
News Summary
Generated by OK AI. Editorially reviewed.- ऋषि धमलाले अर्न्तवार्तामा आगन्तुकलाई प्रश्नमाथि प्रश्न गरेर कहिलेकाहीँ वेपत्तासँग अत्याइदिन्छन्।
उसो त ऋषि धमला चर्चाको वृत्तभन्दा कहिल्यै बाहिर हुँदैनन् । केही न केही गर्छन्, केही न केही बोल्छन् । अनि मस्तसँग जग हँसाइदिन्छन् । उनले जानेर यसो गर्छन् वा नजानेर, त्यो चाहिँ दैव जानुन् ।
सधैं टिपटप, सधैं फुर्तिफार्ती, सधै हडबड । ऋषि धमला आफैंमा काइदाका मान्छे हुन् । काइदाका मान्छे भएरै त हो, तीन करोड नेपालीले उनलाई चिन्छ ।
ऋषि धमलाको थुप्रै शैलीमध्ये एक हो, अन्तर्वार्ता शैली । उनी अन्तर्वार्तामा आगन्तुकलाई यसरी प्रश्न सोध्छन्, सुविस्तासँग त्यसको उत्तर दिने फुर्सद हुन्न । अर्थात उनमा कसैको उत्तर सुन्ने धैर्यता हुँदैन । प्रश्नमाथि प्रश्न गरेर कहिलेकाहीँ त आगन्तुकलाई वेपत्तासँग अत्याइदिन्छन् । झोंक चलाइदिन्छन् ।
रोचक त के भने, उनको कुनै निश्चित विधा छैन । नेतादेखि नायकसम्म, राजादेखि रैतीसम्मलाई उनले आफ्नो गेस्ट बनाउँछन् । अनि उस्तै र उही शैलीमा प्रश्न गर्छन् । प्रश्न यस्तो गर्छन् कि सम्भवत त्यो प्रश्न के हो भन्ने उनी स्वयम्ले भेउ पाउँदैनन् ।
एकफेर उनले दुर्गेश थापालाई नारायण गोपालको गीत गाउन लगाए । दुर्गेशले बेसुरमा ‘मुटु जलिरहेछ’ गाइदिए । गाउने र सुन्ने दुबैले उस्तै लयमा टाउको पनि हल्लाए, खुट्टा पनि हल्लाए । जबकि यो गीत नारायण गोपालको थिएन, भक्तराज आचार्यको थियो । त्यसो त ऋषि धमला कस्तो भने, कमेडियनलाई बोलाएर पनि अचानक ‘अब एउटा मिठो गीत गाइदिनुस्’ भन्न भ्याउँछन् । अर्थात पश्चिमतिर वेपत्तासँग दौडिरहेको मान्छेलाई अचानक पूर्वतर्फ फर्काएर दौडन लगाउने अनौठो कला छ उनीसँग ।
धेरैजसो अवस्थामा अन्तर्वार्ता दिन आएका आगन्तुकले उनकै अन्तर्वार्ता लिइरहेका हुन्छन् । उनकै मजाक उडाइरहेका हुन्छन् । तै पनि जब्बर ऋषि धमला टेर्दैनन् ।
कतिसम्म गर्छन् भने आफ्नै श्रीमतीलाई पाहुना बनाएर उनी यसरी अन्तर्वार्ता गर्छन्, मानौं उनीहरु पहिलो पटक भेटवार्ता गरिरहेका हुन् । आखिर जे सुकै भए पनि उनी सबैका प्रिय छन् ।
अब आलोतातो कुरा गरौं । उनले गायिका अन्जु पन्तलाई आफ्नो स्टुडियोमा निम्त्याए । अर्न्तवार्ता लिए । अनि गीत संगीतको ट्र्याकबाट बाहिर गएर उनले अनेकथरी प्रश्न गर्न थाले । अन्जुले हाँस्दै भनिन्, ‘तपाईँले हँसाउनुहुन्छ साँच्चै ।’
उनी यतिमै रोकिदैनन् । धमालाकै शैलीमा उनले प्रश्न गर्छिन्, ‘अब भन्नुहोस्, तपाईंले शब्द रचना गर्नुभएको छ वा छैन, गीत लेख्नुहुन्छ कि हुन्न ? भन्नुस् ।’
धमला स्वभाविक रुपमा भन्छन्, ‘गीत चाहिँ मैले लेख्न पाएको छैन ।’ मानौं नजानेर वा नसकेर होइन, नपाएर नलेखेका हुन् ।
अनि उनी भन्छन्, ‘कविता त मैले लेखेको थिएँ स्कुलमा ।’
अन्जु सोध्छिन्, ‘के थियो थाहा छ ?’
‘कविता गजबको छ’ ऋषि गम्भीर देखिन्छन् । उनी एकछिन नसोची आफ्नो स्कुलकालको कविता सुनाउँछन् । यसरी,
‘संघर्ष संघर्ष संघर्ष
जीवन जीवन जीवन
सफलता सफलता सफलता
समस्या समस्या समस्या
पीडा पीडा पीडा
दु:ख दु:ख दु:ख
नहाँस्नुहोला, यो कविता नै हो हास्यव्यंग्य होइन । ऋषि धमलाका अनुसार आठ कक्षामा पढ्दै गर्दा उनले यो कविता लेखेका हुन् । कविताको मर्म चाहिँ तपाईं आफैं बुझ्नुहोला ।
प्रतिक्रिया 4