
News Summary
Generated by OK AI. Editorially reviewed.- अनुराग कश्यपले आफ्ना फिल्म, मिडिया र कानून सम्बन्धी विचारहरू व्यक्त गरेका छन्।
- उनीले परनिर्भरता, सत्यता र फिल्म भाषा जस्ता विषयमा आफ्नो धारणा व्यक्त गरे।
- उनले प्रधानमन्त्री मोदी र गृहमन्त्री अमित शाह विरुद्ध टिप्पणी गरे।
‘एउटा केटा सधैं इमली झार्ने प्रयासमा हुन्थ्यो । उसको निशाना इमलीभन्दा अलि टाढा पुग्थ्यो। जसलाई देखेर मान्छेहरू हाँस्थे। एक दिन उसले हानेको ढुङ्गा एउटा केटालाई लाग्न पुग्छ । प्राय: त्यस केटोले उसलाई हैरान बनाइरहेको हुन्थ्यो। पछि थाहा भयो, उसले त त्यही केटोलाई ढुङ्गा हान्न अभ्यास गरिरहेको छ ।’
कसैले पनि विद्यालयमा अध्ययनरत विद्यार्थीले यस्तो कथा लेख्ने अपेक्षा गरेका थिएनन्। त्यसैले माथिको कथा छापिएन। त्यसपछि कथाकार विद्यार्थीले कथा लेखे पनि छपाउनका लागि देखाउनै छाडिदिए। उनमा कथा लेख्ने मात्र भोको थियो। अलि ठूलो हुँदा त उनी सरासर ४०/५० पृष्ठसम्म लेख्न सक्थे।
पछि केही कथाहरूबाट उनले नाम कमाए । सीमितबाट दाम पनि कमाए। सिरियल, फिल्महरू लेखे। त्यसपछि उनले एउटा यस्तो नामको फिल्म बनाउन सोचे, जुन नामको फिल्मले सन् २०२० मा ओस्कार जितेको थियो।
फरक यति थियो कि उनले ‘प्यारासाइट’ नाम राख्दा दर्शकले बुझ्दैनन् भन्ने सोचे। त्यसैले नाम फेरेर ‘पाँच’ राखे। तर त्यति हुँदा पनि मान्छेहरूले बुझेनन्। अहिले पनि यो ‘पाँच’ फिल्म सिनेमा हलमा रिलिज भएको छैन ।
इमली टिप्ने केटाको कथा लेख्ने उक्त विद्यार्थीलाई आज सबैले अनुराग कश्यपको नामले चिन्छन्। जसले सुनाएका कथाहरू अझै पनि केही मानिसहरूले बुझ्न सकेका छैनन्। तर यो कुराको परवाह नगरी अनुराग निरन्तर ‘क्यामेरा, लाइट, एक्सन’ भनिरहेका छन्।
उनका हालैका केही किस्सा र त्यसमा उनले जनाएका प्रतिक्रिया यहाँ चर्चा गरिएको छ :
परनिर्भरता
श्रीलाल बचपनदेखि नै अनुराग सँगै रहे। घर सम्हाल्ने, खाना पकाएर खुवाउने सबै काम श्रीलालको जिम्मा थियो। तर लकडाउनमा श्रीलाल आफ्नो घर गए । त्यसपछि अनुरागलाई आत्मनिर्भर हुन धौ–धौ पर्यो। किनकि वर्षौंदेखि उनी परनिर्भर थिए। शुरूका केही महिना ठीकै भए पनि लगातार उही काम गर्दा उनी दिक्क भए ।
‘वर्षौंदेखि श्रीलालको बानी परेको थियो । उनी गएपछि शुरूमा भाँडा माझ्ने, खाना बनाउन थालें। एक-डेढ महिनासम्म ठिक थियो । तर अब म थाकिसकें’ उनी भन्छन्।
मिडियासँग समस्या
उनका फिल्महरूमा दृश्य अर्कै भए पनि पार्श्वमा मिडियाको आवाज आइरहेको हुन्छ। अथवा दृश्यमा पनि बेलाबेला समाचार च्यानलहरूको फिचर भइरहेको हुन्छ। ग्याङ्ग्स अफ वासेपुर, मुक्काबाज, चोक्ड जस्ता फिल्ममा यसको उदाहरण पाइन्छ ।
यसरी अनुराग कश्यपले फिल्ममा मिडियालाई किन निसानामा राख्छन्? यसको उत्तरमा उनी आफ्नो बाल्यकाल सम्झन्छन् । उनका अनुसार सानोमा हामीलाई अखबार पढ भनिए पनि अखबारहरूमा छापिएको धेरै कुरा सत्य हुँदैन ।
‘जसले धेरै विज्ञापन दिन्छ, समाचारलाई पनि उनीहरूले नै नियन्त्रण गरिरहेको हुन्छन्। सम्पादकीय नियन्त्रणमा बस्न नचाहने पत्रकारहरू मिडियाबाटै बाहिर निस्कन्छन्’ उनी भन्छन्, ‘अनि अखबारमा भने एकतर्फी समाचारहरू मात्र आइरहेका छन्। मेरो लागि यो ‘समस्या’ नै हो । अब सत्य खोज्न कहाँ जाने ?’
