
News Summary
Generated by OK AI. Editorially reviewed.- ईश्वरवल्लभ नेपाली साहित्यका समर्थ कवि र तेस्रो आयामका तीन हस्तीमध्ये एक थिए उनले \'आगोका फूलहरू हुन्, आगोका फूलहरू होइनन्\' कविता सङ्ग्रहका लागि मदन पुरस्कार प्राप्त गरे।
- उनले सन् १९५६ तिर गीत लेखन सुरु गरेका थिए र उनका गीतहरू नारायण गोपाल, दीप श्रेष्ठ, तारा देवी लगायतका स्वनामधन्य गायकहरूले गाएका छन्।
ईश्वरवल्लभ नेपाली वाङ्मयका एक समर्थ कवि थिए। नेपाली साहित्यका महत्त्वपूर्ण साहित्यिक आन्दोलन तेस्रो आयामका तीन हस्तीमध्ये एक थिए। ‘आगोका फूलहरू हुन्, आगोका फूलहरू होइनन्’ कविता सङ्ग्रहका लागि मदन पुरस्कार प्राप्त गर्न सफल कवि ईश्वरवल्लभ नबुझिने कविका रूपमा चर्चित थिए ।
हुनत नेपाली साहित्यका लौह समालोचक मानिने कृष्णचन्द्रसिंह प्रधानले कवि तथा गीतकार भीम विरागलाई ‘कवितामा भीम गीतमा विराग’ भन्ने उपमा दिएका थिए । ईश्वरवल्लभलाई यस्तो उपमा कसैले न दिए पनि खासमा ‘कवितामा कठिन र गीतमा सरल’ थिए ईश्वरवल्लभ ।
ईश्वरवल्लभले सन् १९५६ तिरै गीत लेखन आरम्भ गरेका हुन् । उनको पहिलो गीत ‘हेर जूनले भन्यो…’ त्यसै समयमा रेकर्ड भएको थियो अम्बर गुरुङको सङ्गीतमा ।
ईश्वरवल्लभले कैयन् कालजयी गीत लेखेका छन् । नारायण गोपाल, दीप श्रेष्ठ, तारा देवी, भक्तराज आचार्य, बुलु मुकारुङ जस्ता स्वनामधन्य गायकहरूका सुमधुर गायकीमा सजिएका उनका गीतहरूलाई गोपाल योन्जन, दीप श्रेष्ठ, नातिकाजी लगायत शीर्षस्थ सङ्गीतकारहरूले सङ्गीत दिएका थिए ।
रेडियोको जमानामा ईश्वरवल्लभका कर्णप्रिय गीतहरू मानिसका ओठ–ओठमा उदाउँथे । उनका गीतका श्रोताहरूलाई कठिन कविताका सर्जक हुन् भन्ने कहिल्यै बोध हुन पाएन । उनको गीतको पाटो बेग्लै थियो, कविताको बाटो बेग्लै थियो। उनले कथा पनि लेखे । उनको एक कथा सङ्ग्रह पनि प्रकाशित छ- नीलो माटो। उनले महाकाव्यमा उपन्यास लेख्दैछु भने । लेखे–लेखेनन् थाहा भएन। उनले ‘भगुवा’ शीर्षकको उपन्यास लेख्दै गरेको बताए, तर त्यो पनि लेखे–नलेखेको थाहा भएन ।
म यस्तो कथा लेख्दैछु, म यस्तो उपन्यास लेख्दैछु भनेर कथा र उपन्यासको प्लट सुनाउने नम्बर वान लेखक हुन् विजय मल्ल । मलाई मात्र होइन कतिलाई न्यूरोडमा आएर चुरोटको धूवाँ आकाशतिर उडाउँदै कथाको प्लट स्वाद लिई–लिई बताउन र घण्टौं नयाँसडकमा हात समाएर चक्कर काट्नु विजय मल्लको अनियमितकालीन नियमितता थियो। तर ईश्वरवल्लभ भने त्यसो होइन, सिधै भनिदिने। कुराकानीको क्रममा होस् कि अन्तर्वार्तामा !
