
News Summary
Generated by OK AI. Editorially reviewed.- अध्ययनकर्ताहरूले भू-उपग्रह तस्वीर विश्लेषण गरी रसुवामा बाढीको कारण हिमतालबाट आएको पानी हुनसक्ने निष्कर्ष निकालेका छन्।
- चीनको तिब्बत क्षेत्रमा हिमनदीको माथिल्लो सतहमा बनेको ताल बगेको देखिएको र यसको परिवर्तनशीलता अध्ययन भइरहेको छ।
- नेपाल सरकारले बाढीको कारण आधिकारिक रूपमा पुष्टि गर्न सकेको छैन, चीनसँग समन्वय गरी अनुसन्धान जारी छ।
२५ असार, काठमाडौं । अध्ययनकर्ताहरू चीनको तिब्बत क्षेत्रमा हिमनदी पग्लिएर बनेका हिमतालबाट बाहिरिएको पानीले रसुवामा बाढीको रूप लिएको निष्कर्ष नजिक पुगेका छन् ।
भू-उपग्रह तस्वीर विश्लेषणको आधारमा अनुसन्धानकर्ताहरू हिमनदी पग्लिएर बाढीको रूप लिएको निष्कर्ष नजिक पुगेका हुन् ।
चाइनिज एकेडेमी अफ साइन्सका डा. गुओक्सिओङ चेङको सहयोगमा डा. नितेश खड्काले सार्वजनिक गरेको विवरण अनुसार रसुवाभन्दा उत्तरतर्फको उच्च हिमाली भेगमा ढुंगा–माटोको थुप्रोले ढाकिएको हिमनदीको सतह र भित्री भाग हुँदै पानी बगेको स्पष्ट देखिन्छ । त्यसैले बाढी आएको हुनसक्ने डा. खड्का बताउँछन् । तर यो प्रारम्भिक विश्लेषण मात्र भएको बताउँदै खड्का भन्छन्, ‘यसबारे अझ गहिरो निगरानी र अध्ययन आवश्यक छ ।’
चाइनिज एकेडेमी अफ साइन्समा अध्ययनरत खड्काले फेसबुकमा सार्वजनिक गरेको भूउपग्रह तस्वीरमा रसुवाभन्दा माथि चीनको भूभागमा ढुंगा–माटोको थुप्रोले ढाकिएको हिमनदीको माथिल्लो सतहमा बनेको ताल (सुप्राग्लेसियल लेक) बगेको देखिन्छ ।
उनका अनुसार सुप्राग्लेसियल तालहरू सधैं परिवर्तनशील र अस्थायी प्रकृतिका हुन्छन् । जलवायु परिवर्तनको असरले यस्ता तालहरू छिटो–छिटो बन्छन् । सन् २०२१ भन्दा पहिले त्यहाँ ताल देखिँदैन । तर सन् २०२२ मा साना तालहरू देखिन्छन् । २०२३ को ताल अझै ठूलो देखिन्छ भने २०२४ नोभेम्बर ३० (१५ मंसिर २०८१) त्यो ताल हराएको देखिन्छ । २०२५ जुलाई ५ (२१ असार २०८२ असार) भने त्यहाँ पुन: ताल देखा परेको छ ।
२०२५ जुलाई ८ (२४ असार २०८२)को तस्वीरमा भने ढुंगामाटोको थुप्रोले ढाकिएको हिमनदीको सतह भित्री भाग हुँदै पानी बगेको स्पष्ट देखिन्छ । त्यो पानी माटो, ढुंगा सोहोर्दै बगेको र बाढीको रूप लिएर रसुवामा विपत्ति निम्त्याएको हुनसक्ने डा. खड्काको विश्लेषण छ ।
तिब्बत हुँदै बगेर नेपालको भोटेकोशी हुँदै त्रिशूलीमा मिसिएको सो बाढीले रसुवामा उच्च, नुवाकोटमा मध्यम र धादिङमा हल्का असर गरेको थियो ।

सरकार भन्छ– रसुवाको बाढी फरक प्रकृतिको
