+
+
Shares
सन्दर्भ : बीपी र पुष्पलाल स्मृति दिवस :

बीपी र पुष्पलालको समाजवादी सपना र संकल्प

दुवै अग्रज नेताहरुबाट आजको वाम लोकतान्त्रिक आन्दोलनले शिक्षा लिनु जरुरी छ । उहाँहरुको विचार, राजनीति, संघर्ष, त्याग र निष्ठाबाट अहिलेको पुस्ताले प्रेरणा लिनु पर्दछ । तब नै उहाँहरु दुवै जना हाम्रा पथप्रदर्शकहरुप्रति सच्चा सम्मान हुनेछ ।

प्रकाश ज्वाला प्रकाश ज्वाला
२०८२ साउन ७ गते ९:२४

साउन ६ र ७ नेपालको इतिहासमा स्मरणीय दिनहरु हुन् । साउन ६ गते बीपी स्मृति दिवस, साउन ७ गते पुष्पलाल स्मृति दिवस । अर्थात्, नेपालको वामपन्थी र लोकतान्त्रिक आन्दोलनका शिखर व्यक्तित्वहरुको स्मृति दिवसहरु । यस अवसरमा उहाँहरुका योगदानहरुको स्मरण गरौं, उहाँहरुबाट आजको नयाँ पुस्ताले सिकौं, उहाँहरुप्रति उच्च सम्मानसहित श्रद्धा सुमन अर्पण गरौं ।

नेपालमा राणा शासन, निरंकुश पञ्चायती व्यवस्था र सामन्ती राजतन्त्रका विरुद्ध आआफ्नो मोर्चाबाट आन्दोलनको नेतृत्व गर्ने विशिष्ठ व्यक्तिहरु बीपी र पुष्पलाल (पीएल) नै हुनुहुन्थ्यो । नेपालमा प्रजातान्त्रिक आन्दोलनलाई उत्कर्षमा पुर्‍याउने अगुवा पनि उहाँहरु नै हो ।

जहानियाँँ राणा शासन विरोधी आन्दोलनको गर्भबाट नै काँग्रेस र कम्युनिष्ट पार्टीहरु जन्मिएका थिए भन्दा अन्युक्ति नहोला । काँग्रेस र कम्युनिष्ट पार्टीहरुको संगठित पहलले असंगठित रुपमा उठिरहेको आन्दोलनलाई वैचारिक र राजनीतिक नेतृत्व प्रदान गर्‍यो । परिणामस्वरुप राणा शासन विरोधी प्रजातान्त्रिक आन्दोलन सफल भयो । देशबाट एक सय चार वर्षे जहानियाँ सामन्ती राणा शासनको अन्त भई २००७ सालमा प्रजातन्त्र स्थापना भयो । यस आन्दोलनमा काँग्रेस र कम्युनिष्ट शक्तिको निर्णायक योगदान छ । जसको अग्रमोर्चामा बीपी र पीएल नै हुनुहुन्थ्यो ।

बीपी र पुष्पलाल दुई फरक वैचारिक धार र सोचको प्रतिनिधित्व गर्नुहुन्थ्यो । वाम लोकतान्त्रिक विचारका प्रेरणादायी प्रतिविम्ब पनि उहाँहरु नै हो । बीपी प्रजातान्त्रिक विचारको अगुवाइ गर्नुहुन्थ्यो भने पुष्पलाल प्रगतिशील विचारको नेता हुनुहुन्थ्यो ।

विचार र सिद्धान्तमा फरक भंगाला भएपनि राष्ट्रियता, प्रजातन्त्र र समाजवादका सवालमा दुवै जनाको समान धारणा र प्रतिवद्धता थियो । सामन्तवादको अन्त्य गरी प्रजातन्त्र स्थापना गर्ने, देशबाट गरिबी, बेरोजगारी अन्त्य गरी समृद्धि र समुन्नति ल्याउने, सामाजिक विकृतिको अन्त्य गरी सामाजिक रुपान्तरणसहितको न्यायपूर्ण समाज स्थापना गर्ने, समाजको शोषण उत्पीडन अन्त्य गरी किसान, मजदुरको मुक्ति ल्याउने लगायत राष्ट्र, राष्ट्रियता, जनता र जनतन्त्रका सवालमा दुवैका समान दृष्टिकोण थिए । त्यसकारण उहाँहरु दुवै जना विचारमा दुई किनाराजस्ता देखिए पनि आम नेपाली जन मनका नेता तथा सर्व स्वीकार्य साझा धरोहर बन्न सफल हुनुभयो ।

