
९ साउन, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पहिलो पटक नेकपा एमालेको पूर्वउपाध्यक्षको हैसियतमा सार्वजनिक भएकी छन् । शुक्रबार दिउँसो भण्डारीले एमाले पूर्वउपाध्यक्षको हैसियतमा पत्रकार सम्मेलन गरिन् ।
११ कात्तिक २०७२ मा राष्ट्रपति हुनुअघि उनी एमाले उपाध्यक्ष थिइन् । दोस्रो कार्यकाल पार्टी उपाध्यक्ष रहेकी भण्डारीलाई एमालेले राष्ट्रपति बनाएर शीतलनिवास पठाएको थियो ।
राष्ट्रपतिमा पनि दुई कार्यकाल सकेर २०७९ फागुनमा शीतलनिवासबाट फर्किएकी भण्डारीले गत १४ असारमा एमालेको सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी थिइन् ।
मदन भण्डारीको ७४औं जन्मजयन्तीको अवसर पारेर भण्डारीले सदस्यता नवीकरण गरेको घोषणा गरेपछि एमालेभित्रको शक्ति संघर्ष नै बदलिएको थियो ।
पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली सहितका नेताहरुलाई भण्डारी सक्रिय राजनीतिमा फर्किएको मन परेको थिएन ।
ओलीले त सार्वजनिक मञ्चबाटै पटकपटक अझै २०/२५ वर्ष नेतृत्व नछोड्ने घोषणा गरेका थिए । ओलीलाई आजीवन अध्यक्ष हुन मिल्नेगरी एमालेको विधानहरू संशोधन गरिंदै थियो । तर भण्डारीको चुनौती रोकिएन, बरू अध्यक्ष बन्नेगरी राजनीतिमा फर्किएको सन्देश सार्वजनिक गरिन् ।
यस्तैमा मंगलबार मध्यरात सम्पन्न केन्द्रीय कमिटी बैठकबाट भण्डारीलाई राजनीतिमा आउन रोक लगाउने निर्णय भयो ।
उपाध्यक्षहरु युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे र स्थायी कमिटी सदस्य कर्ण थापाले असहमतिमा आवाज उठाइरहँदा हो-हल्लाकै बीच भण्डारीलाई राजनीतिमा आउन रोक लगाइएको निर्णय भयो ।
भोलिपल्ट महासचिव शंकर पोखरेलले पत्रकार सम्मेलन मार्फत विद्या भण्डारीको पार्टी सदस्यता निष्क्रिय भएको जानकारी दिए ।
२०३७ सालमा भण्डारीले पाएको ६४४ नम्बरको पार्टी सदस्यता एमालेको वेबसाइटबाटै हटाइसकेको भण्डारी निकट नेताहरु बताइरहेका छन् । अर्थात् भण्डारीको पार्टी सदस्यता एकप्रकारले खारेज गरिएको छ ।
पार्टी नेतृत्वबाट भएको यस्तो अनपेक्षित निर्णयको जवाफ दिन आज पूर्वराष्ट्रपति भण्डारीले पत्रकार सम्मेलन गरेकी थिइन् । उक्त पत्रकार सम्मेलनमा भण्डारी एमालेका पूर्वउपाध्यक्षको हैसियतमा उपस्थित भइन् भने एमालेकै ब्यानर प्रयोग गरिएको थियो ।
यसअघि केही पार्टी कार्यक्रममा सहभागी भए पनि एमालेको ब्यानरमा भण्डारी पहिलोपटक उपस्थित भएकी हुन् । सूर्य चिह्न, नारामा जबज र मदन भण्डारीको तस्वीर राखिएको ब्यानर मुनि बसेर भण्डारीले आफू पूर्वराष्ट्रपतिबाट पूर्वउपाध्यक्ष बनेको सन्देश दिइन् ।
उनी निकट नेताहरु, यो पत्रकार सम्मेलनबाट विद्या भण्डारी थप अगाडि बढेको सन्देश गएको बताउँछन् । ‘विद्या भण्डारीका बारेमा पार्टीले अन्यायपूर्ण निर्णय गरेको छ । त्यसलाई सच्याउन यो पहिलो कदम हो, र उहाँले आफ्नो पोजिसन डिक्लिएर गर्नुभयो’, भण्डारी निकट नेता विनोद ढकाल भन्छन् ।
छोटो मन्तव्य मार्फत भण्डारीले पनि एमाले नेतृत्वको निर्णयबाट आफू विचलित नभएको सन्देश दिएकी छन् । ‘… आफ्नो निर्णयबाट म विचलित हुने छैन । त्यसैले म सम्पूर्ण पंक्तिलाई निर्धक्क, ढुक्क र दृढ भएर पार्टीका मूल्यहरुलाई आत्मसात् गर्दै पार्टी निर्माणमा सक्रिय हुन समेत हार्दिक आह्वान गर्दछु’, भण्डारीले भनेकी छन् ।
