
News Summary
Generated by OK AI. Editorially reviewed.- २९ मे २०२२ मा पञ्जाबको मनसा जिल्लास्थित जवाहरेक गाउँमा सिद्धू मुसेवाला आफ्नो एसयूभीमा सवार हुँदा दुई कारले उनलाई पछ्याएर गोली हानेर हत्या गरियो।
- पोस्टमार्टम रिपोर्टअनुसार सिद्धूमाथि २४ राउन्ड गोली हानिएको थियो र उनको हत्या भाडाका बन्दुकधारीहरूको सहायता लिएर गरिएको थियो।
२९ मे २०२२ । साँझको समय । पञ्जाबको मनसा जिल्लास्थित जवाहरेक गाउँको सडक । चर्चित पञ्जाबी गायक सिद्धू मुसेवाला आफ्नो कालो महिन्द्रा थार एसयूभीमा सवार छन् । उनी त्यही बाटो कतै गइरहेका हुन्छन् । त्यसको केही बेरमा नै दुईवटा कारले उनको पिछा गर्न थाल्छन् ।
ती मध्ये एउटा गाडीले सिद्धूको गाडीलाई ठक्कर दिन्छ । उनको गाडी अनियन्त्रित हुन्छ । र सडक छेउको भित्तामा ठोक्किन पुग्छ । त्यसबाट उनी निस्कन सक्दैनन् । अनि केही बेरपछि गोली चल्न सुरु हुन्छ ।
गोलीबारी पछि स्थानीयहरूले सिद्धूलाई अस्पताल पुर्याएका थिए । तर त्यसबेलासम्म धेरै ढिलो भइसकेको थियो । चिकित्सकले मृत घोषणा गरे ।
यसरी पञ्जाबका साँस्कृतिक आइकन तथा २८ वर्षीय र्यापरको दिनदहाडै गोली हानेर हत्या गरिएको थियो ।
पोस्टमार्टम रिपोर्टका अनुसार त्यसबेला सिद्धूमाथि २४ राउन्ड गोली हानिएको थियो । पछि सार्वजनिक मोबाइल फुटेज हेर्दा उनको एसयूभी गोलीले छियाछिया पारेको देखिन्छ । सिसा फुटेको र बोनेट कुच्चिएको देखिन्छ ।
उक्त आक्रमणको समयमा सिद्धूसँगै कारमा उनका भाइ र एक साथी पनि थिए । संयोगवश उनीहरू उपचार पछि बाँचे ।
आज पञ्जाबी हिप-हप स्टार सिद्धूको हत्या भएको तीन वर्ष भइसकेको छ । प्रहरीले उनको हत्यारा अझै फेला पार्न सकेका छैनन् । उनको हत्या भाडाका बन्दुकधारीहरूको सहायता लिएर गरिएको थियो ।
उक्त घटनाको केही समयपछि नै गोल्डी बरार नामका एक पञ्जाबी ग्याङ्स्टरले सिद्धूको हत्याको जिम्मा लिएको थियो । यो समूहले फेसबुक पोस्टमार्फत हत्याको जिम्मेवारी लिएको बताएका थिए । तर अहिले गोल्डी कहाँ छन् भन्ने पनि अज्ञात छ ।
बीबीसीका अनुसार सिद्धूको अहंकार र उनले गरेका (जुन गोल्डी बरारले मान्छन्) गल्तीहरूका कारण हत्या भएको भएको थियो । किनकि, हत्या गर्ने समूहले मृत्युलाई कर्मको फल मान्ने गरेका छन् ।
000
सिद्धूको जन्म पञ्जाबको ग्रामीण भेगको एक जाट सिख परिवारमा भएको थियो । उनको वास्तविक नाम शुभदीप सिंह सिद्धू थियो ।
