
News Summary
Generated by OK AI. Editorially reviewed.- सुनाखरीको वैज्ञानिक वर्गीकरण एपीजी प्रणालीमा आधारित छ र विश्वभर २९ हजार ५०० जति प्रजाति रहेको अनुमान गरिएको छ।
- नेपालमा सुनाखरीको ९५ वंश र ४५० भन्दा बढी प्रजाति पाइन्छ र संरक्षणका लागि नीति तथा अनुसन्धान आवश्यक छ।
- सुनाखरी प्रजातिहरू जलवायु परिवर्तन, अवैध व्यापार र वासस्थान विनाशबाट संकटग्रस्त छन् र संरक्षणमा समुदायको सहकार्य आवश्यक छ।
मानिसको परिचयका लागि हामी प्रायः व्यक्तिगत नाम भन्छौं । जस्तो– राम राई, रामकुमार राई, रामबहादुर राई । तर, एउटै गाउँ वा टोलमा यस्तो नाम एक जनाको भन्दा बढीको पनि हुन सक्छ । पूर्वी नेपालको विशेषतः राई बसोबास रहेको कुनै एक पालिकामा राम राई खोजी गरे, थुप्रै जनाका नाम राम राई पाउन सकिन्छ ।
जनगणना २०७८ मा राईको संख्या ६ लाख ४० हजार ६७४ थियो । हिन्दू धर्म मान्ने वा प्रभावितबाट प्रायःले राम नाम राख्छन् । देशभरका राई समुदायमा यदि २ प्रतिशतको नाम राम भए राम राई नाम हुने संख्या १२ हजार ८१३ जना हुन्छ । तीन प्रतिशत भए १९ हजार २२० जना हुन्छ । त्यसैले राम राई मात्र भन्दा व्यक्ति छुट्टिंदैन । खोजेको चाहिं को हो भन्ने सन्दर्भ जोडे मात्र सही राम राई थाहा पाउन सक्छौं ।
मानिस बाहेक जीवका नाममा पनि यस्तै अन्योल हुन्छ । कुनै एक जीवलाई भूगोल र भाषा अनुसार फरक–फरक नामबाट चिनिन्छ । तर, जीव विज्ञानमा जीवको वैज्ञानिक नाम एउटै राखिएको हुन्छ । वैज्ञानिक नाम प्रायः ल्याटिन वा ल्याटिन जस्तो भाषामा राखिएको हुन्छ । यस्तो नाम अन्तर्राष्ट्रियस्तरमा एउटै हुन्छ । उदाहरणका लागि, पृथ्वीको अस्तित्वमा रहेका मानिसको वैज्ञानिक नाम होमो सेपियन्स (Homo sapiens) हो ।
चाहे त्यो राम राई होस् वा डोनाल्ट ट्रम्प वा सी जिनपिङ । व्यक्तिगत नाम जे भए पनि मानिसको वैज्ञानिक नाम चाहिं होमो सेपियन्स हो । मकैको वैज्ञानिक नाम एशिया, अष्ट्रेलिया, युरोप, अमेरिका वा अफ्रिकामा जि मेज (Zea mays) हो । यस्तै, संसारभर गहुँको वैज्ञानिक नाम त्रिटिकम एस्टिभम्(Triticum aestivum) र धानको वैज्ञानिक नाम उरैजा स्याटिवा (Oryza sativa) हो ।
एपीजी प्रणाली
हिजोआज वायलोजिकल साइन्समा फाइलोजेनी शब्द खुबै प्रचलनमा छ । फाइलोजेनी शब्दले कुनै जीवको विकासक्रम र त्यस जीवबाट अलग्गिएका जीवहरूका आपसी सम्बन्धको इतिहास जनाउँछ ।
फाइलोजेनीमा एउटा कुनै जीव कसरी अर्को प्रजातिबाट विकास भएको हो, कुन प्रजाति कुनसँग बढी नजिकको सम्बन्ध राख्छ, र तिनीहरूको साझा पूर्वज् को हुन सक्छ भनेर अध्ययन गरिन्छ । फाइलोजेनेटिक शब्दले फाइलोजेनी भित्रका कुरा वा प्रक्रियालाई जनाउँछ । जस्तो फाइलोजेनेटिक ट्री अर्थात् वंश वृक्षमा जीवहरूको आपसी सम्बन्ध देखाइन्छ ।
