+
+
Shares

जीव पनि, वनस्पति पनि : बुझौं यार्सागुम्बाको स्वरूप

पाल्पाको रिमिघा लेकमा यार्सागुम्बा भेटिएको समाचार प्रकाशित भयो। यसले हिमाली क्षेत्रमा पाइने जैविक संरचनाको महत्व देखाएको छ। यार्सागुम्बाको जीवनचक्र र यसको औषधीय रसायनहरूको अध्ययन आवश्यक छ।

कमल मादेन कमल मादेन
२०८२ असार ८ गते ११:२८

कान्तिपुरको १५ जेठ २०८२ को संस्करणमा पाल्पाको रिमिघा लेकमा यार्सागुम्बा भेटिएको समाचार प्रकाशित भएको थियो । यार्सागुम्बा एक अद्वितीय जैविक संरचना हो, जुन हिमाली क्षेत्रमा पाइने थिटारोड्स (Thitarodes) जातका मथ उर्फ पतिंग र ओफियोकोर्डिसेप्स (Ophiocordyceps) जातका  ढुसीबाट बनेको हुन्छ । यसबाहेक अन्य  जातका किराका लार्भामा विभिन्न जातका ढुसी पलाउँछ । तर, तिनीहरू औषधीय गुणका आधारमा उति महत्वपूर्ण हुँदैनन् ।

यार्सागुम्बा प्राकृतिक अवस्थामा थिटारोड्सको लार्भा जमिनमुनि र ढुसी जमिनमाथि निस्केको हुन्छ । संरचनात्मक अनुपातमा यार्सागुम्बाको कुल तौलमा थिटारोड्सको हिस्सा ६५–७५ प्रतिशत र ओफियोकोर्डिसेप्स ३५–२५ प्रतिशत जति हुन्छ । यद्यपि, यो अनुपात वातावरण, भौगोलिक अवस्थिति र संकलन गरिएका अवस्थाले केही फरक पार्न सक्छ ।

कमल मादेन

म २०६६ सालमा म्याग्दी, बाग्लुङ र रुकुमको हिमाली उच्च भूभागमा जानुअघि यार्सागुम्बाको किरो बारे निकै जानकारी बटुल्न किरा र ढुुसी विशेषज्ञसँग सम्पर्क गरेको थिएँ । मेरो प्रश्न मथ/पतिंगको लार्भा के कसरी जमिन भित्र जान्छ भन्ने थियो । स्नातकोत्तर (एम.एस्सी.) तहमा विशेषत: किरा अध्यापन गराउने गुरुहरूबाट सन्तोषजनक उत्तर पाउन सकिनँ । उहाँहरूमा यार्सागुम्बाको मथ कुन जातको भन्ने हेक्का समेत थिएन । आजका दिनमा यार्सागुम्बाका किरा र ढुसीबारे जनमानस बेखबर छन् । सत्य के पनि हो भने नेपालमा वयस्क थिटारोड्सको तस्बिर खिचिएको भेटिन्न । छिमेकी देशहरूमा संकलन गरिएका वयस्क थिटारोड्सका तस्बिर सहित यार्सागुम्बाको गोप्य जीवनचक्र किरामा च्याउ, च्याउमा जन्तुको लार्भा गाँसिनुको रहस्यसँगै यसको महत्वबारे चर्चा गर्ने जमर्को गरिएको छ ।

यार्साको किरो

यार्सागुम्बाको किरो थिटारोडस्बारे एक जानकारी जूकिज जर्नल (२०१९, अंक ८८५, पृ.८९–११३) मा प्रकाशित छ । विश्वमा यो जात अन्तर्गत कैयन् दर्जन प्रजाति छन् । लेख अनुसार, सन् १९६८ मा नेपालबाट थिटारोड्स ड्यानिएली (T. danieli), थिटारोड्स एबर्टी (T. eberti), र थिटारोड्स् डाइरली (T. dierli) प्रजाति डिस्कोभर्ड गरिएका थिए । तिनीहरू समुद्री सतहबाट ३०००–५५०० मिटर उँचो भौगोलिक उचाइसम्म पाइन्छन् ।

थिटारोड्स ड्यानिएली मुस्ताङ, मनाङ, हुम्लाबाट अनि थिटारोड्स एबर्टी मुस्ताङ, मनाङ र स्याङ्जाबाट संकलन गरिएका थिए । यस्तै, मुस्ताङ, कास्की र नवलपरासीबाट थिटारोड्स डाइरली । सन् २०१० मा भुटानबाट थिटारोड्स क्यालिगोफिलस र थिटारोड्स नाम्नाई डिस्कोभर्ड भएका छन् । मैले त्यो लेख पढेपछि मात्र थिटारोड्सको जीवन चक्रबारे थाहा पाएको थिएँ ।