कानूनको अध्ययन
केही समयअघि अनुराग कश्यपले हिटलरको भाषणको गलत ‘सबटाइटल’ भएको भिडियो एक्स (साविकको ट्विटर)मा सेयर गरेका थिए। त्यसलाई लिएर तत्काल उनको आलोचना हुन थाल्यो। पछि उनले पोस्ट डिलिट गरे।
अनुराग भन्छन्, ‘एक दुई पटक खबर पढेको थिएँ। गल्तीले रिट्विट गरें। पछि थाहा भयो त्यो पनि गलत रहेछ। अहिले गलत खबर चारैतिरबाट आउँछ। प्रोपोगान्डाको जवाफमा पनि प्रोपोगान्डा नै चल्छ। पत्रकारिताको मर्यादा निभाइरहेका केही मात्र मानिस छन्। … मेरो गुनासो यही हो कि जुन कुरा मानेर ठूला भएका थियौं, आज थाहा हुन्छ कि आदर्शको कुनै मूल्य नै छैन।’
त्यस्तै आजकल सत्य बोल्नु नै बहादुरी मानिन थाल्ने अवस्था आएको उनको भनाइ छ। यसका साथै देशको अर्थतन्त्र, समाचार, सरकार, प्रणाली सबै सीमित व्यक्तिको हातमा छ। उनीहरूले विभाजन खोजिरहेका छन्। केहीमा अड्काउन खोजिरहेका छन्। तर त्यस विरुद्ध बोल्न तरिका खोज्नुपर्ने हुन्छ। त्यसका लागि कानून तथा संविधान पढ्नुपर्ने उनको भनाइ छ।
अनुराग कश्यपको पहिलो फिल्म पाँच, ब्ल्याक फ्राइडेदेखि उडता पञ्जाब निर्माण गर्दासम्म अनेकन् लफडा आएको छ। कहिले सेन्सर बोर्ड त कहिले अदालत । त्यस्तोमा अनुरागको कानून अध्ययन धेरै पटक काम पनि आएको छ। त्यसैले फिल्म बनाउनुअघि कानून पढ्ने गरेको उनी सुनाउँछन् ।
‘जुन कुरामा हामी लड्न सक्छौं, फिल्ममा त्यति नै आउने छ। किनकि सिनेमा यति सस्तो माध्यम होइन। पैसा र धेरै मानिसहरू लाग्छन्। यस्तोमा यदि मैले आफ्नो कुरा भन्नु छ भने कानून अन्तर्गत नै भन्नुपर्छ। त्यसैले हाम्रा हरेक फिल्म अदालतसम्म पुग्छन्। अन्त्यमा जितिन्छ तर बाटो सजिलो छैन’, उनी भन्छन्।
‘नायक’ मन नपराउने निर्देशक
चोक्ड फिल्मको सुटिङ हुँदैथियो। स्क्रिप्ट अनुसारको एउटा दृश्य नै सकिएको थियो। तर अन्तिम समयमा आएर त्यो दृश्य हटाइयो। कारण भनेको पात्रले प्रधानमन्त्रीलाई अझ नायक बनाउने संवाद हुनु ।
उक्त प्रसङ्ग व्यक्तिको माइथोलोजी (मिथक)मा आधारित थियो। तर त्यस्ता मिथकहरूका आधारमा कसैलाई ठूलो बनाइने उनी सुनाउँछन्। फिल्मको उक्त दृश्यमा अनुराग भन्छन्, ‘हामीले मिथककै वरिपरि त्यो दृश्य बुनेका थियौं। फिल्मकी पात्र सरिता (सयामी खेर) लाई गीत गाउने मात्र सोख थियो। तर उसले राजनीतिक कुरा गर्दा त्यहाँ पात्र नसुनिएर म सुनिरहेको थिएँ।’