आनुवंशिक अध्ययनको बढोत्तरी सँगै संसारभर फाइलोजेनेटिक एनालाइसिस अर्थात् जीवको विकासक्रम प्रक्रिया अध्ययन प्रति चासो बढेर गएको छ । हिजोआज एकाध देश बाहेक जीव पहिचानको अध्ययनमा फाइलोजेनी अध्ययन गरिन्छ ।
अब कुरा गरौं जीवको वैज्ञानिक नामकरणको । जीवको वैज्ञानिक नामकरण द्वि–नाम पद्धति (Bionominal Nomenclature) को प्रचलन सन् १७५३ बाट शुरु भयो । यस अनुसार प्रत्येक प्रजातिलाई दुईवटा नाम (वंश नाम र प्रजाति नाम) दिइन्छ । यसै आधारमा वनस्पतिका भिन्न–भिन्न वनस्पति वर्गीकरण प्रणाली प्रचलनमा आए । पछिल्लो पटक सन् १९९८ मा वनस्पतिको वर्गीकरण एन्जियोस्पर्म फाइलोजेनी ग्रुप प्रणाली (Angiosperm Phylogenty Group, APG) उदय भयो । एपीजी सिस्टम फूल फुल्ने वनस्पतिको विकासक्रमको आधारमा गरिने वर्गीकरण हो । यो सिस्टम कुनै एक जना व्यक्तिले नभई समूहले अघि सारेको प्रणाली हो । यसको नेतृत्व वासिंटनस्थित मिसाउरी बोटानिकल गार्डेनका वनस्पतिविज्ञ पिटर एफ. स्टिवेन्स (Peter F. Stevens) र रोयल बोटानिकल गार्डेन्स क्यु (बेलायत) मार्क डब्लु चेस (Mark W. Chase) हरूले गरेका छन् । यसको चौथो संस्करण सन् २०१६ मा प्रकाशित भएको छ ।
एपीजी प्रणालीमा मूलतः डीएनए अर्थात् आनुवंशिक सामग्रीको आधारमा फूल फुल्ने वनस्पति वर्गीकरण गरिन्छ । यो प्रणालीले बिरुवाको पारम्परिक वर्गीकरणलाई परिमार्जन गरेर तिनीहरूका वास्तविक विकासक्रम र आपसी सम्बन्धहरूलाई स्पष्ट बनाउँछ । यसको मुख्य उद्देश्य बिरुवाको वर्गीकरणलाई डीएनएमा आधारित वैज्ञानिक र यथार्थपरक बनाउनु हो । यस प्रणालीमा बिरुवाहरू वर्गीकरण गरिंदा तिनीहरूको आधुनिक आनुवंशिक (डीएनए) जानकारीको आधारमा क्लाड्स (Clades) मा विभाजन गरिन्छ ।
क्लाड्स भनेको एउटा यस्तो समूह हो जसमा भएका सबै वनस्पतिहरू कुनै एकै साझा पूर्वज् (Common ancestor) बाट उद्विकास भएका हुन्छन् । मानिसको चाहिं यस्तो समूहलाई ह्याप्लोग्रुप (Haplogroup) भनिन्छ । मानिसको ह्याप्लोगु्रप वाइ क्रोमोजोम डीएनएबाट पितृ वंश र माइटोकोन्ड्रिय डीएनएबाट मातृ वंश छुट्याइन्छ । वैदिक आर्यको रहेको ह्याप्लोग्रुपको जेनेटिक मार्कर आरवनए–जेट ९३ (R1a-Z93) हो । आर्य समुदायमा यो जेनेटिक मार्कर करिब साढे चार हजार वर्षअघि मध्य एशियामा उद्भव भएको हो । लिम्बू समुदायमा पाइने एक जेनेटिक मार्कर ओ–एम १३४ (O-M134) करिब ८–१० हजार वर्ष पहिले चीनको येल्लो रिभर वा याङ्जे रिभर बेसिनमा उद्विकास भएको हो ।
माथि उल्लेख गरिए अनुसार वनस्पतिमा भिन्नभिन्न क्लाड्सका पूर्वज पनि भिन्न–भिन्न हुन्छन्, र त्यसबाट करोडौं लाखौं वर्षमा फरक–फरक प्रजातिहरू विस्तार भएका हुन् । एपीजी भन्दा अघिल्ला वनस्पति वर्गीकरण प्रणालीमा बिरुवाहरूलाई केवल देखिने आधार (जस्तै फूलको आकृति, फलका आकार, पातको स्वरुप) मा समूह बनाइन्थ्यो । यसबाट कहिलेकाहीं गलत सम्बन्ध देखाउँथ्यो । जबकि डीएनए विश्लेषणले बिरुवाको भौतिक स्वरुप फरक भए पनि तिनको पुरानो इतिहास र आनुवंशिक सम्बन्ध नजिक रहेकालाई मात्र उस्तै समूह मान्छ । यसैले, क्लाड्सलाई कुनै एक साझा पूर्वजबाट विकास भएको ‘परिवार वृक्ष’ (Phylogenetic tree) को रूपमा लिन सकिन्छ ।
