
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल सरकारले सम्पत्ति शुद्धीकरण र अनलाइन ठगीमा टेलिग्राम एपको प्रयोग बढेको भन्दै यसलाई अनुपयुक्त घोषणा गरी बन्द गराएको छ।
- विश्वका कतिपय देशहरूले टेलिग्राममा गैरकानुनी गतिविधि बढेको भन्दै पूर्ण वा आंशिक प्रतिबन्ध लगाएका छन्, जसमा रुस, चीन, इरान, स्पेन र भियतनाम प्रमुख छन्।
मेसेन्जर, ह्वाट्सएप जस्तै एउटा सामाजिक सञ्जाल हो, टेलिग्राम । नि:शुल्क चलाउन मिल्ने यो प्लेटफर्ममा क्लाउडमा आधारित इन्स्ट्यान्ट मेसेजिङ र भ्वाइस ओभर आईपी सेवा पाइन्छ । सामान्यत कल गर्न, टेक्स्टहरू पठाउन मिल्छ ।
टेलिग्राम एन्ड्रोइड, आईओएस, विन्डोज फोन, म्याकओएस, लिनक्स र डेस्कटप लगायतका विभिन्न प्लेटफर्महरूमा उपलब्ध छ । यसबाट टेक्स्ट मेसेजसँगै फोटो, भिडियो र दुई जीबीसम्मका कुनै पनि प्रकारका फाइलहरू पठाउन सकिन्छ । यसमा जस्तो पनि फाइल पठाउन सकिन्छ । कुनै प्रकार वा आकार (प्रिमियम प्रयोगकर्तले ४ जीबीसम्म पठाउन सक्ने)मा कुनै सीमा छैन ।
टेलिग्रामको सबैभन्दा प्रमुख विशेषता यसको ग्रुप च्याट हो । जसमा दुई लाखसम्म अन्य प्रयोगकर्ता जोडिन सक्छन् । यसबाहेक टेलिग्राम च्यानल पनि हो । जसमा हजारौंमा प्रयोगकर्ताहरूलाई जोड्न सकिन्छ ।
त्यस्तै अर्को महत्त्वपूर्ण फिचर हो ‘बट्स’ (Bots) । सामान्य अर्थमा बुझ्दा यो भनेको एप भित्र चल्ने साना स्वचालित एपहरू नै हुन् । त्यस्ता बट्सहरूले विभिन्न कामहरू गर्न सक्छन् । यति सम्म कि यिनले भुक्तानी प्लेटफर्म जसरी पनि काम गर्न सक्छ ।
सन् २०२३ मा टेलिग्रामले ल्याएको ‘रियल टाइम ट्रान्सलेसन’ फिचर पनि आकर्षक नै छ । यसबाट प्रयोगकर्ताले तत्कालै अन्य भाषामा अनुवाद गरेर पढ्न सक्छन् ।
विशेषत: टेलिग्रामले आफूलाई ‘अत्यन्त सुरक्षित’ र ‘निजी’ मेसेजिङ एपको रुपमा प्रस्तुत गर्दै आइरहेको छ । यसमा सेक्रेट च्याट पनि गर्न मिल्छ । जुन एन्ड-टु-एन्ड इन्क्रिप्टेडमा हुन्छ । अर्थात् पठाउने र पाउने व्यक्तिले मात्र पढ्न सक्छन् ।
यी कुराहरू त राम्रो सुनिएका छन्, कि कसो !
