+
+
Shares
४३औं ‌बीपी स्मृति दिवस :

बीपी राजावादी थिएनन्, मेलमिलापको नीति परिस्थितिको उपज थियो

बीपी केवल व्यक्ति मात्रै होइनन्, विचार र विचारपुञ्ज हुन्। बीपी विना नेपालको लोकतान्त्रिक आन्दोलन र सैद्धान्तिक-वैचारिक विमर्श नै अपूर्ण हुने भएकाले उनीबारे बहस हुनु स्वाभाविक हो।

गेजा शर्मा वाग्ले गेजा शर्मा वाग्ले
२०८२ साउन ६ गते ९:१३

आज साउन ६ अर्थात् जननायक बीपी कोइरालाको स्मृति दिवस। पहिलो विश्वयुद्धको त्रासदीपूर्ण कालखण्ड १९७१ भदौ २४ मा जन्मिएर शीतयुद्ध उत्कर्षमा पुगेको घडीमा २०३९ साउन ६ गते देहावसान भएका बीपीबारे अहिले पनि बहस, विवेचना र विमर्श चलिरहेको छ।

संघीय लोकतान्त्रिक गणतन्त्र स्थापित भइसकेको परिवेशमा बीपीका विचार कति सान्दर्भिक छन् ? भन्ने प्रश्न पनि नउठेका होइनन्। १६औं शताब्दीका थोमस हब्स, १७औं शताब्दीका जोन लक, १८औं शताब्दीका रूसो, मोन्टेस्क्यू, एडम स्मिथ, १९औं शताब्दीका कार्ल मार्क्स, जे एस मिल, २०औं शताब्दीका माओ राजनीतिक दृष्टिले आजपर्यन्त जीवित छन् भने करिब पाँच दशकको अन्तरालमा बीपी सान्दर्भिक नहुने प्रश्नै भएन। किनभने बीपी केवल व्यक्ति मात्रै होइनन्, विचार र विचारपुञ्ज हुन्। बीपी विना नेपालको लोकतान्त्रिक आन्दोलन र सैद्धान्तिक-वैचारिक विमर्श नै अपूर्ण हुने भएकाले उनीबारे बहस हुनु स्वाभाविक हो।

मातृ पार्टी कांग्रेसले जन्मजयन्ती र स्मृति दिवस गरी वर्षमा दुईपटक श्राद्ध जस्तै कर्मकाण्डी रूपमा बीपीको नाम गायत्री मन्त्र जस्तै जप्दै आएको छ। कांग्रेसका नेता-कार्यकर्ताले मात्रै होइन, राजनीतिक तथा सैद्धान्तिक दृष्टिले असहमत तथा प्रतिस्पर्धी पार्टीले समेत बीपीप्रति श्रद्धा व्यक्त गर्दै उनको राजनीतिक योगदान, भिजन र बौद्धिकताको प्रशंसा गर्दै आइरहेका छन्।

तर जप, पूजा र प्रशंसा भन्दा पनि बीपीको आदर्श, सिद्धान्त, विचारको बारेमा गहन अध्ययन-अनुसन्धान र चिन्तन गरी यथार्थपरक मूल्याङ्कन आजको आवश्यकता हो। त्यसैले यही परिवर्तित राजनीतिक आलोकमा बीपीको सान्दर्भिकता र कांग्रेसको वैचारिक अन्योलको बारेमा समीचीन विश्लेषण गरिएको छ।

उदारवादी सिद्धान्तका प्रवक्ता

निरंकुश राणा शासनको अन्त्य गरी लोकतन्त्र स्थापना गर्ने उद्देश्यले बीपीको नेतृत्वमा २००३ मा कांग्रेस पार्टीको स्थापना भएको थियो। कांग्रेसको स्थापना मात्रै होइन, यसको आदर्श र सिद्धान्तको प्रतिपादन पनि बीपीले नै गरेका हुन्। वास्तवमा कांग्रेसको वैचारिक प्रणेता र सिद्धान्तकार बीपी नै हुन्। राष्ट्रियताको संवर्धन, सार्वभौमसत्ता सम्पन्न जनता, नागरिक अधिकार, लोकतान्त्रिक प्रणाली, बहुलवादी तथा उदारवादी समाज बीपीका प्रमुख आदर्श र सिद्धान्त हुन्।

