
News Summary
Generated by OK AI. Editorially reviewed.- भक्तपुर मालपोत कार्यालयमा घुस र भ्रष्टाचारको विषयमा घटनाक्रम र सेवाग्राहीको अनुभव वर्णन गरिएको छ।
- लेखकले सरकारी कर्मचारी र सेवाग्राही बीचको सेटिंग र भ्रष्ट संस्कृतिलाई नमान्ने आवश्यकतालाई जोड दिएका छन्।
- सार्वजनिक सेवामा सुधार र भ्रष्टाचार विरुद्ध जनचेतना आवश्यक रहेको निष्कर्ष निकालिएको छ।
केही अगाडि जग्गा नामसारीको काम लिएर भक्तपुर मालपोत कार्यालय गएका थियौं । बेच्नेतर्फका मानिसले लेखनदासलाई सबै थोक भनेर मिलाइसकेका थिए । लिखत तयार भइसकेको थियो । किनबेच कर्ता चिन्ने, लिखतमा ल्याप्चे लगाउने, सही गर्ने काम खाजा खाने समय अगाडि नै सकिएपछि जग्गा बिक्री गर्ने मानिस गए । उनी सरकारी मान्छे नै भएकोले हतारिंदै हिंडिहाले ।
अब लालपुर्जा बन्न, जग्गा किन्नेको फोटो टाँस्न र पुर्जामा सही हुने कामहरू बाँकी रहे । खाजा खाने समय (१:३०) शुरु भयो । खाजा खाने समय सकिनासाथ काम हुने र ३ बजे भित्रैमा घर फर्किन पाउने भइयो भन्ने हाम्रो अनुमान थियो । मालपोत कार्यालयमा सोचेभन्दा अगाडि नै काम हुने जस्तो देखिएकोले हामी तुलनात्मक रूपमा केही छक्क र केही खुशी थियौं ।
खाजा समयपछि (२:३०) मै ‘म काम सकेर हजुरहरूलाई बोलाउँछु है’ भनेर गएका लेखनदासको १ घण्टा भइसक्दा पनि कुनै अत्तोपत्तो नै थिएन । ३:३० कै हाराहारीमा लेखनदास अत्तालिंदै हामी भएको ठाउँमा आए र भन्न लागे, “खाजा खाने पैसा नदिइकन काम गर्दैनन् रे! केही पैसा दिनै पर्यो हजुर!”
‘कति पैसा दिनु पर्ने रे त?’ मैले बुझ्न खोजे जस्तो गरें । उनले त्यस्तै ४/५ हजार जति भए हुन्छ सर भने ।
मैले अलि रिसाएको आवाजमा भनें, ‘जानुहोस्, उनीहरूलाई खाजा खान पुग्ने पैसा नेपाल सरकारले दिएको छैन रे भनेर सोधेर आउनुहोस् ।’ हस् भनेर केही अँध्यारो अनुहार पार्दै ती लेखनदास गए । त्यसपछि आधा घण्टासम्म पनि उनि फर्किएनन् । आज अब हाम्रो काम हुँदैन भनेर हाम्रो मनमा चिसो पसिसकेको थियो । तर म भने काम ढिला भएछ भने केही छैन, अर्को दिन हुन्छ, तर घुस चाहिं कुनै हालतमा खुवाउनुहुँदैन भन्नेमा प्रस्ट थिएँ ।
संसारभर सरकारी तलब सुविधा अन्य क्षेत्रको कमाइभन्दा कम नै हुन्छ । त्यसैले सरकारी जागिर खाने भनेको सेवा गर्न र जनताका आधारभूत कामहरू गरिदिन आउने क्षेत्र हो । सरकारी जागिर खानेले धेरै सुविधासम्पन्न जिन्दगी बिताउन सक्दैन । तलब र सेवा-सुविधा कम हुन्छ भन्ने कुरा जागिर शुरु गर्नुभन्दा अगाडि नै उम्मेदवारलाई थाहा भइसकेको हुन्छ । फेरि पनि घुस र भ्रष्टाचारमा लाग्नु भनेको देश र समाजलाई धोका दिनु हो । गरिब र निमुखाको जीवनमा विष घोल्नुसरह हो । सबै सरकारी जागिरेले मात्र होइन कि हामी आम जनताले पनि यो कुरा थाहा पाउनुपर्छ । अनि मात्र हामी ठिक ठाउँमा सही तरिकाले बोल्न सक्छौं ।