उनी सन् २०१६ मा इन्जिनियरिङ पढ्न क्यानडा गएका थिए । त्यहाँ अन्य पञ्जाबी मानिसहरू जसरी नै अध्ययनका लागि पुगेका थिए गाउँमा हुँदा नै उनी र्यापर बन्न चाहन्थे । उनी पढाइभन्दा पनि र्यापतिर लागे । अनि जम्मा पाँच वर्षको छोटो समयभित्र पञ्जाबी हिपहपको बेजोड आवाज बनेर निस्के ।
अलग र नयाँ स्टाइलका कारण सिद्धूलाई त्यो तहको सफलता मिलेको थियो । प्राय: उनी आफ्ना गीतहरूमा पहिचान, राजनीति, बन्दुक र प्रतिशोध जस्ता कुरा ल्याउँथे । उनले आफ्नो गायनमार्फत पञ्जाबको अँध्यारो पृष्ठभूमि (ग्याङ्स्टर संस्कृति, बेरोजगारी र राजनीतिक पतन)लाई उजागर गरेका थिए ।
उनी विशेषत: र्यापर टुप्याक शकुरबाट धेरै प्रभावित थिए । टुप्यापक चर्चित अमेरिकी र्यापर हुन् । एक मिडिया अन्तर्वार्तामा उनले आफ्नो व्यक्तित्व टुप्याक शकुर जस्तो बनाउन चाहेका बताएका थिए ।
मृत्युको सवालमा पनि उनी त्यही भन्थे, ‘जुन दिन टुप्याकको मृत्यु भयो, मानिसहरू उनका लागि रोए । म पनि यही चाहन्छु । जब म मर्छु, तब मानिसहरूले सम्झून् कि म कोही थिएँ ।’
उनी आफ्नो सोचाइलाई वास्तविक बनाउनतिर लम्किँदै थिए । किनकि युट्युबमा उनका म्युजिक भिडियोहरूले कीर्तिमानी राख्दै गइरहेको थियो । बर्ना ब्वाइ जस्ता अन्तर्राष्ट्रिय हिप-हप कलाकारहरूसँग उनले सहकार्य थालेका थिए । भारतबाहेक क्यानडा, बेलायत जस्ता अन्य देशहरूमा पनि उनका फ्यानहरू बढिरहेका थिए ।
तर गायनबाहेक सिद्धू आफ्नो विद्रोही छविका कारण खतरनाक क्षेत्रमा फस्दै गइरहेका थिए । त्यो भनेको पञ्जाबका ग्याङ्स्टरहरूको ध्यानमा पर्नु हो । विशेषत: उनी गोल्डी बरार र गोल्डीका साथी लरेन्स बिश्नोईसँग नजिकिरहेका थिए ।
राजनीतिक पृष्ठभूमि
कुनै समय लरेन्स बिश्नोई विद्यार्थी नेता थिए । पञ्जाबको हिंसात्मक विद्यार्थी राजनीतिबाट उनी अपराधमा छिरेका थिए । हाल उनी जेलमा छन् । उनीमाथि विद्यार्थी निर्वाचनमा झेल गरेको, कुटपिट र अपहरण गरेकोसम्बन्धी कसुर चलाइएको छ ।
तर उनी जेल गएपछि झनै खतरनाक अपराधतिर छिरे । आफ्नै ग्याङ बनाए । पैसा र हातहतियार जुटाउन ब्ल्याकमेल र जबरजस्ती असुली सुरु गरे ।
यता गोल्डी भने सिद्धू गएको एक वर्षपछि अर्थात् सन् २०१७ मा क्यानडा छिरे । त्यहाँ सुरुमा उनले ट्रक चलाउने काम गरे । तर विस्तारै उनी लरेन्स ग्याङका मुख्य अपरेटर बने । उनको मुख्य काम हत्याको योजना बनाउने, धम्की दिने र ग्याङको पहुँच बढाउने हो । अहिले भूमिगत रहेका उनी इन्टरपोलको ‘रेड नोटिस’मा छन् ।
