+
+
Shares

स्याफ्रुबेसीको बाढी मापन उपकरण बग्यो, टिमुरेको चलेको थिएन

विनोद घिमिरे विनोद घिमिरे
२०८२ असार २४ गते १०:५५

२४ असार, काठमाडौं । रसुवामा आएको बाढीले जल तथा मौसम विज्ञान विभागले जडान गरेको बाढी मापन उपकरण नै बगाएको छ ।

बाढी पूर्वानुमान महाशाखाका असिस्टेन्ट हाइड्रोलोजिस्ट दिपेन्द्र रिजालका अनुसार स्याफ्रुबेसीमा आज बिहान ३ बजेर ४० मिनेटमा पानीको सतह ५.३७ मिटर पुगेको थियो । त्यसपछि उपकरण नै बगेकाले बाढी मापन नभएको उनले बताए ।

‘स्याफ्रुबेसीमा बाढीको वार्निङ लेभल ५.७ मिटर हो तर ५.३७ मिटर पुगेपछि थप तथ्यांक प्राप्त भएन, यसको मतलव हाम्रो बाढी मापन गर्ने उपकरण नै बगायो,’ रिजालले भने ।

यसैगरी बेत्रावती नदीमा आज बिहान ५ बजे पानीको सतह १.६ मिटर मात्र थियो । तर ५ बजेर ५० मिनेट जाँदा पानीको सतह ह्वात्तै बढेर ४.१८ मिटर पुगेको देखिएको छ । ‘यसले के बुझ्न सकिन्छ भने माथिल्लो क्षेत्रमा केहीबेर थुनिएर बाँध फुटेर बाढी ह्वात्तै बढेको हुनसक्छ,’ रिजालले भने ।

उनका अनुसार बिहान ८ बजेर १० मिनेटमा भने बाढीको सतह केही घटेर ३.६ मिटर पुगेको थियो ।

बेत्रावतीमा बाढीको सतह ह्वात्तै बढेको पाइएपछि बाढी पूर्वानुमान महाशाखाले जोखिम क्षेत्रका बासिन्दालाई एसएमएस पठाएर सतर्क हुन भनेको थियो ।

जल तथा मौसम विज्ञान विभागले टिमुरेमा जडान गरेको बाढी मापन केन्द्र भने हाल बन्द अवस्थामा छ । ‘टिमुरेको उपकरण दुई–तीन महिनादेखि चलिरहेको थिएन, त्यसैले त्यहाँको बाढीबारे जानकारी भएन,’ जल तथा मौसम विज्ञान विभाग स्रोतले भन्यो ।

के भन्छन् मौसमविद ?

रसुवामा बाढीले पुर्‍याएको क्षति नेपाली भूभागमा परेको पानीका कारण नभएको अधिकारीहरुले बताएका छन् । विपद प्राधिकरण र जल तथा मौसम विज्ञान विभागका अधिकारीहरुले छिमेकी चीनमा ठूलो वर्षा भएको हुनसक्ने वा बाँध फुटेर बाढीको रुप लिएको हुनसक्ने प्रारम्भिक अनुमान गरेका छन् ।

विपद प्राधिकरणका प्रवक्ता सुरेश सुनारले नेपालमा भारी वर्षा भएको जानकारी नभएकाले छिमेकी चीनको असर नेपालमा परेको हुनसक्ने बताए ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका बरिष्ठ मौसमविद प्रतिभा मानन्धरले पनि नेपालमा त्यति ठूलो बाढी आउने गरी पानी नपरेको बताइन् ।

‘रसुवा र त्यसका छिमेकी जिल्लाहरुमा हल्कादेखि मध्यम वर्षा मात्र भएको छ,’ वरिष्ठ मौसमविद मानन्धरले भनिन्, ‘त्यति पानीले यति ठूलो बाढी आउँदैन ।’

विभागका अनुसार रसुवाको धुन्चेमा म्यानुल स्टेसन छ । त्यहाँ  सोमबार बिहानको रेकर्डमा ३९.४ मिलिमिटर वर्षा मापन भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार चीनतर्फबाट आएको बाढीमा परेर रसुवामा कम्तिमा १८ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा ९ नेपाली नागरिक, ८ चिनियाँ नागरिक र तीन जना प्रहरी रहेका छन् ।

बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल, टिमुरे सुक्खा बन्दरगाह, रसुवागढी हाइड्रोपावर र क्याम्पमा समेत क्षति पुगेको छ ।

लेखक
विनोद घिमिरे

घिमिरे अनलाइनखबर डटकमका डेस्क सम्पादक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?