+
+
Shares

भारतको राष्ट्रपति कार्यालयबाट सिक्न सक्छ शीतलनिवासले  

दुवै देशका राष्ट्रपति कार्यालय प्रवेश गर्दा सुरक्षा प्रोटोकल उस्तै छन् । तर कार्यालय भित्र गरिने अनुभवमा फरकपन छ ।

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०८२ साउन ५ गते २०:५७
Photo Credit : @rashtrapatibhvn/X

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल र भारत दुवै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक हुन् र राष्ट्रपतिका अधिकारहरू उस्तै छन्।
  • भारतको राष्ट्रपति कार्यालयलाई सांस्कृतिक, ऐतिहासिक र शैक्षिक केन्द्रको रूपमा प्रयोग गरिन्छ भने नेपालमा यस्तो अभ्यास छैन।
  • नेपालले पनि संविधान, लोकतन्त्र, सांस्कृतिक विविधता र जनजातीय पहिचानहरूलाई एकै स्थानमा राखेर राष्ट्रपतिको कार्यालयलाई ऐतिहासिक र सांस्कृतिक शिक्षाको केन्द्र बनाउन सक्दछ ।

५ साउन, काठमाडौं । नेपाल र भारत दुवै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक हुन् । दुवै देशमा प्रधानमन्त्री कार्यकारी प्रमुख र राष्ट्रपति ‘सेरेमोनियल’ भूमिकामा छन् ।

राष्ट्रप्रमुखको भूमिकामा रहेका दुवै देशका राष्ट्रपतिका काम, कर्तव्य र अधिकार उस्तै छन्– संसदीय बहुमतका आधारमा प्रधानमन्त्री नियुक्ति, मन्त्री नियुक्ति, संसदबाट पारित विधेयक प्रमाणीकरण, संवैधानिक निकायका पदाधिकारीहरूको नियुक्ति । यी अधिकारहरू दुवै देशमा मन्त्रिपरिषद्को सिफारिस वा संवैधानिक प्रक्रियाबाट अनुमोदन भएको अवस्थामा राष्ट्रपतिले प्रयोग गर्छन् ।

दुवै देशमा राष्ट्रपतिको पद ‘सेरेमोनियल’ भए पनि यसको संवैधानिक, राजनीतिक र सामाजिक प्रभाव महत्वपूर्ण छ । भारतमा राष्ट्रपतिको पद एक परिपक्व संस्थाको रूपमा स्थापित भइसकेको छ भने नेपाल २०६५ सालयता राष्ट्रपति संस्थाको अभ्यासमा छ ।

दुवै देशको राष्ट्रपति कार्यालयको भ्रमण गर्दा राष्ट्रपति कार्यालयको सदुपयोग गर्ने सम्बन्धमा भने फरकपन देखिन्छ । ३ जुलाइमा भारतको राष्ट्रपति कार्यालय भ्रमण गर्ने अवसर मिलेको थियो भने १६ जुलाइमा नेपालको । भारतीय राष्ट्रपति कार्यालयको भ्रमणको चाँजोपाँजो भारतीय विदेश मन्त्रालयले मिलाएको थियो भने नेपालको राष्ट्रपति कार्यालयको भ्रमण संसदीय मामिला पत्रकार समाज मार्फत भएको हो ।

भारतीय राष्ट्रपतीले गर्ने शीर्ष तहको गोप्य बैठक कक्ष ।

दुवै देशका राष्ट्रपति कार्यालय प्रवेश गर्दा सुरक्षा प्रोटोकल उस्तै छन् । तर कार्यालय भित्र गरिने अनुभवमा फरकपन छ ।

भारतले राष्ट्रपतिको कार्यालयलाई सांस्कृतिक, ऐतिहासिक र शैक्षिक केन्द्रका रूपमा उपयोग गरिरहेको छ । जसको जानकारी राष्ट्रपति कार्यालयकी अफिसर रेखा कुमारीले गराएकी थिइन् ।

