२२ फागुन, काठमाडौं । मतदान अधिकृतले सेनालाई बाहिर जान भनेको भाइरल भिडियोको पछाडि चालकलाई छिटो मतदानको व्यवस्था मिलाउन आग्रह गरेको बुझिएको छ ।
बिहीबार निर्वाचनका लागि एक महिला मतदान अधिकृतले हतियार बोकेका नेपाली सेनालाई मतदान केन्द्रबाट बाहिर जान अनुरोध गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो । भिडियो भाइरल बनेपछि नेपाली सेनाले समेत यसबारेमा बुझ्ने काम गरेको थियो ।
सो क्रममा यो भिडियो पूर्वी नवलपरासीको कावासोती नगरपालिका–३ को जीवनज्योति मावि मतदानस्थलको रहेको खुलेको थियो । मतदान केन्द्रमा खटिएकी मतदान अधिकृत दीपा गौतमले ती सेनालाई बाहिर जान भनेकी थिइन् ।
सेना त्यहाँ पुग्नुको पछाडि चालकको मतदानको विषय जोडिएको छ । निर्वाचनमा सुरक्षामा खटिएको नेपाली सेनाले आफ्ना सवारी र चालक पर्याप्त नभएपछि भाडाका गाडी र चालक समेत प्रयोग गरेको थियो । जंगी अड्डा स्रोतका अनुसार त्यही भाडाको गाडीका चालकको मतदान गर्ने केन्द्र जीवनज्योति मावि थियो ।
चालकले मतदान गर्न खोजेका थिए । तर समय लाग्ने भयो । त्यसपछि छिटो मतदानको व्यवस्था गराइदिन भन्दै ती सैनिक मतदान केन्द्र पुगेका थिए ।
‘छिटो मतदान सकाएर आफ्नो ड्युटीमा जानु पर्ने भएकाले मतदान गर्दा चालकलाई बढी समय लाग्ने देखियो । त्यसपछि मतदान अधिकृतलाई अनुरोध गर्न त्यहाँ पुगेको देखिएको छ’ जंगी अड्डाका एक सैनिक अधिकृतले भने ।
मतदान अधिकृतले बाहिर जान भनेपछि उनले भनेअनुसार नै ती सैनिक बाहिर गएका थिए । ‘हतियार नलिई गएको भए हुन्थ्यो । यसमा उहाँले पनि आफूबाट केही असावधानी भएको भन्नु भएको छ’ सैनिक स्रोत भन्छ, ‘यसमा मतदान अधिकृतले पनि सामान्य अवस्थालाई अनावश्यक ठूलो बनाउन खाजेको प्रतिक्रिया हामीलाई दिनुभएको छ ।’
प्रतिक्रिया 4