News Summary
Generated by OK AI. Editorially reviewed.- पूर्वी नवलपरासीको कावासोती नगरपालिका वडा नम्बर ३ को जीवनज्योती मावि मतदान स्थलमा मतदान अधिकृत दीपा गौतमले हतियारधारी सैनिकलाई मतदान केन्द्रबाट बाहिर पठाएकी थिइन्।
- सैनिकले छिटो भोटिङको व्यवस्था मिलाउन आएको र हतियार बाहिर राख्न बिर्सिएको बताए पनि मतदान अधिकृतले समन्वयमा सेना मतदान केन्द्रभित्र प्रवेश गर्न नपाउने बताएकी थिइन्।
- जीवनज्योती मावि मतदान केन्द्रमा करिब १३ सय ९० मतदाता थिए र त्यहाँ ९४० मत खसेको छ, मतदान शान्तिपूर्ण वातावरणमा भइरहेको थियो।
२१ फागुन, कावासोती । पूर्वी नवलपरासीमा एकजना मतदान अधिकृतले हतियारधारी नेपाली सेनालाई मतदान केन्द्रबाट बाहिर पठाएको भिडियो सामाजिक सन्जालमा भाइरल छ । यो भाइरल दृष्य कावासोती नगरपालिका वडा नम्बर ३ को जीवनज्योती मावि मतदान स्थलको हो ।
सो मतदान स्थलको ‘क’ केन्द्रमा खटिएकी मतदान अधिकृत दीपा गौतमले मतदान गर्ने ठाउँ नजिकै पुगेका हतियारधारी एक सैनिकलाई मतदानस्थलको गेट बाहिर पठाएकी थिइन् ।
सुरुमा हतियारधारी सैनिक मतदान केन्द्रभित्र आएको देखेपछि मतदान अधिकृत गौतमले कारण सोधेकी थिइन् । त्यसक्रममा ती सैनिकले चालकलाई छिटो भोटिङको व्यवस्था मिलाइदिनका लागि आएको बताएका थिए ।
त्यसपछि मतदान अधिकृत गौतमले समन्वय अवस्थामा हतियारसहित सेना मतदान केन्द्रभित्र प्रवेश गर्न नपाउने भन्दै बाहिर जान भनेकी थिइन् । त्यसपछि ती सैनिकले ‘हतियार बाहिर राख्न बिर्सिएको’ र मतदातालाई सहजीकरण मात्र गर्न खोजेको भनेर बचाउ गरेका थिए ।
तै पनि मतदान अधिकृत गौतमले ‘हजुर बाहिर गएर बसिहाल्नुपर्छ । जाऔं–जाऔं’ भन्दै उनलाई मतदान स्थलको गेट बाहिर पठाएकी थिइन्् । उनी आफैं ती सैनिकलाई बाहिर पठाउन गेटसम्म पुगेकी थिइन् ।
प्रत्यक्षदर्शी एक कर्मचारीका अनुसार बिहानको समयमा मतदाताको खासै भिडभाड थिएन । सामान्य ढंगले र शान्तिपूर्ण वातावरणमा मतदान भइरहेका बेला एक जना सैनिक बन्दुक बोकेर मतदानस्थल भित्र छिरेका थिए ।
ती सैनिकले एक जना सवारी चालकलाई साथमा ल्याएका थिए । र, छिटो मतदानको पालो दिन अनुरोध गर्दै मतदान केन्द्रभित्र छिरेका थिए । त्यसैले ती सैनिकलाई सरकारले तोकेको जिम्मेवारी सम्झाउँदै मतदान अधिकृत गौतमले बाहिर बस्न भनेकी हुन् ।
‘ती सैनिकको कुरा बुझ्दा अन्जान ढंगले मतदान केन्द्रभित्र आएको पाइयो, तै पनि उहाँलाई बाहिरै रहेर सुरक्षा दिन मतदान अधिकृतले भन्नुभयो,’ एक कर्मचारीले भने ।
यसबारेमा बुझ्न खोज्दा मतदान अधिकृत गौतमको मोबाइल नम्बरमा सम्पर्क स्थापित हुन सकेन । हामीले मोबाइल र ह्वाट्सएपमा कल गर्दा पनि गौतमको फोन उठेन ।
जीवनज्योति मावि मतदान केन्द्रमा करिब १३ सय ९० जना मतदाता थिए । त्यहाँ ९४० मत खसेको छ ।
प्रतिक्रिया 4