१३० हेक्टर क्षेत्रफलमा फैलिएको राष्ट्रपति कार्यालयको भवनमा ३४० कक्ष छन् । भारतको राष्ट्रपति भवन र यसको परिसर इटलीका राष्ट्राध्यक्ष बस्ने कुइरिनल दरबारपछिको दोस्रो ठूलो हो । दस्तावेज अनुसार भारत स्वतन्त्र हुनु भन्दाअघि यो भवन सन् १९३१ देखि १९३७ सम्म तत्कालीन बेलायती शासनका प्रतिनिधि गभर्नर बस्ने ‘भाइस रोय हाउस’को रूपमा चिनिन्थ्यो । सन् १९४७ देखि १९५० सम्म भने गभर्नमेन्ट हाउसका रूपमा थियो ।

भव्य स्थापत्यकला, ऐतिहासिक चित्रहरू र पुरातात्विक संग्रहले भारतको समृद्ध राजनीतिक र सांस्कृतिक इतिहासको प्रतीक प्रस्तुत गर्छ । यही भवनबाट अहिले पनि राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरूको शपथ समारोह हुन्छ । अन्तर्राष्ट्रिय कूटनीतिक स्वागत, द्विपक्षीय सन्धिहरूको हस्ताक्षर, गणतन्त्र दिवस र स्वतन्त्रता दिवसका समारोहहरू यही भवनमा हुन्छन् ।

विविधताको सम्मान

भारतीय संस्कृतिको जगेर्ना गर्ने र राष्ट्रपति भवन पुग्नेलाई देखाउने गरी वर्तमान राष्ट्रपति द्रौपदी मुर्मुले राष्ट्रपति भवनमा जनजातीय सङ्ग्रहालय (जनजाति दर्पण) स्थापना गरेकी छन् ।

उनका पूर्ववर्ती प्रणव मुखर्जीले लोककला सङ्ग्रहालय कक्षको स्थापना गरेका थिए । जहाँ दक्षिणी भारत, पश्चिम र मध्य क्षेत्र, उत्तरी भारतका जातजाति समुदायको कला, संस्कृति, हस्तकला, पहिरन, नाचकलाका तस्वीर राखिएका छन् ।

जातजातिले प्रयोग गर्ने हतियार, दैनिक उपभोग्य वस्तु, त्यसबेलाका घरको बनावटदेखि व्यक्तिको अवस्था झल्काउने तस्वीर र शृङ्गार तथा गरगहना समेत राखिएका छन् । जसले भारतको बृहत्तर संस्कृतिलाई झल्काउँदछ ।

‘भारतीय संस्कृति संरक्षणका लागि केही गरौं भन्ने सेरेमोनियल राष्ट्रपतिलाई पनि पर्दोरहेछ । यो राष्ट्रियता प्रतिको समर्पण हो कि नागरिक दबाब ?’ जवाफमा रेखा कुमारी ‘भारतीयको स्वभाव’सँग जोड्छिन् । उनी भन्छिन्, ‘राष्ट्रको पहिचान थप बलियो बनाउन खोज्नु भारतीयको स्वभाव हो ।’ यस्तो कार्यले भारतको राष्ट्रिय एकतालाई थप सबल पारेको भारतीयहरूमा विश्वास छ ।

भारत २८ राज्य र ८ केन्द्र शासित प्रदेशहरू सहितको संघीय लोकतान्त्रिक मुलुक हो । प्रदेशलाई जोड्ने काम संस्कृति मार्फत संघ सरकारले गर्दै आएको रहेछ । राष्ट्रपति कार्यालयमा रहेको संग्रहालय एउटा उदाहरण हो ।