चार बजेतिर ती लेखनदास फेरि उस्तै निहुरिएको शिर लिएर आए । हामीले ‘के भयो’ भन्यौं । ‘हजुरहरूको काम आज हुँदैन । काम गर्न आज भ्याउँदैनन् रे! अर्को हप्तातिर आउनु रे!’ अनि अघिसम्म ४/५ हजार पैसा पाए भने आजै हुन्छ भनेका होइनन् र ? मैले झिनो आशाका साथ सोधें । यहाँ यस्तै छ सर । उनले उस्तै नरम स्वरमा भने ।
जानकारहरूले भनेको मान्ने हो भने कार्यालयका कर्मचारीभन्दा बढी सेटिंग त यस्तै लेखापढी खाले मानिसले गर्छन् रे! भर्खरै भक्तपुरमा मालपोतमा लगभग ८ महिना लगाएर जग्गा बाँडफाँडको काम सकेका मेरा नजिकका साथीले भने अनुसार लेखापढी व्यवसायीले उनीसँग काम गर्न कर्मचारीले ५० हजार रुपैयाँ मागेका छन् भनेछन् । आफैं गएर काम गर्न खोज्नुभयो भने तपाइँको काम सकिन महिनौं लाग्छ वा हुँदैहुँदैन आदि आदि पनि भनेछन् ।
मेरो साथीलाई शंका लागेछ । मैले त सबै कागज पुर्याएर आएको छु त? त्यस्तो के भएछ त भनेर ती कर्मचारीलाई गएर सोद्धा त ती कर्मचारीले तपाइँको कामको लागि मैले १ रुपैयाँ पनि मागेको छैन भनेर तुरुन्तै काम गरेर पठाइदिएछन् । त्यसैले त भनिन्छ, सानो सानो कुरामा हतारिने र थोरै समय पनि कुर्न नसक्ने हामी सेवाग्राहीले नै अनावश्यक मध्यस्तकर्ताको निर्माण गरेका छौं र कर्मचारीलाई पनि घुस खान झन् हौस्याएका छौं । त्यसो त सबै लेखापढी गर्ने मानिस पनि खराब नै हुन्छन् भन्ने छैन तर धेरैले सेवाग्राही र सरकारी कर्मचारी बीचमा बसेर सेटिंग गर्ने र घुस परम्परालाई निरन्तरता दिनमा योगदान दिइराखेको भन्ने सेवाग्राहीको गुनासो छ, जुन आफैंमा सत्य कुरा हो ।
‘खाजा खाने पैसा’ वा ‘चिया खाने पैसा’ खाले भ्रष्ट संस्कृतिलाई नमान्ने केही कर्मचारीलाई यस्ता कार्यालयमा आफ्नै सहकर्मीबाट हेलाहोचो गरेका विषय पनि सुन्न पाइन्छन् । धेरै जस्तो अवस्थामा घुसखाने कर्मचारी भन्दा इमानदार कर्मचारीले समाज, सहकर्मी र माथिल्ला हाकिमबाट समेत असहयोग र हेपाइ भोग्नु परिराखेको हुन्छ । त्यस्ता इमानदार कर्मचारीलाई ‘काम गर्न नसक्ने’ वा ‘पानी नपार्ने बादल’को संज्ञा दिइने र थन्क्याउने जस्तो गरेर कम महत्वपूर्ण ( उनीहरूको परिभाषामा) र सेवाग्राहीसँग प्रत्यक्ष व्यवहार गर्नुपर्ने काम दिइने गरिन्छ ।
सरुवा पनि मालदार (मालपोत जस्ता बढी पैसा झर्ने) कार्यालयमा हुँदैन । तर इमानदार कर्मचारीलाई सबैखाले कार्यालय एक जस्तै हुने नै भयो । केही सरकारी नै कर्मचारीको भनाइलाई मान्ने हो भने मालपोतमा आउने लगभग सबै कर्मचारीले आफैंले घुस खुवाएर वा फोर्स लगाएर त्यहाँ आइपुग्ने हुन् । अनि लगानी गरेर आएकाले त्यसको प्रतिफल खोज्नु स्वाभाविक नै भयो ।