जन्तु जगतमा जीवको जीवन चक्र अण्डा, लार्भा, प्युपा र वयस्क अर्थात् प्रौढ भएर पूरा हुनेलाई होलोमेटाबोलस (Holometabolous) भनिन्छ । यसभित्र अनेकन् समूह (Orders) छन् । तीमध्ये एक समूह लेपिडप्टेरा (Lepidoptera) हो । यो समूहलाई थप पुतली र मथ उप–समूहमा विभाजित गरिएको छ । मथलाई पतिंग पनि भनिन्छ, जुन जमिनमाथि रातमा विचरण गर्छ । मथको एक जात थिटारोड्स हो ।

भुटानमा संकलित थिटारोड्स प्रजातिहरु .

थिटारोड्सको जीवनचक्र बडो अचम्मको हुन्छ । यसको अण्डा र प्रौढ जमिनमाथि हुन्छ । लार्भा र प्युपा जमिनभित्र रहन्छ । जीवनचक्रको ९९ प्रतिशत भन्दा बढी हिस्सा लार्भा अवस्थामा रहन्छ । अण्डाबाट लार्भा बन्ने बित्तिकै जमिनभित्र प्रवेश हुने रहेछ । ती लार्भा एक, डेढ वर्षदेखि झण्डै ३ वर्षसम्म बाँच्दा रहेछन् । ओफियोकोर्डिसेप्सको बीजाणु (स्पोर) जब लार्भासँग सम्पर्कमा पुग्छ, लार्भा संक्रमित हुन्छ । बीजाणु लार्भाको छालाको सम्पर्कमा रहँदा, विशेष इन्जाइम बनाउँछ र त्यसको सहायताले अत्यन्त साना रेसा जस्ता आकृति उत्पन्न भई लार्भाको शरीरभित्र प्रवेश गर्छ । कलिला लार्भा संक्रमणबाट मर्छ । यसक्रममा ढुसी पनि मर्छ । यदि, बीजाणु लार्भाको सम्पर्कमा पुगेन भने पनि कैयन् महिना जीवित रहन्छ ।

अलि छिप्पिएको लार्भा भने संक्रमित भइहाले पनि मर्ने सम्भावना कम हुन्छ । जाडो शुरू भइसकेको हुन्छ । हिउँदमा चिसोबाट बच्न लार्भा जमिन मुनि निकै मुनि पुग्छ । त्यसबेला, उपयुक्त वातावरण नपाएर ढुसी ज्यान मात्र जोगाएर रहन्छ । अर्को वर्षमा गर्मी शुरू भएपछि ती लार्भा जमिनको सतह नजिक आउँछन् । त्यसबेला लार्भा अलि बढी प्रतिशतमा संक्रमित हुन्छन् । जति उमेर बढ्दै गयो, उति लार्भा संक्रमित हुने सम्भावना बढी रहन्छ । प्युपा अवस्थामा पनि संक्रमित हुन्छन् ।

वैशाख, जेठ, असारमा संक्रमित लार्भाको शरीरभित्र ओफियोकोर्डिसेप्सको जालो अत्यधिक फैलन्छ । त्यसलाई माइसेलियम भनिन्छ । त्यसपछि लार्भा जब जमिनको सतह नजिक पुग्छ, तापका कारण माइसेलियमले अलैंगिक प्रजनन (Asexual Reproduction)को निम्ति सर्प जस्तो आकृति स्ट्रोमा (Stroma) बनाउन सुुरु गर्छ । यसक्रममा ढुसीले अत्यधिक रूपमा लार्भाबाट भोजन ग्रहण गर्छ, जसका कारण लार्भा जीवित रहन सक्दैन । स्ट्रोमा जमिन बाहिर वृद्धि हुन्छ । यदाकदा संक्रमित लार्भा जिउँदै पनि भेटिन्छन् ।

जमिनमुनि रहेका लार्भाहरू जे–जति लार्भा ढुसीबाट संक्रमित हुँदैन, तिनीहरू प्युपा अवस्थामा गएर वयस्कमा परिवर्तन भई जमिनमाथि निस्कन्छन् । तिनमा पखेटा पलाएको हुन्छ । पखेटा खैरो, खरानी रंगका हुन्छन् । त्यसपछि भाले, पोथी संसर्ग प्रक्रियामा १–२ दिन बिताउँछन् । पोथीले लगत्तै अण्डा पार्छ । तिनका पखेटा धेरै दिन टिक्दैन, पखेटा झर्छ र पखेटा बेगरका वयस्क थिटारोडस् जमिन भित्र पस्न सक्दैन । यसरी, वयस्क भएको भाले, पोथी बढीमा ५ दिन बाँच्छन् ।