नेपाल पनि बहुजाति र बहुसांस्कृतिक मुलुक हो । नेपालमा पनि सात वटा प्रदेश छन् । सबै प्रदेशका आ–आफ्नै विशेषता र पहिचान छन् । जसलाई एकीकृत संघीय सरकारले संरक्षण गर्न सक्दछ । भारतले झैं राष्ट्रपतिलाई भेट्न पुग्ने र राष्ट्रपति कार्यालय पुग्ने जो–कोहीलाई नेपालको बहुलता देखाउन सकिन्छ ।

नेपालले पनि राष्ट्रपति कार्यालयमा ऐतिहासिक दस्तावेजहरू राख्ने कुनै प्रदर्शनी वा ग्यालरीको स्थायी प्रणाली स्थापित गर्न सक्दछ । विविध जातजातिको हस्तकला, भाषा, संस्कार, वेशभूषा राख्ने ग्यालरी बनाउन सक्दछ । सांस्कृतिक विविधताको स्थायी प्रदर्शनका निम्ति जनजातीय कला, पोशाक आदि देखाउने स्थल निर्माणको पहल लिन सक्दछ ।

भारतको राष्ट्रपति कार्यालय परिसरमा रहेको मुगल गार्डेन ।

राष्ट्रपति रामचन्द्र पौडेलका प्रेस संयोजक खिला कार्कीका अनुसार नेपालका राष्ट्रपतिहरूले नेपालको संस्कृतिको संरक्षणका लागि केही प्रयास गरेका छन् । राष्ट्रपति पौडेलले राष्ट्रपति भवन परिसरमा बर–पीपलका बिरुवा रोपेका र चौतारी बनाएका छन् । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले पनि बर–पीपलका बिरुवा रोपेको र चौतारी बनाएको थिइन् ।

नेपालको संस्कृति जगेर्ना गर्ने र राष्ट्रपति कार्यालय पुग्नेलाई देखाउने गरी संग्रहालय बनाउने लगायत योजना बन्दा राष्ट्रपति भवन परिसरमा ठाउँ रहेको कार्की बताउँछन् । उनका अनुसार यसबारे सरकारले सोच्न र आवश्यक लगानी गर्न सक्दछ ।

सांस्कृतिक सम्बन्ध विस्तारको माध्यम

भारतको राष्ट्रपति कार्यालयबाट नेपालको राष्ट्रपति कार्यालयले सिक्नुपर्ने अर्को कुरा हो– सार्वसाधारणको पहुँच । भारतको राष्ट्रपति कार्यालयको भ्रमण गर्न चाहनेले अनलाइनबाटै पहल लिन सक्दछन् । अनलाइनमा प्राप्त सूचनालाई स्वीकृत गरेर राष्ट्रपतिको कार्यालयले भवनको अवलोकन गराउँछ । यस्तोमा कूटनीतिज्ञ, अनुसन्धानदाता, इतिहासकार, नेता, पत्रकार र विद्यार्थीहरूको विशेष रुचि रहने गरेको पाइयो ।

नेपालको राष्ट्रपति कार्यालय प्रवेश र अवलोकन गर्ने भन्ने विषय अभ्यासमा छैन । सर्वसाधारणका लागि भ्रमण खुला छैन । औपचारिक कार्यक्रम, राजकीय भेटघाट र सम्मान प्रदानका अवसरमा सम्बन्धित व्यक्तिहरू राष्ट्रपति भवन पुग्दछन् । बाँकीका लागि प्रवेश बन्द छ ।

भारतमा स्कूल र विश्वविद्यालयका विद्यार्थी र प्राध्यापकहरूसँग ‘राष्ट्रपति संवाद’ कार्यक्रम हुने गर्दछ । राष्ट्रपति मुर्मु कक्षा ९/१० का विद्यार्थीसँग समेत बसिरहेकी र भारतीय इतिहास, संस्कृति र राजनीतिबारे संवाद गरिरहेकी हुन्छिन् । जहाँ राष्ट्रप्रमुखसँग विद्यार्थीले जिज्ञासा राख्ने अवसर पाउँछन् । आफैं राष्ट्रपति कार्यालयमा रहेका दस्तावेजहरू नियाल्छन् । जसले भावी पुस्तालाई देशको इतिहास सिकाइरहेको विश्वास भारतीयहरूमा छ ।