तर यिनै फिचरहरूको कारण देखाएर नेपाल सरकारले यो एपलाई अनुपयुक्त घोषणा गर्यो । हालै सम्पत्ति शुद्धीकरण र अनलाइन ठगीका गतिविधिमा जोडिएको भन्दै सरकारले यो बन्द गराएको छ ।
भनौं, यो एपको समस्या स्थानीय मात्र छैन । विश्वव्यापी नै छ ।
000
रुसी दाइभाइ निकोलाई दुरोभ र पाभेल दुरोभले सन् २०१३ मा टेलिग्राम सुरु गरेका थिए । टेलिग्राम अघि उनीहरूले रुसको सबैभन्दा ठूलो सामाजिक सञ्जाल ‘भीके’ बनाएका थिए ।
टेलिग्रामका सहसंस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) पाभेल दुरोभलाई रुसमा मार्क जुकरबर्गको रूपमा चिनिने गरिन्छ । किनकि उनले जम्मा २२ वर्षको उमेरमा भीके बनाएका थिए ।
सन् २०१४ मा रुसी सरकारको दबाब झेल्न नसकेर पाभेल दुरोभले भीके छाडिदिए । त्यसबेला सरकारले उनलाई प्रयोगकर्ताहरूको इन्क्रिप्टेड डेटा मागेका थिए । जुन उनले दिएनन् । उल्टै देश नै छाडिदिए । र फ्रान्स बस्न गए । उनी सन् २०२१ मा फ्रान्सेली नागरिक बने । तर पछिल्लो घटनाक्रमपछि भने हाल उनी दुबईमा बसिरहेको बताइन्छ ।
टेलिग्राम बनाउँदा दुरोभ दाइभाइले गोपनीयतालाई विशेष महत्व दिएका दिए । ‘प्राइभेसी फर्स्ट’ भन्ने उनीहरूको मूल मन्त्र नै थियो । यसकारण उनीहरूले प्रयोगकर्ताहरूको गोपनीयता र सञ्चारको स्वतन्त्रतामा जोड दिए । सरकारी निगरानी तथा तेस्रो पक्षको हस्तक्षेपलाई एपबाट टाढै राख्दै गए । अन्य प्लेटफर्महरूको तुलनामा कम मोडरेट गर्दै गए ।
तर यही खुला नीतिले आपराधिक गतिविधिहरूका लागि टेलिग्राम स्वर्ग बन्दै गयो ।
000
२०२४ अगस्टमा यसका सीईओ पाभेल दुरोभ फ्रान्सबाटै पक्राउ परे । पक्राउको कारण एपले गैरकानुनी कारोबार, लागु औषध तस्करी, ठगी तथा बाल यौन शोषणका घटना बढाउन सहयोग पुर्याउनु थियो ।
भलै उनी केही दिनमै जमानतमा छुटे । तर एपको संस्थापक सीईओ नै गैरकानूनी कामको जिम्मेवारका लागि पक्राउ पर्दा एक प्रकारको तरङ्ग पैदा भयो । अन्तर्राष्ट्रिय मिडियाहरूले टेलिग्रामलाई ‘डार्कवेब’ भनेर लेखे ।
डार्कवेबलाई लुकेर रहेको इन्टरनेट भनेर बुझ्न सकिन्छ । जसलाई मुलत: आपराधिक गतिविधि (सबै होइन)का लागि प्रयोग गरिन्छ । टेलिग्राममाथि गरेका विभिन्न अध्ययनहरूका आधारमा यसो भनिएको हो ।
संयुक्त राष्ट्र संघको लागुऔषध तथा अपराध कार्यालयको एक रिपोर्ट अनुसार टेलिग्राम संगठित अपराधका लागि एक प्रमुख माध्यम बनेको छ । एपको खुलापन, ठूलो समूह/च्यानल बनाउन सकिने क्षमता र कम्पनीको कम मध्यस्थताका कारण त्यस्तो बनेको हो ।
यिनैकारण एपमा साइबर ठगी, अवैध जुवा, सम्पत्ति शुद्धीकरण, आपराधिक (गैरकानूनी) बजारका गतिविधि भइरहेका हुन् । कस्तोसम्म छ भने मालवेयर, चोरीका डेटा, हातहतियार, हत्याका गर्ने मान्छे/समूह जस्ता अवैध सामग्री/वस्तुहरू बेच्ने गरिन्छ ।
हो, यिनै आधारमा विश्वका कतिपय देशहरूले टेलिग्राममाथि पूर्ण वा आंशिक प्रतिबन्ध लगाएका छन् । सन् २०१८ देखि २०२० सम्म रुसले टेलिग्राममा पूर्णप्रतिबन्धित लगायो । जसको मुख्य कारण प्लेटफर्मले रुसी अधिकारीहरूलाई प्रयोगकर्ताको डेटा उपलब्ध गराउन अस्वीकार गर्नु थियो ।
सन् २०१५ देखि टेलिग्राममा चीनमा प्रतिबन्ध लगाइएको छ । टेलिग्रामका सर्भरहरूमा डिनायल अफ सर्भिस आक्रमण (DDoS-धेरै कम्प्युटरहरूबाट एकैसाथ कुनै नेटवर्क, सर्भर वा वेबसाइटमा अत्यधिक ट्राफिक पठाएर ओभरलोड गर्ने एक प्रकारको साइबर आक्रमण) भएपछि यो प्रतिबन्ध लगाइएको थियो ।
