
यो पङ्तिकार राजनीतिक कारणले भारत निर्वासनमा रहेका बखत (२०२९-०३३) सुनसरीतिरका नछेदी महतो नामका एक पाका नेता पनि निर्वासित भएर फारविसगञ्जतिर बस्थे। हामी प्राय: सबै उनलाई नेताजी भन्थ्यौं। तराईतिर राजनीति गर्नेलाई गाउँघरमा नेताजी भन्ने चलन थियो। उनी कांग्रेसका पुराना र समर्पित कार्यकर्ता थिए २००७ सालदेखिका। खादीको सेतो र सफा कुर्ता–सुरुवाल उनको सधैंको पहिरन थियो। नेपाली कम बढी मैथिली बोल्थे।
२०३३ साल जेठतिरको कुरा होला म बनारसबाट फारविसगञ्ज गएको थिएँ पार्टीकै काममा। त्यहाँ महतोजीसँग पनि भेट भयो तर उनका कुरा सुनेर म स्तब्ध भएँ। उनी दुई–तीन दिनपछि नेपाल फिर्न लागेका रहेछन्। उनी आफ्नो ठाउँका चर्चित कांग्रेस थिए। उनका विरुद्धमा मुद्दाहरू थिए जसका कारण उनलाई कम्तीमा पनि आजीवन कारावासको सजाय हुनसक्थ्यो।
त्यसै साल फागुनतिर बीपी पुर्णिया आउनुभएको थियो साथीहरूसँग भेटघाट गर्न। त्यहाँ मोरङ, सुनसरीतिरका साथीहरूलाई पनि बोलाइएको थियो र उनीहरू ठूलै संख्यामा त्यहाँ पुगेका थिए। बीपी समूह–समूहमा उनीहरूलाई भेटिरहनुभएको थियो। यसरी भेट्ने पालो तरुणहरूको आएका बेलामा के कारणले बीपी कोठाबाट बाहिर निस्कनुभएछ। ढोकैमा महतोजीलाई पनि देखेपछि बीपीले ‘तुम भी तरुण हो क्या ?’ भन्नुभएछ। उहाँले आफ्ना पुराना कार्यकर्ता साथीसँग ठट्टा गर्नुभएको थियो तर महतोजीलाई त्यो कुरा मनमा बिझेछ। बीपी आफूलाई चाहिं तरुण मान्ने अनि मलाई चाहिं बुढो देख्ने भन्ने लागेछ। त्यो कुराले उनलाई साह्रै पिरोलेछ। बीपी तरुणको सम्बन्ध उमेरसँग होइन मानसिक चिन्तनसँग हुन्छ भन्ने गर्नुहुन्थ्यो ।
बीपी फर्केपछि महतोजीले त्यो कुरा खुलाएर तपाईंले मलाई कसरी त्यसो भन्नुभयो भनेर बीपीलाई पत्र लेखेर पठाएछन्। पत्र बनारस जाँदै गरेका पार्टीकै एक बस्नेत थरका साथीको हातमा दिएका रहेछन्। ती बस्नेत बनारसबाट फिरेपछि उनलाई सोधेछन्, बीपीले मेरो चिठीका बारेमा के भन्नुभयो ? उनले भनेछन्, मैले चिठी दिएँ तर बीपीले केही भन्नुभएन।
केही समयपछि उनै मानिसका हातमा अर्को चिठी पठाएछन्। त्यस पटक पनि केही खबर आएन। उनले बस्नेतलाई खेरेछन्, चिठी त दियौ ? बस्नेतले भनेछन्- दिएँ, किन नदिनु ! तर त्यसका बारेमा मलाई केही भन्नुभएन।
म कांग्रेस जानेर होइन, बीपीलाई देखेर, उनका कुरा सुनेर यस पार्टीमा लागेको हुँ भन्ने पुराना र समर्पित धेरै मानिस मैले भेटेको छु। म आफू पनि शायद कांग्रेसभन्दा बीपीबाट नै बढी प्रभावित भएको हुँ जस्तो लाग्छ।
यति भएपछि महतोजीलाई लागेछ- मेरा बारेमा बीपीलाई कसैले नराम्ररी कुरा लगायो होला र उहाँको मप्रतिको धारणा बिग्रियो। यसले उहाँमाथि पनि तनाव होला। संकटको समयमा यस्तो अविश्वासको वातावरणमा मैले यहाँ बस्नुहुँदैन। त्यसकारण जे हुन्छ गाउँ फर्कन्छु।
मलाई ती कुरा सुनाउँदै उनी त रुन थाले। उनले पुर्णियाको त्यो प्रसङ्ग सुनाएपछि मलाई पनि सम्झना भयो। त्यो कार्यक्रमको व्यवस्थापनमा म पनि रहेकाले म त्यहीं थिएँ र बीपीले उनलाई भनेको कुरा पनि सुनेको थिएँ।