यसैले, वयस्क थिटारोड्स ज्यादै कम मात्रामा मात्र देखिन्छन् । ज्यादै कहिलेकाहीं मात्र देखिने भएकाले यसलाई अंग्रेजहरूले ‘घोष्ट मथ’ नाम दिएका छन् । पोथीले सयौंका संख्यामा अण्डा पार्छे । करिब ४–५ दिनमा अण्डाबाट ज्यादै सानो किरो निस्कन्छ । पहिलेका अध्ययनहरूमा लार्भा विचरण गर्दा ढुसीका बीजाणु जो घाँसका जरासँग टाँसिएर रहेका हुन्छन्, जरा खाने क्रममा लार्भाको शरीर भित्र प्रवेश हुने लेखिएका थिए । यस्तै, श्वास–प्रश्वास प्रक्रियामा पनि ढुुसीको स्पोर शरीरभित्र प्रवेश हुने अनुमान थियो ।

चीनमा संकलित थिटारोड्स शम्बालेन्सिसका भिन्न तस्वीरहरू ।

चीनमा कृत्रिम रूपमा दुई प्रजातिको जीवनचक्र अध्ययन गरिएको थियो । संसर्गपछि अण्डा पारेर निस्केको करिब एक हप्तामा भाले, पोथी दुवै मरे । एउटा प्रजाति ४९४ र अर्को प्रजाति ७८० दिन बाँचेको थियो । जमिन भित्र पखेटासँग रहन सक्दैन । यसको अर्थ, यिनको करिब ९९ प्रतिशत जीवन जमिनभित्र नै बित्दोरहेछ ।

यार्साको ढुसी

संसारभर ओफियोकोर्डिसेप्स २५० जति प्रजाति छन् । सन् २०२४ मा प्रकाशित महेशकुमार अधिकारी लिखित मसरुम्स अफ नेपाल शीर्षक पुस्तक अनुसार ओफियोकोर्डिसेप्सका नेपालमा १० प्रजाति पहिचान भएका छन् (पृ. ६२–६९) । यो जातका ढुसी समुद्री सतहबाट ३०००–५५०० मिटर उचाइसम्म हुन्छन् । यार्सागुम्बा हुने भूभागमा निकै लामो अवधिसम्म जमिन हिउँले ढाकेको हुन्छ । चैत महिनाको अन्त्यसम्म करिब ४ हजार मिटरसम्मको भौगोलिक उचाइमा हिउँ रहन्छ । वैशाखको शुरूमा हिउँ विलाएपछि करिब ४ हजार मिटरमा थिटारोड्सको लार्भाको शरीरबाट ओफियोकोर्डिसेप्सको स्ट्रोमा पलाई जमिन बाहिर निस्कन्छ । योभन्दा बढी उचाइमा हिउँ ढिलो पग्लने भएकाले जेठ, असारको शुरूसम्म थिटारोड्सको लार्भाबाट स्ट्रोमा पलाउँछ । नेपालको यार्सागुम्बामा ओफियोकोर्डिसेप्स साइनेन्सिस प्रजातिलाई औषधीय गुणका दृष्टिकोणबाट महत्वपूर्ण मानिन्छ । पूर्वी नेपालमा यो प्रजाति पाइन्न ।

ओफियोकोर्डिसेप्स जस्तै देखिने ढुसीको अर्को जात कर्डिसेप्स (Cordyceps) हो । यिनीहरू हेर्दा झण्डै उस्तै देखिए पनि यसको शरीरको आकार, रंग, लार्भा जात, बीज थैली, बीजाणु आदि फरक हुन्छन् । ओफियोकोर्डिसेप्सको ढुसी प्राय: गाढा खैरो वा गाढा खैरो रंगको हुन्छ । जबकि कर्डिसेप्सको हल्का पहेंलो, सुन्तला वा केसरिया रंगको हुन्छ । ओफियोकोर्डिसेप्स बनावट लामो, लचिलो र कमलो हुन्छ, जबकि कर्डिसेप्सको साना, कडा वा छिटो भाँँचिने खालको हुन्छ ।

