+
+
Shares

भेरी करिडोर : त्रिवेणी-त्रिपुराकोट सडक कालोपत्र योजना सम्झौतादेखि नै अलपत्र

पूर्ण सार्की पूर्ण सार्की
२०८३ वैशाख २८ गते ९:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भेरी कोरिडोर अन्तर्गत डोल्पाको त्रिपुराकोटसम्म सडक कालोपत्रे गर्ने योजना सम्झौता भएको महिनौं बितिसक्दा निर्माण कार्य सुरु हुन सकेको छैन।
  • पहिलो प्याकेज अन्तर्गत तल्लुबगरदेखि त्रिवेणी सडक कालोपत्रे ठेक्का पाएको कम्पनीले पेट्रोलियम पदार्थ मूल्यवृद्धि र उपकरण ढुवानी समस्याका कारण काम रोकिएको बताएको छ।
  • दोस्रो प्याकेज अन्तर्गत त्रिवेणीदेखि त्रिपुराकोट सडक कालोपत्रे ठेक्का पाएको कम्पनीले आन्तरिक कारण र नयाँ प्रावधानका कारण काम सुरु नभएको र छिट्टै सुरु गर्ने तयारीमा रहेको जनाएको छ।

२८ वैशाख, डोल्पा । भेरी कोरिडोर अन्तर्गत रुकुम पश्चिमको त्रिवेणीदेखि डोल्पाको त्रिपुराकोटसम्म सडक कालोपत्रे गर्ने योजना सम्झौता भएको महिनौं बितिसक्दा पनि निर्माण कार्य सुरु हुन सकेको छैन ।

कोरिडोरको जाजरकोट–डोल्पा सडक खण्ड ११७ किलोमिटरभित्र पर्ने जाजरकोटको तल्लुबगरसम्म कालोपत्रे निर्माण कार्य सम्पन्न भइसकेको छ । त्यसपछि तल्लुबगरदेखि डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-१ त्रिपुराकोटसम्मको सडक कालोपत्रेका लागि भेरी कोरिडोरले गत वर्ष दुई चरणमा ठेक्का प्रक्रिया अघि बढाएको थियो ।

तर ठेक्का प्रक्रिया अघि बढाएको महिनौंसम्म काम नै सुरु नभएपछि कोरिडोरले अहिले सडक निर्माणको लागि बारम्बार ताकेता गरिरहेको जानकारी दिएको छ ।

कोरिडोरको पहिलो प्याकेज अन्तर्गत तल्लुबगरदेखि रुकुम पश्चिमको त्रिवेणीसम्मको सडक कालोपत्रेका लागि क्याब कन्ट्रक्सन प्रालि, जावलाखेल ललितपुरले ८८ करोड ६२ लाख रुपैयाँमा ठेक्का हात पारेको थियो । कम्पनीले २०८२ असोज २ गते कोरिडोरसँग सम्झौता गरेको थियो ।

सम्झौतापछि केही समय सडक स्तरोन्नतिको काम गरे पनि अहिले निर्माण कार्य पूर्ण रूपमा रोकिएको छ । निर्माण कम्पनीका इन्जिनियर सुपेन्द्र शाक्यले पेट्रोलियम पदार्थको मूल्यवृद्धि तथा आवश्यक उपकरण ढुवानीमा समस्या भएका कारण काम रोकिएको जानकारी दिए ।

उनले काम सञ्चालनको लागि क्रसर मेसिन ल्याउने तयारी भइरहेको जानकारी दिँदै अब छिट्टै काम सुरु गर्ने बताए । ‘पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण काम रोकिएको हो । अब भने काम सुरु गर्छौं’, उनले भने, ‘सम्भावित वर्षा याममा यात्रा सहज बनाउन हाम्रो साइट भरी डोजर तयारी अवस्थामा राख्ने निर्णय गरेका छ।’

त्यस्तै, दोस्रो प्याकेजअन्तर्गत रुकुम पश्चिमको त्रिवेणीदेखि डोल्पाको त्रिपुराकोटसम्म सडक कालोपत्रेका लागि मैनाचुली सिस्ने जेभी, बुद्धनगर काठमाडौंले २०८२ साउन ९ गते सम्झौता गरेको थियो । तर, सम्झौता भएको नौ महिना बित्दा पनि निर्माण कम्पनीले हालसम्म कुनै काम सुरु गरेको छैन ।

निर्माण कार्य अघि नबढेपछि अहिले सम्बन्धित निर्माण कम्पनीको खोजी भइरहेको जनाइएको छ ।

