
News Summary
Generated by OK AI. Editorially reviewed.- हिमबाढीका कारण रसुवागढीको भूगोल क्षतविक्षत भएको छ र नेपाल–चीन व्यापारिक नाका तहसनहस भएको छ।
- बाढीले मितेरी पुल, टिमुरे भन्सार कार्यालय, जलविद्युत् आयोजना र सडकहरू क्षति पुर्याएको छ भने कम्तीमा ९ जनाको मृत्यु र २० जना बेपत्ता छन्।
- जिल्ला प्रशासन कार्यालय रसुवाले स्याफ्रुबेसी–रसुवागढी सडक खण्ड पूर्णरूपमा अवरुद्ध भएको र उद्धारमा सुरक्षाकर्मीहरूले जोखिम मोलेर नागरिकलाई सहायता गरिरहेको जनाएको छ।
२६ असार, काठमाडौं । हिमबाढीका कारण नेपाल–चीन व्यापारिक नाका रसुवागढीको रौनक क्षणभरमै तहसनहस भयो । तिब्बत क्षेत्रबाट बगएर आएको गेग्रानसहितको बाढीले रसुवाको सुन्दर पहाडी क्षेत्रको भूगोल क्षतविक्षत बनायो ।
तिब्बत हुँदै बगेर आउने केरुङ र ल्हेन्दे खोलाको बाढी असार २४ गते बिहान भोटेकोशी नदीमा मिसिँदा भयानक बनेको थियो । बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल, टिमुरे भन्सार कार्यालय, जलविद्युत् आयोजना, विद्युतीय चार्जिङ स्टेसन, सडक लगायतका संरचना तहसनहस पारेको छ ।
बाढीमा परी कम्तीमा ९ जनाको मृत्यु भएको पुष्टि भएको छ भने २० जना बेपत्ता छन् । भन्सार जाँचपासका लागि राखिएका मालबाहक गाडी र विद्युतीय कारहरू बगेका छन् ।
जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार करिब १२० किलोमिटर बाटो क्षतविक्षत हुँदा स्याफ्रुबेसी–रसुवागढी खण्ड पूर्णरूपमा अवरुद्ध भएको छ ।
बाटो भत्किएकाले मानिसबीच बाटोमै अलपत्र छन् । बालबच्चासहितका उनीहरूलाई सुरक्षाकर्मीले जोखिम मोलेर डोरी र काठको फड्केको सहायताले वारपार गराइरहेको दृष्य दर्दनाक देखिन्छ । न घर फर्किन सक्ने अवस्था छ, न अघि बढ्न सकिने ।
कतिपय ठाउँमा मुस्किलले खुट्टा अड्याउन सकिने बाटा छन् । त्यहाँ पहरामा टाँसिएर यात्रा गर्नुपर्ने बाध्यता छ ।
तर पनि उद्धारमा खटिएका सुरक्षाकर्मीहरू डोरी, काठको फड्के र मानवीय सहायताबाट नागरिकलाई एकातिरबाट अर्कोतर्फ पार गराइरहेका छन् । तिनको आँखामा त्रास छ, मनमा आशा र हिम्मत पनि ।
राज्यको कठोर परीक्षा
मानव क्षतिको अवस्था हृदयविदारक छ । ठाउँ–ठाउँमा मानव अंग भेटिएका छन्, जसको पहिचान गर्न डीएनए परीक्षण गर्नुपर्ने स्थिति छ ।
यो भीषण विपत्तिको पीडा शब्दमा वर्णन गर्न सकिँदैन । रसुवागढीको अहिलेको अवस्था प्राकृतिक विपत्ति मात्र होइन, यो हाम्रो राज्य संरचनाको, विपद् व्यवस्थापन क्षमताको र जनसुरक्षाको कठोर परीक्षा पनि हो । बाढीले संरचना मात्र बगेका छैनन्, थुप्रै परिवारका सपना, पसिनाको कमाइ अनि जिन्दगीको आधार पनि बगेको छ ।
शोकको यो घडीमा राज्य, नागरिक समाज र अन्तर्राष्ट्रिय समुदाय सबै मिलेर पीडितहरूलाई राहत, पुन:स्थापनाका साथै क्षतिग्रस्त संरचनाको पुनर्निर्माणतर्फ अग्रसर हुन जरुरी छ ।



प्रतिक्रिया 4