बहुआयामिक बीपी राजनीतिक सिद्धान्तकार, भिजनरी र बौद्धिक मात्रै होइन, क्रान्तिकारी र करिस्मेटिक नेता समेत थिए। स्थापना भएको ५ वर्षमै कांग्रेसले १०४ वर्ष लामो राणा शासनको अन्त्य गरी २००७ मा प्रजातन्त्र स्थापना गर्न सफल भएको थियो भने २०१५ सालको निर्वाचनमा दुईतिहाइ हासिल गरेको थियो

तत्कालीन परिवेशमा राजनीतिक तथा सामाजिक चेतनाको स्तर न्यून भएको कन्जरभेटिभ समाज भए पनि बीपी समयको गति र जनताको भावना बुझ्ने दूरदर्शी नेता थिए। बीपीकै सैद्धान्तिक तथा वैचारिक नेतृत्वको कारणले कांग्रेस राष्ट्रवादी, लोकतन्त्रवादी, उदारवादी, प्रगतिशील पार्टीको रूपमा स्थापित भएको थियो। त्यसैले नेपालमा लोकतन्त्र, बहुलवाद, उदारवाद, संविधानवाद र सार्वभौमसत्ता सम्पन्न जनताको सैद्धान्तिक जग बीपीकै कारणले बसेको निष्कर्ष अतिशयोक्तिपूर्ण नहोला।

राष्ट्रियता, लोकतन्त्र र लोकतान्त्रिक समाजवाद बीपीद्वारा दीक्षित कांग्रेसका मार्गनिर्देशक सिद्धान्त हुन्। बीपीको सिद्धान्तको केन्द्रमा जनता थिए, लोकतन्त्र थियो। जनताको स्वतन्त्रता, सार्वभौमिकता, स्वभिमान र समुन्नतिलाई बीपीले सर्वोच्च प्राथमिकता दिएका थिए, लोकतान्त्रिक प्रणालीका आधारभूत सिद्धान्तका रूपमा व्याख्या गरेका थिए।

जुन प्रणालीले जनताको सार्वभौमिकता, स्वतन्त्रता र लोकतान्त्रिक अधिकारलाई संरक्षण गरी आर्थिक-सामाजिक रूपान्तरण गर्न सक्दैन, त्यो प्रणाली लोकतान्त्रिक पनि हुन सक्दैन र जनताको प्रणाली पनि हुनसक्दैन भन्ने बीपीको स्पष्ट दृष्टिकोण थियो। त्यसैले बीपीका सिद्धान्त र दृष्टिकोण लोकतान्त्रिक, जनतामुखी, अधिकारमैत्री र उदारवादी मूल्य-मान्यताबाट निसृत थिए।

बीपीको अभीष्ट केवल सत्ता परिवर्तन मात्रै थिएन, लोकतान्त्रिक प्रणाली र समतामूलक समाज स्थापना गर्नु प्रमुख उद्देश्य थियो। बीपीका लागि लोकतन्त्र केवल शासन पद्धति थिएन, जीवन पद्धति थियो। लोकतन्त्र स्थापनाका साथै नेपाली समाजको उदारीकरण र आधुनिकीकरणका लागि वैचारिक दृष्टिले बीपीले उल्लेखनीय योगदान गरेका छन्।

बहुआयामिक बीपी राजनीतिक सिद्धान्तकार, भिजनरी र बौद्धिक मात्रै होइन, क्रान्तिकारी र करिस्मेटिक नेता समेत थिए। स्थापना भएको ५ वर्षमै कांग्रेसले १०४ वर्ष लामो राणा शासनको अन्त्य गरी २००७ मा प्रजातन्त्र स्थापना गर्न सफल भएको थियो भने २०१५ सालको निर्वाचनमा दुईतिहाइ हासिल गरेको थियो। बीपीको भिजन, लोकप्रियता र करिष्माको कारणले नै उक्त ऐतिहासिक सफलता हासिल भएको वास्तविकता घामजत्तिकै छर्लङ्ग छ।