डीएनए अनुक्रमण अर्थात् जेनेटिक सिक्वेन्सिङबाट डीएनए भित्र रहेका नाइट्रोजन युक्त अणुहरू अर्थात् नाइट्रोजन बेसहरू एडेनिन, थाइमिन, साइटोसिन, ग्वानिन के–कस्तो क्रममा छ भन्ने थाहा पाइन्छ । नाइट्रोजन बेसहरूको संरचनामा देखिने भिन्नता प्रतिशत अनुसार प्रजाति छुट्याइन्छ । हिजोआज विशेषतः वनस्पतिमा यसैको आधारमा पहिचान गरिन्छ । सामान्यतः, बिरुवामा नाइट्रोजन बेसहरूको संरचना २ प्रतिशत फरक भयो भने छुट्टै प्रजाति मानिन्छ । ०.५ देखि २ प्रतिशतसम्म फरक भए उप–प्रजाति र ०.१ देखि ०.५ प्रतिशत फरक भए भेराइटी र ०.०१ प्रतिशत भन्दा कम फरक भए फर्मा मानिन्छ । यसरी के कति फरक छ भनेर थाहा पाउन बिरुवाको कोषमा रहेको न्युक्लियस वा न्युक्लियस बाहिर रहेको हरितकणको डीएनए सिक्वेन्सिङ गरिन्छ ।
जन्तुको सवालमा पनि यस्तै हो । तर, केही फरक हुन्छ । जन्तुहरू छोटै अवधिमा वंश तथा प्रजाति उद्विकास हुने भएकाले डीएनए सिक्वेन्सिङमा त्यति धेरै फरक हुँदैन । जस्तो मानिसको सबैभन्दा नजिकको नातेदार चिम्पाञ्जी हो । मानव र चिम्पाञ्जी करिब ७० लाख वर्षअघि अलग भएका हुन् ।
चिम्पाञ्जी र मानव बीचमा ९८.५ देखि ९९ प्रतिशत डीएनए मिल्छ । जबकि यी दुईका वंश नै फरक हो । मानिसको चिम्पाञ्जी पछि नजिकको नातेदार अर्थात् ९० लाख वर्षअघि छुट्टिएको गोरिल्ला हो । मानव र गोरिल्ला बीच ९८ प्रतिशत डीएनए मिल्छ । मानिसको करिब ९९.९ प्रतिशत डीएनए उस्तै हुन्छ । युरोपियन, अफ्रिकन, एशियन वा युरोपियन मानिसमा डीएनए फरक भनेको मात्र ०.१ प्रतिशत हो ।
अर्किडेसी परिवार
एपीजी सिस्टम अनुसार, फूल फुल्ने बिरुवाका ४१६ परिवार, १३ हजार वंश र ३ लाख जति प्रजाति रहेको अनुमान गरिएको छ । ती परिवारमध्ये सबैभन्दा आदिम परिवार एम्बोरेलेसी (Amborellaceae) लाई मानिन्छ, जुन १३–१४ करोड वर्षअघि उत्पत्ति भएको थियो । यो परिवार अन्तर्गत एक प्रजाति एम्बोरेल्ला ट्राईकोपोडा (Amborella trichopoda) मात्र अस्तित्वमा छ । यो संसारभरमा अष्ट्रेलिया पूर्वतर्फ केवल न्यू कालेडोनिया टापुमा मात्र पाइन्छ । यसका फूलहरू साना र सरल संरचनाको हुन्छ ।
यो झाडी वर्गको वनस्पति हो । वैज्ञानिकहरूले यसको डीएनए अध्ययन गरेर फूल फुल्ने बिरुवाको विकासक्रम र तिनीहरू बीचको सम्बन्धमा धेरै महत्वपूर्ण जानकारी हासिल गरेका छन् । यसको आनुवंशिक गुणहरू प्राचीन अवस्थामा रहेकाले यसलाई फूल फुल्ने वनस्पतिको ‘जीवित जीवाश्म’ (Living fossil) पनि मानिन्छ ।