लरेन्स र सिद्धूको सम्बन्ध
गोल्डीका अनुसार लरेन्स र सिद्धूको चिनजान निकै पहिलेदेखि थियो । उनीहरूबीच फोन संवाद हुन्थ्यो । सिद्धूले लरेन्सलाई ‘गुड मर्निङ’ र ‘गुड नाइट’ जस्ता मेसेज पठाउँथे । यो कुरा बीबीसीले गोल्डीसँग कुराकानी गरेर लेखेको छ ।
सो लेखका अनुसार लरेन्स र सिद्धू सन् २०१८ को सुरुदेखि नै सम्पर्कमा थिए । एकफेर लरेन्सले जेलबाटै सिद्धूलाई फोन गरेर उनको संगीत मन परको बताएका थिए ।
राम्रो सम्बन्ध हुँदाहुँदै पनि उनीहरूबीच एउटा खेलका कारण मनमुटाव सुरु भयो । त्यसको जड पञ्जाबको एउटा गाउँमा आयोजित कबड्डी टूर्नामेन्टसँग जोडिएको छ । त्यो खेल लरेन्सका विरोधी बम्बीहा ग्याङले गरेको थियो । तर सिद्धूले त्यो खेलको प्रचार गरिदिए ।
त्यहीकारण लरेन्स सिद्धूसँग रिसाएका थिए । भलै त्यसबेलाको विवादलाई विक्की मिद्दुखेड़ा नामका लरेन्स/गोल्डीका नजिकका व्यक्तिले मिलाएका थिए । तर सन् २०२१ मा विक्की मारिए । अनि उनको हत्याको जिम्मा बम्बीहा ग्याङले नै लियो । पछि सिद्धूका साथी र म्यानेजरमाथि विक्कीको हत्या गर्न सहयोग गरेको आरोप पनि लाग्यो ।
त्यसले गर्दा लरेन्स असह्य बने । उनले सिद्धूले ठूलो गल्ती गरेको माने ।
एक त लरेन्स/गोल्डी गैरकानूनी गतिविधिमा संलग्न थिए । विक्कीको न्यायका लागि भारतको न्यायिक प्रणालीमा जाने कुरै थिएन । उनीहरू स्वयं आफ्नो देशको न्यायमा अविश्वास गर्छन् । ‘न्याय केवल शक्तिशालीलाई मिल्छ । आम जनतालाई होइन,’ उनीहरू यस्तै सोच्छन् ।
त्यसले गर्दा उनीहरूले आफ्नै तरिकाबाट विक्कीलाई न्याय दिन लागे । त्यो भनेको ‘हत्या’ थियो । बीबीसीसँगको कुराकानीमा गोल्डीले सिद्धूको हत्यामा कुनै पश्चात्ताप नभएको बताएका छन् । बरु उल्टै आफ्नो भाइ (विक्की)का लागि जे गर्न सकिन्थ्यो, त्यही गरेको जनाएका छन् ।
000
यसरी हिपहप करियरले राम्रो लय समातिरहेको अवस्थामा गलत सङ्गतका कारण पञ्जाबी हिप-हप स्टार सिद्धूको दु:खद् अन्त्य भयो । तर मुख्य अपराधीसम्म अझैं पनि प्रहरी पुग्न सकेको छैन ।
घटना भएको केही समयपछि प्रहरीले छ जना बन्दुकधारीको पहिचान गरेको थियो । उनीहरूसँग एके ४७ र पेस्तोलहरू थिए । हत्याको हप्ता दिनपछि ३० जनालाई गिरफ्तार गरिएको थियो । अनि दुई जना प्रहरीको ‘इन्काउन्टर’मा पनि मारिएका थिए ।
यद्यपि धेरै गिरफ्तारीहरू भइरहेता पनि किन हत्या गरियो ? जवाफ आइसकेको थिएन । तर न्याय अझैं पनि आइसकेको छैन ।
प्रतिक्रिया 4