गरिब देश अफगानिस्तानले सन् २०२३ देखि पाकिस्तान र इरानबाट एकपछि अर्को गरी फर्किएका शरणार्थीहरूलाई गाभ्न निकै संघर्ष गरिरहेको छ।

यूएनएचसीआरका अनुसार, यस वर्षमात्रै १४ लाखभन्दा बढी व्यक्ति स्वेच्छाले वा जबरजस्ती अफगानिस्तान फर्किएका छन्। इरानको मे अन्त्यमा जारी निर्देशन अनुसार, इरानमा रहेका अनुमानित ६० लाख अफगानहरूमध्ये ४० लाख कागजविहीन आप्रवासी यस नीतिबाट प्रभावित हुन सक्छन्।

जुन महिनाको मध्यदेखि अफगान सीमा नाकामा फर्किनेको संख्या तीव्ररूपमा बढेको छ । अलजजिराका अनुसार कुनै दिन त ४० हजारसम्म अफगान नागरिकहरू स्वदेश फर्किएका हुन्छन्।

अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) का प्रवक्ताका अनुसार, जुन १ देखि जुलाई ५ सम्म ४ लाख ४९ हजार २१८ अफगान इरानबाट फर्किए । योसँगै २०२४ मा हालसम्म फर्किएकाहरूको संख्या ९ लाख ६ हजार ३२६ पुर्‍याएको छ।

धेरैजसो फर्किनेहरूले सरकारी दबाब, गिरफ्तारी, देशनिकाला र हतारमा देश छाड्दा आर्थिक नोक्सानी भोग्नुपर्‍यो ।

विदेशी सहायता निकै घटेका कारण राहत तथा पुनःस्थापना प्रयासहरूमा बाधा पुगेको छ । योसँगै संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (एनजीओ) र तालिबान अधिकारीहरूले अझ बढी आर्थिक सहायता माग गरेका छन्।

संयुक्त राष्ट्रसंघले यस किसिमको सामूहिक पुनःआगमनले अफगानिस्तानलाई अझ अस्थिर बनाउन सक्ने चेतावनी दिएको छ । अफगानिस्तानमा यसअघि नै गरिबी, बेरोजगारी र जलवायु परिवर्तनका असरहरू गहिरिँदै छन्। यूएनएचसीआरले शुक्रबार भनेको छ, ‘अफगानहरूलाई जबरजस्ती वा दबाबमा फर्काउँदा क्षेत्रीय अस्थिरता बढाउने खतरा हुन्छ, जसले युरोपतर्फको पलायनलाई पनि तीव्र पार्न सक्छ।’

तालिबान अधिकारीहरूले ‘सम्मानजनक र मर्यादित’ पुनःफिर्ती प्रक्रियाको वकालत गरे पनि इरानी सञ्चारमाध्यमहरूमा ‘अवैध’ अफगानहरूको सामूहिक गिरफ्तारीको खबर निरन्तर आइरहेका छन्।

इरानका उपगृहमन्त्री अली अकबर पूर्जमशिदियानले भनेका छन्, ‘कागजविहीन अफगानहरू हाम्रो विश्वासका भाइ र आदरणीय छिमेकी हुन्, तर इरानको क्षमता सीमित छ।’

उनले पुनःफिर्ती प्रक्रिया क्रमशः कार्यान्वयन गरिने स्पष्ट पारेका छन् । धेरै अफगानहरू रोजगारका लागि इरान गएका थिए र उनीहरूले अफगानिस्तानमा रहेका परिवारलाई महत्वपूर्ण रकम रेमिट्यान्स रूपमा पठाउँथे।

हेरात प्रान्तको एक शरणार्थी फिर्ती केन्द्रमा एएफपी समाचार एजेन्सीसँग कुरा गर्दै फर्किएका अहमद मोहम्मदी भने, ‘यदि म यहाँ हाम्रो दैनिकी चल्ने जागिर पाउँछु भने म यही बस्छु। नत्र फेरि इरान, पाकिस्तान, वा अर्को देश जान बाध्य हुन्छौं।’ अलजजिराबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?