‘राष्ट्रियता, प्रजातन्त्र र समाजवाद’ बीपी कोइरालाका आदर्श थिए । बीपी वास्तवमा राष्ट्रवादी नेता हुनुहुन्थ्यो । देश रहेमात्र जनता, प्रजातन्त्र, राजनीति र पार्टीको अस्तित्व रहन्छ भन्ने मान्यता राख्ने बीपी जस्तोसुकै कठिन घडीमा पनि राष्ट्रियता र देशभक्तिको पक्षमा बलियो पिलर भएर उभिनु भयो ।

देशमा निरंकुश शासन भएको बेलामा समेत राष्ट्रियताको रक्षाका लागि ‘राजा र मेरो गर्दन जोडिएको छ’ भन्दै ‘राष्ट्रियता मेलमिलाप’को नारा लिएर निर्वासनबाट स्वदेश फर्किनु कम जोखिमको कुरा थिएन । आत्मसर्मपण भनेर त्यतिबेला बीपीको यो कदमको निकै ठूलो आलोचना नभएको होइन ।

यथार्थमा भन्ने हो भने बीपी र कांगे्रस गणतन्त्रवादीभन्दा बढी राष्ट्रवादी थिए । राजाले कहिल्यै पनि कांगे्रसको राजा र राजतन्त्रप्रतिको सदासयता बुझ्न सकेनन् र कांगे्रस गणतन्त्रवादी बन्न पुग्यो ।

बीपी कोइराला लोकतान्त्रिक आन्दोलनका शिखर व्यक्तित्व, राष्ट्रवादी नेता र साहित्यिक व्यक्तित्व । पुष्पलाल वाम लोकतान्त्रिक आन्दोलनका धरोहर, श्रमजीवि किसान मजदुर वर्गका अविश्रान्त योद्धा तथा कम्युनिष्ट पार्टीका संस्थापक । उहाँहरुका कालजयी विचार र वाणीलाई मूलमन्त्र बनाएर अब नेपाली समाजलाई समाजवादतर्फ अघि बढाउनु अहिलेको प्रमुख कार्यभार हो ।

राष्ट्रियता र प्रजातन्त्र बीपी र पुष्पलाल अर्थात कांगे्रस र कम्युनिष्टका साझा मुद्दाहरु नै थिए । त्यसकारण राष्ट्रियता, राष्ट्रिय स्वाधिनता र प्रजातन्त्रका लागि पटक–पटक संयुक्त आन्दोलन हुँदै आएका छन् । ती आन्दोलनहरुले नतिजा पनि दिएका छन् । यी दुई शक्ति मिलेको बेला सामन्ती, निरंकुश शक्ति कमजोर भएका छन्, निरंकुश व्यवस्था र राजतन्त्र ढलेका छन्, राष्ट्रियता, लोकतन्त्र र गणतन्त्र बलियो भएको छ । यो इतिहासको सच्चाइलाई भुल्नु मूर्खता हुनेछ । यसका मूल मार्गदर्शक पुष्पलाल र बीपी नै हुन् भन्ने कुरामा पनि दुई मत छैन ।

‘राष्ट्रियता, जनतन्त्र र जनजीविका’ पुष्पलाल अर्थात कम्युनिष्ट पार्टीका मूल मुद्दा थिए । राष्ट्रिय स्वाधिनता र देशभक्तिको आन्दोलनप्रतिको समर्पणका बारेमा पुष्पलालहरुलाई प्रश्न गर्ने ठाउँ थिएन ।

जनतन्त्र अर्थात् प्रजातन्त्रप्रति पनि पुष्पलाल र उहाँको पार्टी दृढ थियो र लोकतान्त्रिक आन्दोलनमा होमिएको थियो । जनजीविका अर्थात् जनताको गाँस, बास र कपासको एजेण्डा अर्थात जनताको जीवनसँग जोडिएका विषय त्यतिबेला पुष्पलाल र कम्युनिष्ट पार्टीले सशक्त रुपमा बोकेको थियो । जनजीविकाका लागि ठूला–ठूला जनआन्दोलनहरु पनि भएका थिए । बरु यतिबेला कम्युनिष्ट पार्टीहरुका प्राथमिकतामा जनजीविकाको मुद्दा परेको देखिँदैन ।