तालिका : नेपालमा पाइएका यार्सागुम्बाका ढुसी प्रजाति

 क्र.स. ढुसी भूभाग
१. ओफियोकर्डिसेप्स साइकाडिकोला नागार्जुन, काठमाडौं
ओफियोकर्डिसेप्स फर्मिकारम सोलुखुम्बु
ओफियोकर्डिसेप्स ग्रासिलिज नगरकोट, काठमाडौं
ओफियोकर्डिसेप्स काङ्डिङ्गेन्सिस ?
ओफियोकर्डिसेप्स मल्टिऐक्सियालिस सिन्धुपाल्चोक
ओफियोकर्डिसेप्स नेपालेन्सिस कञ्चनजंघा
ओफियोकर्डिसेप्स नुटान्स मनाङ, काठमाडौंको नागार्जुन
ओफियोकर्डिसेप्स साइनेन्सिस रुकुम, डोल्पा, जुम्ला, मनाङ, दार्चुला,
ओफियोकर्डिसेप्स स्फेकोसेफाला दोलखा
१० ओफियोकर्डिसेप्स ट्राइसेन्ट्री काठमाडौं, गोकर्ण

स्रोत : मसरुम्स अफ नेपाल, २०२४

संकलन असर 

थिटारोड्सको लार्भा संक्रमित नभएका मात्र वयस्क बन्छन् । जमिन बाहिर निस्केको १–२ दिनमै संसर्ग प्रक्रियामा भाग लिन्छन् । त्यसपछि पोथीले एक–दुई दिनमै अण्डा पार्छे । भनिन्छ, पोथीले घाम अस्ताउन लाग्दा वा अस्ताइसकेको उज्यालोमा उड्दै अण्डा पार्दै जमिनमा खसाल्छ । जमिनमा ढुसीका बीजाणु जति बढी मात्रामा हुन्छ, त्यति अण्डाबाट निस्केको लार्भा संकमित हुने सम्भावना बढी हुन्छ । मात्र वयस्क अवस्थाको लार्भा संक्रमित भयो भने यार्सागुम्बामा परिणत हुन्छ । यदि अधिकांश लार्भा संक्रमित भयो भने स्वस्थ लार्भा नै रहन्न । यस्तो अवस्थामा लार्भा प्रौढ थिटारोड्समा परिणत हुने अर्थात् प्युपा भएर वयस्क हुने सम्भावना कम हुन्छ । प्रौढ कम बने भने यार्सागुम्बा पाइने क्षेत्रमा थिटारोड्सका अण्डा कम हुन्छ ।

कम अण्डा भएपछि लार्भा कम हुने नै भयो । लार्भा कम भएपछि यसै यार्सागुम्बाको संख्या कम हुन पुग्छ । जमिनभित्र सबै लार्भा संक्रमित नहुँदा वयस्क थिटारोड्स बन्ने प्रक्रिया रोकिंदैन । वयस्क बनिन्छन्, संसर्ग गर्छन् । अण्डा पार्छन् । यसको अर्थ, यार्सागुम्बा संकलनबाटै चाहिं वयस्क थिटारोड्स संख्यामा खासै असर पर्दैन, बरु वृद्धि हुन सक्छ । किनभने संकलन कम भए बीजाणु बढी उत्पादन हुन्छ । परिणामस्वरुप, लार्भा संक्रमण हुने दर वृद्धि हुन्छ । सबै लार्भा सबै संक्रमण भए र स्वस्थ लार्भा बच्न सकेन भने अर्को साल वयस्क थिटारोड्स जोगिन्न ।

तर, अत्यधिक संख्या मानिसको उपस्थितिबाट संकलकले यार्सागुम्बा हुने जमिनको स्वास्थ्य बिगार्छ । माटो साह्रो हुन्छ । लार्भाले खाने घाँसको स्वास्थ्यमा किचिएर, थिचिएर असर पर्छ । कति उखलेर मर्छन् ।  मानिसको उपस्थितिले प्लाष्टिक थुप्रिन्छ । पहिले त्यहाँ नभएका चिजबिज पुग्छ । यसबाट त्यहाँको पारिस्थितिक प्रणालीमा असर पर्छ । कुनै ठाउँ विशेषमा यार्सागुम्बा सबै संकलन भयो भने त्यहाँ अर्को सालको निम्ति ढुसीको बीजाणु उत्पादन हुँदैन । बीजाणु भएन भने यार्सागुम्बा बन्ने प्रक्रिया रोकिन्छ । यसैले, कहिलेकाहीं कुनै ठाउँ विशेषमा यार्सागुम्बा एकदमै कम पलाउँछ वा पलाउँदै, पलाउँदैन ।

