
News Summary
Generated by OK AI. Editorially reviewed.- एकान्थोफिप्पियम् स्ट्राइयटम्को नमूना २०५ वर्षपछि इलामको रोङ पालिका–६ बाट संकलन गरिएको छ, जुन नेपालका लागि महत्वपूर्ण तथ्याङ्क हो।
- सुनाखरी प्रजातिहरूलाई साइटिसको अनुसूची–१ र २ मा समावेश गरी अन्तर्राष्ट्रिय व्यापारमा कडाइ गरिएको छ र नेपाल सरकारले सम्बन्धित ऐन र नियमावली जारी गरेको छ।
सुनाखरी विज्ञ भक्तबहादुर रास्कोटीले गत जेठ महिनामा विगत १७ वर्षदेखि सुनाखरीको एक दुर्लभ प्रजातिको नमूना संकलन गर्ने धोको पूरा गरे । त्यो संकलित नमूना एकान्थोफिप्पियम् स्ट्राइयटम्को तस्बिर उनै रास्कोटीले लेखेको द अर्किडस् अफ नेपाल (सन् २००९, पृ.१८) मा देखेको हो ।
त्यो कहिले खिचिएको थियो भनेर तस्बिरको विवरण हेर्दा सोनी साइबर सट क्यामेराबाट २४ मे २००८ मा खिचिएको देखियो । यो पटक यसको नमूना इलामको रोङ पालिका–६ बाट सरनकुमार राई मार्फत संकलन गरिएको रहेछ । रास्कोटीले बताए अनुसार राई जैविक विविधताप्रति रुचि राख्ने स्थानीय विद्यालय शिक्षक हुन् ।
एकान्थोफिप्पियम स्ट्राइयटम्को नमूना संकलन नेपालको निम्ति निकै महत्वपूर्ण जानकारी हो । किनभने यो प्रजाति करिब २०० वर्षअघि नेपालबाट डिस्कोभर्ड भए पनि त्यसयता यसको नमूना नेपालमा पुनः संकलन हुनसकेको थिएन । उसबेला संकलन गरिएको नमूना बेलायतमा संग्रहित छ । यता नेपालमा पुस्तकमा प्रकाशित तस्बिरका आधारमा मात्रै अझै छ भन्न भरपर्दो प्रमाण मान्न नसकिने हो । आम प्रचलन अनुसार नमूना नै संकलन हुनुपर्छ ।
यसैले, त्यो प्रजाति नेपालमा अझै छ, छैन भन्ने कुरा तथ्याङ्कगत आधारमा शंकाको घेरामा थियो । अहिले दोस्रो पटक २०५ वर्षपछि पुनः संकलन हुन सक्यो । यो काम देश र अध्येताहरूका निम्ति अत्यन्तै महत्वपूर्ण मानिन्छ । मैले पनि थाहा पाइराखौं भनेर यो प्रजाति नेपालबाट पहिले कसले, कहिले, कहाँबाट संकलन गरेको थियो र यसको जानकारी कुन पुस्तक वा जर्नलमा प्रकाशित भएको थियो भन्ने खोजी गरें ।
जानकारी बटुल्न हम्मेहम्मे भयो । यो लेखमा उल्लिखित सुनाखरीको इतिहास सहित किन सुनाखरी आफैं उम्रन सक्दैन, यसको अन्तर्राष्ट्रिय व्यापार रोकथामको निम्ति सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार सम्बन्धी महासन्धि (साइटिस) को प्रावधान सहित नेपाल सरकारले अवलम्बन गरेको नीतिबारे संक्षिप्त चर्चा गर्ने जमर्को गरेको छु।
एकान्थोफिप्पियम्को इतिहास