समाजवादबारे बीपीको विचार 

दोस्रो विश्वयुद्धपछि औपनिवेशिकताबाट स्वतन्त्रता हासिल गरेका अविकसित तथा विकासशील जस्ता तेस्रो विश्वमा समाजवाद लोकप्रिय अवधारणा थियो। तत्कालीन राष्ट्रिय-अन्तर्राष्ट्रिय परिवेश, मार्क्सवादप्रतिको सकारात्मक धारणा तथा भारतीय समाजवादी पार्टी र नेताहरूसँगको घनिष्ट सम्बन्धका कारण बीपी समाजवादी दर्शन, सिद्धान्त र जीवनशैलीबाट प्रभावित थिए।

जेठमा प्रधानमन्त्री भएका बीपीले असोजमा भूमिसुधार सम्बन्धी विधेयक नै पारित गराएका थिए। तर १८ महिनाको अल्पायुमै राजा महेन्द्रले अपदस्थ गरेपछि बीपीको समाजवादको सपना भने पूरा हुन सकेन।

लोकतन्त्रले राजनीतिक स्वतन्त्रता र समाजवादले आर्थिक समानता प्रत्याभूत गर्ने बीपीको दृढविश्वास थियो। सामन्तवादको अन्त्य गरी आर्थिक विकास र सामाजिक रूपान्तरण मार्फत समतामूलक समाज स्थापना नै बीपीको लोकतान्त्रिक समाजवादको प्रमुख उद्देश्य थियो।

समाजवादको विश्वव्यापी लहर तथा समाजवादी बीपीबाट प्रशिक्षित कांग्रेस स्थापनाकालदेखि नै समाजवादी दर्शनबाट अभिप्रेरित थियो। बीपीको प्रस्ताव अनुसार नै २०१२ को वीरगञ्ज महाधिवेशनले लोकतान्त्रिक समाजवादलाई मार्गनिर्देशक सिद्धान्तको रूपमा अंगीकार गरेको थियो।

महाधिवेशनलाई सम्बोधन गर्दै बीपीले समाजवादको परिभाषा गरेका थिए– “केवल आर्थिक विकासलाई मात्र समाजवाद भन्न सकिंदैन। व्यक्ति नै समाजवादको जीवित तत्व हो। आर्थिक उत्थानको लक्ष्य पनि त्यही जीवित तत्व व्यक्तिलाई सुखी बनाउनु हो। त्यसो हुनाले प्रजातन्त्र समाजवादको अभिन्न अंग हो।”

महाधिवेशनले समाजवादी नीति अंगीकार गर्नासाथ नवनिर्वाचित सभापति सुवर्णशमशेरले मञ्चबाटै आफ्नो नाममा बारा र पर्सामा रहेको करिब एक हजार बिघा जमीन सुकुम्बासीलाई वितरण गर्ने घोषणा गरेका थिए। २०१५ मा प्रधानमन्त्री भएपछि बीपीले समाजवादी नीति र कार्यक्रम मार्फत सामाजिक न्यायमा आधारित समतामूलक समाज स्थापना गर्न निष्ठापूर्वक अधिकतम प्रयास गरेका थिए।

तत्कालीन अर्थतन्त्र भूमि र कृषिमा आधारित थियो। तर जमीन जति राजा-महाराजा, शासक, सामन्त र जमिनदारको नियन्त्रणमा थियो। त्यसैले “जमिन भनेको जोत्नेको हुन्छ” भन्ने बीपीले बिर्ता तथा जमिनदारी प्रथा उन्मूलन गरी भूमिको हदबन्दी तथा पुनर्वितरण गर्ने क्रान्तिकारी भूमिसुधार नीति लागू गरेका थिए।

जेठमा प्रधानमन्त्री भएका बीपीले असोजमा भूमिसुधार सम्बन्धी विधेयक नै पारित गराएका थिए। तर १८ महिनाको अल्पायुमै राजा महेन्द्रले अपदस्थ गरेपछि बीपीको समाजवादको सपना भने पूरा हुन सकेन।