अब कुरा गरौं, सुनाखरीको । सुनाखरीको अर्किडेसी परिवार पनि उद्विकासका आधारमा पुरानो परिवार हो । तर, सुनाखरी कुनै एक परिवारका वनस्पतिबाट उद्विकास भयो भन्ने छैन । सुनाखरीमा त तरकारी खाइने कुरिलोको परिवार एस्पारागेसी (Asparagaceae), कालो मुस्ली (Curculigo orchioides)को परिवार हाइपक्सिडेसी (Hypoxidaceae) वा बोझो झार (Iris clarkei) को परिवार आइरिडेसी (Iridaceae) सँग मिल्दाजुल्दा संरचना छन् । यस अनुसार सुनाखरी उल्लिखित परिवारका साझा पूर्वजबाट विकास भएको मानिन्छ । साझा पूर्वज कुनै एउटा प्रजाति थिएन । विभिन्न प्रजाति सम्मिलित उस्तै देखिने समूह थियो । तिनीहरू कालान्तरमा जलवायु परिवर्तन, उत्परिवर्तन र अनुकूलन हुने क्रममा सुनाखरी सहित माथि उल्लिखित परिवार उद्विकास हुनपुगे ।
सुनाखरीको सबैभन्दा प्राचीन वंश एपोस्टेसिया (Apostasia) हो । यो वंशको एक प्रजाति एपोस्टेसिया वालिची नेपाल, भारत, बंगलादेश, चीन लगायत दक्षिणपूर्व एशियामा पाइन्छ । यो सुनाखरी अन्य भन्दा निकै फरक छ । सुनाखरी परिवारका फूलमा एक पुष्पपत्र अन्य पुष्पपुत्र भन्दा विल्कुलै फरक संरचनामा रहेको हुन्छ, त्यसलाई ल्याबेलम वा लिप भनिन्छ । एपोस्टेसिया वंशमा ल्याबेलम हुँदैन ।
पछि उद्विकास भएका सुनाखरीमा पुंकेसर एउटा मात्र रहेको हुन्छ । जबकि एपोस्टेसिया वालिचीमा ३ वटा पुंकेसर रहेको हुन्छ । यो वंशको फूल लिलीको जस्तो देखिन्छ । लिली भनिने वनस्पतिमा ६ वटा पुंकेसर हुन्छ । सुनाखरी अर्को आदिम वंश साइप्रिपेडियम (Cypripedium) हो । यो वंश ७.५–८ करोड वर्षअघि उद्विकास भएको मानिन्छ । यसमा दुई वटा पुंकेसर रहेको हुन्छ । यो दक्षिण अमेरिका, अष्टे«लियामा पाइन्न । यसैगरी, मध्यपश्चिम एशिया, मध्यएशिया तथा अफ्रिकाको अधिकांश भागमा पनि पाइन्न । नेपालको २,८०० देखि ४,८०० सय मिटर भौगोलिक उचाइमा ३ प्रजाति पाइन्छ ।
एक–डेढ वर्षअघिसम्म सुनाखरी कुन महाद्वीपमा उद्विकास भएको थियो भन्ने अन्योल थियो । तुलनात्मक रुपमा दक्षिणपूर्व एशियामा सुनाखरीका धेरै प्रजाति भएकाले दक्षिणपूर्व एशियामा उद्विकास भएको थियो होला भन्ने अनुमान गरिएका थिए । केही वैज्ञानिकहरूले, अन्यत्रै उद्विकास भएको थियो होला भन्ने पनि अनुमान गरेका थिए ।
जस्तो गुराँसको सबैभन्दा बढी प्रजाति दक्षिणपूर्व चीनमा पाइन्छ । तर, गुराँस उत्तर अमेरिकास्थित अलास्कामा करिब ६.६ करोड वर्ष पहिलो उद्विकास भएको हो । यो अलास्का र उत्तरपूर्वी एशिया बीच बेयरिङ ल्याण्डब्रिजबाट एशियामा करिब ३ करोड वर्षअघि भित्रिएको हो । त्यहाँबाट एक समूह साइबेरिया हुँदै युरोपतर्फ विस्तार भयो ।
अर्को समूह चीनतिर विस्तार भयो । युनानमा पुग्दा गुराँसले अत्यधिक अनुकूल वातावरण पायो र त्यहाँ अत्यधिक प्रजाति विस्तार हुन पुग्यो । हिजोआज बेयरिङ ल्याण्डब्रिज भए ठाउँमा बेयरिङ समुद्र छ । करिब २० हजार वर्षअघिसम्म त्यहाँ समुद्र थिएन, हिउँ थियो । त्यहींबाट मानिस अमेरिका प्रवेश भएका हुन् । यसको दूरी करिब ८५ किलोमिटर छ ।
