
२४ असार, काठमाडौं । चीनतर्फबाट आएको बाढीले रसुवामा ठूलो क्षति पुर्याएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले छलफलका लागि गृहमन्त्री रमेश लेखकलाई बालुवाटार बोलाएका छन् ।
गृहमन्त्रीको उपस्थितिमा मंगलबार धुलिखेलमा बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठी हुँदै थियो । त्यसका लागि बाढी प्रभावित रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेल र प्रहरी प्रमुख डीएसपी हेम शाही पनि काठमाडौं आएका थिए ।
तर, बाढी आएपछि उनीहरुलाई नेपाली सेनाको हेलिकोप्टरमा फर्काइएको छ भने गृहमन्त्री लेखक पनि बालुवाटार पुगेका छन् ।
गृह मन्त्रालय स्रोतका अनुसार, बाढीको क्षति, राहत तथा उद्धारबारे छलफल गर्न प्रधानमन्त्री ओलीले उनलाई बोलाएका हुन् ।
कांग्रेसबाट सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का सहभागी छन् । एमालेबाट महासचिव शंकर पोख्रेल र अर्थमन्त्री विष्णुप्रसाद पौडेल सहभागी भएका छन् ।
प्रधानमन्त्री ओलीसँगको छलफलपछि गृहमन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठकसमेत बस्दैछ । गएराति आएको बाढीमा परेर १८ जना बेपत्ता छन् । तीमध्ये ६ जना चिनियाँ नागरिक हुन् भने ३ जना नेपाल प्रहरीका अधिकारीहरु हुन् । बाँकी त्यहाँ खटिएका श्रमिकहरु हुन् ।
बाढीले नेपाल–चीन मितेरी पुल, भन्सारसहितका स्थानमा क्षति गरेको छ । सुख्खा बन्दरगाहका ७ वटा इभी गाडी समेत बगेको छ । रसुवागढी हाइड्रोपावरको ड्याम र क्याम्पमा पनि क्षति पुगेको छ ।
अहिले प्रभावित स्थानमा खोज तथा उद्धार कार्य जारी छ ।
प्रतिक्रिया 4