महतोजीले भने, प्रजातन्त्र र समाजवाद बुझेर म कांग्रेसमा लागेको होइन। बीपीप्रतिको आकर्षणले म पार्टीमा लागेको हुँ। बीपी मेरो आदर्श हो। उहाँकै नजरमा म गिर्न पुगें भने अब मेरो यहाँ रहनुको औचित्य सकियो। नेपालै जान्छु र चुपचाप लागेर बस्छु। त्यसो गर्दा परेको व्यहोर्छु।
महतोजीलाई मैले धेरै सम्झाएँ तर उनी मेरो कुरा सुनिरहेका थिएनन्। अन्त्यमा भनें- ल ठीक छ, तपाईं नेपाल जानुहोस् तर अब बीपीसँग त तपाईंको भेट कहिल्यै हुने छैन। त्यसकारण आफूले जीवनभर आदर्श मानेको मानिसलाई अन्तिम पटक भेटेर ‘जय नेपाल’ भनिराखेर जानुहोस्। म भोलि तपाईंलाई बनारस लिएर जान्छु। जसोतसो उनी बनारस जान तयार भए।
बनारस पुगेर महतोजीकै सामने मैले बीपीलाई सबै कुरा सुनाएँ। उहाँले भन्नुभयो, खोइ मलाई त यिनको चिठी कसैले दिएको छैन। मैले यिनलाई ठट्टामा त्यो कुरा भन्या थिएँ। त्यो कुरा मलाई अहिले पनि याद छ। महतोजीतिर फर्केर भन्नुभयो- तिमीले किन मलाई त्यहीं जवाफ नदिएको मलाई किन यसो भन्नुभयो भनेर ? तिमी जस्तो म समानको मानिसले यस्तो गलत कुरा मनमा राखेर बस्ने हो ? त्यो बस्नेत कस्तो बदमास रहेछ। दुई–दुई वटा चिठी मलाई दिएन। बीपीका कुरा सुनेर महतोजीका आँखाबाट वर्षा शुरू भयो। म बाहिर निस्कें। त्यसपछि त्यहाँ के के कुरा भए थाहा भएन।
म कांग्रेस जानेर होइन, बीपीलाई देखेर, उनका कुरा सुनेर यस पार्टीमा लागेको हुँ भन्ने पुराना र समर्पित धेरै मानिस मैले भेटेको छु। म आफू पनि सायद कांग्रेसभन्दा बीपीबाट नै बढी प्रभावित भएको हुँ जस्तो लाग्छ। बालककालदेखि नै उहाँको नाम सुनेको। उहाँकै लेखहरू पढेर आदर्शवादी क्रान्तिकारी बनेको।
बीपीको सान्निध्यमा रहेर मुलुकमा प्रजातन्त्रको पुन:स्थापनाका लागि जे जति गर्न पाएँ, जे जति गर्न सकें, त्यो मेरा लागि गर्वको विषय हो। उहाँबाट मैले विशेष स्नेह पाएको अनुभव छ मसँग यद्यपि उहाँसँग निकटमा रहेर काम गर्ने अधिकांशले यस्तै दावा गर्दा हुन्। बीपीलाई भेटेर उहाँका कुरा एकछिन सुनेपछि प्रभावित नहुने शायदै कोही होलान्। उहाँको राष्ट्रिय एकता तथा मेलमिलापको नीतिलाई त्यस बखत अस्वीकार गर्नेहरू समेत अहिले आएर भन्छन्- मैले उहाँका कुरालाई उतिबेला राम्ररी बुझ्न सकिनछु !
राष्ट्रिय एकता तथा मेलमिलापको नीति अन्तर्गत स्वदेश फिर्ने क्रममा गिरफ्तारीमा परेर कारावासमा पुगेको म जनमतसंग्रह घोषणा पश्चात् कारागारमुक्त भएपछि बहुदलको पक्षमा पूर्णकालीन रूपमा प्रचारप्रसारमा लागें। तर मतपरिणाम अनपेक्षित रूपमा प्रतिकूल रह्यो। त्यसपछि गाउँ फिरेर खेतीकिसानीमा लागें। सँगसँगै संगठनको काम त छँदैथियो।
२००७ सालसम्म कुरा बुझ्ने भइसकेको र त्यसयताको पुस्तामा बीपीको प्रभाव कुनै न कुनै रूपमा गहिरो गरी परेको थियो। मेरा सिधासोझा बुवामा त त्यति प्रभाव थियो भने अझ टाठाबाठामा कस्तो छाप थियो होला !