फेरि हाम्रो कामतिरै फर्कौं । हाम्रा लेखापढी साथी हाम्रो काम नभएकोमा दु:खी भएका हुन् वा हाकिमले किन ग्राहकसँग राम्रोसँग ‘डिल’ गर्न सकिनस् भनेर हकारेकोमा चिन्तित भएका हुन् वा आफ्नो पनि कमाइ गुम्यो भनेर खिन्न भएका हुन्, हामीले भेउ पाउन सकेनौं । के चाहिं प्रस्ट भइसकेको थियो भने घुस नखुवाइकन उनी मार्फत काम नहुने रहेछ।
मैले उनलाई अहिलेसम्मको सहयोगको लागि धन्यवाद दिएँ । उनले पारिश्रमिक पहिले नै पाइसकेका थिए । बाँकी काम अब म आफैं गर्छु भनेर उनलाई बिदाइ गरें । जुन हाकिमले काम रोकेका थिए वा जुन हाकिमको मुखारवृन्दबाट यो काम अगाडि बढाइदेओ भनेर भन्नुपर्ने थियो, हो सरासर म उनै भएको ठाउँमा गएँ । अन्दाजी ५० वर्षका ती अधिकृत हँसिला र व्यक्तित्वशाली देखिन्थे । मैले नमस्कार गर्दै कुरा गर्न खोजें । तर हाकिमले मेरो कुरा सुन्ने कुनै चाहना नै गरेनन्, न मैले बोलेको सुने नै । त्यसपछि मैले अलि ठूलो स्वरमा लालपुर्जामा सही गरिदिन अनुरोध गरें ।
उनले आफू अर्को काम गर्न लागेकोले पर्खन भने । उनले सही मात्रै गर्नुपर्ने काम भन्ने थाहा पाएपछि पछि हामी त्यही अघिको ‘पैसा नदिने सुख्खा पाटी’ भन्ने बुझिसकेका थिए । मैले अलि ठूलो स्वरमा ‘एउटा सही गर्न दिनभरि पर्खनुपर्ने हो ?’ भनें । ‘ठिक छ, अरू कति समय लाग्ने हो, प्रस्ट बताउनु, म त्यसपछि आउँछु’ मैले भनें ।
उनले बिना कारण रिसाउँदै, “तिम्रो काम आज हुँदैन, अर्को हप्तातिर आउनु त्यतिखेर गरौंला” भने । त्यसपछि भने मेरो पनि रिसको पारो अलि बढ्यो । सरकारी कार्यालयका कर्मचारीले आफूसँग जसरी बोल्छन् त्यसरी नै आफू पनि बोल्ने रवैया कायम गर्दै मैले उनलाई उनको भन्दा अझ ठूलो स्वरमा चिच्याएँ ।
(हामी जनताले नै त हो हाम्रा यस्ता-यस्ता काम गरिदेओ, तिमीहरूको तलबको प्रबन्ध हामी गरिदिन्छौं भनेर उनीहरूलाई त्यहाँ पठाएको ! तलब खानेले ‘तिमी’ भनेर सम्बोधन गरेपछि हामी तलबको प्रबन्ध गरिदिनेले ‘तपाईं’ भनेर किन सम्बोधन गर्नुपर्यो ? मलाई त्यस्तै लाग्यो र मैले पनि उनलाई ‘तिमी’ नै भनें ।)
‘ए साथी! तिमीलाई एउटा लाल पुर्जामा सही गर्न एक हप्ता लाग्छ ? लोकसेवा पास गरेर आएका होइनौ र ? कि घुस ख्वाएर पास भयौ ? सिधै भन न, तैंले पैसा दिइनस्, तेरो काम गर्दिनँ भनेर।’ मैले त्यो लालपुर्जा उनको हातमै राखिदिंदै भने, ‘हाकिम साहेब, यो पुर्जा तिमी नै राख, अहिल्यै हामीलाई यसको काम पनि छैन । सम्पत्ति हाम्रो हुँदै हो ।
लालपुर्जा बरु तिमी नै सिरानी हालेर सुत । तर एउटा कुरा बुझ, अब म यो पुर्जा लिन तिम्रो अफिस आउँदिनँ । एक महिनापछि भए पनि तिमीसँग यो पुर्जा अर्को कुनै कार्यालयमा लिउँला । सही गर्ने समय त रहेनछ तिमीसँग, तर यति कुरा लेखेर राख्ने समय निकाल कि तिमीले आजै यो पुर्जा तयार गरिदिन्छौ कि तिमीलाई भेट्न म अरू नै ठूला-ठूला कार्यालय आउनेछु तर यो पुर्जा लिन यो कार्यालय चाहिं आउने छैन ।’