 समाजवादको पुनर्व्याख्या आवश्यक 

कांग्रेसले मार्गनिर्देशक सिद्धान्तका रूपमा अंगीकार गरे पनि बीपीका फुटकर अन्तर्वार्ता, लेख, विचार बाहेक लोकतान्त्रिक समाजवाद र आर्थिक नीतिबारे विस्तृत र एकीकृत दस्तावेज प्रकाशित भएको पाइँदैन। गरिबी निवारण, आर्थिक विकास र समानता एवं सामाजिक न्यायको आयामबाट बीपी अभिप्रेरित भएको देखिन्छ।

तर अन्तर्राष्ट्रिय रूपमा प्रचलित तथा प्रयुक्त समाजवादका विभिन्न मोडेलको अन्धानुकरण होइन, नेपालका लागि उपयुक्त मौलिक मोडेल विकसित गर्नुपर्ने बीपीको धारणा थियो। समाजवादबारे थप गहन अध्ययन गरेर नेपालका लागि उपयुक्त र स्पष्ट दृष्टिकोण सहितको ठोस दस्तावेज प्रकाशित गर्ने चाहना अधुरो रहेकोप्रति बीपी स्वयंले आत्मवृत्तान्तमा पश्चात्ताप गरेका छन्।

लोकतान्त्रिक समाजवादबारे राजनीतिक जीवनको पूर्वार्ध र उत्तरार्धमा बीपीका दृष्टिकोण पनि फरक देखिन्छन्। जीवनको पूर्वार्धमा बीपी मार्क्सबाट प्रभावित थिए। त्यसैले आर्थिक वृद्धि, भूमिसुधार, उत्पादन र प्रगतिशील कर प्रणालीलाई विशेष जोड दिएका थिए। तर उत्तरार्धमा गान्धी र जर्मन दार्शनिक सुमाकरसँग सैद्धान्तिक दृष्टिले निकट भएको देखिन्छ।

राजतन्त्रवादी र कांग्रेस भित्र अनि बाहिरका कन्जरभेटिभहरूले संघीय लोकतान्त्रिक गणतन्त्र स्वीकार गरेर बीपीको विचारबाट कांग्रेस विचलित भएको आरोप लगाउँदै आएका छन्। तर बीपीको दृष्टिकोण, कांग्रेसको नीति तथा रणनीति र परिवर्तित राजनीतिक विकासक्रमको सापेक्षतामा विश्लेषण गर्दा उक्त आरोप निराधार छ

यद्यपि लोकतान्त्रिक समाजवाद गतिशील सिद्धान्त र समयानुकूल परिवर्तन हुँदै जाने भएकाले बीपीको दृष्टिकोण पनि परिवर्तन हुनु अस्वाभाविक भएन। बीपीको देहावसानपछि राष्ट्रिय-अन्तर्राष्ट्रिय रूपमा राजनीतिक तथा आर्थिक दृष्टिले व्यापक परिवर्तन भएको कारणले लोकतान्त्रिक समाजवादबारे थप अध्ययन-अनुसन्धान र बहस गर्नुपर्ने आवश्यकता सिर्जना भएको छ।

मार्क्सवाद र समाजवादको सैद्धान्तिक प्रस्तावना अनुसार आर्थिक उपलब्धि हासिल हुन नसकेपछि अन्तर्राष्ट्रिय समाजवादी आन्दोलन कमजोर हुँदै गएको छ। आर्थिक नीतिकै असफलताका कारणले पूर्व सोभियत संघ विघटन नै भयो भने पूर्वी युरोपका कम्युनिष्ट देशहरू एकपछि अर्को असफल भए।

दोस्रो विश्वयुद्धपछि सन् १९९० को दशकसम्म समाजवादी नीति अनुसरण गरेका पार्टीहरू क्रमिक रूपमा सामाजिक लोकतन्त्रवादी पार्टीमा रूपान्तरण हुँदै गएका छन्। इतिहासको कुनै कालखण्डमा छिमेकी भारतमा समाजवादी दर्शन, सिद्धान्त र विचार लोकप्रिय थियो, प्राय: सबै पार्टी र नेताहरू समाजवादी थिए र ती प्रभावशाली र शक्तिशाली थिए। तर अहिले भारतमा समाजवादी पार्टीहरू अस्तित्वविहीन नै भइसकेका छन्।