नारायणगोपालले आफ्ना गीत पछिल्लो चरणमा वास्ता गर्न छाडेपछि र कालीप्रसाद रिजालका गीतहरू हिट हुन थालेपछि ईश्वरवल्लभले ‘राम्रो विज्ञापन दिने ठाउँको हाकिम नभएकोले नारायणगोपालले आफ्ना गीत नगाएको’ उनको गुनासो सुनिन्थ्यो । कारण, नारायणगोपाल ‘बागिना’ पत्रिका निकाल्थे र कालीप्रसाद रिजालले सूचना विभागबाट त्यो पत्रिकालाई सहयोग गरेबापत नारायणगोपालले गीत गाएको उनको बुझाइ थियो, सत्य–तथ्य जे भए पनि ।
ईश्वरवल्लभका गीतहरू लोकप्रिय र कर्णप्रिय हुँदाहुँदै पनि र जनजीवनमा व्याप्त भए पनि, स्वनामधन्य गायकको गलाबाट गाइए पनि, स्वनामधन्य सङ्गीतकारहरूले सङ्गीत रचनामा प्रस्तुत गरे पनि र सङ्ख्यामा सयौं भए पनि किन पुस्तक निस्केन, त्यो भने विचित्र देखिन्छ। उनका कविताका पुस्तकहरू ‘नबुझिने’ लेवल लागे पनि विभिन्न प्रकाशनले प्रकाशन गरिरहे। कथा सङ्ग्रह प्रकाशन गर्न तयार देखिए। उनका समालोचनात्मक पुस्तक, साहित्यिक कोलमका रूपमा लेखिएका निबन्धात्मक अभिव्यक्तिका पुस्तक प्रकाशित भए पनि सयौंको सङ्ख्याका गीतहरू भने छरपस्ट नै रहे। पुस्तकाकारमा देखा परेका छैनन्।
आफ्नो गीत लेखन यात्राबारे ईश्वरवल्लभले श्रीरामसिंह बस्नेत र सुभाषचन्द्र पौड्यालको अन्तरवार्ता पुस्तक ‘त्रिवेणीका लहरहरू’ (विसं २०४४) मा यस्तो बताएका छन्— “मैले गीत लेख्न त्यस्तै सन् १९५६-५७ देखि थालेको हुँ। वास्तवमा मेरो गीत लेखन अम्बर गुरुङसँग भेटघाट भएपछि सुरु भएको हो। सन् १९५६ तिरै अम्बरको स्वर र सङ्गीतमा ‘हेर जूनले भन्यो’… भन्ने गीत पहिलो पटक रेकर्ड भएको हो। त्यस्तै अढाइ सय तीन सय जति गीतहरू लेखिसकें। त्यसमा पचास वटा जति रेकर्ड भइसकेका छन्।” (पेज १३)
उनले त्यसै बेला अन्तरवार्ताको क्रममा बताएका थिए— “गीतिसङ्ग्रह छाप्ने प्रयत्न गर्दैछु। कुनै योजना पाए केही गर्ने थिएँ। हामीसँग पैसा हुँदैन। योजनासँग पैसा संलग्न हुन्छ अनि केही गर्न सकिन्छ नि!” (पेज १७)
यसै सन्दर्भमा उनले आफूले गीत लेखेर ठूलो भूल गरेको, धेरैले गीत मागेर लिएर गएको तर तिनले आफूलाई मन पर्ने गीतहरू हटाइदिएको, फ्याँकिदिएको, आफूसँग ती गीतका प्रतिलिपि नभएको, ती गीतहरू अम्बर गुरुङ, गोपाल योञ्जन, शिवशङ्कर, नातिकाजी, तारादेवीसँग रहेको गुनासो गरेका थिए। उनले रेडियो नेपालसँग पनि धेरै गीत रहेको तर त्यहाँ पनि सुरक्षित नभएकोमा आक्रोश व्यक्त गरेका थिए।
आफ्नो जीवनकालको सिर्जनशील समयमै ‘त्रिवेणीका लहरहरू’ २०३७ सालमा अन्तर्वार्ता दिंदा गीतको पुस्तक छाप्न प्रयत्नरत रहेका वल्लभले आफ्नो जीवनकालमा गीत संग्रह प्रकाशित भएको देख्न पाएनन्। उनको २०६४ साल चैत ९ गते देहान्त भयो। उनको देहान्त भएको पनि १८ वर्ष बितिसकेको छ, तर उनका गीतहरू किताबका रूपमा पाठकले देख्ने अवसर पाएका छैनन्।