रोयल बोटानिकल गार्डेन्स क्यु, लन्डनले २४ फेब्रुअरी २०२४ मा सुनाखरी उद्विकासबारे एक जानकारी प्रस्तुत गरेको छ । यसअनुसार सुनाखरी लाउरासियामा ८.५ करोड वर्षअघि उद्विकास भएका थिए । लाउरासिया कहाँ हो भनेर बुझ्न पृथ्वीको २० करोड वर्षयता फेरबदल भइरहेको संरचना थाहा नपाई अन्योल हुन्छ । एकताका समुद्रको वरिपरि जमिनको भाग एकैठाउँ खुजमुजिएर रहेका थिए । त्यस्तो संरचनालाई वैज्ञानिकहरूले प्यान्जिया (एबलनभब) नाम दिएका छन् । वरिपरिको समुद्रलाई चाहिं पान्थालासा (Panthalasa) भनिएको छ । पान्थालासा भनेको ३३ करोड ५० लाख वर्षदेखि १७ करोड ५० लाख वर्ष अघिसम्म पृथ्वीमा रहेको एउटै विशाल समुद्र हो ।
करिब २०–१८ करोड वर्षअघि प्यान्जिया दुई भागमा विभाजन भएको थियो । उत्तर र दक्षिणतर्फको खण्डलाई क्रमशः लाउरासिया (Laurasia) र गोन्ड्वाना (Gondawana) भन्ने गरिएको छ । १५ देखि ६ करोड वर्षअघिसम्म उत्तर अमेरिका युरोप र युरोपसँग जोडिएको एसियाई भूभाग नजिक थिए । १४ देखि १० करोड वर्ष पहिले दक्षिण अमेरिका र अफ्रिका अलग भए ।
अन्टार्टिका र अष्ट्रेलिया करिब ८.५ करोड वर्षअघि अलग भए । दक्षिणपूर्व एशिया पहिले गोन्ड्वाना अन्तर्गत थियो । उत्तर अमेरिका र युरोप करिब ६ करोड वर्षअघि छुट्टिएर अहिलेको अवस्थामा पुगेका थिए । यता, दक्षिण एशिया अर्थात् भारतीय उपमहाद्वीप करिब ८ करोड वर्षअघिबाट माडागास्कर नजिकबाट उत्तरतर्फ बग्दै करिब ५ करोड वर्षअघि अहिलेको स्थानमा आइपुग्यो ।
सुनाखरी लाउरासिया कुनै एक भूगोलमा मात्र उद्विकास भएको होइन । उस्तै संरचना भएका पूर्वजहरूबाट उत्तर अमेरिका, युरोप र एसिया (दक्षिण एशिया बाहेक) मा सँगसँगै उद्विकास हुनपुगे । सुनाखरी डाइनोसोरसँगै करिब २ करोड वर्ष पहिलो भएको थियो । करिब ६.६ करोड वर्षअघि अन्तरिक्षबाट एक अत्यन्त ठूलो उल्का पिण्ड दक्षिणी मेक्सिकोमा खस्दा अत्यधिक ठूलो विस्फोट भयो । त्यसबाट निस्केको ऊर्जा परमाणु बम बनाउन प्रयोग गरिने लाखौं÷करोडौं टन पारमाणविक पदार्थ विस्फोट भए बराबर थियो । त्यसलाई चिक्शुलुब क्रेटर (Chicxulub crater) भनिन्छ । त्यो उल्का करिब १० किलोमिटर व्यासको थियो । ठोक्किंदा करिब १८० किलोमिटर फराकिलो र २० किलोमिटर गहिरो खाडल बन्यो ।
यसले पूरै पृथ्वीमा ठूलो भूकम्प, सुनामी र वातावरणमा धुलो, धुवाँको बाक्लो तह बनायो, जसले सूर्यको प्रकाश पृथ्वीको सतहसम्म पुग्न सकेन । नतिजा, तापक्रम घट्यो । बोटबिरुवामा प्रकाश संश्लेषण प्रक्रिया बन्द भयो । खाद्य बन्ने शृंखला भत्कियो ।
यसबाट ठूला डाइनोसर सबै मरे । पृथ्वीका ७५ प्रतिशत जीव मरे । केही सुनाखरी भने बाँचे । बचेका सुनाखरी दक्षिणपूर्व एशियामा अध्यधिक फैलियो । संयुक्त राज्य अमेरिकामा पनि ५० हजार वर्षअघि १.२ किलोमिटर व्यास भएको उल्का पिण्ड खसेको माइकल जे. बेन्टन लिखित पुस्तक ‘इक्सिटिङ्सनः हाउ लाइफ सर्भाइभ, एडप्टस् एन्ड इभोल्भस्’ शीर्षक पुस्तकमा चित्र समावेश (सन् २०२३) छ ।