उपयोगी रासायनिक यौगिकहरू 

मैकोट लेखमा यार्सा खोज्दै स्थानीय र प्रहरी ।

रुकुम जिल्लामा दुई क्षेत्रमा यार्सागुम्बा संकलन गरिन्छ, पुपाल हिमाल र सुनदहमा । पुपालको तुलनामा सुनदह क्षेत्रमा कम पाइन्छ भन्थे । हामी सुनदहको अध्ययन गर्न जाँदै थियौं । मोटर बाटो बिग्रेको हुनाले म्याग्दीको बेनी बजार भएर दरभाङ, लुलाङ, ढोरपाटन, निशेलढोर, तकसेरा, कोलबुङहुँदै २४ साउन २०६६ मा रन्मामैकोट पुग्यौं । त्यो अन्तिम रन्मा गाउँ समुद्री सतहबाट सरदर २,३२० मिटर उचाइमा थियो । त्यसभन्दा उत्तर जंगल, पाटन र उत्तरमा डोल्पा जिल्ला । रुकुममा सबै जसो मगर गाउँ । घरको छानो नहुने । माटाले बनाएका एकअर्को घर एकआपसमा जोडिएका । मानिस असाध्य मिलनसार । तर, ट्वाइलेटको चलन थिएन । टोलभित्रका बाटाहरू फोहोरले हिंडिसक्नु थिएन । रातमा सबैले बाटामै दिसा गर्दा रहेछन् । तकसेरामा त घर माथिबाट दिसा गर्ने, तल सुँगुरले खपाखप खान्छ दिसा भन्थे ।

२५ गते रन्मामैकोटबाट सुनदहतर्फ लाग्यौं । पहिलो रात मानिस यदाकदा बस्ने गरेको ओढारमा बस्यौं । दाउराका लागि खासै दु:ख गर्न परेन । दोस्रो बास ४२०० मिटर जति उचाइमा कतै बास बस्ने ठाउँ बाटो नजिक पाइएन । एउटा विशाल ढुंगाको ओढारमा केही वर्षअघि रन्मा–मैकोटका बलकर्म बुढामगर र अज बुढामगर बास बसेको खोज्दै गइयो । आधा घन्टामा घिस्रिंदै पुगियो । अँध्यारो भइसकेको थियो ।

भिरालो घाँसे जंगल थियो । दाइहरूले खुकुरी ल्याउन बिर्सेछन् । दाउरा जुटाउन सकस पर्‍यो । उहाँहरूले सुकेको धुपीका, आगाले खाएका संकलन गरेर ल्याए  । मुश्किलले दाउरा बालेर भात पकाउन सकियो । रातभरि पानी पर्‍यो । सुनदहमा २७ पुगेको थियौं ।

यो दह समुद्री सतहबाट ४,४३५ मिटर भौगोलिक उचाइमा छ । यार्सागुम्बा कतै भेटिएला कि भनेर ढोरपाटन शिकार आरक्षका निमित्त वार्डेन पशुपति अधिकारी र गेमस्काउट खेमराज सुवेदीसँग केहीबेर खोज्यौं । नभन्दै एउटा भेटियो । अलि सडिसकेको थियो । बलकर्म दाइको घरमा सुनदह जाँदा र फर्किंदा १–१ रात बस्यौं । त्यहाँ सबैका घरमा यार्सागुम्बा औषधिका लागि राखेका थिए । उनीहरू ज्वरो आउँदा, डायरिया हुँदा यार्सागुम्बा खाँदा बिसेक हुन्छ भन्थे । फर्किंदा २–३ वटा दिएका थिए, औषधिका लागि । रुकुममा हामीलाई यार्सागुम्बा (जीवनबुटी) व्यापारी भन्ठान्थे । हामी सोध्यौं, जीवनबुटी छ ?

धरानमा २०५७ सालतिर होला, एकजना महेन्द्र बहुमुुखी क्याम्पसका गुरुबाट मलाई यार्सागुम्बाको एक नमूना पठाएर, त्यो नक्कली कि सक्कली भनेर पहिचान गरिदिन अनुरोध गरिएको थियो । ती गुरु ५५ वर्ष जतिका थिए । उनले धरानमा यार्सागुम्बा किनेर यौन शक्ति बढाउन दूधसँग खाएको तर खासै फरक नभएको रहेछ । त्यसबेला खासै जानकारी थिएन । त्यो यार्सागुम्बा स्नातकोत्तर क्याम्पसको वनस्पति विभागमा राखिएको नमूना भन्दा केही सानो थियो । त्यो नमूना कैलालीका यमबहादुर बमले क्याम्पसलाई अध्ययन सामग्रीका लागि उपलब्ध गराएका थिए । मैले, सानो आकारकै भएकाले त्यो नक्कली हो कि भन्दिएको सम्झना छ ।

