
२६ असार, रसुवागढी । चीनको तिब्बत क्षेत्रबाट गेग्रान सहित आएको बाढीले रसुवागढी क्षत–विक्षत भएको छ । सडक, पुल, जलविद्युत् आयोजना, सवारी साधन लगायतमा बाढीले क्षति पुर्याएको छ ।
असार २४ गते बिहान तिब्बततर्फबाट आउने केरुङ र लेन्दे खोलाको बाढी भोटेकोशीमा मिसिएको थियो । सो बाढीमा परी ९ जनाको मृत्यु र २० जना सम्पर्कविहीन भएका छन् ।
बाढीले टिमुरे भन्सार यार्डमा रहेका मालवाहक कन्टेनर र जाँचपासका लागि राखिएका विद्युतीय गाडीहरुलाई समेत बगाएको थियो । जिल्ला प्रशासन कार्यालयको तथ्यांक अनुसार करिब एक सय बढी गाडीहरु बगेको उल्लेख छ । भन्सार क्षेत्रमा रहेको ईभी चार्जिङ स्टेसन समेत पूर्णरुपमा क्षतिग्रस्त भएको छ ।
बाढी घटेपछि क्षतविक्षत भएका गाडीहरुलाई हटाउने र सडक मर्मत गर्ने काम भइरहेको छ । विहीबार बिहानैदेखि डोजर र क्रेनको सहायताले गाडी र ठूला ढुंगाहरु पन्छाउने काम जारी रहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । खोज तथा उद्धारको काममा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाली प्रहरीको टोली परिचालित भएका छन् ।
जिल्ला प्रशासन कार्यालयका अनुसार करिब १२०० मिटर सडकमा क्षति पुगेपछि स्याफ्रुबेसी–रसुवागढी खण्ड पूर्णरुपमा अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा स्थानीय अलपत्र परेका छन् । उनीहरुलाई सुरक्षाकर्मीहरुले गन्तव्यमा पठाइरहेका छन् । कतिपय ठाउँमा सुरक्षाकर्मीहरुले भीर खोपेर, डोरी टाँगेर, फड्के राखेर मानिसहरुलाई आउ–जाउ गर्न सघाइरहेका छन् ।
अन्तर्राष्ट्रिय पर्वतीय विकास केन्द्र (इसिमोड)का विज्ञहरुले ‘सुप्राग्लेसियल’ तालबाट निकास भएको हिमनदीजन्य बाढीका कारण रसुवागढीमा क्षति पुगेको बताएका छन् ।
हेर्नुहोस् रसुवागढीको अवस्था –
प्रतिक्रिया 4