बेलायतबाट विश्वभरका नयाँ वनस्पति प्रजातिहरू जर्नल ईड्वार्डस बोटानिकल रजिष्टरमा सन् १८१५–१८४७ देखि प्रकाशित हुने गरेको थियो । यसका सम्पादक सायडेन्हम एडवाडर्स थिए । पछि प्रसिद्ध वनस्पतिविज्ञ जोन लिन्ड्लीले सम्पादन गरे । ब्रिटिश वनस्पतिविद् लिन्डली विशेषगरी एशियाको सुनाखरी अध्ययनमा महत्वपूर्ण योगदान दिने विद्वानका रूपमा चिनिन्छन् । उनी कहिल्यै नेपाल नआएको भए पनि नेपालबाट फ्रान्सिस् बुचनन ह्यामिल्टन, इडवार्ड गार्डनर, नाथानियल वालिचहरूले संकलन गरेर बेलायत पठाएका नमूना अध्ययन अनुसन्धान गर्थे । यसै अनुरुप, ईडवार्डस बोटानिकल रजिष्टरमा एकान्थोफिप्पियम स्ट्राइयटम् सर्वप्रथम सन् १८३८ मा प्रकाशित भएको रहेछ ।
जोन लिन्ड्लीले यो वनस्पति संकलन गरिएको देशको नाम नेपाल र संकलकको नाम दक्षिण तथा दक्षिणपूर्व एशियामा सबैभन्दा बढी वनस्पति अध्ययन अनुसन्धान गर्ने डेनिस वनस्पतिविज्ञ नाथानियल वालिच लेखेका छन् । लिन्डलीले लेखेका छन्, नाथानियल वालिचले यसको नमूना चन्दागिरि (?)मा ढुंगामा उम्रेको भेटेका थिए । सन् २०२२ मा मार्टिन क्रिगरले नाथानियल वालिचः ग्लोबल बोटनी इन नाइन्टिन्थ सेन्चुरी इन्डिया शीर्षक पुस्तक लेखेका छन् ।
पुस्तकको आठौं अध्यायमा वालिचको नेपाल सम्बद्ध गतिविधि समावेश छ । उसबेला हेटौंडाबाट चन्द्रागिरि भएर काठमाडौं उपत्यका प्रवेशको बाटो थियो । यो सुनाखरीको नमूना चन्दागिरि नभई चन्द्रागिरिबाट उनी वा उनका कारिन्दाबाट संकलन भएको हुनुपर्छ । लिन्डलीले यो वनस्पतिको थप नमूना आसाम तथा अहिलेको बंगलादेशबाट संकलन गरिएको पनि अध्ययन गरेका थिए । वालिच नेपाल आएको २०५ वर्ष भयो
साइटिसमा सुनाखरी
संसारभर सुनाखरीको २८–३० हजार जति प्रजाति छन् । तीमध्ये १०–१५ प्रतिशत औषधिजन्य छन् । सुनाखरी औषधिजन्य भइकन पनि यसका फूल अत्यन्त आकर्षक, घरमा, गार्डेनमा लगाउन सजिलै सकिने, हम्मेसी नमर्ने भएकाले अन्तर्राष्ट्रिय व्यापार अत्यधिक थियो । यसैले सुनाखरीको अस्तित्व संकटमा हुन पुग्यो । व्यापार रोकथामको निम्ति सुनाखरी प्रजातिलाई सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार सम्बन्धी महासन्धि (साइटिस) को अनुसूची–१ र अनुसूची–२ मा समावेश गरिएको छ ।
अनुसूची–१ मा करिब ०.५ प्रतिशत जति समावेश छन् । तिनीहरूको व्यापारमा पूर्ण रूपमा प्रतिबन्ध छ । नेपालमा अनुसूची–१ अन्तर्गतको २ प्रजाति सूचीकृत छ । बाँकी ९९ प्रतिशत जति प्रजातिहरू अनुसूची–२ मा समावेश छन् । महासन्धि हस्ताक्षर गर्ने राज्यहरूबाट अनुसूची–२ मा समावेश प्रजातिहरू पनि व्यापारमा नियन्त्रण गरिएको छ ।
उनीहरूले सुनाखरी प्राकृतिक अवस्थाबाट संकलन गरी व्यापार गर्न निकै कडा कानून बनाएका छन् । नेपाल सरकारले सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन, २०७३ र सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण नियमावली, २०७६ जारी गरेको छ ।