ओफियोकोर्डिसेप्स साइनेन्सिस भएको यार्सागुम्बा असली मानिन्छ । यो प्रजाति जुम्ला, डोल्पा, रुकुम, मनाङ, आदि  जिल्लामा पाइन्छन् । यो प्रजातिमा थिटारोड्स जातको करिब ३० प्रजाति मथ संकमित हुँदोरहेछ । नेपालमा थिटारोड्सको जात अन्तर्गत ३ प्रजाति (ड्यानिएली, थिटारोड्स एबर्टी र थिटारोड्स डाइरली) पहिचान भएको माथि चर्चा गरियो । यी बाहेक अन्य प्रजाति पनि थुप्रै होलान् । किनभने भारतको छिमेकी प्रान्त उत्तराखण्डको ३८०० मिटर उचाइमा ४ प्रजाति पाइएको थियो (नेगी र अरूहरू, २०२०, जर्नल अफ इन्टोमोलोजी, भोलम ११३ अंक ४, पृ. २३३) । तीमध्ये एक नेपालमा पाइने थिटारोड्स ड्यानिएली पनि पाइएको थियो । पूर्वी नेपालमा भुटान र सिक्किममा पाइने थिटारोड्स पनि होलान् ।

भुटानको यार्सा

लार्भा विभिन्न उमेर समूहमा ढुसीबाट संक्रमित हुन्छ । तिनीहरू साना, मझौला र ठूला सबै संक्रमित हुन्छन् । यसकारण, यार्सागुम्बाको आधार पनि एकै प्रजातिको सानो, मझौला र ठूलो हुन्छ । लुम्बिनी प्रदेश, पूर्वी रुकुम जिल्ला पुथा उत्तरगंगा गाउँपालिका वडा नं. १ मैकोट निवासी सुरविन्द्रकुमार पुनका अनुसार ठूला यार्सागुम्बा सरदर २१००–२२०० वटा जति जोख्दा १ के.जी. हुन्छ । यो भनेको एउटा ठूलो यार्सागुम्बाको तौल सुख्खामा ०.४७–०.४५ ग्राम हुने रहेछ ।

यस्तै मझौला आकारको २८००–२९०० वटाको १ के.जी. र त्यो भन्दा सानो ४०००–४२०० वटाको १ के.जी. हुने रहेछ । मझौला आकारको ०.३५–०.३४ ग्राम र सानो आकारको ०.२५–०.२३ ग्रामसम्मको हुन्छ । यो वर्ष ठूलो यार्सागुम्बा प्रतिगोटा ९०० रुपैयाँसम्ममा बिक्री भइरहेको छ । पुनका अनुसार, पाल्पामा भेटिएको जस्तो यार्सागुम्बा रुकुममा २ हजार मिटर भन्दा कम उचाइमा भेटिन्छ, तर संकलन गरिन्न ।

यार्सागुम्बामा सर्प जस्तो जमिनमाथि निस्केको हिस्साको तौल, त्यो पूरै यार्सागुम्बाको करिब १५ प्रतिशत जति हन्छ । बाँकी सबै लार्भा हुन्छ । उसो त लार्भाभित्र पनि ढुसीको माइसेलियम जेलिएको हुन्छ । अत: दुवै भाग उपयोगी हो । तर, लार्भामा जन्तुको हिस्सा पनि भएकाले पौष्टिक पदार्थ यसै कमि हुन्छ । संकलकले कहिलेकाहीं जिउँदै स्वस्थ थिटारोड्सको लार्भा फेला पार्छन् । त्यो लार्भा ओफियोकार्डिसेप्सको ढुसीबाट संक्रमित भएको छैन भने त्यसमा उपयोगी रसायन हुन्न ।

ओफियोकोर्डिसेप्स साइनेन्सिस् रहेको यार्सागुम्बामा कोर्डिसेपिन, एडेनोसिन, पोलिस्याकाराइड्स लगायत अन्य कैयन् महत्वपूर्ण जैविक रसायनहरू हुन्छ । त्यसैले यार्साको महत्वपूर्ण भाग नै ढुसी हो । कोर्डिसेपिन एक किसिमको न्युक्लियोसाइड (Nucleoside) हो, जसले सेवन गर्नेको शरीरमा ऊर्जा बढाउने, थकाइ घटाउने र शरीरको प्रतिरक्षा प्रणाली मजबुत गर्छ ।