त्यति भनेर म बाहिर निस्कें । अलिपर पुगेपछि एउटा मानिस दौड्दै म भएको ठाउँमा आइपुग्यो र एक पटक फर्कन भन्यो । म त्यहाँ पुग्दा ती हाकिमको लवज पनि नम्र र केही डराएको जस्तो थियो । उनले हाकिमगिरी देखाएनन् । मलाई विस्तारै भने, सर उता अर्को कोठामा जानुहोस्, त्यहाँ हजुरकै थरको भाइ छ । उसले मेडमको पुर्जामा आवश्यक कामकारबाही गरिदिन्छ र फोटो पनि टाँसिदिन्छ ।
अनि त्यसको केही मिनेटमै काम सकिन्छ । म त्यतै गएँ । सबैले डराएर हो वा किन हो सम्मानका साथ व्यवहार गरे । ओली थर भएका युवा कर्मचारीले तुरुन्तै लालपुर्जामा जे-जसो गर्नुपर्ने हो सबै गरिदिए, फोटो पनि टाँसिदिए । त्यसपछि ती हाकिमले पनि हाम्रो काम सकिएकोमा खुसी हुँदै सही गरिदिए । हाम्रो काम सकिएकोमा हामीभन्दा उनी बढी खुसी भएको झैं देखिए । हामीलाई बधाई पनि दिए । जेहोस् हाम्रो काम तुरुन्तै सकियो ।
सबै नागरिकले यो पछाडिको एपिसोड जस्तै सम्मानपूर्ण व्यवहार र छिटोछरितो सेवा पाउनुपर्ने होइन र ?
त्यसो त भक्तपुरका तीनवटै जमिन सम्बन्धी कार्यालयहरू (भूमिसुधार, नापी विभाग र मालपोत) ले मिलेर नै शिकारका लागि धराप थापेका हुन्छन् । प्राय:जसो सबै सेवाग्राही त्यो जालमा गएर नराम्ररी फस्छन् । कसैलाई प्रमाण चाहिएमा सम्पर्क गर्नुहोला । त्यसो त काठमाडौं होस् वा ललितपुर तिनै जिल्ला भनौं वा ७७ जिल्ला नै भनौं सबैतिर यी तीन वटा कार्यालयको रग-रगी उस्तै छ । सरकारले चाहने हो भने १/२ महिनाभित्रमै यी कार्यालयलाई पूर्ण रूपमा कम्प्युटरमा आधारित र स्वचालित बनाउन सक्छ ।
अत्यावश्यक भौतिक कागजातको लागि पनि टेम्प्लेट वा रेडिमेड फर्म बनाउन सक्छ । लिखतको टेम्प्लेट मात्रै बनाइदिने हो भने बीचको ‘मिडलम्यानको’ जरुरत लगभग ६० प्रतिशत घट्छ । त्यसो त हाल भक्तपुर मालपोतको हाकिमको कुर्सीमा आसीन व्यक्तित्वलाई पनि आवश्यक पर्ने सबै कागजातको टेम्प्लेट वा रेडिमेड फर्म बनाउन अनुरोध गरिएको थियो ८/९ महिना अगाडि नै तर फुर्सद भए पो ! त्यसमाथि सरकार चलाउने ठूला-बडालाई त ठूला-ठूला काण्डमै फुर्सद छैन । जनताका यस्ता सानातिना समस्यामा कताबाट आँखा पर्नु ?
मलाई लाग्छ, तामाकोशीमा धेरै पानी बगिसकेको छ (बागमतीमा पानीभन्दा अन्य पदार्थ बढी बग्ने भएकोले तामाकोशीको उदाहरण दिनु परेको हो), त्यसैले अब नेपाली जनताले अन्याय र घुसलाई सहन गर्ने छैनन् । विस्तारै जनताको आँखा खुल्दैछ । बरु काम ढिला होस् वा नहोस् नै किन, जबसम्म हामी घुस दिन छोड्दैनौं, तबसम्म हाम्रो सरकारी सेवा बदलिने छैन, समाज बदलिने छैन, ‘भिजिट भिसा’का प्रणेताहरूलाई मालपोतको भिसा लगाउन लक्ष्मीको प्रसाद चढाउने कर्मचारीको कमी हुने छैन । जय नेपालको सार्वजनिक सेवा !
प्रतिक्रिया 4