
News Summary
Generated by OK AI. Editorially reviewed.- पूर्वमिस नेपाल अस्मी श्रेष्ठ र अभिनेता अनुपविक्रम शाहीले 'नेपाल्स नेक्स्ट टप मोडल' पहिलो सिजनको जजमा अनुबन्धित भएका छन्।
- हिमालय टिभीले उत्पादन गर्ने यो मोडलिङ रियालिटी शोमा अस्मी होस्टको रुपमा पनि रहनेछिन् भने बाँकी दुई जज आगामी साता घोषणा हुनेछन्।
- शोमा १६ वर्षमाथिका मोडलले आवेदन दिन सक्नेछन्, सातै प्रदेशमा अडिसन हुनेछ र विजेताले १५ लाख नगद पुरस्कार पाउनेछन्।
काठमाडौं । पूर्वमिस नेपाल अस्मी श्रेष्ठ र अभिनेता अनुपविक्रम शाही मुलुकको पहिलो मोडलिङ रियालिटी शो ‘नेपाल्स नेक्स्ट टप मोडल’ पहिलो सिजनको जजमा अनुबन्धित भएका छन् ।
हिमालय टिभीसँग यी दुईजनाले सम्झौतापत्रमा हस्ताक्षर गरे । मोडलबीचको प्रतिस्पर्धा र उत्कृष्टलाई पुरस्कृत गरिने शैलीको यो टिभी कार्यक्रमलाई हिमालय टिभीले उत्पादन गर्न लागेको हो ।
पूर्वमिस नेपाल समेत रहेकी अस्मी यो कार्यक्रममा होस्टको रुपमा समेत हुनेछिन् । बाँकी दुई जज आगामी साता घोषणा हुने हिमालय टिभीका कार्यकारी निर्देशक श्याम कँडेलले जानकारी दिए ।
२० भागको पहिलो सिजनका हरेक एपिसोडमा विभिन्न क्षेत्रका चर्चित व्यक्ति गेस्ट जजको रुपमा हुनेछन् । मिस नेपालको जस्तै शैलीमा देश तथा विदेशबाट अडिसन आह्वान हुन्छ ।
१६ वर्षभन्दा माथिका मोडलले आवेदन दिन सक्नेछन् । अबको दुई सातामा आवेदन खुला गर्ने तयारी छ । सातै प्रदेशमा अडिसन गरिने र त्यहाँबाट २४ जना छनोट हुनेछन् ।
छनोट भएकाले प्रतिस्पर्धामा भाग लिनेछन् । छनोट भएकालाई विभिन्न टास्कमा प्रतिस्पर्धा गराइन्छ । हरेक साता एलिमिनेसन हुनेछन् । शोलाई ‘भ्वाइस अफ नेपाल’ फेम्ड लक्ष्मण पौड्यालले निर्देशन गर्नेछन् ।
शोका विजेताले १५ लाख नगद र विभिन्न ब्रान्डसँग इन्डोर्समेन्टको मौका पाउनेछन् ।
प्रतिक्रिया 4