एडेनोसिन पनि एक प्रकारको न्युक्लियोसाइड हो, यसले सेवन गर्नेको रक्त प्रवाहमा सुधार गर्ने, रक्तचाप नियन्त्रण गर्ने, तंत्रिका तंत्रलाई आराम दिने तथा निद्रा सुधार गर्न मद्दत गर्छ । पोलिस्याकाराइड्सले रोग प्रतिरोध क्षमता बलियो बनाउने, कलेजोको सुरक्षा गर्ने र कोसिकाहरूको सुरक्षामा सहयोग गर्छ । यसबाट बुढ्यौलीको गति कम हुने बताइन्छ । यस्तै, लार्भामा ढुसीका माइसेलियम जेलिएर रहेको हुन्छ । त्यसमा उल्लिखित रसायनिक यौगिकहरू हुन्छ । पाल्पामा भेटिएको यार्सागुम्बाको ढुसी ओफियोकोर्डिसेप्स साइनेन्सिस होइन ।

विद्यालय परित्याग  

यार्सागुम्बाले जीविकामा त सघाउ पुगेको छ तर, शैक्षिक क्षेत्रमा असर नकारात्मक छ । कक्षा १० सम्मको परीक्षा चैतमा हुन्छ । वैशाखमा कक्षा भर्ना हुने र पढाइ शुरू वैशाख, जेठमा निकै हुन्छ । यार्सागुम्बा संकलन पनि वैशाखको शुरूबाट हुन्छ । विद्यार्थी परीक्षा सक्ने बित्तिकै यार्सागुम्बा संकलनको निम्ति हिमालतिर लाग्छ । उनीहरू न त नयाँ कक्षामा भर्ना हुन्छन्, न पढ्न नै जान्छन् । यस्तै, कक्षा १२ को अन्तिम परीक्षा वैशाखमा हुन्छ । १२ पढ्ने विद्यार्थीले परीक्षा नै त्याग्छन् ।

यसरी, यार्सागुम्बा संकलनका कारण यार्सागुम्बा पाइने जिल्लाका विद्यार्थी स्कूल छाड्न बाध्य हुन्छन् । यार्सागुम्बा टिप्न जानेहरू परीक्षामा बसे पनि परिणाम राम्रो गर्न सक्दैनन् । अधिकांश एसईई उत्तीर्ण हुन सक्दैनन् । बल्लतल्ल उत्तीर्ण गरेकाको दश जोड दुईको पढाइ पार गर्न सक्दैनन् । तथ्यांकले बताउँछ कि यार्सागुम्बा बढी पाइने जिल्लाहरूमा विद्यालय परित्याग गर्ने प्रतिशत बढी छ । कर्णाली प्रदेशमा सबैभन्दा बढी यार्सागुम्बा संकलन हुन्छ । द राईजिङ नेपाल को ९ फरवरी २०२५ संस्करणमा प्रकाशित एक सामग्री अनुसार कर्णाली प्रदेशमा आधारभूत तहका ३९ प्रतिशत विद्यार्थी सदाका लागि स्कूल जान छाड्छन ।
यार्सागुम्बा संकलनको समयमा धेरै विद्यार्थी विद्यालयमा गयल हुनाले पनि विद्यालय छाड्ने दर बढेको हुन सक्छ । विद्यार्थीले विद्यालय नत्यागोस् भन्नका निम्ति विद्यालयले लचिलो तालिका बनाउन उपयुक्त हुन्छ । जस्तो यार्सा संकलनको बेला लामो बिदा दिन उपयुक्त हुन्छ । यार्सागुम्बा संकलन गर्न जानै पर्ने स्थितिका विद्यार्थीलाई स्थानीय तहबाट विशेष व्यवस्था उपलब्ध गराउन सके जाने संख्या घटाउन सकिन्छ । स्थानीय तहले विद्यालय नछाड्ने अभियान सञ्चालन गरे सकारात्मक प्रभाव पर्न सक्छ ।

सुरविन्द्रकुमार पुन भन्छन्, ‘गरिब परिवारका मानिसले शिक्षा भन्दा पैसा महत्वपूर्ण ठानेर तिनका छोराछोरीको भविष्य अन्धकार बनाउँछन् । मैकोटका बासिन्दाले पुपाल हिमालबाट यार्सागुम्बा संकलन गर्छन् । त्यहाँको यार्सागुम्बामा मुख्यगरी ओफियोकोर्डिसेप्स साइनेन्सिस् पाइन्छ । थिटारोडस्को कुन प्रजाति छन्, निर्क्योल गर्न सकिएन ।’ रुकुममा केही वर्षयता स्थानीय बासिन्दाले मात्र यार्सागुम्बा संकलन गर्ने प्रावधान बनाएका छन् । तर पनि सुरक्षाको निम्ति प्रहरी बल परिचालन हुन्छ । पुनले उपलब्ध गराएको एक तस्बिरमा प्रहरी जवान पनि बालबालिकासँगै यार्सागुम्बा खोजिरहेका छन् । यार्सागुम्बा संकलनको अवधिमा सुरक्षाका लागि खटाइएका प्रहरीहरू आफैं यार्सागुम्बा खोज्दा रहेछन् । उनीहरूको यस्तो गतिविधि क्यामेरामा कैद हुन पुगेछ । यस्तो तस्बिर देख्दा जो कोहीलाई ‘पशुपतिको जात्रा, सिद्राको व्यापार’ भन्ने उक्ति सम्झना हुन्छ, होला । मलाई त त्यस्तै लाग्यो । पहिले बाहिरका मानिस पुगेर यार्सागुम्बा पाउने क्षेत्रको वातावरण बढी विनाश हुन्थ्यो । पुनका अनुसार, डोल्पा जिल्लामा जिल्ला बाहिरका मानिसले पनि संकलन गर्छन् ।

