News Summary
Generated by OK AI. Editorially reviewed.- विश्व प्रसिद्ध टाइम म्यागाजिनले सन् २०२५ का लागि नेपालका सामुदायिक होमस्टेलाई उत्कृष्ट १ सय गन्तव्य सूचीमा राखेको छ।
- लामो समयदेखि संरक्षण गरिएको लिम्बू समुदायको जिउँदो इतिहास र परम्परागत संस्कृति चोलुङ पार्कमा देख्न सकिन्छ।
- पर्यटन र संस्कृति संरक्षणलाई जोड्दै स्थानीय सरकारले पार्कमा लगानी गरेको र पर्यटकहरूको आकर्षण बढेको छ।
२१ असार, तेह्रथुम । विश्व प्रसिद्ध टाइम म्यागाजिनले सन् २०२५ का लागि नेपालका सामुदायिक होमस्टेलाई उत्कृष्ट १ सय गन्तव्य सूचीमा राखेको छ ।
उक्त होमस्टेको प्रतिनिधित्व देखाउन टाइम म्यागाजिनले प्रयोग गरेको कभर तस्वीर तेह्रथुम जिल्लाको लालीगुराँस नगरपालिका–३ बसन्तपुरमा खुलेको ‘चोलुङ पार्क’ हो ।
परम्परागत शैली र खरले छाएका यी घर झट्ट हेर्दा कुनै पुरानो गाउँमा खुलेको होमस्टेको झल्को दिन्छ । तर, यी घरमा होमस्टे होइन, लिम्बू समुदायको जिउँदो इतिहास बास गरेको छ ।
लालीगुराँस नगरपालिकाका मेयर अर्जुन माबुहाङ भन्छन्, ‘लिम्बू समुदायमा ढुंगा नै सबथोक हो, आस्था हो, पुर्खाले मुन्धुममा आधारित रहेर जोगाएको परम्परालाई हामीले पार्क र संग्रहालयका रूपमा संरक्षणको जमर्को गरेका छौं ।’
लिम्बू भाषामा चोलुङ भनेको पवित्र ढुंगा हो ।
यसै साता पूर्वी नेपालका पर्यटन गन्तव्य भ्रमण सिलसिलामा चोलुङ पार्क घुमफिरको मौका मिल्यो । तस्वीरमा देखिएका चित्ताकर्षक घरको स्मरणले मनमा छुट्टै आनन्द प्रदान गरेको थियो ।
मध्यपहाडी लोकमार्गबाट धनकुटा हिले हुँदै तेह्रथुमतर्फ अगाडि बढ्दै गर्दा नै सडकमा ‘भिजिबिलिटी’ कम थियो । छिनमै छाड्ने, छिनमै छपक्क छोप्दै गरेको कुहिरो र प्रकृति हामीसँगै जिस्किरहेको भान हुन्थ्यो ।
लालीगुराँस नगरपालिकाको केन्द्र बसन्तपुर एक फन्को मारेपछि छेउमै रहेको पार्कको डिलमा टेक्नासाथ वातावरण शून्य भिजिबिलिटीमा ओर्लियो । मध्यअसारमा पनि चिसो सिरेटो खाँदै मेयर माबुहाङबाट मुन्धुम, लिम्बू संस्कृति र चोलुङबारे बुझ्दा बुझ्दै वातावरण खुल्यो, कुहिरो हट्यो र प्रकट भयो चोलुङको भव्यता ।
लिम्बू भाषामा लुङको अर्थ ढुंगा हुन्छ । मेयर माबुहाङ आफै लिम्बू संस्कृतिका ठूला अध्येता हुन् । उनका अनुसार पुर्खाले ठुल्ठूला विपत्ति र महामारी ढुंगा गाडेर टार्ने गर्थे । न्याय निसाफमा ढुंगाको प्रयोग अनिवार्य थियो । माइतीचेली हाडनाता भएमा पनि ढुंगा गाडेर अर्को नाता दिइन्थ्यो । सोहीकारण लिम्बू समुदायमा ढुंगा केवल एक ढुंगामात्र होइन, आस्था र विश्वास पनि हो ।
स्थानीय सरकारले पछिल्लो आधा दशकयता चोलुङ पार्कमा लगानी थालेको हो । त्यसअघि पनि यहाँ ठुल्ठूला ढुंगा गाडिएका थिए । जसको आफ्नै पौराणिक महत्त्व थियो । यसलाई पर्यटन र आम्दानीसँग जोड्न स्थानीय सरकारले पार्कको अवधारणा ल्याएको मेयर माबुहाङले जानकारी दिए ।