व्यापार गर्न चाहनेले कुन प्रजाति, कहाँबाट, कति मात्रामा संकलन गर्ने भनेर सबै खुलाई वन तथा वातावरण मन्त्रालयको वन विभागमा निवेदन दिइनुपर्छ । किनभने वनस्पति सम्बन्धी साइटिस व्यवस्थापन निकाय वन विभाग हो । वन विभागमा वनस्पति विज्ञ छैनन् । साइटिसको वनस्पति सम्बन्धी वैज्ञानिक निकाय वनस्पति विभाग हो ।
वनस्पति विभागले संकलन गर्न खोजिएको सुनाखरी स्थलगत रूपमा अध्ययन गर्छ । अध्ययनले माग भए बमोजिम संकलनबाट सम्बन्धित प्रजातिको अस्तित्वमा संकट नपर्ने भए, संकलन गर्न सकिने सुझाव वन विभागलाई उपलब्ध गराउँछ ।
वन विभागले त्यसपछि अनुमति दिन मिल्छ । तर, संघीय वन मन्त्रालयले जिल्ला वन कार्यालयलाई सीधै हस्तक्षेप गर्न मिल्दैन । किनभने, जिल्ला वन कार्यालय प्रदेश सरकार मातहतमा छ । मौजुदा स्थितिमा संघीय वन विभाग र जिल्ला वन कार्यालय बीच समन्वय हुँदैन । प्रचलन कस्तो छ भने संघीय सरकारले प्रदेश सरकारको वन सचिव नियुक्त गर्छ । प्रदेश वन सचिवले प्रदेश सरकारको समन्वयमा जिल्ला वन कार्यालय सञ्चालन गर्छ ।
साइटिस कार्यान्वयनका निम्ति राष्ट्रिय र जिल्लास्तरमा वन्यजीव अपराध नियन्त्रण व्युरो बनाइएका छन् । यस व्युरोमा केन्द्रस्तरमा वन विभाग, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल सेना पनि संलग्न छन् । जिल्लामा जिल्ला वन कार्यालय, जिल्लास्तरका नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल सेना संलग्न हुन्छन् । उनीहरू सुनाखरीका केही प्रजाति बाहेक अन्य चिन्दैनन् । सुनाखरीको विशेषत: गानोको कारोबार हुन्छ । गानो पहिचान गर्न उनीहरूबाट सम्भव हुँदैन । व्यापारीले सुनाखरी बाहेकका नाममा बाहिर निर्यात गर्छन् ।
सरकारले सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन, २०७३ र सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण नियमावली, २०७६ जारी गरेपछि सुनाखरीको कारोबार घटेको छैन । तर, राजश्व संकलन चाहिं सुनाखरीबाट पहिले जे जति हुन्थ्यो, त्यसको ३ प्रतिशत मात्र भइरहेको छ । किनभने सुनाखरीको निर्यात दस्तुर प्रति केजी रु.५०० छ । शक्ति गुम्बा भनिने प्लियुनी वंशको सुनाखरीको गानो पानीअमला याने उन्युको गानोको नाममा प्रतिकेजी ३ रुपैयाँ राजस्व लिएर निर्यात अनुमति दिने गरेको छ ।
वालिच–लिन्डली–रास्कोटी देन
जोन लिन्डली लेख्छन्, उल्लिखित सुनाखरी एकदमै आकर्षक देखिन्छ । यसको जमिनमाथि गोलो आकारको गानो (सिउडो–बल्ब) समूहमा, र प्रत्येक गानोमा एउटा चौडा, छाला जस्तो, कडा र बाक्लो, पछाडि फर्किएको पात हुन्छ । जब नयाँ सिउडो–बल्ब बन्दै गरेको हुन्छ, त्यसबेला त्यो शुरूमा पूर्णरूपमा खुला हुँदैन । त्यसलाई बाहिरबाट आवरण अर्थात् शिथबाट ढाकिएको हुन्छ, त्यो आवरण चौडा, हरियो र किनाराको भाग हल्का रातो हुन्छ । यसको बीचको भाग माथि उठेको, बीचमा पर्खाल जस्तो संरचना देखिन्छ ।
