+
+
Shares

‘रसुवागढी हाइड्रोको इनटेकभित्र गाडी नै छिर्‍यो, सुरुङबाहेक अरु ड्यामेज छ’

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०८२ असार २६ गते १०:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवागढी हाइड्रोपावर केन्द्र प्रमुख सन्तोष अधिकारीले भोटेकोशीको बाढीले सुरुङ बाहेकका संरचनामा क्षति पुगेको बताए।
  • असार २४ गते चीनको तिब्बतबाट आएको बाढीले नेपाल–चीन मितेरी पुल भत्काएको र ९ जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ।
  • अधिकारीका अनुसार सुरुङ सुरक्षित भए पनि पम्प हाउस, मोटर हाउस र गेटहरू ड्यामेज भएका छन् र कर्मचारी टोली जंगलबाट सुरक्षाकर्मीले उद्धार गरेका थिए।

२६ असार, काठमाडौं । भोटेकोशीमा आएको बाढीले रसुवागढी हाइड्रोपावरको सुरुङ बाहेकका अरु संरचनामा क्षति पुगेको त्यहाँका कर्मचारीले बताएका छन् । रसुवागढी हाइड्रोपावर केन्द्र प्रमुख सन्तोष अधिकारीले बाढीले बगाएर ल्याएको एउटा गाडी नै इनटेकभित्र छिरेको बताए ।

कहिले नसोचेको बाढी आएको बताउँदै उनले अनलाइनखबरसँग भने, ‘तीन बजे पानी फ्ल्यास फ्लडको रुपमा आयो । पूर्वानुमान नै थिएन । किनभने यहाँ पानी नै परेको थिएन । एकैचोटि माथिबाट आयो । हाम्रो हेडवर्क्स चाइनाको एकदमै बोर्डरमा छ । तीन सय मिटर मात्र डाउनसाइडमा छ । एकैचोटी माथिको मितेरी पुल बगाएर हेडवर्क्सको स्ट्रक्चर भित्र नै त्यो पुलले हान्यो ।’

उनले थपे, ‘कहिले पनि नभएको, हाम्रो एक सय वर्षको डिजाइनमा पनि नभएको, लेभलभन्दा माथि पानी आयो । हाम्रो १७९६ मा टप लेभल थियो । त्योभन्दा पनि माथि गएर, ओभरटप भएर, इनटेकभित्रैसम्म बालुवा, ढुंगा, एउटा सानो गाडी छिरेको छ भन्ने सुनिएको छ त्यहाँ । इनटेक भित्र नै एउटा सानो गाडी पनि छिरेको छ ।’

असार २४ गते बिहान चीनको तिब्बत क्षेत्रबाट बगेर आउने केरुङ र लेन्दे खोलाको बाढी भोटेकोशीमा मिसिएको थियो । गेग्रानसहितको सो बाढीले नेपाल–चीन मितेरी पुल भत्काउनुका साथै टिमुरे भन्सार यार्डमा रहेका गाडीहरुसमेत बगाएको थियो । बाढीमा परेर ९ जनाको मृत्यु र कम्तिमा २० जना वेपत्ता भएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ ।

‘पावर हाउसमा पनि सोचेको भन्दा फरक ढंगले बाढी पस्यो’

सन्तोष अधिकारी

भोटेकोशीको बाढीको चपेटामा रन अफ रिभरमा आधारित रसुवागढी हाइड्रोपावर पनि परेको थियो । रसुवागढी हाइड्रोपावर केन्द्र प्रमुख सन्तोष अधिकारीका अनुसार सुरुङ सुरक्षित भए पनि अन्य संरचनामा क्षति पुगेको छ ।

उनले भने, ‘सुरुङमा क्षति पुगेको छैन । डिसेन्डरमा थोरै लेदो र ढुंगाहरु छिरेको छ । बाहिरको स्ट्रक्चर, गेट कन्ट्रोल गर्नुपर्ने पम्प हाउस, मोटर हाउस सबै ड्यामेज छ । गेट सबै ड्यामेज भएको छ ।’

उनले पावर हाउसमा पनि सोचेको भन्दा फरक ढंगले बाढी पसेको र क्षति पुगेको उनले बताए । ‘पावर हाउसको टर्बाइन फ्लोरको तल्लो फ्लोर पूरै डुबेको थियो । त्यहाँ भएका इक्विपमेन्टहरु ड्यामेज नै छन्,’ अधिकारीले भने, ‘तर मेजर इक्विपमेन्ट भएको फ्लोर चाहिँ अहिलेसम्मलाई सेफ छ । पछि आएर हामीले पम्पआउट गर्‍यौं । पावर हाउसमा पनि सोचेको भन्दा फरक ढंगले पानी छिर्‍यो र इक्विपमेन्टहरु क्षति नै छ ।’

भोटेकोशीमा एक्कासी बाढी आएपछि अधिकारीसहित कर्मचारीको टोलीले जंगल क्षेत्रमा गएर ज्यान जोगाएको थियो । उनीहरुलाई पछि सुरक्षाकर्मीहरुले उद्धार गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?