‘जलवायु परिवर्तनसँग जुध्नु छ, संस्कृति जोगाउनु छ, यी सबैको संगम हुन सक्ने ठानेरै हामीले पार्कको अवधारण ल्याएका हौं,’ उनले भने ।
चोलुङ पार्कमा परम्परागत वास्तु शैलीमा घर बनाइएको छ । घरभित्र लिम्बू परम्परा, संस्कृति, मुद्रासहित युमा संग्रहालय निर्माण गरिएको छ । ढुंगाकै फलैँचा र बिसौनीमा यात्रुले थकाइ मार्न सक्छन् । सेल्फी र टिकटकका लागि योभन्दा आकर्षक गन्तव्य अरू हुन सक्दैन ।
झन्डै एक घण्टाको चोलुङ पार्क बसाइबीच हरेक ५/५ मिनेटमा अदलबदल हुने मौसमले सबैभन्दा बढी लोभ्यायो । कतिसम्म भने तस्वीर लिन पोज दिँदादिँदै कुहिरोले ढाकेर अन्धकार बनाएको अनुभव यहाँ गर्न पाइन्छ ।
त्यसो त यस भेगको पहिचान गुराँससँग धेरै छ । गुराँसको राजधानीका रूपमा परिचित ‘टीएमजे’ (तीनजुरे–मिल्के–जलजले) यो भेगको पहिचान हो । कोशी पर्यटन वर्ष उद्घाटन समेत यसै क्षेत्रबाट उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले गरेका थिए ।
यहाँ संरचना निर्माणको काम अझै पनि जारी छ । परम्परागत घर निर्माण भइरहेको छ । पार्क स्थलमै मिनी चिडियाखाना समेत राखिएको छ । जहाँ स्थानीय जनावर संरक्षण गरेर राखिएको छ ।
कंक्रिट र फलाम प्रयोग न्यून गरी बनाइएका संरचनाले यहाँको वातावरणमा हानि गरेको छैन । पर्यटक मनोरञ्जनका लागि घोडसवार सुविधा राखिएको छ । प्रतिव्यक्ति १ सय रुपैयाँ तिरेर यात्रुले घोडामा सवारी गर्न सक्छन् । पार्क छिर्न भने प्रतिव्यक्ति ५० रुपैयाँ तोकिएको छ ।
यहाँ बनाइएका युमा पोखरी, कुवा र धाराले सुन्दरता मात्र बढाएका छैनन्, पर्यावरण संरक्षणमा समेत ठूलो भूमिका खेलेका छन् । सडक यातायात पहुँच भएकाले यहाँ सार्वजनिक यातायात वा निजी यातायातका साधन मार्फत सहजै पुग्न सकिन्छ ।
चोलुङ स्थानीय र आन्तरिक पर्यटकबीच लोकप्रिय बनिसकेको छ । स्थानीय तहको आयोजनामा यहाँ उधौली मेला समेत लाग्ने गरेको छ । लिम्बू समूदायको आस्था र अन्य समुदायका लागि यो स्थल आज आकर्षक पर्यटकीय घुमफिरको केन्द्र बनेको छ । यसले स्थानीय सरकारको आम्दानीमा समेत टेवा पुगेको मेयर माबुहाङले जानकारी दिए ।
उनका अनुसार इष्टदेवी (युमा) ले प्रयोग गरेको तान बुन्ने ठाउँ र धागो अड्याउने खाँबो, जाँतो, ढुंगाका तराजु यहाँ पार्कका मुख्य आकर्षण हुन् । ‘यहाँका हरेक ढुंगामा आस्था छ, यो आस्थाको अर्थ छ,’ उनी भन्छन् ।
२०७४ सालदेखि निर्माण सुरु भएको चोलुङ पार्क १ सय रोपनीभन्दा बढी क्षेत्रमा फैलिएको छ । यहाँ पसाङ्गा भनिने ढुंगाको तराजु छ । लिम्बू विवाह समारोहमा दुलहा र दुलहीलाई तराजुको दुवै छेउमा राखिन्छ । तराजु सन्तुलित भए वा बराबर भएमात्र उनीहरूको विवाह हुने धार्मिक परम्परा छ ।
प्रतिक्रिया 4