हिजोआज सुनाखरी संसारभर २९ हजार ५०० जति प्रजाति रहेको अनुमान छ । जुन विश्वभरिका चरा प्रजाति भन्दा तीन गुणा बढी हो । तर, सुनाखरी संसारभर संकटग्रस्त अवस्थामा छन् । सुनाखरीहरूको प्रमुख खतरा वानस्पतिक क्षेत्र विनाश, अवैध व्यापार र जलवायु परिवर्तन हुन् । यसबाट तिनको जनसंख्या घट्दै गएको छ । क्यु गार्डेन्सको सन् २०२३ को ‘स्टेट अफ द वल्र्डस् प्लान्टस् एन्ड फन्गी’ प्रतिवेदन अनुसार विश्वका ४५ प्रतिशत ज्ञात वनस्पतिहरू विलुप्त हुने जोखिममा छन् । त्यसमा सुनाखरी अझ बढी ५६ प्रतिशत विलुप्त हुने जोखिममा छन् भन्ने अनुमान गरिएको छ ।
नेपालको तथ्याङ्क
नेपालमा सुनाखरीको वैज्ञानिक खोज–अनुसन्धान गर्ने पहिलो व्यक्ति बुचानन फ्रान्सिस् ह्यामिल्टन हुन् । उनले नेपालमा सन् १८०२–१८०३ तिर सुनाखरीका नमूना संकलन तथा तिनका रंगीन स्केच गर्न लगाएका थिए । त्यसयता नेपालका सुनाखरी खोज–अनुसन्धान भइरहेको छ, पटक–पटक नेपालको सुनाखरी वंश र प्रजाति तथ्यांक प्रकाशित भइरहेका छन् ।
केशवराज राजभण्डारी लिखित सन् २०१४ मा प्रकाशित ‘अर्किड्स अफ नेपालः स्टेटस, थ्रेट्स एन्ड कन्जर्भेसन’ शीर्षक लेखमा सुनाखरीको १०७ वंश र ४५० प्रजाति रहेको जनाइएको छ । उनै राजभण्डारीले सन् २०१५ मा लेखेको ‘अ ह्याण्डबूक अफ द अर्किड्स अफ नेपाल’ शीर्षक पुस्तकमा सुनाखरीको १०७ वंश र ४५१ प्रजाति समावेश छ ।
वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वनस्पति विभाग थापाथली, काठमाडौंको अनलाइन फ्लोरा सम्बद्ध फ्लोरा अफ नेपाल ः फ्लोरा अफ नेपाल इडिटोरियल सेन्टर (नेपाल च्याप्टर) अन्तर्गत ‘फ्लोरा अफ नेपाल’ भोलम ११ (अर्किडेसी)का खेस्रा ९म्चबात० अपलोड गरिएको छ । यो सामग्री अक्टोबर २०२० बाट अपलोड सुरु गरिएको हो । यसमा ८ अगष्ट २०२५ सम्म १० जना नेपाली विज्ञले लेखेका सुनाखरीका ८३ वंश अन्तर्गत जम्मा ४३१ प्रजातिको विवरण समावेश छ । यसमा ५० प्रतिशत भन्दा बढी प्रजातिको अभिलेख भक्त बि. रास्कोटीबाट लेखिएको छ । त्यसपछि सबैभन्दा बढी एल.आर. शाक्यले लेखेका छन । लेख्ने क्रम अझै सकिएको छैन । कहिले सकिन्छ, टुंगो छैन ।
‘फ्लोरा अफ नेपाल’ भोलम ११ को तथ्यांक मूलतः नेशनल हर्बेरियम तथा प्लान्ट ल्याबोटरी, गोदावरीमा संग्रहित नमूनाका आधारमा लेखिएको हो । नेपालको वनस्पतिको नमूना सबै नेपालमा संग्रहित छैन । धेरै जापान र बेलायतमा छ । अन्य देशमा पनि छन् ।
जापानले केही दशकयता जानकारी उपलब्ध गराउन चाहिरहेको छैन । सन् २००२ मा प्रकाशित केशवराज राजभण्डारी लिखित ‘फ्लोरा अफ नेपालः २०० यर्स मार्च’ शीर्षक लेख अनुसार जापानका वनस्पति विज्ञको टोलीले सन् १९५२–२००१ सम्म नेपालमा जम्मा ३७ पटक वनस्पति संकलन गरी जापान लगेका थिए । त्यसमध्ये सबैभन्दा बढी सन् १९६३ मा एकैपटक ३० हजार थान नमूना लगेका थिए (हिमालयन बोटानी इन द ट्वेन्टिन्थ एन्ड ट्वेन्टी फ्रस्ट सेन्चुरीः पृ. ७८) । त्यसपछि पनि जापानले वनस्पति नमूना लगिरहेकै छ ।