नेपालको सन्दर्भमा विश्लेषण गर्दा एकातिर नेपालका कम्युनिष्टहरूले समेत समाजवाद छाडेर तात्कालिक आर्थिक नीति पूँजीवादी अर्थतन्त्रको विकास नै हो भनी औपचारिक रूपमै स्वीकार गरेका छन्। अर्कोतिर २०४८ पछि अनुसरण गरेको उदार अर्थनीतिको कारणले अर्थतन्त्रमा सकारात्मक प्रभाव परे तापनि अपेक्षाकृत आर्थिक-सामाजिक उपलब्धि हासिल हुनसकेको छैन। त्यसैले यस्तो राष्ट्रिय-अन्तर्राष्ट्रिय परिदृश्यमा अर्थनीति र समाजवाद सम्बन्धी बीपीको दृष्टिकोणबारे गम्भीर समीक्षा गरी पुन: अध्ययन र पुनर्व्याख्या गर्नुपर्ने देखिएको छ।

शायद यही वास्तविकतालाई आत्मसात् गरेर होला, लोकतान्त्रिक समाजवादलाई पुन: परिभाषा र पुनर्व्याख्या गर्नुपर्ने विचार कांग्रेस महामन्त्री गगन थापाले व्यक्त गरेका छन। कांग्रेसलाई लोकतान्त्रिक समाजवादी (डेमोक्रेटिक सोसलिस्ट) भन्दा एक कदम अगाडि बढेर सामाजिक लोकतन्त्रवादी (सोसल डेमोक्रेटिक) पार्टीको रूपमा रूपान्तरण गर्नुपर्ने प्रस्ताव गरेका छन्। गगन राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक सबै दृष्टिले उदारवादी धारको प्रवक्ता हुँदै गएको देखिन्छ।

समाजवादको पुनर्व्याख्या गर्ला कि सामाजिक लोकतन्त्रवादी पार्टी होला ? यो कांग्रेसको गम्भीर सैद्धान्तिक-वैचारिक बहसको विषय हो। तर समाजवादको पुनर्परिभाषा र पुनर्व्याख्या गर्नु अपरिहार्य छ। कांग्रेसको आसन्न १५औं महाधिवेशनमा गम्भीर छलफल र बहस गरी समुन्नत नेपाल र समतामूलक समाज स्थापनाका लागि उपयुक्त अर्थनीतिबारे ठोस दृष्टिकोण तय गर्नु उपयुक्त हुनेछ।

 राष्ट्रियता र राजतन्त्रप्रतिको दृष्टिकोण 

बीपीको राष्ट्रियता र राजतन्त्रप्रति विशेषगरी २०३३ सालपछिको दृष्टिकोणलाई लिएर अनावश्यक विवाद हुँदै आएको छ। विशेषगरी राजतन्त्रवादी र कांग्रेस भित्र अनि बाहिरका कन्जरभेटिभहरूले संघीय लोकतान्त्रिक गणतन्त्र स्वीकार गरेर बीपीको विचारबाट कांग्रेस विचलित भएको आरोप लगाउँदै आएका छन्। तर बीपीको दृष्टिकोण, कांग्रेसको नीति तथा रणनीति र परिवर्तित राजनीतिक विकासक्रमको सापेक्षतामा विश्लेषण गर्दा उक्त आरोप निराधार छ।

बीपी जडसूत्रवादी थिएनन, गतिशील थिए। बीपीका विचार पनि जडसूत्रवादी होइन, गतिशील छन्। उक्त वास्तविकताप्रति बीपी स्पष्ट थिए, कांग्रेस र कांग्रेसका नेताहरू अन्योलमा छन्।

२०२५ मा सुन्दरीजल जेलबाट छुटेपछि भारत निर्वासनमा गएका बीपी आठ वर्ष लामो निर्वासनबाट २०३३ पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर नेपाल फर्किनुका प्रमुख रूपमा दुई कारण थिए। पहिलो, सन् १९७१ मा भारतको राजनीतिक तथा सैन्य सहयोगमा पाकिस्तान विभाजित भई बङ्गलादेश स्थापना। दोस्रो, सन् १९७५ मा स्वतन्त्र र सार्वभौम देश सिक्किम भारतमा विलय।

