३ चैत, काठमाडौं । अमेरिकी नौसेनाले आफ्ना युद्धपोतहरूको मर्मतसम्भार र रेखदेखलाई तीव्र बनाउन पिट्सबर्गस्थित ‘गेको रोबोटिक्स’ सँग हालसम्मकै ठूलो सम्झौता गरेको छ ।
मंगलबार सार्वजनिक गरिएको जानकारी अनुसार यो पाँच वर्षे सम्झौता ७ करोड १० लाख डलर बराबरको रहेको छ ।
यस अन्तर्गत पहिलो चरणमा ५ करोड ४० लाख डलरको बजेट विनियोजन गरिएको छ । नौसेनाले विशेषगरी प्रशान्त क्षेत्रमा रहेका १८ वटा युद्धपोतहरूको अवस्था निगरानी गर्न यी रोबोट र सेन्सरहरूको प्रयोग गर्नेछ ।
गेको रोबोटिक्सका संस्थापक जेक लुसारारियनका अनुसार यी रोबोटहरूले जहाजका प्रत्येक स्थानमा पुगेर विस्तृत विवरण संकलन गर्नेछन् र त्यसको आधारमा ‘डिजिटल ट्विन’ तयार पारिनेछ ।
यस प्रविधिले जहाजमा समस्या आउनुअघि नै मर्मतका लागि सुझाव दिनेछ, जसले गर्दा समय र लागत दुवै बचत हुनेछ । हाल अमेरिकी नौसेनाका ४० प्रतिशत जहाजहरू मर्मतका कारण प्रयोगविहीन छन् ।
नौसेनाले सन् २०२७ सम्ममा ८० प्रतिशत जहाजहरूलाई सधैँ तयारी अवस्थामा राख्ने लक्ष्य लिएको छ, जसमा यो रोबोटिक्स प्रविधि कोसेढुङ्गा सावित हुने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया 4