अर्थात्, भारतले राष्ट्रपतिको कार्यालयलाई सांस्कृतिक विविधता प्रदर्शन, ऐतिहासिक अभिलेख संरक्षण र जनसांस्कृतिक सम्बन्ध विस्तारको माध्यम बनाएको छ । त्यस्ता अभ्यासबाट नेपालले पनि सिक्न सक्दछ । नेपालको राष्ट्रपतिको कार्यालयलाई पनि केवल औपचारिक कार्यक्रम हुने प्रशासनिक भवन मात्रै नभएर शैक्षिक, सांस्कृतिक र ऐतिहासिक केन्द्र बनाउन सक्दछ ।

भारत र नेपाल दुवै देशको राष्ट्रपति कार्यालयमा रहेको समानता हो– हरियाली । दुवै देशका कार्यालय परिसरमा सुन्दर बगैंचा रहेका छन् । भारतको ‘मुगल गार्डेन’ मा सार्वसाधारणलाई पहुँच दिन्छ । उक्त गार्डेनमा औषधिजन्य बिरुवाहरू रोपिएका छन् ।

दस्तावेजको संग्रह

भारतीय राष्ट्रपतिको कार्यालय भ्रमणमा रहँदा नेपालको याद आउँछ । नेपालको राष्ट्रपति कार्यालय पुग्दा केवल प्रशासनिक भवन जस्तो मात्रै लाग्दछ । यो अनुभूत हुनुका पछाडि राष्ट्रपति कार्यालयको सदुपयोग कसरी गरिएको छ भन्ने नै प्रमुख कारण हो ।

राष्ट्रपतिको कार्यालय एउटा प्रशासनिक संस्था मात्रै होइन, यो देशको संवैधानिक गरिमा, सांस्कृतिक गहिराइ र ऐतिहासिक चेतनाको प्रतीक हो । यसलाई झल्काउने प्रयास भारतको राष्ट्रपति कार्यालयमा ज्यादा देखिन्छ । भारतको राष्ट्रपति कार्यालयबाट नेपालको राष्ट्रपति कार्यालयले सिक्नुपर्ने सबैभन्दा महत्वपूर्ण पक्ष यही हो ।

भारतको राष्ट्रपति भवनमा विभिन्न ऐतिहासिक तस्वीर, पुरातात्विक सामग्री राखिएका छन् । कलात्मक चित्र र मूर्तिहरू छन् । भारतीय र रोमन वास्तुकला शैलीमा निर्मित मुख्य भवनको छत गुम्बज आकारको छ । जसले ब्रिटिशकालीन वास्तुकला पनि देखाउँदछ ।

राष्ट्रपति भवनको मूल भागमा दरबार, सभा कक्ष र  मुगल गार्डेन छ । संग्रहालय भवनमा ऐतिहासिक सामग्रीहरूको स्थायी प्रदर्शनी छ । संविधानको प्रारम्भिक हस्तलिखित प्रति, जवाहरलाल नेहरू, डा. भीमराव अम्बेडकर लगायतले हस्ताक्षर गरेको मूल दस्तावेजको झल्को, कैयौं अनुच्छेदहरू र धारा लिखित चित्रकला सहित प्रदर्शित छ ।

भारतीय स्वतन्त्रताको घोषणापत्रहरू र प्रमुख ऐतिहासिक भाषणहरू, तस्वीरहरू, संविधानसभामा भएका ऐतिहासिक बहसहरूका रेकर्ड, राष्ट्रपतिहरूको सम्बोधन र पदग्रहण भाषणहरू संग्रहित छन् ।