नेपाल सरकारले यो विनाशकारी बाढीको कारण आधिकारिक रूपमा बताइसकेको छैन । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुली रसुवाको बाढी हिमताल फुटेर आएको भन्दा फरक प्रकृतिको भएकाले अध्ययनमा समय लागेको बताउँछन् ।
‘हिमताल फुटेको हो भने एक्कासी बाढी ह्वात्तै बढ्ने र कम हुने हुन्छ । तर यो त घण्टौंसम्म बाढी आइरहेको छ । त्यसैले विगतको भन्दा यसको नेचर अलि फरक छ,’ पराजुली भन्छन्, ‘कतै थुनिने र पछि बग्ने (क्यासकेडिङ इफेक्ट) भएको हो कि भनेर अध्ययन पनि गर्नुपर्ने भएकाले केही ढिला भएको हो ।’ उनले भूउपग्रहको आधारमा अध्ययन भइरहेको र हिमनदी ताल विष्फोट भएको सम्भावनाको नजिक पुगेको जानकारी दिए ।
वैश्विक मौसम पूर्वानुमान प्रणालीहरूले बाढी आउनुअघि नेपालको रसुवामा र चिनियाँ जलाधार क्षेत्रमा उल्लेख्य वर्षा भएको देखिँदैन । त्यसैले चरम वर्षा बाढीको प्रमुख कारण नभएको पराजुली बताउँछन् ।
इसिमोडको २०२१ को तथ्यांक अनुसार, त्रिशूली नदीको माथिल्लो धारतिर (चीनको तिब्बत स्वायत्त क्षेत्रतिर) पर्ने एक हिमनदी ताललाई उच्च जोखिमयुक्त तालको रूपमा वर्गीकृत गरिएको र त्यसको नजिकबाट निगरानी आवश्यक रहेको उल्लेख छ
सन् १९९० देखि २०२० सम्मको तीन दशकको अवधिमा यस नदी प्रणालीमा पर्ने हिमनदी तालहरूको आकार ३३ प्रतिशतले र संख्या १६ प्रतिशतले बढेको छ । बाढी आउनुअघिका केही उपग्रह चित्रहरूले पनि हिमनदी तालहरूको संख्या बढेको देखाएका छन् । तर कुन ताल फुटेको हो वा कुनै तालमा आकस्मिक परिवर्तन आएको हो भन्ने पत्ता लगाउन उच्च रिजोल्युसनयुक्त उपग्रह चित्र पर्खनुपर्ने इसिमोडका विज्ञहरू बताउँछन् ।
कारण पत्ता लगाउन चीनसँग समन्वय
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता सुरेश सुनार चीनसँग पनि समन्वय गरेर बाढीको कारण पत्ता लगाउने कोसिस भइरहेको बताउँछन् ।
‘हिजो बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकबाट मित्रराष्ट्रसँग समन्वय गरेर विपद्को कारण पत्ता लगाउने, दीर्घकालीन समस्या समाधानको उपाय निकाल्ने लगायतका कोणबाट अघि बढ्ने भन्ने कुरा भएको छ ।’
बाढीको कारण पत्ता लगाउन अन्तर्राष्ट्रिय पर्वतीय विकास केन्द्र (इसिमोड) सँग पनि समन्वय गरिरहेको उनले बताए ।
मंगलबार बिहान करिब ३ बजे भोटेकोशीमा आएको बाढीमा परी २० जना बेपत्ता छन् भने ९ जनाको शव फेला परेको छ । तर ती नौ जना बेपत्ताको सूचीमा भएका व्यक्तिहरू हुन् कि होइनन् भन्ने अझै एकिन भइनसकेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता सुरेश सुनार बताउँछन् ।
बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल, टिमुरे भन्सार, जलविद्युत् आयोजना लगायतमा क्षति पुगेको छ । भौतिक क्षतिको आँकडा सार्वजनिक हुन बाँकी छ ।
प्रतिक्रिया 4