कृष्णकुमार श्रेष्ठ, प्रबिन पौडेल र सन्देश भट्टराई लिखित ‘प्लान्टस् अफ नेपाल’ (२०२२, पृ. ६९–१२८) शीर्षक पुस्तकमा नेपालमा सुनाखरीको ९५ वंशअन्तर्गत ४४० प्रजाति समावेश छ । ‘प्लान्टस् अफ नेपाल’ शीर्षक पुस्तकमा हिजोआज प्रचलनमा नभएको नियोजाइन र पोनेरोर्किस वंश समावेश छ (पृ.११८ र १२१) । यी २ वंश अन्तर्गतका प्रजातिहरू सिलोगाइन र हेमिफिलिया वंशमा स्थानान्तरण गरिएको छ । यस्तै, ‘प्लान्टस् अफ नेपाल’मा ‘फ्लोरा अफ नेपाल’ भोलम ११ मा समावेश नेफेलाफाइलम् र लेकानोर्किस लगायत केही अन्य वंश पनि समावेश छैन ।
‘फ्लोरा अफ नेपाल’ भोलम ११ र ‘प्लान्टस् अफ नेपाल’को तथ्यांक अनुसार अहिलेसम्म नेपालमा सुनाखरीको जम्मा ९४ वंश छ । हालै इलाममा भक्तबहादुर रास्कोटीले विश्वमै दुर्लभ सुनाखरी प्रजाति एकान्थोफिप्पियम् स्ट्राइयटम्को नमूना संकलन गरेका छन् । यसबाट पछिल्लो पटक सुनाखरी वंश सूचीकृत संख्या ९५ पुगेको छ । यो जानकारी अनलाइनखबरको ६ साउन २०८२ संस्करणमा ‘नेपाली माटोमा वालिचि–लिन्डलीको सुनाखरी’ शीर्षकमा लेख प्रकाशित छ ।
रैथाने प्रजाति
नेपालमा मात्र अहिलेसम्म पाइएको जन्तु तथा वनस्पति नेपालको रैथाने हुन् । जब, नेपाल बाहिर फेला पर्छ, त्यसपछि त्यो जीव नेपालको रैथाने सूचीबाट हटाइन्छ । ‘फ्लोरा अफ नेपाल’ भोलम ११ मा ८ प्रजाति रैथाने रहेको जनाइएको छ । बुल्बोफाइलम वंश व्याख्या गर्ने क्रममा ३ प्रजाति रैथाने लेखिएको छ । बुल्बोफाइलममा जम्मा ४७ प्रजातिका विवरण समावेश छ । ती विवरणहरूमा मात्र बुल्बोफाइलम नेपालेन्स मात्र रैथाने लेखिएको छ । यो कच्चा काम हो ।
‘फ्लोरा अफ नेपाल’ भोलम ११ का सम्पादक वरिष्ठ वनस्पतिविद् डा. केशवराज राजभण्डारी हुन् । उनले बुल्बोफाइलमका प्रजाति विवरण हेरेको छैनन् भन्ने देखिन्छ । विद्युतीय सञ्जालमा समावेश गरेपछि त हेर्नुपर्ने हो । किन सम्पादन नगरी विद्युतीय सञ्जालमा अपलोड गरिएको होला ? ‘प्लान्टस् अफ नेपाल’ (सन् २०२२, पृ. ९१४–९१५) मा जम्मा १९ प्रजाति र २ वटा भेराइटी रैथाने छन् । यसमा बुल्बोफाइलम वंशमा जम्मा ३९ प्रजाति र तीमध्ये बुल्बोफाइलम नेपालेन्स रैथाने रहेको जनाइएको छ ।
‘इन्टेग्रेटिङ वायलोजिकल रिसोर्सेस फर प्रोस्पेरिटी’ शीर्षक कन्फरेन्समा केशवराज राजभण्डारी, संजीवकुमार राई, मोहनदेव जोशी, सुभास खत्री, गंगादत्त भट्ट र रिता क्षेत्रीले ‘इन्डेमिक फ्लावरिङ प्लान्टस् अफ नेपालः स्टेटस एन्ड डिट्रिव्युसन’ शीर्षक कार्यपत्र प्रस्तुत गरेका थिए ।
यसमा सुनाखरीको जम्मा १९ प्रजाति रैथाने रहेको उल्लेख छ । ती १९ रैथानेमा बुल्बोफाइलम रास्कोटी रैथाने हो भनिएको छ । यो रैथाने होइन । यस्तै, १९ रैथान प्रजातिमा ग्यास्ट्राचिलस नेपालेन्सिस् पनि समावेश छ । ग्यास्ट्राचिलस नेपालेन्सिस्लाई हिजोआज ग्यास्ट्राचिलस एफिनिज भनिन्छ । यो पनि रैथाने होइन ।