त्यस्तै फिल्मका लागि इमानदार रहनु पनि धेरै महत्त्वपूर्ण छ। जसमा आफ्नो कथालाई छेउमा राखेर फिल्म भन्नु छ। थपमा उनी भन्छन्, ‘कटाक्ष गर्नु छ भने त्यो म ट्विटरमा गर्छु र फिल्महरूमा पनि ल्याउन सक्छु। खतरनाकभन्दा खतरनाक कटाक्ष गर्न सक्छु। हामी वृत्तचित्र बनाइरहेका छैनौं। यो एउटा पात्रको कथा हो। र जति छ, त्यति नै भन्नेछौं।’
फिल्मका भाषा
अनुरागका फिल्मका भाषा केही जटिल हुन्छन्— चाहे दृश्य होउन् या संवाद। जसलाई सामान्य अरू फिल्म जसरी सरल पनि बनाउन सकिन्थ्यो। तर यो कुरामा अनुराग तर्क गर्छन्।
स्पष्ट कथा नभन्दा फिल्मलाई घाटा लाग्दैन र? अनुराग भन्छन्, ‘अवश्य घाटा लाग्छ। तर यदि सबै कुरा सोझै बोलें भने त्यो फिल्म होइन भाषण हुन्छ। म भाषण दिन चाहन्नँ।’
समयको परिवर्तनसँगै भाषणको मूल्य समाप्त हुने तर फिल्मको भाषा युगौं बाँच्ने उनी विश्वास गर्छन्। अनि उनी सोच्न बाध्य पार्ने फिल्म बनाउँछन्। जब मान्छेले आफैं सोच्न थाल्छ, तब मात्र ऊ वयस्क हुने धारणा राख्छन्।
प्रधानमन्त्री मोदीप्रति कम अनुराग
पछिल्लो केही समययता अनुराग कश्यपले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाह विरुद्ध धेरै ट्वीट गरिरहेका छन्। विशेषत: सरकारका कदमलाई लिएर उनले टिप्पणी गर्ने गरेका छन् ।
झट्ट सुन्दा ती ट्वीट अभद्र नै लाग्न सक्छन्। यस कुराको बोध भए पनि उनी आफ्ना ट्वीटहरूलाई लिएर ग्लानि महसुस गर्दैनन्। बरु सत्य कुरा धेरैलाई गाली लागेको बताउँछन्। ‘मैले जनावर त भनें तर गाली प्रयोग गरेको छैन । तर जवाफमा गाली गर्नेहरूले मैले यस्तो भाषाको प्रयोग गर्नुहुँदैन भनेर भन्छन्।’
यी तेस्रो अनुराग कश्यप…
एउटै व्यक्ति तर फरक-फरक अवतार । यो कुरा ठ्याक्कै अनुरागसँग मिल्छ । उनी फिल्म निर्माता हुन् । एक्सनमा सक्रिय व्यक्ति हुन् । अझै उनको अर्को अवतार पनि छ– टिकटकर।
टिकटकमा उनी फिल्म, राजनीतिबाट टाढा रहेर छोरी आलियासँग भिडियोमा देखिन्छन्। त्यसमा उनको एउटै टिप्पणी छ- ती भिडियोहरूमा जो देखिन्छ, त्यो अनुराग कश्यप होइन, त्यो एक बुवा हो।
‘हरेक मानिसको एउटा कमजोरी हुन्छ। मलाई मेरी छोरीले मबाट जे पनि गराउन सक्छिन्। त्यो मेरो कमजोरी हो’, उनी भन्छन्। त्यसैले उनका प्रशंसकले तेस्रो अनुराग कश्यप पाएका छन्।
प्रतिक्रिया 4