+
+
Shares
व्यक्तिवृत्त :

भोजपुरीका ‘शेक्सपियर’ भिखारी ठाकुर, कहिल्यै विद्यालय गएनन् तर लेखे २९ पुस्तक

भिखारी ठाकुरसँग नाटक प्रदर्शन गर्नका लागि कुनै मञ्च थिएन । उनी काठको खाटलाई रूखमुनि राखेर स्टेज बनाउँथे । र त्यसैमा चढेर अभिनय गर्थे ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ३ गते ९:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भिखारी ठाकुरको जन्म सन् १८८७ मा बिहारको गरिब हजाम परिवारमा भएको थियो र उनी कहिल्यै विद्यालय गएनन्।
  • उनी २९ वटा नाटक लेखेका थिए जसलाई बिहार राष्ट्रभाषा परिषद्ले देवनागरी लिपिमा अनुवाद गरी प्रकाशित गरेको छ।
  • भिखारी ठाकुरलाई भारतमा \'खुला रङ्गशाला\' का जनक र भोजपुरीका \'शेक्सपियर\' भनेर चिनिन्छ।

बिहार, पूर्वी उत्तर प्रदेश र नेपालको तराई क्षेत्रमा भोजपुरी भाषा व्यापक रूपमा बोलिन्छ, बुझिन्छ । भाषाको व्यापकताले भोजपुरी चलचित्र र गीत-संगीतको दायरा पनि निकै फराकिलो छ । छुट्टै पहिचान छ ।

यसै भाषामा योगदान गरिरहेका एक थिए-भिखारी ठाकुर । उपमा दिएर धेरैले उनलाई भोजपुरीका ‘शेक्सपियर’ भन्छन् । भारतमा उनलाई ‘खुला रङ्गशाला (ओपन एयर थिएटर)’ का जनक पनि मानिन्छ ।

संघर्षपूर्ण बाल्यकाल

भिखारी ठाकुरको जन्म बिहारको गरिब र उपेक्षित हजाम परिवारमा सन् १८८७ डिसेम्बर १८ मा भएको थियो । गरिबी र वर्ण व्यवस्था अन्तर्गत तल्लो जातिमा जन्मेकाले उनले पढ्ने मौका पाएनन् ।

विद्यालय नगएपछि बाल्यकालमा उनी गाई, भैँसी चराउन जान्थे । गोठालो गएका बेला उनी मधुर स्वरमा गाउँथे । गुनगुनाउँथे । उनी पढ्न सक्दैनथे, सुनेर नै कुनै कुरा याद गर्न सक्थे । यसै क्रममा धेरै धार्मिक कथा र नाटकहरू उनलाई याद हुन्थ्यो ।

उनको परिवार शिक्षित थिएन । सानैमा मतुआ देवीसँग उनले विवाह गरे । र चाँडै नै बुबा पनि बने । आर्थिक रूपमा पनि उनीहरू कमजोर थिए । त्यसैले विवाहपछि उनले आफ्नो पुस्तौनी नाइको काम गर्न थाले।

सन् १९२७ को खडेरीपछि त्यो पनि अपर्याप्त भयो । त्यसपछि जीविकोपार्जन गर्न उनी घर छाडेर परदेश निस्किए ।

बदलिएन जीवन

हिन्दू धर्मका रीतिरिवाज, संस्कारमा कपाल खौरने, काट्ने व्यक्ति निकै महत्त्वपूर्ण मानिन्छ । विभिन्न शुभकार्य, पितृकार्य गर्दा कपाल काट्ने, खौरने गरिन्छ । यसमा हजाम चाहिन्छ तर उनीहरूलाई ‘तल्लो जाति’ मानिन्छ ।

यहीकारणले भिखारी ठाकुरले पनि आफ्नो जीवनमा दुर्व्यवहार र अपमानको पीडा भोग्नुपर्‍यो । उनले आफ्नो कलामार्फत त्यस्ता कुरालाई बाहिर ल्याइदिए । त्यस्ता सामाजिक असमानता र विसङ्गतिहरूलाई लोकगीतको माध्यमबाट आम मानिससामु ल्याइदिए ।

यद्यपि उनलाई आर्थिक कुराले भने सताइरह्यो । सुधारका लागि उनी जीविकोपार्जनका क्रममा प्रवास गएका थिए । भलै उनी देशकै अर्को राज्य गएका थिए । तर उनी त्यसलाई विदेश भन्थे ।

त्यहाँ केही वर्ष काम गर्दा पनि उनको परिवारको हैसियतमा कुनै परिवर्तन आएन । उनलाई पनि गाउँको सम्झनाले सताइरह्यो । त्यसपछि उनी आफ्नै गाउँ कुतुबपुर फर्किए ।

प्रतिभाको धनी

आफ्नो समयमा उनी कुनै जीनियसभन्दा कम थिएनन् । किनकि उनी पढेलेखेका थिएनन् । सामाजिक हैसियत पनि थिएन । तर उनले गाए । नाटक गरे । किताब लेखे । कलाका विभिन्न माध्यममार्फत मानिसहरूलाई मनोरञ्जन दिए ।