उक्त दुई विडम्बनापूर्ण घटनाका कारणले नेपालको पनि राष्ट्रियता, सार्वभौमिकता र भौगोलिक अखण्डताका दृष्टिले संकट सिर्जना हुनसक्ने बीपीको विश्लेषण थियो। त्यसैले बीपीको मेलमिलाप नीति तत्कालीन सन्दर्भमा उपयुक्त थियो। वास्तवमा मेलमिलाप नीति भन्दा पनि रणनीति थियो, जुन तत्कालीन परिस्थितिको शक्तिसन्तुलन अनुसार प्रमुख राष्ट्रिय शक्तिसँगको मेलमिलाप र सहकार्य थियो।

तत्कालीन विशिष्ट कालखण्डमा अख्तियार गरिएको रणनीतिलाई राजतन्त्रवादी तथा कन्जरभेटिभ कित्ताका प्रवक्ताहरूले अतिरञ्जित प्रोपोगान्डा गर्दै आइरहेका छन्। स्वयं बीपीपुत्र प्रकाश कोइराला, नातिनी मनीषा कोइराला र केही हदसम्म अर्का पुत्र शशांक कोइरालाले पनि बीपीको राष्ट्रियता र राजतन्त्रप्रतिको वास्तविक दृष्टिकोण आत्मसात् गर्न नसकेर दिग्भ्रमित भएको देखिन्छ।

बीपीका सन्ततिहरूको पैतृक सम्पत्तिमा पूर्ण अधिकार छ। तर बीपीको विचारमा विशेषाधिकार वा अग्राधिकार पनि छैन, कपीराइट पनि छैन।

वास्तविकता के हो भने बीपी राजतन्त्रवादी थिएनन्, सच्चा देशभक्त र उदार राष्ट्रवादी थिए। संवैधानिक राजतन्त्र कांग्रेसको सिद्धान्त वा नीति थिएन, तत्कालीन सन्दर्भमा केवल रणनीति थियो।

जनताको बलिदानीपूर्ण संघर्षको प्रतिफलस्वरुप स्थापना भएको लोकतन्त्र पटक–पटक अपहरण गरी अधिनायकवादी शासन गरेपछि संवैधानिक राजतन्त्रको रणनीति त्यागेर कांग्रेसले गणतान्त्रिक नीति अख्तियार गरेको वास्तविकता घामजत्तिकै छर्लङ्ग छ। किनभने लोकतन्त्रलाई सर्वोच्च प्राथमिकता दिएर राजतन्त्रप्रतिको नीति तथा रणनीति समय र परिस्थिति अनुसार बीपीले नै परिवर्तन गर्दै आएका थिए।

लोकतान्त्रिक प्रणाली कु गरी अधिनायकवादी शासन सुरु गरेपछि २०१८ मा नै निरंकुश राजतन्त्रको विरुद्धमा कांग्रेसले सशस्त्र संघर्ष गरेको थियो। तर सन् १९६२ मा भारत र चीनबीच युद्ध भएको अन्तर्राष्ट्रिय परिस्थितिको कारणले सशस्त्र संघर्ष आकस्मिक रूपमा त्याग्नु परेको थियो।

यसैगरी २०२९ देखि २०३२ सम्म पनि कांग्रेसले निरंकुश राजाको विरुद्धमा सशस्त्र संघर्ष गरेको थियो। तर भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीले सन् १९७५ मा लोकतान्त्रिक अधिकार र प्रेस स्वतन्त्रता समेत निलम्बन गरी संकटकाल घोषणा गरेपछि अन्तर्राष्ट्रिय दृष्टिले पुन: अर्को प्रतिकूलताको सामना गर्नु परेको थियो।

यसरी दुई पटक नै अन्तर्राष्ट्रिय परिस्थितिका कारणले सशस्त्र संघर्षको रणनीति सफल हुन नसकेपछि बीपी नेपाल फर्केर शान्तिपूर्ण आन्दोलन गर्ने निष्कर्षमा पुगेको देखिन्छ। बीपीको यही नीतिको परिणामस्वरूप २०३७ मा जनमतसंग्रह भएको थियो भने २०४६ को ऐतिहासिक जनआन्दोलनबाट लोकतन्त्र स्थापना भएको थियो।