पूर्व राष्ट्रपतिहरूका अभिलेख र चिठीपत्रहरू, विभिन्न राष्ट्र प्रमुखहरूसँगको चिठी–पत्र, सन्देश, भेटघाट र सम्झौताहरू, पुराना फोटो, अभिलेख, बौद्धिक अभिव्यक्ति राखिएका रहेछन् ।

विदेशी राष्ट्रहरूबाट प्राप्त उपहार र दस्तावेज, ऐतिहासिक भ्रमणमा प्राप्त सांस्कृतिक वस्तुहरू, दस्तावेज र उपहारहरू, चीन, रूस, अमेरिका, फ्रान्स आदि राष्ट्रहरूसँग आदान–प्रदान भएका दस्तावेजहरू प्रदर्शित छन् ।

ब्रिटिश शासनकालीन सामग्रीहरूको संरक्षण पनि छ । तत्कालीन नक्शा, प्रशासनिक दस्तावेजहरू राखिएका रहेछन् ।

नेपालको राष्ट्रपति कार्यालय पुग्दा कुनै ऐतिहासिक दस्तावेजको गुञ्जायस हुँदैन । भारतको अभ्यासबाट नेपालले पनि संविधान, लोकतन्त्र, सांस्कृतिक विविधता र जनजातीय पहिचानहरूलाई एकै स्थानमा राखेर राष्ट्रपतिको कार्यालयलाई ऐतिहासिक र सांस्कृतिक शिक्षाको केन्द्र बनाउन सक्दछ ।

नेपालको राष्ट्रपति कार्यालयबाट भारतले सिक्ने पक्षहरू पनि छन् ।

नेपालको राष्ट्रपतिको कार्यालय अत्यन्त सीमित स्रोत, साधन र स्टाफमार्फत सञ्चालन हुन्छ । भारतमा राष्ट्रपति कार्यालयको वार्षिक खर्च अत्यधिक छ,  नेपालको राष्ट्रपति कार्यालयले देखाएको सादगीबाट भारतले किफायती व्यवस्थापन सिक्न सक्दछ ।

राष्ट्रपति कार्यालयकी सहसचिव शैलजा रेग्मीका अनुसार शीतलनिवास एक सय वर्ष पुरानो भवन हो । शीतल निवासको मूल भवन १९४० सालतिर राणा प्रधानमन्त्री चन्द्र शमशेरले बनाएका हुन् । यो दरबार शैलीको भवनमा परम्परागत नेपाली वास्तुकलासँगै औपनिवेशिक प्रभाव पनि देखिन्छ, जुन नेपालको इतिहासको एक साक्षी हो ।

शितल निवास कुनै बेला अतिथि सत्कार विभाग थियो । त्यसबेला नेपाल आएका राष्ट्र प्रमुखलाई शितल निवासमा राखिन्थ्यो । त्यसबेलाका केही तस्विरहरू राखिएका छन् ।

राष्ट्रपति कार्यालय परिसरमा विविध फूल बिरुवा, दुर्लभ वनस्पति र वन्यजन्तु संरक्षणका प्रयत्नहरू पनि भएका छन् ।

‘राष्ट्रपति कार्यालय परिसर जस्तो नाम उस्तै सितल छ,’ सहसचिव रेग्मी भन्छिन्, ‘फलफूलको बिरुवा, कटुस, कमै पाइने गुलाव जामुन (पहेँले जामुन) लिचीको बोट, आँपको बोट, टिमुरको बोट लगायत छ । यसले हरियालीका साथै दुर्लभ वनस्पतिको संरक्षण गरेको छ ।’

राष्ट्रपति कार्यालय प्रवेश गर्दा चराचुरुंगी देखिन्छन् । लोखर्के दौडिरहेको हुन्छ । सहसचिव रेग्मीको अनुभवमा ‘शितल निवास भित्र छिरेपछि सकारात्मक भावना पैदा हुन्छ ।’

 

 

लेखक
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?