यो संरचना छोटो अवधिका लागि मात्र रहन्छ । सिउडो–बल्ब विकसित भएपछि ढाक्ने संरचना विस्तारै ओइलाउँछन् । सुनाखरी फूलको केन्द्र भागमा रहेको एक पुष्पपत्र जो मानिसको जिब्रो जस्तो आकृति हुन्छ, त्यसलाई ल्याबेलम् भनिन्छ । यसको ल्याबेलम्मा गाढा रातो दाग जस्ता चिह्नहरू हुन्छन् ।
फ्लोरा अफ चाइनाको भोलम २५ मा उल्लेख भए अनुसार यो सुनाखरी ५० से.मी.सम्म अग्लो र यसको गानो अण्डाकार हुन्छ (पृ.३१०) । पातमा बीचबाट दुवैतर्फ ५–५ वटा नसाहरू हुन्छन् । यसको पुष्पगुच्छा १०–१३ से.मी. लामो हुन्छ । यसमा ४–६ वटा फूलहरू क्रिमी रंग अर्थात् घ्यू रंगको हुन्छ । फूल ट्युब आकारको हुन्छ ।
अप्रिलदेखि जून महिनासम्म फुल्ने यसको पुष्प पत्रमा राता धर्साहरू हुन्छन् । यो प्रजाति समुद्री सतहबाट ४००–१,५०० मिटर उचाइसम्म हुन्छ । बेलायतस्थित रोयल बोटानिकल गार्डेन्स, क्युको विद्युतीय सञ्जाल प्लान्टस अफ द वर्ड अनलाइनमा उल्लेख गरिए अनुसार यो असाम, चीन दक्षिण–मध्य, चीन दक्षिणपूर्व, इन्डिया, जापान, जावा, सुन्डा द्वीप, मलाया, म्यान्मार, नेपाल, ताइवान, थाइल्याण्ड र भियतनाममा पाइन्छ।
सन् २०२० मा प्रकाशित प्लियुनी जर्नल भोलम १४, अंक २ (पृ.३५१–३५४) मा जुम्टर न्याराक र अरूहरूले लेखेको एक लेख अनुसार उल्लिखित सुनाखरी एकदमै संकटमा रहेको दुर्लभ वनस्पति हो । यो वनस्पति अरुणाचल प्रदेशमा अत्यन्त थोरै संख्यामा प्रदूषणमुक्त वातावरणमा भेटिएको थियो ।
लेखमा, अत्यन्त दुर्लभ र प्रदूषणसँग अति संवेदनशील हुने यो वनस्पति जोगाउन अर्किड पारखी, फिल्ड वनस्पतिविद्, वन कर्मचारी र सरकारी निकायहरू मार्फत ध्यान दिनुपर्ने बताइएको छ । यो वनस्पतिको खोज, अनुसन्धानको निम्ति नेपालमा वालिच, लिन्डली र रास्कोटीको नाम जोडिएर एक तथ्यांकको रूपमा रहनेछ ।
सूक्ष्म प्रसारण
हामी सुनाखरी फूलका रूपमा घरमा, गार्डेनमा लगाउन मन पराउँछौं । तर, बिरुवा आफैं उमार्न सक्दैनौं । बीउ प्राकृतिक रूपमा आफैं उम्रिन्छ । कृत्रिम रूपमा उमार्न यसै सकिन्न । यसको मुन्धुम अलि अप्ठ्यारो छ । किनभने बीउ अत्यन्तै साना, धुलो–जस्तो हुन्छ । यसलाई ‘डस्ट सीड’ पनि भनिन्छ । सुनाखरीको एउटा फल वा क्याप्सुलमा लाखौं वटा बीउ हुन्छन् । बीउ उम्रन बीउमा पोषक पदार्थ इन्डोस्पर्म आवश्यक हुन्छ । धानको इन्डोस्पर्म चामल हो । इन्डोस्पर्ममा पोषणयुक्त स्टार्च हुन्छ ।