तत्कालीन शक्ति सन्तुलन अनुसार प्रमुख शक्ति राजा थिए। त्यसैले राजासँग मेलमिलाप र सहकार्य गरिएको थियो। त्यसपछि पनि कांग्रेसले प्रमुख राजनीतिक शक्तिहरूसँग मेलमिलाप र सहकार्य गर्दै आएको छ। २०४६ मा वामपन्थी पार्टीहरूसँग, २०६१ मा राजा ज्ञानेन्द्रले प्रत्यक्ष शासन प्रारम्भ गरेपछि एमालेका साथै सशस्त्र संघर्ष गरिरहेको माओवादी पार्टीसँग समेत कांग्रेसले सहकार्य गरेको थियो।

निष्कर्ष

उपरोक्त परिदृश्यबाट विश्लेषण गर्दा बीपीका विचार अहिले पनि सान्दर्भिक छन्। उग्रवामपन्थी, घोर दक्षिणपन्थी, पपुलिस्ट, अनुदारवादी पार्टी र विचारप्रवृत्ति हावी हुँदै गइरहेको घडीमा बीपीका विचारको सान्दर्भिकता थप बढ्दै गइरहेको छ।

तर बीपीका विचार र कांग्रेसका सिद्धान्तलाई परिवर्तित राष्ट्रिय-अन्तर्राष्ट्रिय राजनीतिक, भूराजनीतिक, आर्थिक तथा सामाजिक परिस्थिति अनुकूल पुनर्व्याख्या, परिमार्जन र अद्यावधिक गर्नु आवश्यक छ। किनभने बीपीका विचार र कांग्रेसका दस्तावेज धर्मग्रन्थ होइनन्। त्यसैले धर्मग्रन्थ जस्तो वाचन वा मन्त्रोच्चारण गर्ने होइन, जनताका लागि उपयुक्त नीतिगत दस्तावेजका रूपमा विकसित गर्दै जानुपर्छ र बीपीका मूल्य-मान्यता, सिद्धान्त, विचार र दृष्टिकोणलाई वास्तविक रूपमा आत्मसात् गर्नुपर्छ। बीपी जडसूत्रवादी थिएनन, गतिशील थिए। बीपीका विचार पनि जडसूत्रवादी होइन, गतिशील छन्। उक्त वास्तविकताप्रति बीपी स्पष्ट थिए, कांग्रेस र कांग्रेसका नेताहरू अन्योलमा छन्।

कुनै पनि पार्टीका आदर्श, सिद्धान्त, नीति, रणनीति र कार्यनीति हुन्छन्। आदर्श र सिद्धान्त सर्वकालिक र स्थायी हुन्छन्। तर राजनीतिक परिस्थिति र शक्ति सन्तुलन अनुसार नीति, रणनीति र कार्यनीतिहरू परिवर्तन भइरहन्छन्। लोकतान्त्रिक र उदारवादी पार्टीको नीति तथा रणनीति त झन् गतिशील र परिवर्तनशील हुन्छन्।

यदि कुनै पार्टी, सिद्धान्त वा विचार समयानुकूल गतिशील, परिवर्तनशील र अद्यावधिक भएनन् भने सान्दर्भिक रहँदैनन्। त्यसैले सैद्धान्तिक दृढता र वैचारिक गतिशीलतामा नै कुनै पनि सिद्धान्त, विचार वा पार्टीको भविष्य अन्तर्निहित हुन्छ। उदार लोकतन्त्र र उदारवादको सान्दर्भिकता तथा स्थायित्वको रहस्य सैद्धान्तिक दृढता र वैचारिक गतिशीलता नै हो।

अहिले जनताले बीपी जस्तै भिजनरी, लोकप्रिय, ऊर्जाशील र डेलिभरी गर्ने नेतृत्वको खोजी गरिरहेका छन्। के कांग्रेसले जनताले खोजी गरेको विकल्प दिन सक्ला ? अहिलेको यक्षप्रश्न यही हो।

लेखक
गेजा शर्मा वाग्ले

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?