पूर्वमन्त्री तथा कर्णाली प्रदेश सभा सदस्य वीरबहादुर शाहीले समयमै काम सुरु नहुँदा डोल्पावासीले सास्ती खेप्नुपरेको बताए । उनले सडक विस्तार तथा कालोपत्रे कार्यलाई अगाडि बढाउन आफूले भेरी कोरिडोरसँग निरन्तर पहल गरिरहेको तर निर्माण व्यवसायीले काम नै सुरु नगरेको जानकारी दिए ।

‘निर्माण व्यवसायीले समयमै काम नगर्दा हरेक वर्ष डोल्पावासीले दुःख पाउने गरेका छन्’, उनले भने, ‘मैले पनि बारम्बार भनिरहेको छ तर सुनुवाइ भइरहेको छैन।’

सम्झौता भएको महिनौं बितिसक्दा समेत काम सुरु नगर्दा समेत कोरिडोरले एक्सन लिन नसकेको उनको भनाइ छ ।

उता मैनाचुली सिस्ने जेभीका इन्जिनियर देवेन्द्र घिमिरेले आन्तरिक कारण तथा सरकारले ल्याएको नयाँ प्रावधानका कारण काम सुरु नभएको बताए ।

उनले रोड क्लासिफिकेसनको प्रक्रिया चलिरहेका कारण निर्माण कार्य तत्काल अघि बढ्न नसकेको जानकारी दिए । ‘तीन किलोमिटर क्षेत्रमा काम गर्ने अनुमति प्राप्त भइसकेको छ, अब छिट्टै काम सुरु हुन्छ’, उनले भने, ‘त्रिवेणी र खदाङबाट एकैसाथ काम सुरु गर्ने तयारी गरेका छौं ।’

इन्जिनियर घिमिरेले त्रिपुरासुन्दरी-५ खदाङमा साइट कार्यालय स्थापना अन्तिम चरणमा पुगेको र सम्झौता अनुसार समयमै काम सम्पन्न गर्ने दाबी गरे ।

कामलाई तीव्रता दिन दुई ठाउँमा एकै चरणमा कामको सुरुवात गरिने समेत बताए । यता भेरी कोरिडोर कार्यालयका सूचना अधिकारी गिरिश नन्दनले भने पटक-पटक ताकेता गर्दा पनि निर्माण कम्पनीहरूले काम सुरु नगरेको गुनासो गरे ।

‘हामीले बारम्बार छिटो काम गर्न निर्देशन दिइरहेका छौँ, तर काम सुरु भएको छैन’, उनले भने, ‘अब पनि काम अघि नबढे कानुनी प्रक्रिया अघि बढाउँछौं ।’

वर्षायामलाई मध्यनजर गर्दै सडक अवरुद्ध हुन नदिन कोरिडोरले विभिन्न स्थानमा डोजर तयारी अवस्थामा राख्ने योजना समेत बनाएको उनले जानकारी दिए ।

डोल्पा २०७५ सालमा राष्ट्रिय सडक सञ्जालमा जोडिएको थियो । राष्ट्रिय सडक सञ्जालमा जोडिएको वर्षौं भैसक्दा समेत डोल्पाबासीले अझै सास्ती खेप्दै आइरहका छन् ।

भेरी कोरिडोर अन्तर्गत पर्ने उक्त सडक खण्डले अझै पनि पूर्णता पाउन सकेको छैन ।

हिउँदमा मात्रै डोल्पासम्म सीधा यातायात सञ्चालन हुने गरेपनि वर्षायाममा भने निकै शास्ती खेप्दै यात्रा गर्नु पर्ने बाध्यता छ । यो सडक खण्डभित्र पर्ने केही खोलाहरूमा बेलिब्रिज निर्माण गरेर यातायात सञ्चालन गरेपनि पक्की निर्माणमा समेत निर्माण व्यवसायीले ढिला गर्दा डोल्पावासी झनै मारमा छन् ।

वर्षाको समयमा डोल्पाबाट बाँकेको नेपालगञ्ज, सुर्खेतलगायतका विकसित सहर पुग्न ३/४ वटा सवारी साधन फेर्नु पर्ने बाध्यता रहेको प्रमुख जिल्ला अधिकारी जुनु हमालले जानकारी दिइन् ।

अधिकांश ठाउँमा सवारी साधन फेर्नु परेपछि स्थानीय यातायात व्यवसायीहरुले चर्को भाडा असुल्ने गरेको गुनासोसमेत डोल्पावासीको छ ।

लेखक
पूर्ण सार्की

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?