सुनाखरीको बीउमा इन्डोस्पर्म हुँदैन । यसकारण सुनाखरीको बीउ आफैं अंकुरण हुन सक्दैन । बीउ अंकुरण हुन बाह्य सहयोग आवश्यक हुन्छ । सुनाखरीको बीउहरू अंकुरणको क्रममा माटोमा, रूखका बोक्रा वा सडेगलेका पदार्थमा पाइने विशेष किसिमको सहायक जीवाणुबाट मद्दत हुन्छ ।
सहायक जीवाणुले सुनाखरीको बीउलाई आवश्यक पोषण आपूर्ति गर्छ । यसका निम्ति सहायक जीवाणु बीउभित्र प्रवेश गर्छ । त्यसपछि सहायक जीवाणुले सूक्ष्म रेसा जस्तो संरचना, हाइफा फैलाउँछ । हाइफी बीउको कोषहरूमा प्रवेश गर्छ र कोषभित्र हाइफा जेलिएर रहन्छ । त्यसरी जेलिएर रहने संरचनालाई पेलोटन भनिन्छ ।
सहायक जीवाणुले पेलोटन मार्फत बीउलाई उसको शरीरमा भएको ग्लुकोज, कार्बोहाइड्रेड, एमिनो एसिड, भिटामिन आदि आपूर्ति गर्छ । यसरी बीउले अंकुरण तथा प्रारम्भिक वृद्धिका निम्ति शक्ति प्राप्त गर्छ । बदलामा सहायक जीवाणुले केही हप्ता वा महिनापछि अंकुरित बिरुवाबाट प्रकाश संश्लेषण (फोटोसिन्थेसिस) भई बनेको ग्लुकोज ग्रहण गर्छ ।
यसरी, दुवै जीव एकापसमा लाभान्वित हुन्छन् । अन्यथा, सुनाखरीको बीउ उम्रन सक्दैनथ्यो । यसरी, सुनाखरीको फल अर्थात् क्याप्सुल भित्र लाखौंको संख्यामा बीउ भए पनि उम्रने बेलामा थोरै मात्र उम्रने वातावरण पाउँछन् । सहायक जीवाणु अन्य वनस्पतिको जरामा पनि रहन्छ ।
जसबाट वनस्पतिले जमिनबाट पानी तथा लवण अवशोषण कार्य प्रभावकारी हुन्छ । सुख्खा जमिनमा हुने वनस्पतिका जराको टुप्पामा यस्ता ढुसी रहेका हुन्छन् । तिनैको बलमा वनस्पति विशेषत: ठूला रूखहरू सुख्खायाममा पनि बाँच्न सक्छन् । कुनै जराभित्र र कुनै जराको टुप्पामा रहन्छन्, यस्ता ढुसीहरू।
नेपालमा सुनाखरीको सूक्ष्म प्रसारण अर्थात् यसको बीउबाट बिरुवा उमार्ने काममा त्रिभुवन विश्वविद्यालयको केन्द्रीय वनस्पति विभाग कीर्तिपुरमा कार्यरत डा.विजया पन्त संलग्न भइरहेको थाहा पाउँछु । उनले यसतर्फ ध्यान दिए यसलाई जोगाउन र फैलाउन सकिन्छ ।
अन्त्यमा, अन्तर्राष्ट्रिय र राष्ट्रियस्तरमा सुनाखरीको महत्व अत्यधिक भएका कारण एकान्थोफिप्पियम् स्ट्राइयटम् इलाममा भेटिनु खुशीको कुरा हो । यस ऐतिहासिक खोजलाई दीर्घकालीन रूपमा संरक्षण गर्न नेपाल सरकारको वनस्पति विभागबाट तत्काल ध्यान दिइनुपर्छ ।
यसका लागि राष्ट्रिय हर्बेरियम (गोदावरी) मा यस प्रजातिको नमूना संग्रह गरी डिजिटल डाटाबेस बनाउनुपर्छ, साथै साइटिसको परिशिष्टमा समावेश गरेर यसको अवैध अन्तर्राष्ट्रिय व्यापारमा ध्यान दिइनुपर्छ । यस प्रजातिको जिनोमिक अध्ययन गरी यसको जलवायु अनुकूलन क्षमता र औषधीय गुणहरू अन्वेषण गर्नुपर्छ । वालिच र लिन्डलीले स्थापित गरेको यो विरासतलाई अझै बलियो बनाउन युवा वैज्ञानिकहरूलाई प्रोत्साहन दिनुपर्छ, ताकि नेपालको जैविक विविधताको इतिहास बचाउन सकियोस् ।
प्रतिक्रिया 4