
२४ असार, काठमाडौं । रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले बाढी र पहिरोले ९/१० ठाउँमा बाटो अवरुद्ध हुँदा उद्धार र राहत कार्यमा कठिनाइ भएको बताएका छन् ।
मंगलबार बिहान करिब तीन बजे एकाएक आएको भीषण बाढी र पहिरोले ठूलो क्षति पुर्याएको हो ।
गाउँपालिका अध्यक्ष तामाङका अनुसार चीनको तिब्बत क्षेत्रबाट बग्ने लेन्दी खोलामा उर्लिएको बाढीका कारण टिमुरे र रसुवागढी क्षेत्रमा बढी क्षति पुगेको छ । बाढीले बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल पनि पूर्णरूपमा बगाएको छ ।
अध्यक्ष तामाङले भने, ‘नौ/दश ठाउँमा बाटो भत्किएको छ । यसले हामीलाई उद्धार र राहतमा ठूलो समस्या भएको छ ।’
बाढीले ड्राइपोर्टमा राखिएका इलेक्ट्रिक गाडीहरू बगाएको र १५ जना हराइरहेको उनले बताए । जसमध्ये तीन जना नेपाल प्रहरी र केही चिनियाँ नागरिक छन् । उनकाअनुसार हालसम्म ९ जनालाई उद्धार गरिएको छ, तर प्रतिकूल मौसमले उद्धार कार्यलाई जटिल बनाएको छ ।
स्थानीय बस्तीमा भने अहिलेसम्म बाढी नपसे पनि खोलाको किनारमा रहेका हाइड्रोपावर र ड्राइपोर्टका संरचनाहरूमा ठूलो क्षति भएको उनले बताए ।
अध्यक्ष तामाङले आफूले सदरमुकाम धुन्चेबाट समन्वय गरिरहेको र स्थानीयवासीलाई सुरक्षित स्थानमा रहन आग्रह गरेको बताए ।
‘बाढीको जोखिम अझै छ, माथिल्लो क्षेत्रमा पानी पर्ने क्रम नरोकिएकाले सबैलाई सतर्क रहन भनेका छौं,’ उनले थपे ।
प्रतिक्रिया 4