बीपी र पुष्पलाल दुवैैले समाजवादको झण्डा बोक्नु भयो । तर समाजवादका सवालमा कतिपय विषयहरुमा समान धारणा राखिए पनि उहाँहरुको समाजवादको अन्तर्य फरक थियो ।

बीपीले अघि सारेको समाजवाद यथार्थमा प्रजातान्त्रिक समाजवाद नै हो । उहाँले उदार अर्थनीतिकै वकालत गर्दै आउनु भयो । उदारीकरण र खुल्ला अर्थनीति पुँजीवादका विशेषता हुन् । प्रजातान्त्रिक समाजवाद भनेको पुँजीवादी समाजवाद हो । जसलाई सुधारिएको पुँजीवाद भन्न सकिन्छ ।

कसैलाई भ्रम नहोस् कि प्रजातान्त्रिक समाजवाद भनेको रुपमा कतिपय समाजवादी विशेषताद्वारा रंगरोगन गरिएको सारमा पुँजीवाद नै हो । बीपी प्रजातान्त्रिक समाजवादका प्रवक्ता नै हुनुहुन्थ्यो । उत्पादन पद्धति, वितरण प्रणाली, सामाजिक न्याय र सुरक्षा, आर्थिक समानता, आत्मनिर्भरता हरेक हिसाबले प्रजातान्त्रिक समाजवाद र वैज्ञानिक समाजवादवीच तुलना हुँदैन । यी दुवै एक सिक्काका दुई पाटा हुन् । प्रजातान्त्रिक समाजवादका प्रवक्ता बीपी र वैज्ञानिक समाजवादका प्रवक्ता पुष्पलाल हुनुहुन्थ्यो ।

पुष्पलाल जनवाद र समाजवादका व्याख्यातामात्र होइन, उहाँ त्यसका अभियन्ता र नेतृत्वकर्ता पनि हुनुहुन्थ्यो । कम्युनिष्ट पार्टीको पहिलो घोषणापत्रमा पुष्पलालको उद्घोष थियो ‘सामन्तवाद, राणा शासन र साम्राज्यवादी शोषणको अन्त्य गरौं, जनताको लोकतान्त्रिक गणतन्त्र स्थापना गरौं’ । यो राजनीतिक लक्ष्य पूरा गर्नका लागि पुष्पलालले ‘तीन स’को नीति अघि सार्नु भयो, ‘सिद्धान्त, संगठन र संघर्ष ।’

कम्युनिष्ट पार्टीको लागि सर्वप्रथम सही सिद्धान्त हुनुपर्दछ । मार्क्सवाद, लेनिनवादको मार्गदर्शनमा मात्र कम्युनिष्ट पार्टी निर्माण गर्न र आन्दोलनलाई निश्कर्षमा पुर्‍याउने संभव छ भन्ने कुरामा पुष्पलाल दृढ हुनुहुन्थ्यो । सही र जनपक्षीय सिद्धान्तको आलोकमा गतिलो जनआधारित संगठन निर्माण गर्नुपर्दछ ।

पुष्पलाल ‘संयुक्त जनआन्दोलन’का सर्जक हुनुहुन्थ्यो । नेपालमा जहानियाँ राणा शासन वा निरंकुश पञ्चायती व्यवस्था र सामन्ती राजतन्त्र ढाल्नका लागि कम्युनिष्ट र कांग्रेस दुवै शक्ति मिल्नैपर्दछ भन्ने मान्यता पुष्पलालको थियो । त्यसैले अनेकौं आलोचनाका बाबजुद उहाँ पहिलेदेखि नै यो मान्यतामा दृढ रहँदै आउनुभयो

बलियो संगठनको नेतृत्वमा संघर्ष अघि बढाउनुपर्दछ र तब नै त्यो संघर्ष सफल हुन्छ भन्ने पुष्पलालको निश्कर्ष थियो । पुष्पलाल कम्युनिष्ट पार्टीको नेतृत्वको सवालमा पनि प्रष्ट हुनुहुन्थ्यो । ‘कम्युनिष्ट पार्टी नेता प्रधान होइन, नीति प्रधान हुन्छ’ पुष्पलालको यो अजम्बरी भनाइले पनि नीति र नेतृत्वको बारेमा उहाँमा कन्फ्युजन थिएन भन्ने कुरा स्पष्ट हुन्छ । कम्युनिष्ट पार्टीमा विचारले नेतृत्व गर्छ र आवश्यकता अनुसार व्यक्तिलाई जिम्मेवारी दिइन्छ भन्ने पुष्पलालको विचारले आजीवन नेतृत्व नछोड्ने यतिबेलाको प्रवृत्तिलाई गिज्याइरहेको छ ।