त्यसो त उनको गीतकार व्यक्तित्वको विशद चर्चा र अध्ययन–अनुसन्धान समेत भए–गरेको खासै देखिएको छैन। हुनत नेपाली साहित्यका प्रख्यात कविहरूको गीतकार व्यक्तित्व ओझेलमा परेका घटना नौलो होइनन्। थोरै तर उम्दा गीत लेख्ने कविहरू कृष्णप्रसाद पराजुली, शिव अधिकारी, नीरविक्रम प्यासी, वानीरा गिरी, भूपि शेरचन लगायत कविहरूका गीति व्यक्तित्व ओझेलमा नै परेका छन्। त्यो ओझेलमा ईश्वरवल्लभ पनि छन्। तर सङ्ख्या, लोकप्रियताको हिसाबले ईश्वरवल्लभ ओझेलमा पर्नु नेपाली गीति जगतका लागि दुर्भाग्य नै मान्नुपर्छ।
हालै प्रकाशित ‘जगदम्बा नेपाली साहित्यको इतिहास’ (विसं २०८०) को चौथो ठेलीमा ‘नेपाली आधुनिक गीतको इतिहास’ लेख्ने क्रममा डा. बेनी जङ्गम रावलले आधुनिक नेपाली गीतको तेस्रो चरण (विसं २०२०-२०४०) खण्डमा २० गीतकारहरूको बारेमा लेखेकी छिन्। ती २० गीतकारहरूमा माधव घिमिरे, म.वी.वी. शाह, तारिणीप्रसाद कोइराला, छिन्नलता, शंकर लामिछाने, लक्ष्मण लोहनी, भूपि शेरचन, हरिभक्त कटुवाल, रत्नशमशेर थापा, किरण खरेल, रवीन्द्र शाह, कालीप्रसाद रिजाल, राममान तृषित, यादव खरेल, क्षेत्रप्रताप अधिकारी, जी.शाह, चाँदनी शाह, राजेन्द्र थापा, कृष्णहरि बराल तथा दिनेश अधिकारी रहेका छन्।
यी गीतकारहरूको सूचीमा ईश्वरवल्लभ नअटाउनुपर्ने कुनै कारण देखिन्न। त्यसो त नगेन्द्र थापा, भैरवनाथ रिमाल कदम, क्षेत्रप्रताप अधिकारीहरू पनि नअटाउनुपर्ने नाम होइनन्। तर अहिलेको सन्दर्भ ईश्वरवल्लभको हो, जसका गीत नेपालका प्राय: सबै स्वनामधन्य गायकको गलाबाट गाइए पनि, स्वनामधन्य संगीतकारहरूबाट संगीत सिर्जना गरिए पनि किन छुटे भन्ने प्रश्न हो।
त्यसो त लेखिका डा. बेनी जङ्गम रावलले रेडियो नेपालका गीतकारहरू (२०२०-२०४०) अन्तर्गत सयौं गीतकारका नामको सूची दिएकी छिन्, जसमा ईश्वरवल्लभको नाम पनि समावेश छ। तर उनी यी सयौंको सूचीमा होइन त्यो २० जनाको सूचीमा हुनुपर्ने हैसियतका गीतकार हुन्।
बरू भाउपन्थीले ‘कविताकोश’ (विसं २०६०) मा ईश्वरवल्लभको गीतकार व्यक्तित्वको विषयमा यस्तो उल्लेख गरेका छन्– “कविता बाहेक उनले गीतहरूको रचना पनि गरेका छन्। गीतमा उनको कवि व्यक्तित्वको प्रभाव पाइन्छ र ती गीतहरू गीति कविताका रूपमा सृजित भएका छन्। उनका गीतहरू श्रव्य माध्यमबाट प्रसार हुने गरेका छन्।” (पेज-१७)
दृष्टान्तका लागि ईश्वरवल्लभका केही गीतांश:
१, नारायणगोपालको स्वरमा
दुइटा फूल देउरालीमा, साथै राख्यौं जस्तो लाग्छ