यी सबै सामग्रीले नेपालमा सुनाखरी प्रजाति संख्या तथा रैथाने प्रजातिहरूमा फरक–फरक संख्या बताउँछ । अन्योल सिर्जना गरेको छ । सूक्ष्म रूपमा अध्ययन गर्दा ‘प्लान्टस् अफ नेपाल’ मा समावेश नेपालका रैथाने अद्यावधिक छ । यसमा समावेश १९ प्रजाति तल तालिका–२ मा दिइएको छ । यी १९ प्रजाति बाहेक यसमा समावेश दुई भेराइटी हाबेनारिया प्लान्टागिनिया भेराइटी नेपालेन्सिस् र मालाक्सिस मोनोफाइला भेराइटी अब्टुसा हो । ती १९ रैथाने प्रजातिमध्ये ६ प्रजातिको नमूना नेपालमा संग्रहित छैन । तिनीहरू जापान, भारत र बेलायतका संग्रहालयमा छन् ।
अन्त्यमा, नेपालमा सुनाखरी लगायत वानस्पतिक विविधताको दिगो संरक्षण र उपयोगका लागि राष्ट्रियस्तरमा स्पष्ट नीतिगत रुपरेखा र कार्यान्वयन संयन्त्र आवश्यक देखिन्छ । यसका लागि माथि चर्चा गरिए झंै प्रजाति पहिचान, वर्गीकरण र वितरण सम्बन्धी तथ्याङ्कलाई अझ अद्यावधिक गर्दै डिजिटल डाटाबेसमा सुरक्षित गरियो भने अनुसन्धान र नीतिनिर्माण दुवैलाई सहज बनाउँछ । यसका साथै, वनस्पतिजन्य स्रोतको संरक्षणमा सामुदायिक वन, स्थानीय सरकार र शैक्षिक संस्थाबीच सहकार्य बढाउनुपर्छ, जसले जैविक सम्पदाको क्षति न्यून गर्न मद्दत पुर्याउँछ ।
नेपालको सुनाखरी प्रजातिहरूको संरक्षणका लागि वैज्ञानिक अनुसन्धानसँगै स्थानीय ज्ञान र अभ्यासलाई पनि एकीकृत गर्न जरुरी छ । विशेषगरी विकास निर्माणको संरचना निर्माण र तीव्र नगरीकरण, अवैध संकलन र वासस्थान विनाशका कारण सुनाखरी प्रजातिहरू जोखिममा परिरहेको अवस्थामा, संरक्षण चेतना कार्यक्रमहरूलाई विद्यालय तहदेखि समुदायसम्म विस्तार गरिनुपर्छ । सुनाखरीलाई इको–टुरिज्मसँग जोड्न सक्नु पर्छ ।
काठमाडौं उपत्यकालगायत भूभागमा सुनाखरी हाइकिङ ट्रेल तय गर्न सकिन्छ । इलामको हाँसपोखरी, मोरङको राजारानी पोखरी, संखुवासभाको नुम उत्तरतर्फ अरुण नदी पश्चिमको उपत्यका, कास्कीको पञ्चासेलाई सुनाखरी हाइकिङ ट्रेलको रुपमा उपयोग गर्न उपयुक्त छन् । दुर्लभ सुनाखरीलाई टिस्यु कल्चर प्रविधिबाट जोगाउन र व्यापार गर्नतर्फ ध्यान दिइनुपर्छ ।
अनि हाम्रो घर, बगैंचा, होटल, रिसोर्ट हाम्रै सुनाखरीका फूलबाट सुन्दर बनाउन सक्छौं । हाम्रो सुनाखरी उपयोग गरेर मूल्यवान् औषधि र शृंगारका सामान उत्पादन गर्न सक्नुपर्छ । हामीले थाहा नपाएको हाम्रो सुनाखरीको महत्व हो । व्यापारीले बहुमूल्य शक्ति गुम्बा भनिने सुनाखरीको दाना पानी अमलाको गाना भनेर प्रति केजी ३ रुपैयाँ राजस्व असुलेर निर्यात गर्छन् । कर्मचारी हेरेको हेरेकै होइन कि त्यसबापत मोटो रकम लिएको लिएकै गरिरहन्छन् । सरकारले थाहा नपाएको जस्तो गर्छ । यसरी, ऐनको धज्जी उडाउने काम वन कर्मचारीबाट भइरहेको छ । यो रोकिनुपर्छ । कर्मचारी र व्यापारीलाई कहिलेसम्म यसरी अपराध गरिरहन दिने हो ?
प्रतिक्रिया 4