बीपीले समाजवादको व्याख्या गर्दै ‘प्रत्येक नेपालीसँग एउटा घर होस्, ऊसँग जोत्ने जमिन होस्, दूध खाने एउटा गाई होस्’ भन्नुभएको छ । ‘बजेट बनाउने बेला हलो जोतिरहेको किसानलाई सम्झेर बनाउनु पर्दछ’ भन्ने उहाँको दर्शन थियो ।

यसरी बीपीले त्यो जमानामा जनमुखी, किसानमुखी विचार अघि सार्नुभयो । त्यसरी नै पुष्पलालको चेतनाले पौने एक सय वर्ष अगाडि नै राजा, महाराजा र शोषक, सामन्तको राज्यसत्ता ढाल्न सकिन्छ र किसान मजदुरको जनसत्ता स्थापना गर्न सकिन्छ भन्ने विश्वास दिलायो ।

पुष्पलालले त्यतिबेला नै किसान मजदुरको मुक्तिदाता कम्युनिष्ट पार्टी स्थापना गरेर ‘जोत्नेको लागि जमिन’ र ‘जसको जोत उसको पोत’ जस्ता जनपक्षीय नारा अघि सार्नु भएको थियो ।

बीपी कोइराला दूरदर्शी राजनीतिज्ञ हुनुहुन्थ्यो । बीपीले उहिल्ये नै भन्नुभएको थियो, ‘देशमा प्रजातन्त्र आएपछि मोटाघाटा, सुकिला, मुकिला, चिल्ला गाडी चढ्नेहरुको पार्टीभित्र हावी हुनेछ । त्यसका विरुद्ध आम कार्यकर्ताले फेरी एकचोटी संघर्ष गर्नुपर्ने हुन्छ ।’ प्रजातन्त्र आएपछि कस्ता विकृति आउने छन् र त्यस्ता प्रवृत्तिविरुद्ध फेरी पनि लड्नु पर्ने अवस्था आउने उहाँले भविष्यवाणी गर्नु भएको थियो ।

पुष्पलाल ‘संयुक्त जनआन्दोलन’का सर्जक हुनुहुन्थ्यो । नेपालमा जहानियाँ राणा शासन वा निरंकुश पञ्चायती व्यवस्था र सामन्ती राजतन्त्र ढाल्नका लागि कम्युनिष्ट र कांग्रेस दुवै शक्ति मिल्नैपर्दछ भन्ने मान्यता पुष्पलालको थियो । त्यसैले अनेकौं आलोचनाका बाबजुद उहाँ पहिलेदेखि नै यो मान्यतामा दृढ रहँदै आउनुभयो ।

आखिर राणा शासन ढाल्न, पञ्चायती व्यवस्था फाल्न र राजतन्त्रको शिरोच्छेदन गर्न वाम लोकतान्त्रिक शक्तिको एकता अपरिहार्य बन्यो । पुष्पलालको संयुक्त जनआन्दोलनको विचार र प्रस्ताव सफल भयो । परिणामस्वरुप देशमा प्रजातन्त्र र लोकतान्त्रिक गणतन्त्र स्थापना भयो ।

बीपी कोइराला लोकतान्त्रिक आन्दोलनका शिखर व्यक्तित्व, राष्ट्रवादी नेता र साहित्यिक व्यक्तित्व । पुष्पलाल वाम लोकतान्त्रिक आन्दोलनका धरोहर, श्रमजीवि किसान मजदुर वर्गका अविश्रान्त योद्धा तथा कम्युनिष्ट पार्टीका संस्थापक । उहाँहरुका कालजयी विचार र वाणीलाई मूलमन्त्र बनाएर अब नेपाली समाजलाई समाजवादतर्फ अघि बढाउनु अहिलेको प्रमुख कार्यभार हो ।

यी दुवै अग्रज नेताहरुबाट आजको वाम लोकतान्त्रिक आन्दोलनले शिक्षा लिनु जरुरी छ । उहाँहरुको विचार, राजनीति, संघर्ष, त्याग र निष्ठाबाट अहिलेको पुस्ताले प्रेरणा लिनु पर्दछ । तब नै उहाँहरु दुवै जना हाम्रा पथप्रदर्शकहरुप्रति सच्चा सम्मान हुनेछ ।

(लेखक ज्वाला नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?