अनुसन्धान नीति र विज्ञ

नेपालबाट यार्सागुम्बा मुख्य गरी चीन निर्यात हुन्छ । यसको व्यापारको जालो ज्यादै जेलिएको छ । प्रतिकेजी निकासी वापत राजस्व ३१ हजार रुपैयाँ सरकारलाई बुझाउनुपर्छ । राजस्व छल्ने उत्तिकै हुन्छन्  । अध्ययन अनुसन्धानका लागि हिजोआज डीएनए अध्ययन गरिन्छ । नेपालमा  डीएनए तहको अध्ययन भरपर्दो छैन । यसका लागि विदेश लैजानुपर्छ । नेपालको कुनै पनि जैविक स्रोत अध्ययन अनुसन्धानको निम्ति विदेश लैजान कानूनी प्रावधान छैन । अत: अनुसन्धानकर्ताले यार्सागुम्बा डीएनए अध्ययनका लागि विदेश लैजान सक्ने अवस्था छैन । व्यापारीले जति पनि विदेश लैजान पाउने, तर विदेशमा डीएनए अध्ययन गर्न लैजान नमिल्ने नेपालको सरकारको नीति भने अचम्मकै छ ।

हिमालय क्षेत्रमा यार्सागुम्बाको रूपमा चिनिने ओफियोकोर्डिसेप्सथिटारोड्स सम्बन्ध प्राचीन हिमालय पारिस्थितिक प्रणालीको उत्क्रान्तिको फल हो, जुन लाखौं वर्षदेखि अस्तित्वमा छ । ओफियोकोर्डिसेप्सले हिमालयको मौसमी अवस्था अनुसार आफूलाई जीवित राख्न थिटारोड्स लार्भामा परजीवी भएर अस्तित्व कायम राख्न सफल भएको हो । यसमा थिटारोड्स लार्भाले कुनै लाभ लिंदैन, बरु आफ्नो जीवन गुमाउँछ । यसको फाइदा मानिसले लिइरहेका छन् ।

अभिषेक सुवेदी, संगीता हमाल र अर्पणा जोशीको सन् २०२३ मा हेरिटेज जर्नल भोलम २ अंक २ मा प्रकाशित अ रिभ्यु अन ओफियोकोर्डिसेप्स साइनेन्सिस शीर्षक लेखको निष्कर्ष अनुसार यो ढुसी प्रजाति नेपाल, चीन, भारत, भुटानका लाखौं मानिसको जीविकासँग सम्बन्धित छ । यो प्रजातिको जीवनचक्रको उचित अध्ययन र अत्यधिक संकलन रोक्न व्यवस्थापन आवश्यक छ र यसमा अत्यन्त धेरै औषधीय गुण छ । नेपालले यार्सागुम्बाबाट वर्षेनि करोडौं, अर्बौं रुपैयाँ आम्दानी गर्छ । यसको पहिचान तथा पर्यावरण अध्ययनमा न त सरकारले ध्यान दिएको छ, न अध्येताहरूले नै । जे–जति जानकारी भएको छ, सबै विदेशीको अध्ययनबाट हो ।

धेरैजसो ओफियोकोर्डिसेप्स साइनेन्सिस बाहेक प्रजातिहरूमा उपयोगी रसायनिक यौगिकहरू हुन्छन् । उपयोगी रसायनिक यौगिकको मात्रा अनुसार मूल्य फरक पर्ने हो । कुन–कुन जिल्लामा कुन–कुन प्रजातिका ओफियोकोर्डिसेप्सथिटारोड्स पाइन्छ भनेर जानकारी भइसक्नुपर्ने हो । तिनीहरूका आकृति कस्ता हुन्छन्, जानकारी गराइसक्नुपर्ने हो । विडम्बना, कुनै नयाँ ठाउँमा भेटियो भने त्यो कति महत्वपूर्ण हो बताउन सकिने अवस्था छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?