उनले गायनका साथै अभिनय र नृत्यमा पनि उत्तिकै निपुणता हासिल गरेका थिए । उनलाई धेरै प्रकारका वाद्ययन्त्र बजाउन आउँथ्यो । त्यति मात्र होइन, उनले गाउँका मानिसहरूलाई तालिम दिएर एउटा मण्डली पनि बनाएका थिए । त्यहाँ उनी आफैं मण्डलीमा संगीत भर्थे । निर्देशन गर्थे ।

भिखारी ठाकुरसँग नाटक प्रदर्शन गर्नका लागि कुनै मञ्च थिएन । उनी काठको खाटलाई रूखमुनि राखेर स्टेज बनाउँथे । र त्यसैमा चढेर अभिनय गर्थे । यहीकारण पनि उनलाई भारतमा खुला रङ्गशाला (ओपन एयर थिएटर) का जनक मानिएको हो ।

उनको नाट्य मण्डलीले होली, विवाह, जन्त, भजन कीर्तन आदि हरेक तरिकाले मानिसहरूलाई मनोरञ्जन दिने गर्थ्यो । तीमध्ये कतिपयमा उनले सामाजिक यथार्थहरूलाई पनि प्रस्तुत गर्थे ।

त्यसका लागि उनले व्यङ्ग्य पनि घुसाउँथे । विशेषत: उनले अत्याचार, धार्मिक रुढीवाद, बालविवाह, बेमेल विवाह, लागूपदार्थ सेवन, दाइजोप्रथा जस्ता कुरालाई आफ्नो मुद्दा बनाउने गर्थे ।

कहिल्यै विद्यालय गएनन् तर २९ किताब लेखे

हो । वास्तविक जीवनमा भिखारी ठाकुर कहिल्यै विद्यालय गएनन् । तर उनले २९ वटा किताब (नाटक) लेखेका छन् । त्यो पनि उत्तर प्रदेश र बिहार राज्यमा प्रचलित कैथी लिपिमा ।

कालान्तरमा उनका ती किताबहरूलाई देवनागरी लिपिमा अनुवाद गरियो । जसलाई बिहार राष्ट्रभाषा परिषद्ले प्रकाशित गरेको छ । त्यसपछि उनका कृतिहरू अरूहरूले पढ्न पाएका छन् । उनका बेटी वियोग, विदेशिया, गबर घिचौर, कलियुगका प्रेम जस्ता केही लोक नाटकहरू निकै चर्चित छन् ।

उनले धेरैजसो नाटक पद्य शैलीमा रचना गरेका छन् । जसमा उनले भक्तिगान, सांसारिक प्रेम, उदासी, घृणा, क्रोध, हाँस्य, व्यङ्ग्य मिसाएका छन् । सामान्यतया उनका नाटकका पात्रहरू दलित र तल्लो जातिबाट आएका छन् । ग्रामीण परिवेशका महिला पात्रहरू आएका छन् ।

यसरी उनले महिला सशक्तीकरणका आवाजहरू पनि उतिबेलै नाटकमा ल्याएका थिए । समाज सुधारबारे बोलेका थिए । तर आज शिक्षित युग हुँदा खेरी पनि उनले आफ्ना लोक नाटकहरूका माध्यमबाट उठाएका प्रश्नहरू जहाँको त्यहीँ छन् ।

आज पनि समाजमा लागु पदार्थ सेवन, दाइजो प्रथा, असमानता, भेदभाव र अन्याय विद्यमान छन् । जाति र धर्मका नाममा सामाजिक उत्पीडन भइरहेका छन् । यस्तोमा पृष्ठभूमि नै अन्धकार भएको ठाउँबाट आएका भिखारी ठाकुरले सक्दो गरे । समाजलाई आँखा खोल्न सिकाए । यसैले केही विश्लेषकहरूले उनलाई १६औँ शताब्दीका विख्यात नाटककार शेक्सपियरसँग तुलना गर्छन् । र उनलाई ‘भोजपुरीका शेक्सपियर’का रूपमा सम्झन्छन् ।

जीवनलाई नाटकमै डुबाएका उनले र उनको मण्डलीले बिहार, बङ्गाल, उत्तर प्रदेश, मध्य प्रदेशमा नाटक देखाउन यात्रा गरेका थिए । यतिसम्म कि, नेपालका केही भूभागहरूमा पनि उनीहरूले यात्रा गरेका थिए ।

यसरी लोक नाटक र कथाहरूको विशाल विरासत छाडेका उनको सन् १९७१ जुलाई १० का दिन निधन थियो । आज जति उनको चर्चा हुनुपर्ने, त्यति नभएको बताइन्छ । यसैले उनको रचना र जीवनमाथि थप अध्ययन गर्नु आवश्यक देखिन्छ ।

सप्ताहान्त
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?