३ चैत, डोल्पा । भेरी कोरिडोरअन्तर्गत डोल्पाको लासीक्याप देखि सिसौलसम्मको सडक खण्ड निर्माणको जिम्मा नेपाली सेनालाई दिइने भएको छ । चैत १ गते बसेको नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले लासीक्याप–सिसौल सडकखण्डको ३३ किलोमिटर सडक निर्माणको जिम्मा सेनालाई दिने निर्णय भएको छ ।
सेनालाई निर्माणको जिम्मा दिने भनिएको सडक खण्डमा अत्यन्तै भिरालो र कडा चट्टानी भूभाग पर्छ । कठिन भूगोल भएकै कारण यसअघि मापदण्डअनुसार ट्रयाक खोल्न निकै कठिन भइरहेको थियो ।
भेरी कोरिडोर बाँकेको जमुनाहबाट सुरु भएर सुर्खेत, सल्यान, जाजरकोट र रुकुम पश्चिम हुँदै डोल्पाको दुनै, धो र तिन्जे पार गरेर तिब्बतको सीमासम्म पुगाउने लक्ष्य छ । यो सडकलाई नेपाली भूमि हुँदै भारत र चीन जोड्ने सबैभन्दा छोटो सडक समेत मानिएको छ ।
चीन, नेपाल र भारतलाई जोड्ने त्रिदेशीय सडक भएकाले यो कोरिडोरलाई रणनीतिक तथा व्यापारिक दृष्टिले महत्त्वपूर्ण भनेर व्याख्या गरिएको छ ।
२०७५ मङ्सिर ४ गते डोल्पाको त्रिपुराकोटसम्म ट्रयाक खोलेर भेरी कोरिडोरको औपचारिक उद्घाटन गरिएको थियो । तर उद्घाटन भएको वर्षौँ बितिसक्दा निर्माणले गति लिन सकेको छैन ।
भेरी कोरिडोर आयोजना कार्यालय जाजरकोटका अनुसार सुर्खेतको छिन्चुदेखि डोल्पाको मोरिम्लासम्म करिब ३ सय १७ किलोमिटर सडक पर्छ । यसमध्ये छिन्चुदेखि जाजरकोटको सदरमुकाम हुँदै तल्लुबगरसम्म सडक कालोपत्रे भइसकेको छ । सो खण्डमा केही ठाउँमा पक्की पुल निर्माणको चरणमा छ ।
यस्तै कोरिडोरको तल्लुबगरदेखि त्रिपुराकोटसम्म सडक स्तरोन्नतिको काम सुरु गरिएको र पक्की पुलसमेत निर्माणको चरणमा रहेको कोरिडोरले जानकारी दिएको छ ।
कोरिडोरअन्तर्गत पर्ने विभिन्न सडक खण्डमा सडक साँघुरो हुनुका साथै पहिरो तथा ढुंगा-माटो खस्ने समस्या पनि बढ्दै गएको छ ।
भेरी कोरिडोरले पूर्णता पाए डोल्पाका प्रसिद्ध पर्यटकीय स्थलहरू फोक्सुन्डो ताल, जगदुल्ला ताल, सुलिगाड झरना, छार्का भोट बस्ती र त्रिपुरा सुन्दरी मन्दिर, धो उपत्यकासम्म स्वदेशी तथा विदेशी पर्यटकको आगमन बढ्ने अपेक्षा गरिएको छ ।
पर्यटकीय दृष्टिकोणबाट नभई डोल्पामा उत्पादन हुने यार्सागुम्बा, जटामसी, स्याउ र ओखरजस्ता बहुमूल्य वस्तुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजार पाउने डोल्पाका स्थानीयले विश्वास गरेका छन् । साथै धो क्षेत्रमा भविष्यमा हिमाली सहर विकास गर्ने सरकारी योजनालाई समेत यस सडकले सहयोग पुर्याउने यहाँका जनताको विश्वास छ ।
प्रतिक्रिया 4