त्यस्तै सन् २०१८ देखि इरानमा, मार्च २०२३ देखि स्पेनमा र हालै मात्र भियतनाममा टेलिग्रामलाई प्रतिबन्ध लगाइएको छ । यता सन् २०२२ मा गैरकानूनी ६४ च्यानलहरू फेला परेपछि जर्मनीले टेलिग्रामलाई प्रतिबन्ध लगाउने विचार गरेको थियो ।
तर सरकारलाई ५० लाख युरो जरिवाना तिर्ने र ती च्यानल हटाउने भएपछि टेलिग्रामलाई फुकुवा गरिएको थियो । त्यस्तै नर्वेमा सरकारी कम्प्युटरहरूमा टेलिग्राम प्रयोग गर्न प्रतिबन्ध छ । बेलायतमा एपमाथि थप नियमनको माग उठेको छ ।
000
अहिले नेपालमा टेलिग्राम एप औपचारिक रुपमा बन्द भइसकेको छ । तर सरकारलाई याद होस् – टिकटकमाथि प्रतिबन्ध लगाउँदा नागरिकहरूले भीपीएन एपहरू डाउनलोड गरेका थिए । कति साना तथा मझौंला उद्योगहरू मार्कामा परेका थिए ।
भलै टिकटक जत्तिकै टेलिग्रामको प्रभाव नदेखिएला । तर नेपाल कत्तिको लोकतान्त्रिक छ भन्ने देखियो । तर अचम्म लाग्दो जति टिकटक बन्द हुँदा अथवा नेपालमा फेसबुक, इस्टा जस्ता प्लेटफर्म बन्द गर्ने भन्ने सरकारी धम्की आउँदा आवज उठेको थियो, यसपटक त्यति सुनिएन । सुनिरहेको छैन ।
डिकु नामक ह्याकर समूहले भने केही सरकारी वेबसाइटलाई कब्जामा लिँदै ‘टेलिग्राम प्रतिबन्ध फिर्ता गर’ भनेर आवाज उठाए । तर, वाक स्वतन्त्रताबारे आवाज उठाउँदै आइरहेकाहरू मौन जस्तै छन् ।
यसो हुनुमा टेलिग्रामको नेपाली प्रयोगकर्ता कम भएका हुन सक्छन् । अथवा टेलिग्रामको वैकल्पिक माध्यम अरु नै (ह्वाट्सएप, भाइबर, मेसेन्जर आदि) भएको हुन सक्छ । तर सरकारले हिजो टिकटक बन्द गर्यो । आज टेलिग्राम गर्यो । भोली फेसबुक, इस्टा गर्ला ।
के यो दमन होइन र ? के यो वाक स्वतन्त्रतामाथिको प्रहार होइन र!
टेलिग्रामका सीईओ दुरोभ पक्राउ पर्दा मुख्यत: दुई वटा विषय वहसमा आएका थिए । पहिलो, स्वतन्त्रता । मान्छेहरू सकेसम्म स्वच्छन्द हुन चाहन्छन् । भएकै कानुनहरूलाई पनि मिचेर जान चाहन्छन् । दोस्रो, नियमन । कतिसम्म कसरी निमयन गर्ने ।
पाभेल दुरोभ यही नियमनको विरोधी हुन् । उनी नियमनमार्फत सरकारले प्रयोगकर्ताहरूमाथि सधैं गिद्दे नजरले हेर्ने विश्वास गर्छन् । र, खासमा यहीकारणले नै टेलिग्राम जस्तो स्वछन्द एप जन्मेको थियो ।
अनलाइनखबरसँग सम्पर्कमा आएका केही टेलिग्राम प्रयोगकर्ताहरूले ‘बेटिङ’का कारण आफूहरूले एप चलाउन थालेको बताए । केहीले भने जागिरको लोभमा आफूहरूलाई अरूहरूले एप चलाउन लगाएको बताउँदा आईटी विषय अध्ययनरत केहीले ह्याकिङ सम्बन्धीका गतिविधिका लागि एप चलाउन लागेको बताए ।
टेलिग्राम चलाउन मोबाइल एप चाहिने र बारम्बार युजर नेम परिवर्तन गर्न सकिने भएकाले यहाँ उनीहरूको परिचय राखिएन ।
उनीहरू जस्तै नेपालमा टेलिग्राम लाखौंले प्रयोग गरिरहेका हुन सक्छन् । सार्वजनिक तथ्याङ्कको अभाव छ । सिमिलरवेबका अनुसार नेपालमा कम्युनिकेसन ग्याटगोरीमा सबैभन्दा बढी प्रयोग गरिने एपमा टेलिग्राम पाँचौं स्थानमा छ । यसबाट पनि टेलिग्रामको नेपाली प्रयोगकर्ता धेरै नै रहेको अनुमान गर्न सकिन्छ ।
तर एपमार्फत नेपालमा पनि गैरकानूनी गतिविधिहरू भइरहेकोमा शङ्का छैन । अझ योभन्दा बढी नै भइरहेको पनि हुन सक्छ ।
अन्त्यमा जाँदाजाँदै सीईओ पक्राउ हुँदा टेलिग्रामले बताएको कुरा उल्लेख गरौं-बारम्बार एपको दुरुपयोग हुँदा एप अथवा मालिक जिम्मेवार छ भन्नु तर्कसङ्गत हुँदैन ।
एपलाई प्रतिबन्ध गर्ने भन्दा पनि त्यहाँ गैरकानूनी काम गर्नेलाई कानूनी दायरामा ल्याउने कि एपै बन्द गर्ने ?
कुनै तलाउ फोहोर भयो भने, त्यसलाई पुर्ने कि सफा गर्ने ?
प्रतिक्रिया 4