कतै टाढा जाँदाखेरी, सँगै हिंड्यौं जस्तो लाग्छ।
(संगीत नारायणगोपाल)
मलाई जिन्दगी यो लाग्दछ, तिमी भन्दछौ यो पीर हो
जे छन् ती सबै व्यस्त छन्, तिमी भन्दछौ यो प्यार हो
(सङ्गीतः गोपाल योन्जन)
मेरो बेहोसी आज मेरो लागि पर्दा भो
छोपिए पीर सबै दुःख सबै पर्दा भो
(सङ्गीतः नारायणगोपाल)
यो कस्तो व्यथा हो, लिएर मनमा हिंडिरहेछु
यी भत्किरहेका पाइलाहरूलाई सोधें के भो भनेर, केही होइन भन्छन्
यी चर्किरहेका भित्ताहरूलाई सोधें के भो भनेर, केही होइन भन्छन्
(सङ्गीतः नारायणगोपाल)
२, भक्तराज आचार्यको स्वरमा
हजार सपनाहरूको माया लागेर आउँछ
बाँच्ने रहर जस्तो फेरि भएर आउँछ
(सङ्गीतः भक्तराज आचार्य)
३, दीप श्रेष्ठको स्वरमा
पहाडको उकालीलाई मैले माया गरे जस्तो
सुनाखरी फुलिदिन्छ मैले गीत भरे जस्तो
(सङ्गीतः दीप श्रेष्ठ)
४, रविन शर्मा
जिन्दगीको के कुरा यो सपना हो र के कुरा
तिम्रो रुपको पनि के कुरा, मेरो गीतको पनि के कुरा
(सङ्गीतः अम्बर गुरुङ)
५, तारादेवीको स्वरमा
कति टाढा खोलाको किनार
कति टाढा सपना मेरा
बगर मात्रै बाटोमा पर्छन्
कति टाढा जीवन मेरा
(नारायणगोपाल)
६, योगेश वैद्यको स्वरमा
बोलाउन त बोलाएँ नै तिमी कहाँ थियौ
जाँदा जाँदै बाटो बीच एक्लै मोडी गयौ
(सङ्गीतः नातिकाजी)
७, सुरजकुमार थापाको स्वरमा
तिमीलाई हरेक पानीमा पग्लेको देखेको छु
तिम्रो कहानी भनेर जीवन लेखेको छु
(सङ्गीतः शान्ति ठटाल)
८, यम बरालको स्वरमा
निरमायाको सम्झना नदी जस्तो लाग्छ
किनारहरू छोडी एक्लै कहाँ कहाँ भाग्छ
(सङ्गीतः बुलु मुकारुङ)
यी गीतांश नै ईश्वरवल्लभका गीतको उचाइ, गहिराइ र लोकप्रियता मापनका लागि यथेष्ट दृष्टान्तको रूपमा लिन सकिन्छ। त्यसो त उनका सयौं गीतको चर्चा–परिचर्चा गर्न सकिन्छ, जुन अहिलेको मेरो उद्देश्य होइन। उनका गीतको व्याख्या विश्लेषणले व्यापक आयतन र सूक्ष्मातिसूक्ष्म मूल्याङ्कन खोज्छ। तथापि उनका गीत काव्यमय, लाक्षणिक तथा जन–जनका मन–मनमा घुलमिल हुने र लामो समयसम्म मनभित्रै बास बस्ने प्रकृति र स्वभावका छन्। यिनमा नेपाली माटो, नेपाली मन, नेपालीपन सहितको प्यार, व्यथा, पीडा, मर्म सबै केन्द्रीकृत भएको सहजै महसुस गर्न जो–कोहीले सक्छ, साधारणजन हुन् वा असाधारण विद्वत्जन। यति चाहिं सङ्क्षिप्त शब्दमा भन्न सकिन्छ।
ईश्वरवल्लभ भन्ने गर्थे, “कविता नस्याहारिएको बगैंचामा पनि फुलेका सिउरिन मन लाग्ने फूल हुन्, गीत स्याहारिएको बगैंचाको संयोजित फूल हो।” यस्ता महान् गीतकारका गीतहरू सङ्कलन हुन, पुस्तकाकारमा आउन र नेपाली गीतभण्डारका यी अमूल्य रत्नहरूलाई संरक्षणको जरूरी छ।
भर्जिनिया, अमेरिका
प्रतिक्रिया 4