पत्रकारहरुको प्रश्नमा भण्डारीले कसैलाई लाग्दैमा आफ्नो सदस्यता खारेज गर्न नसक्ने विश्वास पनि दिलाइन् । ‘२०३७ सालमा लिएको हो (सदस्यता), त्यतिखेर जननेता मदन भण्डारी कोशी–सगरमाथाको इन्चार्ज हुनुहुन्थ्यो, उहाँले शपथ खुवाउनुभयो मलाई । अब यहाँ कसैलाई लाग्यो भन्दैमा मेरो सदस्यता खान सक्छ जस्तो लाग्दैन’, भण्डारीले भनेकी थिइन् ।
उनले आफ्नो सदस्यता निष्क्रिय बनाउनेहरुप्रति आक्रोश नै पोखेकी छन् । ‘केही मुठ्ठीभर मित्रहरुले, हुलहुज्जतको भरमा, उत्तेजनामा आएर यस्तो गर्न मिल्दैन । पार्टीको पनि आफ्नै प्रक्रिया हुन्छ’ भण्डारीले भनेकी छन्, ‘हाम्रो पार्टी एउटा प्रणालीमा चल्छ । कसलाई कतिखेर के मन लाग्यो, त्यो गर्नु राम्रो विषय होइन ।’
आफ्नो पार्टी सदस्यता निष्क्रिय बनाउन कुनै संवैधानिक, कानूनी आधार नभएकाले त्यसका विरुद्ध आवाज उठाउन पार्टी पंक्तिमा आग्रह गरेकी छन् ।
‘पार्टीप्रतिको आस्था र विचार, सिद्धान्त एवं नीतिहरुप्रति प्रतिबद्ध हुँदाहुँदै मलाई पार्टी सदस्य हुनबाट वञ्चित गर्न कदापि मिल्दैन’ पूर्वउपाध्यक्ष भण्डारीको तर्क छ, ‘यो पार्टी बनाउन म लगायत हजारौं नेता, कार्यकर्ता र सदस्यको रगत, पसिना, मिहिनेत लागेको छ । यो कुरा म यहाँ कुनै भावनामा बगेर गरिरहेको छैन ।’
भण्डारी निकट नेता ढकाल, आजको पत्रकार सम्मेलनबाट एमाले पंक्तिको अन्यायपूर्ण निर्णयविरुद्ध प्रतिवादमा उत्रन अपिलको सन्देश गएको बताउँछन् । ‘नेतृत्वलाई निर्णय पुनर्विचार गर्न अनुरोध गरिएको छ । र कार्यकर्ता पंक्तिमा अन्यायपूर्ण निर्णयविरुद्ध प्रतिवादमा आउन आह्वान भएको छ’, ढकाल भन्छन् ।
पत्रकार सम्मेलन भइरहँदा देखिएको दृश्य र सुनिएको अभिव्यक्ति हेर्दा भण्डारीले केही अर्थपूर्ण सन्देश पनि दिएकी छन् । एमाले निर्माणमा आफ्नो योगदान बुझाउन पार्टी सदस्यता प्राप्त मिति र निर्वाह गरेको जिम्मेवारी सम्झाएकी छन् । त्यसक्रममा राष्ट्रपति बन्ने प्रक्रियालाई पनि उनले पार्टीको जिम्मेवारी भनेकी छन् ।
‘त्यतिखेर पार्टीले नै निर्णय गरेर पठाएको हो । यत्तिकै छोडेर, पार्टी परित्याग गरेर अरु हिसाबले गएको होइन । पार्टीले दिएको जिम्मेवारी भएरै गएको हो’ उनले भनिन्, ‘आइसकेपछि पनि प्रक्रिया अनुसार नै नवीकरण गरेको हो र अहिले पनि एमाले परिवारमा आबद्ध छु ।’
आफ्नो अनुभव र योग्यता सँगै उनले मदन भण्डारीको वैचारिक एवं पारिवारिक लिगेसी आफूसँग रहेको पनि लुकाएकी छैनन् । ब्यानरमा मदन भण्डारीको एकल तस्वीर र जबज राखिनुले लिगेसीमै दाबी गरिएको बुझ्न सकिन्छ । एमालेमा ओलीको तस्वीर राख्न पनि जारी भएको सन्दर्भमा त यस्तो दृश्य अझ अर्थपूर्ण हुन्छ ।
यद्यपि पत्रकार सम्मेलनका क्रममा भण्डारीले आफूलाई मदन भण्डारीको पत्नी भनेर चिनाइनन् । तर मदन भण्डारीले अगाडि सारेको जबजकै सैद्धान्तिक जगमै आजको एमाले निर्माण भएको बताइन् ।
‘जबजले अगाडि सारेको पार्टी निर्माण सम्बन्धी अवधारणको निष्ठापूर्वक रक्षा गर्न म देशभरका सबै एमाले पंक्तिमा आग्रह गर्दछु । मेरो यो आग्रह र संकल्प अन्तरआत्माको आवाज हो’, आफ्नो सदस्यता निष्क्रिय बनाउने निर्णयविरुद्ध आवाज उठाउनुलाई पनि जबजसँगै जोडेकी छन् ।
निर्णय प्रक्रियामा बृहत् छलफलको प्रक्रिया जबजकै अंग भएको तर्क सहित भण्डारीले यस्तो आह्वान गरेकी छन् ।
प्रतिक्रिया 4