खेत रोप्नको धमाधम थियो। बेलुका खेतबाट घर आइपुग्दा साँझ नपरेको दिन हुँदैनथ्यो। घर आएर नुहाइधुवाइ गर्ने, खाना खाने अनि रेडियो सुन्दै पत्रपत्रिका तथा किताब पढ्ने मेरो नियमित दैनिकी थियो। बीपीको स्वास्थ्य दिनानुदिन बिग्रँदै गएकाले त्यसबारेमा अद्यावधिक हुन बीबीसी, अल इण्डिया, भ्वाइस अफ अमेरिका/जर्मनी नछुटाई सुन्ने गर्थें।
यसरी नै एक दिन (२०३९ साउन ६ गते) बेलुकी खाटमा पल्टेर किताब हेर्दै बीबीसी हिन्दी सेवा सुनिरहेको थिएँ। आजकल कार्यक्रम चलिरहेको थियो। मेरो बुवा पनि मेरै कोठामा चुरोट पिउँदै बसिरहनुभएको थियो। म अचानक ‘हँ…?!’ भन्दै जुरुक्क उठेछु। बुवाले के भयो भनेर सोध्नु भयो। भारी मनले भनें- बीपी बित्नुभएछ ! बीबीसीले आजकल कार्यक्रम बीचैमा रोकेर बीपीको निधनको समाचार भनेको थियो।
त्यसपछि पढ्न मन लाग्ने कुरा भएन। किताब राखेर रेडियो सुन्दै बसें। मनमा अनेक कुरा खेलिरहेका थिए। भोलिपल्ट इलाम गएर साथीहरूलाई भेट्ने मन मनमै निधो गरें। निकैबेर बितिसक्दा पनि बुवा त्यहीं चुरोट तान्दै बसिरहनुभएको थियो। भनें- अब सुतौं होला।
बुवाले भन्नुभयो- एकछिन पख न, नेपालको समचार सुनौं। भनें, के गर्नु रेडियो नेपाल सुनेर बीपीको समाचार दिने होइन। अँ, नदिएर हुन्छ… ! बुवाले भन्नुभयो। दश बजेतिर समाचार दिएर त्यस दिनको कार्यक्रम सकिन्थ्यो क्यार रेडियो नेपालको।
नभन्दै रेडियो नेपालले बीपीको निधनको खबर मात्रै भनेन राजाको शोक सन्देश पनि दियो यद्यपि त्यो सन्देश घटिया थियो। त्यसपछि रेडियो नेपालको कार्यक्रम सकियो।
बुवाले उठ्दै भन्नुभयो, मैले भनेको देखिस् त- बीपीको समचार दिंदैन भन्थिस् नि, नदिएर हुन्छ !? जे भए पनि म तेरो बाबु हुँ नि ! बुवाले त्यसरी च्यालेञ्जको शैलीमा मलाई केही भनेको त्यो पहिलो पटक थियो।
बुवा सुत्न जानुभयो। म पनि ढल्कें तर निद्राको छनक थिएन। बुवाले भनेका कुरामा मेरो ध्यान गयो। मेरा बुवम गाउँको साधारण निरक्षर किसान। म राजनीतिमा नलागेको भए उहाँलाई राजनीति भन्ने शब्द नै कुन चराको नाम हुनुपर्ने हो। बीपीका बारेमा उहाँले के कति सुन्नु–जान्नु भएको थियो मलाई थाहा भएन। मैले बुवासँग राजनीतिको बारेमा कहिल्यै कुरा गरिनँ। तर उहाँको बुझाइ देखेर लाग्यो उमेर र अनुभव भोग्नेलाई नै थाहा हुन्छ। बीपीलाई उहाँले कसरी हेर्नुभएको थियो भन्ने अनुमान लगाउन सकिन्थ्यो।
मलाई लाग्यो मेरो बुवा प्रतिनिधि पात्र मात्रै हो, २००७ सालसम्म कुरा बुझ्ने भइसकेको र त्यसयताको पुस्तामा बीपीको प्रभाव कुनै न कुनै रूपमा गहिरो गरी परेको थियो। मेरा सिधासोझा बुवामा त त्यति प्रभाव थियो भने अझ टाठाबाठामा कस्तो छाप थियो होला !
कलेज पढ्दा चियाबारीमा काम गर्ने मजदुरहरूले जुहारी गाएको सुनेको थिएँ: …. सलाम गरौं भने विश्वेश्वरले लगे थाप्नुहोस् नमस्ते !
पञ्चायत दर्शन समितिका अध्यक्ष समेत रहेका पञ्च नेता पासाङ गोपर्माले पञ्चायतकालमै एक स्तरीय नेपाली पत्रिकामा लेखेको सम्झें। उनी जर्मनी गएका रहेछन् कुनै कार्यक्रममा। त्यहाँ परिचय गर्दा एउटा मानिसले नेपालबाट भन्दा बुझेन, माउण्ट एभरेस्टबाट भन्दा पनि बुझेन अनि बीपी कोइरालाको देशबाट भन्दा ठूला आँखा पार्दै ए हो ? … भन्यो भनेर लेखेका छन्।
उसो त राजा महेन्द्र नै भन्ने गर्थे रे- संसारमा देखाउन लायक मेरो प्रधानमन्त्री त बीपी नै हो।
प्रतिक्रिया 4